आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ


प्रकाशित मिति :2018-10-23 11:38:27

–उषा किरण पन्थ –

आमा, हजुरआमाले तिमीलाई गर्भमै नमारे पनि मलाई मारिदिएको भए हुन्थ्यो नि ! कम्तिमा धर्तीमा आएदेखि नै त्रासमा बाँच्नु त पर्दैनथ्यो । हो आमा मलाई त यो धर्तीमा जन्मेकोमा साँच्चिकै धिक्कार पो लाग्न थालेको छ । ६ महिनाकै अवस्थादेखि मेरो अंगमा पुरुषहरुले गिद्धेनजर लगाउन थालेका छन् ।

उता मेरी ७० वर्षीया हजुरआमालाई दिनदहाडै बलात्कार गर्न खोजिरहेका छन् । आमा यस्तो अवस्थामा म कसरी आफूलाई जन्मिएकोमा भाग्यमानी ठानुँ ? यौन पिपासुहरुको मात्रै झैं भएको छ यो भूमी । अनि मैले कसरी मेरो गौरवको भूमी मानौं ? अनि गौरव गरुँ आफ्नो जन्मप्रति ।

आमा मेरो एउटै गुनासो छ, तिमीले मलाई किन गर्भ मै मारिनौ ? तिमी मेरो दाजु जन्मिँदा कति खुसी थियौ नि । दाइलाई बुढेसकालको सहारा ठानेको उनीहरुको च्याँहा सुन्ने बित्तिकै हो नि हैन ।

त्यसैले त आमा दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ । तिनै दाइभाइले मलाई रुवाउँदा छोरी मान्छेले रुन हुँदैन किन भनिनौ आमा ?

दाजुभाइ जन्मिदा बुबा अबिरले रंगिनु भएको थियो । आज मलाई लाग्छ, त्यो रंग त छोरा नामको पुरुषलाई नारीको अस्मितामाथि होली खेल्न दिएको अनुमती पो रहेछ । हैन भने कसरी आज निर्दोष छोरीहरु पलपल बलात्कृत हुनुपर्थ्यो ?

बलात्कार मात्रै हो र आमा, आफ्नो यौन इच्छा पूरा गरेपछि पिपासुहरुले निर्ममतापूर्वक मारेर फाल्छन् आमा । तपाईंको बहादुर छोरा, मेरा दाजुभाइ पनि यहि समूदायका त हुन् । उसको कूकर्मलाई छिःछिः गर्नेभन्दा यो समाज मजस्ता छोरीलाई अस्मिता लुटिएकी भन्दै तिम्रो न्यानो काखबाट बञ्चित गराउन उद्दत हुन्छ आमा ।

तिमी सम्झ त तिमीले कहिल्यै दाजुभाइलाई राती ढिलोगरी घर आउँदा गाली गर्यौ ? बाटोमा कसैले केही गरिदियो भने हाम्रो इज्जत जान्छ भन्यौ ? कि कहिल्यै अर्काको छोरी चेलीलाई गिद्दे नजर नलगाउ भन्यौ ? तिमी मात्रै होइन आमा अरु आमाहरुले पनि आफ्ना छोराहरुलाई तिम्रो पनि छोरीको झैं इज्जत अनि अस्मिता छ भनेनन् ।

तिमीजस्तै अरु आमाहरुको पनि लापरबाहीकै कारण एउटै कोखबाट जन्मिएकी तिम्री छोरी असुरक्षित छे आज । दाजुभाइ छाती फूलाएर हिँड्छन् । म आँखा कुनकाप्चातिर पुर्याउँदै, कसैले ‘अस्मिता’ लुटिपोहाल्छ कि भनेर डराउँदै हिँड्छु ।

तिमीलाई पनि राम्रोसँग याद होला नि, म जन्मिँदा बाको निधारमा रातो रंग पोतिएन । न त बामा दाजुभाइ जन्मिँदा झै हर्ष नै थियो । किन ? तिमी नै भन त । आज म अनुमान लगाउन सक्छु आमा, मैले दाइभाइले झैं बहादुर गर्न सक्दिन भनेर जन्मिँदैदेखि मप्रति कुनै उत्साह र प्रोत्साहन भएन ।

एकपटक त्यो बेला तिमीले भोगेको प्रसव बेदना सम्झ त ! दाजुभाइलाई जन्माउँदा जस्तो ब्याथा लाग्थ्यो म जन्मिँदा पनि तिमीलाई त्यस्तै भएन ? उनीहरु गर्भमा रहँदा झैं म रहँदा पनि वाक्वाकी लागेन र आमा ? दाजुभाइ बसेका र म बसेको पाठेघर पनि एउटै हो नि होइन र ?

तर मैले तिमीले जस्तै सिर्जना गर्न सक्ने शक्तिको प्रतिक पाठेघर लिएर जन्मिएकै कारण किन विभेदमा परें ? तिमीसँग जवाफ छ ? दाजुभाइले झैं बहादुर गर्न सक्दिन भनेर जन्मेदेखि नै किन भनियो ? बाले त मलाई जान्ने भए देखिनै विभेद गरे आमा ।

दाइभाइका खेलौनामा बन्दुक हुन्थे । गाडी हुन्थे । लौरो हुन्थे । मेरो भागमा चैं घुम्टो, गडिया अनि भाँडाकुटी । अबोध म बाले ल्याइदिएका तिनै खेलौनामा रमाउथेँ । आफ्नो अनुहार त्यही घुम्टोमा लुकाएर बाआमाको संस्कारी छोरी बन्थें । हो, आमा मलाई संस्कारी’ बन्न तिमी र बाले सिकाएका हौ ।

मलाई नि बन्दुक चलाउन रहर लाग्थ्यो नि । तिमीलाई याद छ कहिले काँही दाइभाइको बन्दुक समाउँथे । मेरो हातमा बन्दुक देखे हत्त न पत्त खोस्दै छोरी मान्छेले यस्तो गर्नु हुँदैन भनेको पनि तिमीले नै हो आमा ।

मलाई आज ति सब कुराहरु स्मृतीमा आइरहेका छन् । तिमीसँग नलुकाई भन्न मन लागिरहेको छ । आमा तिमीले मलाई दाजुहरुसँग खेल्न दिइनौ । दाजुभाइले मलाइ कुट्दा हात फर्काउन दिईनौ ।

तर मलाई कुट्ने दाजुलाई कहिल्यै छोरा मान्छे भएर छोरी मान्छेलाई हात हाल्छन् भनी प्रश्न तिमीले गरेको मलाई यादै छैन आमा । दाजुभाइसँग झगडा हुँदा उँचो स्वर किन गरिस् भन्दै मलाई हप्कायौ । आवाज दबाउन सिकायौ ।

आमा तिमीलाई मैले यसो भनिरहँदा नरमाइलो पनि लाग्यो होला है । के गर्नु आमा मलाई तिमीले हुर्कायौ नै त्यसैगरि । आज त्यहि परिणाम त हो नि, ममाथि जाइलाग्ने नरपिचाससँग म हात फर्काउने आँट गर्नै नसक्ने भएँ । अनि बलात्कृत हुने भएँ । त्यसपछि के हुन्छ थाहा छ आमा, इज्जत जान्छ तिम्रो । बहिस्कृत हुनुपर्छ म ।

यतिमात्र हो र ! मैले लगाउने कपडामा पनि तिमीले संस्कार खोज्यौ । फरिया, लुंगी, चोली सारी लगाउन सिकायौ । मलाई कहिलेकाँही सर्ट पाइन्ट लगाउन असाध्यै रहर लाग्थ्यो । ती कपडामा तिम्रा अगाडि म संस्कारहिन ठानिन्थे । तिमीलाई थाहा छ, तिमीले संस्कारी ठानेका कपडाकै कारण यौन पिपासुहरुलाई ममाथि बलात्कार गर्न सजिलो भयो । 

आज मेरो बा, दाजुभाइ जस्ता पुरुषहरुले आफूलाई ‘मर्द’ ठान्छन् । अनि म र मजस्ता दिदीबहिनीलाई खेलौना, यौन प्यास मेटाउने साधन । रातसाँझ घरबाट निस्किए बाटो ढुक्छन् । अनि आफ्ना यौन प्यास मेटाउन आतुर हुन्छन् ।

ठन्डा दिमागले सोच त त्यतिबेला तिमीले कुरा बुझेको भए । तर तिमीले कुरै बुझिनौ । छोरी लक्ष्मी हो भन्यौ, ठान्यौ । घरभित्र को लक्ष्मी बाहिर निस्किनै हुँदैन भन्ठान्यौ । अनि मलाई लक्ष्मीमै सीमित राख्यौ । म जन्मिँदा कमसेकम कालीको आगमन भयो भनी पुजेको भए, कालीले दुष्टकाे बध गर्छिन भनेर सिकाएको भए ममा कम्तिमा पनि आफूलाई जोगाउने आँट आउँथ्यो होला ।

आइलाग्ने माथि जाइलाग्न सक्थें होला । स्कुल जाँदा कुटाई खाएर होेइन कुटेर आईज भनेको भए, तर आमा तिमीले भनिनौ । स्कूलमा केटाहरुको अनुहारमा नहेर भन्यौ । जिस्काउनेसँग मुख लागे इज्जत जान्छ चुप लाग्नु भन्यौ । मैले पनि तिमीले सिकाएझैं न गरें । अनि आज पाइला पाइलामा असुरक्षित ।

यतिमात्र हो र ! मैले लगाउने कपडामा पनि तिमीले संस्कार खोज्यौ । फरिया, लुंगी, चोली सारी लगाउन सिकायौ । मलाई कहिलेकाँही सर्ट पाइन्ट लगाउन असाध्यै रहर लाग्थ्यो । ती कपडामा तिम्रा अगाडि म संस्कारहिन ठानिन्थे । तिमीलाई थाहा छ, तिमीले संस्कारी ठानेका कपडाकै कारण यौन पिपासुहरुलाई ममाथि बलात्कार गर्न सजिलो भयो । उनीहरुले सजिलै मेरा लुगा उतार्न सके । अनि तिमीले जोगाउ भनेको ‘अस्मिता’ लुटे आमा । त्यतिबेलैदेखि तिमीले मलाई सर्ट पाइन्ट लगाउन सिकाएको भए !

तिमीलाई मैले कपाल काटेको मन पर्दैनथ्यो नि । कहिलेकाँही मैले सताउँदा तेरा जगल्टा तह लगाउँछु भन्थ्यौ । त्यहि कपाल समातेपछि म फुस्किन नसक्ने भएँ । अहिले मर्द ठहरिएका दाजुभाइ जस्ता पुरुषहरुलाई नि मलाई पक्रन त्यहि लामो कपालले सजिलो बनायो आमा ।

हो आमा, तिमीले सिकाएको संस्कारलाई अंगाल्दा अंगाल्दै मेरा फरिया फर्काइएका छन् । चाहे त्यो श्रीमानका नाममा होस् या परपुरुष । मेरा जगल्टाहरु तह लाईएका छन् । घुम्टोभित्र लुकाउन सिकाइएका अनुहार बलात्कृत भएपछि बहिस्कृत भएर देखाउनै नहुने भएको छ ।

तिमीले मलाई जन्म त दियौ । तर, समाजले निर्धारण गरिदिएका गलत संस्कार सिकायौ । त्यही संस्कारले मलाई आज बाँच्न मुस्किल बनाएको छ आमा । त्यसैले त तिमीसँग पटक पटक भन्दै छु बरु मलाई जन्मिनै नदिएको भए !

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: