मान्द्रो बुनेर आत्मनिर्भर


प्रकाशित मिति :2018-10-23 13:54:28

–कृञ्जला पुलामी–

सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत समुदायका महिलाहरु स्थानीय स्रोत साधनको प्रयोग गर्दै मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका हुन् ।

आफ्नै गाँउ घरमा पाइने बाँस तथा निगालोको प्रयोग गर्दै यहाँका महिलाहरु आयआर्जनमा लागेका छन् । व्यवसायिक रुपमा मान्द्रो बुन्न थालेपछि दुई–चार पैसाका लागि श्रीमान तथा परिवारका सदस्यसँग हात फैलाउनु पर्ने समस्या टरेको उनीहरु बताउँछन् ।

दुधौली नगरपालिका ३ सिर्थौलीकी चमारनी कुमरले गत वर्षदेखि मान्द्रो बुन्ने पेशा अंगालेकी छन् । त्यसै खेर जाने बाँस तथा निगालोले अहिले दामसँगै नाम पनि कमाएको चमारनीले बताइन् ।

उनले भनिन्, ‘हामीलाई पहिला केही थाहा थिएन । मान्द्रो बुनेर पनि पैसा कमाउन सकिन्छ र जस्तो लाग्थ्यो । तर गर्ने हो भने यहिबाट पनि मालामाल हुने रैछ ।’

३५ वर्षकी उनी यसअघि घरधन्दामा दिन बिताउँथिन् ।

‘अहिले त घरधन्दा सकेर पनि मान्द्रो बुन्न भ्याउँछु ।’ उनले भनिन्, ‘सुरुमा त कसरी समय मिलाउने होला भन्ने लागेको थियो । तर गर्दै जाँदा आँफै मिल्ने कुरा पो रैछ ।’

चमारनीले मान्द्रो बुनेर महिनाको १५ हजारसम्म आम्दानी गर्दै आएकी छन् । पहिला पहिला श्रीमान् तथा ससुरा बाजेहरूले मात्र गर्ने गरेको यो पुख्र्यौली पेसा अहिले आफूहरूलाई पनि आम्दानीको राम्रो माध्यम बनेको उनको भनाइ छ ।

सिर्थौलीकै अर्की उद्यमी हुन् सतौनी अधिकारी । उनले पनि खेर गईरहेको बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहेकी छन । पहिले मान्द्रो बुनेर घर व्यवहार धानिएला भन्ने सोच कहिलै आएन । ‘हातमा अरु सीप छैन, पढाइ लेखाइ पनि छैन, घरपरिवार चलाउन दैनिक ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो’ उनी भन्छिन्, ‘अहिले घरमै बसेर गरेको कामबाट महिनाको १० हजारभन्दा बढी आम्दानी लिने गरेकी छु ।’

विभिन्न समयमा सरकारी तथा गैरसरकारी संस्थाले दिएको तालिम र सामग्री सहयोग पाएपछि चमारनी र सतौनी जस्तै दनुवार समुदायका १६ भन्दा बढी महिला मान्द्रो बनाउने पेशामा लागेका छन् ।

मान्द्रोको व्यापारबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनीहरुले बताए । दनुवार समुदायको परम्परागत पेसाका रूपमा लिइने यो पेसा पुरुषहरुले मात्रै गर्दै आएका थिए । अहिले महिलाहरुले मान्द्रो बुन्ने पेसा अंगाल्न थालेपछि उनीहरु आत्मनिर्भर मात्र भएका छैनन् पुख्र्याैली पेसाको पनि संरक्षण भएको छ ।

पुरुष सरह महिलाहरुले चोया काट्ने मान्द्रो बुन्ने काम गर्छन् । महिलाहरुले बुनेको मान्द्रो पुरुषहरुले नै विभिन्न ठाउँका हाट बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

बजारमा एउटा मान्द्रोको मूल्य २ हजार रुपैयाँसम्म पर्छ । एउटा मान्द्रो तयार गर्न तीनदेखि चार दिनमा पाँचवटा बाँस आवश्यक पर्ने उद्यमी फुलिया अधिकारीले जानकारी दिइन् । ‘कलात्मक संस्कृति र सीपलाई जोगाइ राख्न पनि यसको व्यावसायिक उत्पादन हुन थालेको हो’, फुलियाले भनिन् ।

मान्द्रोको प्रयोग घर, कोठा, कार्यालय होटल, रेस्टुरेन्ट सजाउन र कार्पेटको विकल्पका रूपमा समेत गर्न सकिन्छ । यसको बिक्री वितरणका लागि बजार व्यवस्थापन गर्न सके अझ धेरै मान्द्रो उत्पादन गर्न सकिने उद्यमीहरूको भनाइ छ ।

आफ्नै घरमा वसेर काम गर्न पाइने र बालबच्चाको पनि हेरचाह हुने भएकाले यो व्यवसाय गरेको फुलकुमारी हायूले बताइन् । आफ्नो खेत बारीमा लगाएको बालीले ३ महिना पनि खान नपुग्ने भएकाले आफ्नै पेसालाई निरञ्तरता दिँदै मान्द्रो बनाउन लागेको उनले बताईन् ।

पुरुष सरह महिलाहरुले चोया काट्ने मान्द्रो बुन्ने काम गर्छन् । महिलाहरुले बुनेको मान्द्रो पुरुषहरुले नै विभिन्न ठाउँका हाट बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

सिन्धुलीका विभिन्न स्थानका महिलाहरुले बुनेको मान्द्रो सिन्धुली बजारमा मात्र नभई काठमाडौं, बर्दिबास, पोखरा, वीरगञ्ज लगायतका शहरमा समेत निर्यात हुने गरेको छ ।

यसरी बनाइन्छ मान्द्रो

हरियो बाँस तथा निगालोलाई टुक्र्याएर केही दिनसम्म ओइलाएपछि चोया बनाइन्छ । यसरी बनेको चोयामा पनि मध्य भागको नरम चोयालाई मान्द्रो बनाउन प्रयोग गरिन्छ । तयारी चोयालाई घाममा एक दिन सुक्न दिइन्छ ।

त्यसपछि उम्लिएको पानीमा रङ मिसाइन्छ र उम्लिएको पानीमा करिब १५ मिनेट तयारी चोयालाई डुबाइन्छ । त्यसलाई पुनः सुक्न दिइन्छ । यसरी सुकेको रंगीन चोयाबाट मान्द्रो तयार पारिन्छ । बिना रंगमा पनि विभिन्न आकर्षक बुट्टा तथा विभिन्न आकारमा बनाउन सकिन्छ ।

जनजिब्रोमा यसलाई मान्द्रो भनिए पनि दनुवार समुदायले उद्यमीको भाषामा यसलाई मन्द्राजी भन्ने गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: