कारबाहीमा होइन पैसामा न्याय !


प्रकाशित मिति :2018-10-22 14:30:15

-चन्द्रकला शाह-

बाजुरा । बाजुराको स्वामीकार्तिक गाँउपालिकाकी एक युवतीको एक पुरुषसँग प्रेम बस्यो । पुरुष विवाहित भन्ने युवतीलाई जानकारी थिएन । उनीहरुले सहमतीमा नै शारीरिक सम्पर्क राखे ।

युवती गर्भवती भइन् । गर्भवती भएपछि पटक पटक विवाहको लागि युवतीले अनुरोध गरिन् । तर, पुरुषले भने के के बाहना देखाएर टारिरहे ।

युवतीले सन्तान जन्माइन् । त्यसपछि पुरुषले उनलाई वास्ता गर्न छोडे । त्यसपछि युवतीले न्यायको लागि गाउँपालिकामा गुहार मागिन् ।

उनी न्याय पाउँ भन्दै जगन्नाथ गाँउपालिकाको उपाअध्यक्ष तथा न्यायिक समितिकी संयोजक ऐना गिरी कहाँ पुगिन् । गिरी नेतृत्वमा बसेको छलफलले २ लाख रुपैयाँ युवतीलाई दिएर उक्त विवाद मिलाईयो ।

जिल्ला सरकारी वकिल कार्यलयका वकिल नविन कुमार भट्टका अनुसार यो मुद्धा स्थानीय न्यायिक समितिले मिलाउन नपाउने बताए । यो गैर कानूनी हो । यो देवानी र फौजदारी दुबै प्रकृतिको मुद्धा हो पीडितले न्यायका लागि अदालत जानुपर्ने बताए । यस्ता मुद्धा मिलाउनेलाई समेत कारबाही हुने उनले बताए ।

जगन्नाथ गाँउपालिकाकी उपाअध्यक्ष ऐना गिरीले भने आफुलाई कुन मिलाउन पाउँछु या पाउँदिन भन्ने जानकारी नै नभएको बताउँछिन् । गिरी गाउँका अरु जान्ने बुझ्नेको सल्लाहमा उनीहरुको विवाद पैसामा टुंगो लगाइदिइको बताउँछिन् ।

गिरीले भनिन्, ‘मकहाँ न्याय माग्न महिला आइन् । दुबै पक्षलाई राखेर छलफल गरायौं । अनि उनीहरुको सल्लाह र गाउँपालिकाको बुझ्नेहरुको सुझावमा पैसामा सहमती गराएका हौं ।’

६० हजारमा बलात्कृतलाई न्याय !

गौमुल गाँउपालिकाकी १९ वर्षीया किशोरी स्थानीय एक युवाबाट बलात्कृत भइन् । बलात्कार पछि गर्भवती भइन् । उनबाट बच्चा समेत जन्मियो ।

बच्चा जन्मिएपछि बलात्कार गर्ने युवालाई श्रीमती स्वीकार्न स्थानीयले दबाब दिए । तर ती युवाले मानेनन् । त्यसपछि युवतीले आत्महत्या प्रयास समेत गरिन् ।

हाडनाता करणीकाे घटना १ लाख ५० हजार रुपैयाँमा मिलाईयो । सँगै केटीलाई गाउँ निकाला गर्ने र केटालाई ३ वर्षसम्मका लागि देश नै निकाला गर्ने मौखिक सहमती सोही ‘भद्र’ का टोलीले गरे ।

गाउँले छरछिमेकले सम्झाएर न्यायको लागि जिल्लामा पुर्याए । सदरमुकाम पुगेपछि गाउँका केही अगुवा, जनप्रतिनिधि र अधिकारकर्मीको सक्रियतामा ६० हजार रुपैयाँ केटालाई तिराएर घटना मिलाइयो । र, घटना पनि गुपचुमै राखियो ।

बन्धक बनाएर गराएको विवाह ८० हजारले मिलाइयो

बाजुराको बुढीगंगा नगरपालिकाकी १० कक्षा पढ्ने १६ वर्षीया किशोरी एक स्थानीय महिलाले ललाईफकाई आफ्नो देवरसँग विवाह गराईन् ।

तर, किशाेरीलाई केटा चित्त नबुझेपछि उनलाई फेरी गाँउकै अर्को केटासँग धामी झाँक्री र गाउँका ‘भद्रभलाद्मी’ राखेर जबरजस्ती बिहे गर्न लगाईयो ।

एक हप्ता पछि माइतीले आफ्नी छोरीलाई बन्दक बनाएर बिहे गराइदिएको थाहा पाएपछि उनलाई उद्दार गरे । त्यसपछि उजुरीको लागि जिल्ला प्रहरी कार्यालय गए ।

तर, प्रहरीमा उनीहरुको उजुरी दर्ता हुन पाएन । जिल्ला प्रहरी कार्यलयमा निवेदन दर्ता नहुँदै केही महिला अधिकारकर्मी र अगुवाको सहयोगमा ८० हजार रुपैयाँ दिएर अपराध मिलाईयो ।

पैसामा घटना मिलेपछि केटीलाई माईती पक्षले घरमा लगे । केटीका बुवाले भने, ‘सबैले मिल्नुपर्छ भनेर दबाब दिए । आफूलाई कानूनको कुरा पनि थाहा छैन । मुद्धा लडिदिने पनि कोही छैनन् । त्यसैले मिलें ।’ उनले ८० हजार रुपैयाँमा घटना मिलाएपछि उनले छोरी फिर्ता ल्याए ।

हाडनाता करणीको मेलमिलाप रकम डेढ लाख !

बाजुरमै एक महिलालाई आफ्नै भाइले करणी गरे । त्यसपछि महिलामा गर्भ रह्यो । हाडनाता करणीका कारण महिलाको गर्भ रहेको थाहा भएपछि पीडित पक्ष उजुरीका लागि मर्ताडी पुगे ।

प्रहरीको गेटैमा पुगेपनि पीडितले उजुरी भने गरेनन् । बरु गाउँका अगुवा भनिनेको दबाबमा हाडनाता करणीको मुद्दामा रकमको बार्गेनिङ भयो ।

केही समयको मोलमोलाई पछि १ लाख ५० हजार रुपैयाँमा घटना मिलाईयो । सँगै केटीलाई गाउँ निकाला गर्ने र केटालाई ३ वर्षसम्मका लागि देश नै निकाला गर्ने मौखिक सहमती सोही ‘भद्र’ का टोलीले गरे ।

अहिले बच्चा जन्माएपछि महिलाको अवस्था अलपत्र छ । उनको सहायतामा घर माइती कोही पनि छैनन् । केटा भने विदेश गएको आफन्तले जानकारी दिए ।

आफ्नो क्षेत्राधिकारबारे न्यायिक समिति बेखबर

स्थानीय तहमा गठन भएका न्यायिक समितिलाई कस्ता मुद्धा मिलाउने अझै राम्रो जानकारी छैन । अर्कोतर्फ उनीहरुले केही रकमको प्रलोभनमा पनि फौजदारी मुद्धा मिलाइदिने गरेका छन् ।

न्यायिक समितिले कस्तो प्रकृतिको मुद्धा मिलाउने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ र २ प्रष्ट लेखेको छ । तर न्यायिक समितिलाई जानकारी समेत नभएको बाजुराका नागरिक अगुवा प्रेम वि.कले बताए ।

 अधिवक्ता गगन रावल बाजुरामा सरकारवादी फौजदारी मुद्धा पनि दबाब र राजनीतिक आडको कारण मिलापत्र हुने गरेको बताउँछन् ।

न्यायिक समिति आफ्नो क्षेत्राधिकारबारे प्रष्ट नहुँदा जिल्लामा स्थानीय निर्वाचन पछि गैर न्यायिक मिलापत्र बढ्दै गएको छ । प्रहरी वा अदालतमा जानु पर्ने मुद्धा राजनीतिक दबाब र जनप्रतिनिधिको लालचका कारण सहमतीमा मिल्दै आएका छन् ।

सावाँ अक्षर समेत जान्दैनन् उपाध्यक्ष

यसको उदाहरण स्वामीकार्तिक गाँउपालिकाका उपाअध्यक्ष तथा न्यायिक समिति संयोजक निमा बुढा पनि हुन् । उनले महिला खबरसँग आफुलाई कानून सम्बन्धि कुनै जानकारी नभएको बताईन् ।

उपाध्यक्ष बुढा ६३ वर्षकी हुन् । उनी आफ्नो नाम लेख्न जान्छिन् । थर समेत लेख्न उनलाई आउँदैन । आफ्नो तलब कति आउँछ ? आफूले के के काम गर्नुपर्छ भन्ने थाहा नभएको उनले बताईन् ।

उनले भनिन्, ‘गाँउपालिकामा आउने समस्या अध्यक्ष सँग सल्लाह लिएर मात्रै छिनोफानो गर्छु ।’

हिमाली गाँउपालिका कि उपाअध्यक्ष चन्द्रकला बुढा पनि कानून सम्बन्धि कुनै जानकारी नभएको बताउँछिन् । सामान्य साक्षर मात्र चन्द्रकला आफुले कुन मुद्धा मिलाउन पाउने जानकारी पनि छैन । गाउँपालिका अध्यक्ष र अन्य सँग सल्लाहमा मुद्धाको छिनोफानो गर्ने उनले बताईन् ।

नेपालको संविधानले नै स्थानीय तहमा गठन हुने न्यायिक समितिलाई अर्धन्यायिक निकायका रुपमा लिएको छ । स्थानीय तहको निर्वाचन पछि स्थानीय न्यायिक समिति पनि गठन भएका छन् ।

समितिका संयोजकहरु विषय र कार्यक्षेत्रबारे बेखबर हुँदा बाजुराका नौ वटै स्थानीय तहमा न्यायिक समितिले पैसाको मोलमोलाइमा गैर न्यायिक मिलापत्र गरिरहेका छन् । जसको प्रत्यक्ष असर महिलालाई परेको छ ।

नागरिक समाजका शेरबहादुर शाहीले न्यायिक समितिलाई आफ्नो अधिकार के हो, कस्तो मुद्धा मिलाउन हो कस्तो मुद्धा अदालतमा पठाउने हो कुनै जानकारी नहुँदा न्याय सम्पादनमा समस्या भएको बताए ।

स्थानीय न्यायिक समिति भनेपनि दलका विचार हाबी भएका व्यक्तिहरुको उपस्थितीले पनि न्यायिक समितिको कार्य सम्पादन निष्पक्ष हुन सकेको छैन । दलीय रुपमा हेरेर घटना मिलाउने प्रवृत्ति बढेको पनि उनले बताए ।

बाजुराका अधिवक्ता गगन रावल बाजुरामा सरकारवादी फौजदारी मुद्धा पनि दबाब र राजनीतिक आडको कारण मिलापत्र हुने गरेको बताउँछन् । उनले थपे, ‘पैसामा नमिले मात्र अदालतसम्म आइपुग्छन् ।’

अधिवक्ता भीम केसी भने पैसामा गरिने मिलापत्रले महिलाहरु थप पीडामा पर्ने गरेको बताउँछन् । झनै पीडित बन्ने गरेको पाईएको छ । उनले भने, ‘अर्कोतिर पैसा भएमा अपराध पनि लुक्छ, भन्ने विकास हँुदै गएको जसका कारण महिला बढि जोखिममा पर्ने गरेका छन् ।’

पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका अधिकारकर्मी जानकी रावल बताउँछिन् । उनले भनिन्, ‘तिमी त यस्ती उस्ती भनेर चरित्रमाथि टिप्पणी गर्ने गरेका छन् । जसले न्याय भन्दा बढि महिलामाथि अन्याय हुन्छ ।’

पैसामा भएका मिलापत्रका कारण महिलाले घरपरिवार बाटै हेपाई सहने गरेका छन् । बिस्तारै परिवार नै छोड्ने अवस्था आएको पनि उनले बताईन् ।

(चन्द्रकला शाह बाजुराबाट पत्रकारिता गर्छिन्  ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: