आशीर्वाद दिन कुरेर बसेका आमाबुवा


प्रकाशित मिति :2018-10-14 14:57:38

–सन्दिप विक–

ललितपुर । ठूला र मान्यजनबाट टीका र जमरा पहिरिएर दिर्घायूको आशिष् लिने पर्व हो दसैँ । दसैँमा आशिष् लिन भन्दा दिन आतुर मनहरू यतिबेला टीका थाप्नुपर्ने निधारको पखाईमा छन् ।

शरीरले काम गर्न नसक्ने भएपछि आफ्नैबाट वा आफै वृद्धाश्रम पुगेका आमाबुबाहरूको मन बेचैन छ । जताततै दसैँको चहल पहल बढेको खबरले उनीहरूलाई हर्ष दिने कुरा त एकादेशको कथा जस्तै हो । पीडा भने थप्छ नै ।

वर्षदिनमा छोराछोरी वा आफन्त भेट्न आउँछन् कि भन्ने झिनो आस कुरेर बसिराखेका उनीहरू भन्छन्, ‘दसैँले एकछिन भए पनि सन्तानको मुख हेर्ने र आशिष् दिने समय जुराइदिएको छ । त्यसैमा खुसी लाग्छ ।’

वृद्धाश्रममा रहेका अधिकांश बुबाआमाहरूलाई दसैँको न्यास्रोले सताइरहेको छ । कतिपय छोराछोरी, आफन्त आउछन् कि भनेर दिन गनेर बसिराखेका छन् भने कतिपयसँग विगतका दसैँ सम्झेर चित्त बुझाउनुको विकल्प छैन् ।

नारायण

कान्छो छोरा र छोरी पक्कै आउँलान्

मेरो नाम नारायण पुरी(७१) । ९ वर्षदेखि वृद्धाश्रममा छु ।

यही काठमाडौंमै जन्मिए । हुर्किए, विवाह गरे । दुई छोरा एक छोरी छन् । ठूलो छोरा र छोरीको विवाह भयो ।

के गर्ने अर्काको छोरी ल्याए पनि आफ्नो छोरो नै पराई हुँदोरहेछ । अहिले कोही नभएको जसरी वृद्धाश्रमममा जीवन बिताउनु परेको छ ।

ठूलो छोरा बुहारी लिएर भक्तपुर गएर बसेको छ । ऊ जागिरे छ । कान्छो पनि जागिर गर्छ । कान्छो छोरा र छोरी कहिलेकाहीँ भेट्न आउँछन् । यसपटक पनि कान्छो छोरा र छोरी पक्कै आउँछन् जस्तो लागेको छ ।

छोराछोरीलाई राम्रो गर्नु भनेर आर्शीवाद दिने गरेको छु । पहिले पहिले चाडपर्वमा नरमाइलो लाग्थ्यो । तर अहिले बानी भइसक्यो । परिवारलाई सम्झिनुभन्दा नसम्झिएकै राम्रो जस्तो लाग्छ । मन दुख्नै छोड्यो अब त ।

लक्ष्मी प्रसाद

‘जापान र अमेरिबाट के आउँलान र खै’

मेरो नाम लक्ष्मीप्रसाद अधिकारी (८७) । घर महाराजगञ्ज बाँसबारी । वृद्धाश्रममा बसेको चार वर्ष भयो । श्रीमती बितेको १८ वर्ष भयो ।

छोराहरू पढाए । बढाए । ठूलो छोराको परिवार जापान, कान्छोको अमेरिका छन् ।

गाउँका दाजुभाई, छिमेकी कहिलेकाहिँ भेट्न आउँछन् । गत वर्ष पनि टीका लगाउन छोरा बुहारी आएनन् । अहिले पनि आउँदैनन् भन्ने सुनेकोछु । अर्को साल आउँछन् कि ?

अहिले कोही लिन आएछन् भने जान्छु । नआए यही बस्छु । जापान, अमेरिका पनि जाऊ, घर ऊही छ भन्थे । जान्न भने । पहिले पनि देउघाटमा १२ वर्ष बसेँ । भारतमा पनि ५ वर्ष आश्रममै बसेँ ।

अहिले एक्लो छु । चाडपर्वमा नरमाइलो लाग्छ । दुई भानिज छन् । पोहोर नि आएका थिए । अहिले पनि यही आउलान् । आएभने टीका लगाइदिनुपर्ला । भानिजको छोरो मेजर छ । ऊ पनि आउँछ । पोहोर पनि यही आएको थियो ।

चन्द्रबहादुर

‘मास्टर छोरो आउला नि ?’

मेरो नाम चन्द्रबहादुर अधिकारी (९६) । घर काठमाडौं कागेश्वरी सुन्दरीजल । एउटा छोरो छ । नाति ड्राइभर छ ।

छोरो त्यहीको मास्टर छ । छोरा बेला बेलामा वृद्धा भत्ता लिन आउँछ । वृद्धाश्रममा बसेको एक वर्ष भयो । दसैँमा टीका लगाउन आउँछन् । यसपाली नाती पनि आउँछ कि भन्ने आस लागेको छ ।

‘छोरा, छोरी आउँलान ?’

म धनमाया जंगम । अहिले ६९ वर्ष पुगे । बालखैमा बाआमा बिते । मामा घरमा हुर्किएँ । यहाँ आएको १० वर्ष भयो । एउटा छोरा, एउटी छोरी छ ।
श्रीमान खसेको ३० वर्ष भयो । माइती काभ्रे धुलिखेल हो । बाआमा बितेपछि टुहुरी थिएँ । बुबाका ५ श्रीमती थिए । साइलीबाट छोरी म मात्रै । ४८ वर्षमा श्रीमानको मृत्यु भयो ।

धनमाया

छोरा कता छ थाहा छैन । तर जहाँ भए पनि दसैँमा टीका लगाउन आउँछ । पोहोर पनि आएको थियो । छोरी पनि आउँछे होला ।

के गर्ने आफ्ना छोरीछोरीसँग पनि भर छैन । उनीहरूको आधार पाएको भए म यहाँ आउने पनि थिइन होला । छोराछोरी हुँर्काएँ, बढाएँ । चाडपर्वमा नरमाईलो लाग्छ ।

काठमाडौंको पशुपतीस्थित वृद्धाश्रममा रहेका अधिकांश वृद्धवृद्धा सन्तान र आफन्त टीका थाप्न आउने आशामा छन् । आफूलाई टीका लगाइदिने मान्छे नभए पनि आफ्ना भनिएका कोही आए टीका लगाइदिएर आर्शीवाद दिन पाउने झिनो आसा छ उनीहरूलाई ।

एक हजार पाँच सय ७७ वृद्धाश्रममा

देशभर रहेका वृद्धाश्रममा पुरुषको तुलनामा महिला बढी रहेको पाइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले हालै गरेको ‘जेष्ठ नागरिकका मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि गरिएको अध्ययन÷अनुगमन मध्यावधिक प्रतिवेदन’मा यस्तो तथ्य पाइएको हो ।

आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा एक हजार पाँच सय ७७ जना वृद्धामध्ये ९ सय ६५ महिला र ६ सय १२ पुरुष रहेका छन् । जसमा सबैभन्दा बढी प्रदेश नं ३ मा महिला बढी दुई सय ९९ रहेका छन् ।

यस्तै प्रदेश ३ मै तीन सय २३ जना जेष्ठ नागरिक पुरुष वृद्धाश्रममा रहेका छन् । यस्तै प्रदेश १ मा दुई सय ३७ जेष्ठ नागरिक महिला छन् भने एक सय २० पुरुष जेष्ठ नागरिक छन् ।

प्रदेश २ मा ४१ जेष्ठ नागरिक महिला, २७ पुरुष जेष्ठ नागरिक रहेका छन् । प्रदेश ४ मा २ सय ३१ जना महिला जेष्ठ नागरिक र ९८ पुरुष जेष्ठ नागरिक रहेका छन् ।
प्रदेश ५ मा ७० महिला, २९ पुरुष, प्रदेश ६ मा ६ महिला ७ पुरुष र प्रदेश ७ मा ४८ महिला र २३ पुरुष जेष्ठ नागरिक वृद्धाश्रममा रहेका छन् ।

अपवादका रुपमा आउँछन्’, कृष्णप्रसाद गौतम, एजिङ नेपाल

अपवादको रुपमा मात्रै छोराछोरीहरू दसैँमा टीका थाप्न वृद्धाश्रम पुग्छन् ।

वृद्धाश्रममा पुग्ने वृद्धवृद्धा परिवार, आफन्तले हेला गरेर, दुःख पाएरै गएका हुन्छन् । शरीर थलिएपछि र आफूलाई हेरचाह गर्ने कोही नभएरै उनीहरू वृद्धाश्रमसम्म पुग्छन् ।

शरीर थलिएपछि आफन्तको सहारा नहुँदा जीवनको अन्तिम अवस्थामा वृद्धाश्रम पुगेका आमाबुबाहरूको सन्तान र आफन्तलाई टीका लगाइदिने सपना पूरा होस्, शुभकामना ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: