मेरी छोरी, मारे पाप पाले पुण्य !


प्रकाशित मिति :2018-10-26 14:37:16

– रसना ढकाल-

उनको आँखा रसाएको थियो । कहिले मन्दिरको पिँढीमा बसेर छोरीलाई हेरिहन्थे । मन बहलाउन होला, जन्ती आएकाहरूसँग भलाकुसारी गरेझैं पनि गर्थे ।

मुहारको भाव हेर्दै थाहा हुन्थ्यो नमिठो छट्पटिले उनलाई सताएको छ । के गरुँ कसो गरुँ भन्दै भित्र बाहिर गरिरहेका थिए । श्रीमानको पीडा बुझिन् सायद, नजिकै पुगेर पत्नीले भनिन्, ‘हजुरको आँखा किन रातो ? के भयो ?

जवाफ नदिएर टार्न खोजिरहेका थिए । पत्नीले भनिन्, ‘छोरी अन्माउँदा गाह्रो त भइहाल्छ । यो त प्रकृतिको नियम त हो । म पनि त हजुरसँग यही नियम पालना गरेर आएकी हुँ ।’

पति पत्नीबीच भलाकुसारी चलिरहेका थियो । पुरोहित कराए, ल अन्माउने बेला भयो । आँशु पुछ्दै दुलहीका बुवा ज्वाइँ नजिक गए ।

दुवै हात जोडे । अनि भने, ‘ज्वाइँ सा’प मेरो सुन्दर फूल हजुरलाई सुम्पिएको छु । यो फूललाई मारे पाप पाले पुण्य ।’

बाबुको कुरा सुनेर छोरीको भक्कानो छुट्यो । बाबुलाई अंगालो हालेर रुन थालिन् । बाबुको हालत पनि उस्तै । आमा झन् कसरी मन थामुन्, भक्कानिइन् । विवाहमा सहभागी पाहुना, विवाहका साक्षी जन्ती सबैका आँखा रसाए ।

बाबुले त आफूलाई सम्हाल्नै सकेका थिएनन् । बेहुलाका बुवा आएर सम्धीलाई सम्झाउन लागे ‘हजुर के भन्नु भएको ? हामीलाई छोरी दिँदा हजुरलाइ गर्व हुनुपर्ने । किन मारे पाप पाले पुण्य भन्नुभयो ?’

उनले अझ थपे, ‘हामीले त हजुरको छोरीमार्फत नयाँ संसार बनाउन थालेका हौँ । हजुरकी छोरी महान छिन् । उनलाई हामीले मार्न होइन, उनी मार्फत यो संसार चलाउने तपाईसँग अनुमति मागेर आफ्नो घर लैजान लागेका हौँ ।’

सम्धीका कुरा सुनेर दुलहीका बाबु सम्हालिएझैं भए । बेहुलाका बाबुले आफूबाट छोरीलाई नराम्रो नहुने पनि वचन दिए । अनि दुवै सम्धी एक अर्कालाई अंगालो हाल्दै शुभकामना साटासाट गरे ।

विवाहमा उनीहरूको लवाई, व्यवहार आधुनिक झैं देखिन्थ्यो । उनीहरू पढेलेखेका पनि । जति आधुनिक भए पनि मानसिकता पुरातन नै भएपछि छोरीहरू मारे पनि पाले पनि बराबर भनेर दान गर्ने वस्तु झैं पो देखियो । जहाँ प्रयोग भएका शब्दहरूले महिलालाई अझै मनलाग्दी प्रयोग गर्ने वस्तु सरह ठान्छ ।

यस्ता शब्दहरूले नराम्रो असर पुरार्याउँछ भन्ने लागेको भए सायद छोरी दिँदा ती बाबुले ‘मारे पाप पाले पुण्य’ भन्दैन थिए । यसबाट के साबित हुन्छ भने हामी जतिसुकै आधुनिकतामा रमाए पनि पुरातन सोचले हामीलाइ डोर्याइ नै रहेको छ ।

यहीभित्र अर्को प्रश्न पनि आउँछ, पुरानो सोचले हामीलाई डोर्याएको हो कि हामीले ती नराम्रा सोचलाई आत्मसाथ गरेको ?

अर्को प्रसंग, गएको श्रावण महिनामा भद्रकाली मन्दिर काठमाडौंमा एक जोडीको विवाह हुँदै रहेछ । संयोग, म पनि मन्दिर दर्शनको लागि पुगेकी थिएँ ।

वैवाहिक कार्यक्रम चलिरहेको थियो । छिटो मन्दिर दर्शन गरेर अर्कै काममा जान हतारमा थिएँ । यद्यपि विवाहको दृष्यले म केहीछिन अडिएँ । त्यहाँ पनि छोरीको दान अनि ‘पाले पुण्य मारे पाप’ शब्द मैले दोहोर्याएको सुनें । छोरी अन्माउनासाथ विवाह कार्यक्रम पनि सकियो ।

दुलहीको बुवा मैले चिनेको रहेछन् । उनलाई सोधें, ‘तपाईंले किन छोरीलाई विदाइमा मारे पाप पाले पुण्य भन्नु भयो ?

मेरो प्रश्नमा उनको जवाफ थियो, ‘पहिलेदेखि चलेको चलन हो । छोरी त केही दिनसम्मको लागि मात्र बाबुआमाकी बन्छिन् । त्यसपछि उसको संसार अर्काकै घर हुन्छ । उसले जे गरे पनि छोरीको बाउ हुँ सबै सहनुपर्छ ।’

बेहुलीका बुवाले भनेको त्यो शब्द हामीले सानैदेखि सुन्दै आइरहेको शब्द हो । हामीलाई खास नौलो पनि लाग्दैन । परिवर्तनको आँगनीमा खेलेका हामी पनि अझै यस्ता विचारबाट प्रेरित हुने गरेका छौं ।

‘मारे पाप पाले पुण्य’ सकारात्मक भावले सोच्ने हो भने छोरीलाई नराम्रो गरे नर्कमा जान्छौ भन्ने भाव त यसमा आउँछ । तर, पनि पाल्ने र मार्ने भनेको कसैले कसैमाथि आफू अनुकुल हैकम जमाउन सक्छ भन्ने पनि हो ।

महिलालाई उसका लोग्ने पक्षकाले चाहे जसरी प्रयोग गर्न सक्छन् भन्ने अर्थ पनि यसमा छ । त्यसैले अब महिलालाई होच्याउने खालका शब्दको अन्त्य परम्पराजन्य मान्यताहरूबाट हटाउनु पर्छ ।

महिलावादी दृष्टिकोणबाट हेर्दा छोरीलाई अझै हिंसा गर्न छुट छ भनेर दिएको अनुमति जस्तै हो यो शब्द । यस्ता शब्दहरूको कारण विगतमा धेरै भयावह घटनाहरू पनि भएका छन्, जसको इतिहास साक्षी छ ।

विवाहलाई एक अर्काले जीवनभर अझ हिन्दु समाजमा त सात जुनीसम्म एक साथ, सह–अस्तित्वका साथ रहने सम्बन्ध पनि मानिन्छ । तर हाम्रो सोचले अझै पनि सह–अस्तित्वमा आएको छैन ।

विवाहलाई फरक फरुक कोणबाट पनि व्याख्या गरिन्छ । जसरी व्याख्या गरे पनि दुई अपरिचित सम्बन्धलाइ जोड्ने माध्यम हो – विवाह ।
यसमा महिला र पुरुषबीच सम्बन्ध हुन्छ । अझ पछिल्लो समय त समान लिंगबीच पनि विवाहको रुपमा सम्बन्ध हुँदै आएको छ । यसको अर्थ एक अर्कामा समान रुपमा स्थापित सम्बन्ध ।

विवाहलाई एक अर्काले जीवनभर अझ हिन्दु समाजमा त सात जुनीसम्म एक साथ, सह–अस्तित्वका साथ रहने सम्बन्ध पनि मानिन्छ । तर हाम्रो सोचले अझै पनि सह–अस्तित्वमा आएको छैन ।

अर्काको घरबाट आएकी ‘बुहारी’ तल नै हुनुपर्छ भन्ने सोच हावी छ । ती सोचहरूलाई हटाउन हामीले अझै लडाईं लड्नु छ ।

त्यसैले हरेक आमाबाबुले परिवर्तन सुरु गरौं । छोरीलाई दान नगरौं । ‘मारे पाप पाले पुण्य’ भनेर नतमस्तक भई हात न जोडौं । छोरी र छोरा दुवैको परिवारले बराबरीको सम्बन्ध स्थापित गरौं ।

अनि आफ्ना सन्तानको विवाहमा गौरव गरौं । छोरीले अर्काको घर गरिखान सुरु होइन, नयाँ सम्बन्धको साथ सम्मानित जीवनको सुरु गर्दै छिन् भनेर गर्व बोध गरौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: