कविताका तीन ‘उग्र’ काम


प्रकाशित मिति :2018-10-17 09:00:08

-प्रतिमा सिलवाल-

२०२९ साल वैशाख १६ गते । बैशाखमास भए पनि दिन धुम्म थियो । त्यही दिन कविता पौडेलको मनमा भने विद्रोहको ज्वाला दन्कियो । तर, विद्रोहको लागि कुनै शंखघोख गरिनन्, न त झ्याली पिटेर पर्चा बाँड्दै कविताको विद्रोहको सुरुआत भएको थियो ।

कविता त्यतिबेला गाउँमा बसेर गरेको ढिकीजाँतो, हँसिया कोदालो गर्ने सामान्य महिला थिईन् । तर, उनको मनोबल उँचो थियो । त्यही समय उनले विद्रोहको सहायात्रामा तिनै ढिकीजाँतो, खेतबारीको साथ लिईन् । महिलाले गर्नुहुन्न भनिएको हलो जोतेर चुपचाप पहिलो विद्रोह गरिन् ।

कविता ती दिन सम्झिन्छिन्, ‘मकै छर्नुपर्ने, घरमा लोग्ने मान्छे थिएनन् । सासू, म र देउरानी मात्रै थियौं । धनबहादुर दमाईलाई बारी जोत्न बोलाएका थियौं , ऊ आएन । सासू (बालिकादेवी)ले हामीलाई अह्राउनुभयो– देउरानी जेठानी भएर मकै छर्नू । काम अह्राएर उहाँ कता लाग्नुभयो । देउरानी पनि बेँसी झरिन् । टाकुराबारीको पाटो ठूलै थियो । मकै रोप्न म एक्लै परेँ ।’

त्यही दिन कविताले समाजको रुढ विरुद्ध गर्ने एक विद्रोहको मौन शंखघोसको उपाय उनको मनमा फुर्यो ।

टाकुराबारीको पाटो दिनभर एक्लैले खनेर कहिले सक्ने ? उनले सोचिन्– ‘आफै जोत्छु ।’ बैशाखको दिन भए पनि आकाशमा ढपक्क बादल थियो । घाम चर्को थिएन । भात खाएर गोठ गईन् । गोरु थिए– तारे र फुर्के, फुकाइन् ।

नजिकै थियो टाकुराबारी । रुखले घेरिएको पाटो भएकाले छरछिमेकबाट झट्ट देखिँदैनथ्यो । दिनदिनै आफै“ले स्याहार्ने भएकाले गोरु नार्न गाह्रो थिएन । अघिल्लो दिन आधा जोतेर छोडेकाले हलोजुवा बारीमै थियो । एउटा भा“डोमा लगेको मकै आधा पाटोमा सरर्र छरिन् ।

अझ सम्झिन्छिन्, ‘पहिले तारेलाई जुवामा राखेँ अनि फुर्के । नारा (हल्लुँड) मा हरिस अड्काए“ । जोत्न आधा मात्र बाँकी थियो, अनौ समातेर गोरु धपाउन थाले“ । जोत्न उति गाह्रो भएन, आधा घन्टामै सकेँ । मकै छरेर पनि सकियो । कसैलाई केही भनिन, देखेनन् पनि ।’

महिलाले हलो जोते अनिष्ट हुन्छ । बिउ टुसाउँदैन भन्ने रुढले नेपाली समाज ग्रस्त छ । तर कविताले हलो जोतेको बारीको मकै राम्रै उम्रियो । फल लाग्यो । पाकेपछि घर पनि भित्र्याईयो ।

असारमा पनि खेत जोतिन् कविताले । चिदीगौरा खेतमा दुई गह्रा रोप्न बा“की थियो । उनलाई लाग्यो – दुई गह्रा खेत जोत्न के मान्छे बोलाउनु ?

गोरु चराउन प्रायः खेततिरै लैजाने गर्थे । सासूले ‘गोरु जंगलतिर लाइदिनू, खनखान गरेर रोपेर आओ’ भनेर अह्राएकी थिईन् ।

देउरानी उषा र कवितासँगै थिए । पहिल्यै जोत्ने अनुभव बटुलिसकेकाले होला, असारमा पनि कवितालाई जोत्न आँट आयो ।

देउरानीसँग सल्लाह गरिन् । तर उषा आत्तिइन् । भनिन्, ‘दिदी यस्तो काम नगर्नू, आइमाईले हलो जोत्न हुन्न, सासूले थाहा पाउनुभयो भने घरबाट निकाल्नुहुन्छ ।’

कविता थप्छिन् ‘मलाई भने आइमाईले गर्नु नहुन केही छैन जस्तो लाग्थ्यो । काम पनि आइमाई र लोग्नेमान्छेको भन्ने हुन्छ ? तिमी चुप लाग, म जोत्छु अनि छिटो काम सकिन्छ भनेर उषालाई सम्झाएँ । हलगोरु नारेर मैले खेत जोतेँ । उषाले खनेर गरा मिलाइन् । आधा घन्टामै जोतेर सकियो ।’

दोस्रो पटक पनि कसैले देखेनछन् । हल्लाखल्ला भएन । दुईपटकसम्म हलो जोत्दा कसैले थाहा पाएनन् ।

त्यही सालको मंसिरमा गहुँ छर्ने बेला थियो । धनबहादुर दमाईं नारिएका हलगोरु अड्याएर पानी खान गएका थिए । गोरु हिँड्न लाग्यो । कविता र उषा डल्ला फोर्दै थिए ।

तेस्रो पटक जोतेको अनुभव सुनाउँदै कविताले थपिन्, – ‘धनबहादुरलाई सान्दाइ भन्थ्यौं । गोरु हिँड्न लागेपछि उषाले ‘सान्दाइ कता हराए, लौ गोरु हिँड्न थाल्यो’ भनिन् । म अनौ समातेर खुरुखुरु जोत्न थालें । त्यतिबेला वारिपारि मान्छे रै’छन् । मैले जोतेको देखेर सान्दाइ पनि कुद्दै आए र भने, ‘लौ यो बाहुनीले त के गर्न लाग्यो ?’

फाँटभरि मान्छे थिए । उनीहरू एकैपटक ममाथि खनिए – ‘गाउँकै विनाश हुने भो, यो आइमाईले के गरी !’ म भने चुपचाप जोतिरहें ।’

कविताले हलो जोती, हल्ला गाउँभरि फैलियो । सासूको कानमा पनि कुरो पुग्यो । थाहा पाएपछि सासूले हकारिन्, ‘यो आइमाई जेजे गर्न हुँदैन भन्यो, त्यै–त्यै गर्छे ।’

कविता हक्की स्वभावकी छिन् । उनी डराउने कुरै भएन । मनमा डर भए अनौ समाउने आँट कहाँबाट आउँथ्यो र !

‘आफ्नो काम गर्न केही हुन्न आमा’ भनेर उल्टै सासूलाई सम्झाईन् । सासूले भने कविताले छोएको पानी पनि खाइनन् । भान्छामा पनि बन्देज लाग्यो । हलो जोतेकै कारण सासूले २०२९ देखि २०६० सालसम्म आफूले पकाएको भात नखाएको कविताले बताईन् ।

हाम्रो समाजमा विहे गरेकी छोरीले घरमा केही बिगार गरे माइतीमा दोष जान्छ । कविताको पनि त्यही भयो । उनकी आमाले पनि तै“ले ‘मलाई रुवाइस्’ भनेर खबर पठाइन् ।

त्यतिबेला कविताका पति (मोदनाथ प्रश्रित) बनारस थिए । उनले पनि आफन्तसँग खबर पठाए – ‘उग्र काम गरिस् !’ प्रत्युत्तरमा कविताले पनि खबर पठाइन्, ‘पहिलोपटक गरेको काम उग्र जस्तै लाग्छ ।’

आफूले गरेको काम सही भए पनि कविता गाउँमै बहिष्कृत जस्तै भईन् । दिदीबहिनी बोल्न छाडे । पधेँरोमा पानी छोइएला भनेर सबै पर सर्थे । कर्मले मानिसलाई उँचो बनाउँछ । उनको सिद्धान्त यही थियो । आफ्नो कर्म छोडिनन् । अनि सँगै अघि बढ्यो विद्रोहको एक पछि अर्को पाटो ।

दमाईंको मलामी

२०२९ साल नै उनको विद्रोहको वर्ष बन्यो । अर्को विद्रोह, कविता सम्झिन्छिन्, ‘मंसिरदेखि जेठसम्म पानी परेन । गाउँमा हैजाको महामारी फैलियो । घरनजिकै कौडे दमाईंका दुई नातिलाई केही दिनअघि हैजाले लगिसकेको थियो । तेस्रो नातिलाई पनि हैजाले लगेछ । कौडेको छोरा भारत गएका थिए, कमाउन । हैजा सर्छ भनेर उसको घरमा मान्छे पाइलै टेकेनन्, कहाँबाट पाऊन् मलामी ?’

कविताले कौडेको घरको यथार्थ थाहा पाइन् । गाउँको एक सचेत महिला । समस्या बुझ्नु पर्यो भनेर जाँदा उनले देखिन्, ‘बुहारी पहिलेका दुई सन्तानको किरिया बसिरहेकी छे । लास आँगनमा गन्हाउन थालिसकेको छ । कौडे एक्लैले गाड्न लैजान सकेन, ऊ पिँढीमा रुँदै थियो ।’

शोकमा डुबेको कौडेलाई सहानुभूति दिने कोही थिएन । ऊ ज्यादै हतास र बेसहारा थियो । कवितालाई त्यतिबेला मानवीय धर्मको स्मरण भयो । आफू महिला र मलामी बन्न प्रतिबन्ध भएको कुरा उनको स्मरणमा आएन, मात्रै धर्म सोचिन् र कौडेको नातिको मलामी बन्न तयार भइन् । आइमाईले मलामी जान नहुने रुढ परम्पराले थिचेको समाजमा कविता बाहुनी, दमाईंको मलामी जाँदै थिईन् ।

कौडे दमाहीले लास उठायो । कविता कोदालो बोकेर पछिपछि हिँडिन्, आम मलामी झैं । कविता सम्झिन्छिन्, ‘घाट पुर्याएपछि मैले नै खाल्डो खनिदिएँ । बच्चाको लास गाडेर घर फकिर्यौं । पँधेर्नीहरूले मलाई देखेका रहेछन् । कविता दमाईंको मलामी गई भन्ने चर्चा गाउँभरि पिटिइसकेछ । लास गाडेर फकंर्दै थिएँ, सासूले परैबाट थुक्नुभयो ।’

मलामी बनेकोे दिन उनलाई सासुले घरभित्र पस्न दिइनन् । ‘मेरो छोराले कस्तो दिनमा योसित बिहे गरेछ । भनेको पटक्कै मान्दिन, कैले के गर्छे, कैले के गर्छे’ भनेर सासू भुटभुटिन थाल्नुभयो । कविताले थपिन्, ‘मैले नराम्रो गरेको छैन, आपत्मा सहयोग गर्दा पाप लाग्दैन, तपाईं चिन्ता नलिनुस् भनें ।’

घरको छानो छाइन्

तेस्रो विद्रोह, त्यही वर्ष सात महिनापछि असारमा हुरी बताससहितको पानी पर्यो । घर खरले छाएको थियो । हुरीले घरको पाली उडायो । लोग्नेमान्छे नभएपछि गाउ“कालाई गुहार्न कता जानु ! रुझ्दै बस्नु पनि भएन ।

घर बनाउने विकल्पमा विद्रोहको अर्को उद्घोष पनि गरिन् उनले । भन्छिन्, ‘देउरानी उषाले भुईँबाट खरका मुठा समात्न दिइन्, मैले माथि बसेर पाली छाए ।’ आइमाइले घर छाउनै नहुने मान्यता विरुद्धको काम थियो यो ।

गाउँमा विपत्ती, दोष कवितालाई 

कविताले गरेको कामको आफ्नो गाउँमा मात्रै होइन वल्ला पल्ला गाउँमा पनि आलोचना भयो । अलच्छिनी आइमाई ! धेरैले भने । तर, उनलाई भने आफूले गरेको काममा कहिल्यै पछुतो भएन ।

माइतीमा बुबाको मृत्युपछि आमाले भोग्नुपरेको दुःख कविताका आफ्नै जस्ता थिए । बिहेपछि घरमा पनि ससुरा बितेपछि आइन् । श्रीमान् र देवर दुवै पुरुष पढ्न बनारस गए ।

घरमा महिला मात्रै । घरै धानेर बस्नचाहिँ हुने, अनि आफ्नो काम गरेर खान किन नहुने ? यस्तो लाग्थ्यो उनलाई । त्यसैले कसैको कुरामा चासो दिइनन् ।

संयोगले होला, ‘आइमाई’ले गर्न नहुने भनेर परिभाÈा लगाइएका काम गरेकै वर्ष कविताको घर अनि गाउँमै ठूलाठूला विपत्ती परे । तारे र फुर्के गोरुको हल नै भीरबाट लडेर मर्यो ।

गाउँभरका केटाकेटीलाई दादुरा आयो । हैजा फैलियो । सात महिनासम्म पानी परेन । त्यसको सबै दोष उनैमाथी थोपरियो । आइमाईले हलो जोतेर भगवान् भागे भन्न थाले ।

कविताले सत्यानाश गरी भनेर गाउँमा पञ्चायत बस्यो । मैदान पोखरीमा होम गर्नुपर्छ भनेर कवितालाई गाउँका भद्र बोलाउन आए ।

थानकोटस्थित घरमा बसेर कविता सम्झिँदै छिन्, ‘काका ससुराहरू हैन भनिदे भन्दै थिए । तर, आफूले गरेको काम लुकाउन मलाई मन थिएन, मैले झुट बोलिन, पञ्चायतमा गएँ । ‘तैँले जोतिस् ?, किन जोतिस्, यसलाई झुन्ड्याउनुपर्छ’, पञ्चायतमा भेला भएको ठूलो हुल ममाथि खनियो ।’

अगाडि भनिन्, ‘एकछिन त चुप लागेर बसें । फेरि कि होम गर्, कि उँधो मुन्टो खुट्टा पारेर झुन्ड्याउँछौ भनेर एकथरि महिला कराउन थाले ।’

अगाडि सम्झिन्छिन्, ‘मलाई पनि साह्रै झोंक चल्यो । लौ त कसले मलाई उँधो मुन्टो लाएर झुन्ड्याउँछ ? मैले आफ्नो काम गरेर खान पनि नहुने ? कुन शास्त्रमा आइमाईले हलो जोत्न हुन्न भनेर लेख्या छ ?’ भनेर म पनि बम्किएँ ।’

त्यसपछि केही महिला उनका पक्षमा देखिए । ‘लौ त कवितालाई कसैले छुने आँट गरोस्’ भन्दै हँसिया बोकेर आए । त्यसपछि प्रधानपञ्च जीवनाथ गौतमले उनलाई धाप मार्दै भने, ‘स्याबास् बहिनी, तिमीले ठूलो साहसको काम गरेकी छ्यौ । गर्दै जाऊ । समाजको कालोमैलो फाल्दै जाऊ ।’

तर, आज पनि समाजको मैलो भने सकिएको छैन । कविता ४६ वर्ष अघिको त्यो समाज र आजको आधुनिक समाजको तुलना गर्छिन् । ‘अझै समाज फेरिएको छैन । समाजले निर्धारण गरिदिएका विभेद बोकेरै महिलाहरू बाँचिरहेका छन् । त्यसैले उनलाई लागिरहन्छ, ‘यो समाजको रुढग्रस्त सोच फाल्न अझै हजारौं कविता जन्मिनु पर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: