सत्य युगकी दुर्गा र कलियुगकी नारी


प्रकाशित मिति :2018-10-11 14:55:33

-ज्ञानु अधिकारी-

हामी यतिखेर एक्काइसौँ शताब्दीमा छौँ । आधुनिक भनिएको यो युगका हामी मान्छे कतिपय कुरामा भने परम्परित सोच र धारणालाई नै आत्मसात गरिरहेका छौँ । खासगरी समाजले नारीप्रति बनाएका धारणा र सोचहरू असाध्यै परम्परित र आग्रही छन् । यस्तै सोच र व्यवहारका कारण पुरुषको तुलनामा नारीको जीवन जटिल अनि कष्टकर बनिरहेको छ ।

शैक्षिक योग्यताका प्रमाणपत्र थुपारेर र आधुनिक फेसनमा हिँडेर मात्रै त मान्छे कहाँ सभ्य हुन्छ र ? सभ्य र सुसंस्कृत हुनका लागि हाम्रो आचरण र व्यवहारमा सकारात्मक परिवर्तन हुनै पर्दछ । तर त्यसो हुन सकेको छैन । शिक्षित र सभ्य भनिएका वर्गमा समेत नारीलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन ।

परम्परित समाजले ‘आइमाई’ शब्दलाई हेयका रूपमा प्रयोग गरेर जुनजुन धारणाको विकास गर्यो, आजको समाज पनि त्यही सोचमा अल्झिएको छ । यसरी विभेदकारी सामाजिक मान्यतालाई आत्मसात गरेर बस्नु भनेको समाज परिवर्तनको गति रोकिनु हो र मानिस यथास्थितिवादी हुनु हो ।

महिलाका हुन नसकेको पर्व

प्रसंग दसैँको हो । हिन्दुहरूको प्रमुख चाड दसैँ शुरु भइसकेको छ । यो चाडको गरिमा र महत्व आफ्नै ठाउँमा छ तर यो चाडसँगै आएको व्यवहारिक चटारोलाई हेर्ने हो भने त्यसको सबैभन्दा ठूलो प्रभाव नारीलाई पर्दछ ।

बाहिरबाट हेर्दा सामान्य मानिएको र सधैँ बेवास्ता गरिएको यो पक्षले नारी मनोविज्ञानमा के कति असर पार्छ भन्नेबारे अरुले त के स्वयम् नारीले नै सोच्न र विचार गर्नसम्म भ्याएका हुँदैनन् ।

उनीहरू ससाना प्राप्तिमा नै जिन्दगीका ठूलाठूला पीडा र चुनौतीलाई बिर्सिदिन अभ्यस्त भइसकेका छन् । चाडबाड भन्नेबित्तिकै त्यससँग जोडिएर आएका व्यवहारिक झमेला प्रशस्त हुन्छन् ।

पूजाआजा, सरसफाइ, किनमेल, जोरजाम, पाहुनापाछा, खानपिन, व्यवस्थापन आदि औपचारिक र अनौपचारिक धेरै कुरा यससँग गाँसिएर आएको हुन्छ र यसको सबै अभिभारा नारीले नै बोक्नुपर्ने हुन्छ ।

दसैँ छुट्टीको खुसियालीमा साथीभाइको जमघट, घुमघाम आदिमा रमाउने, तासको खालमा सारा दिन बिताइदिने र घरैमा पार्टीको आयोजना गर्ने पुरुषलाई त दसैँ अवश्य नै रमाइलोको माध्यम बन्ला नै । के दिनभर पकाउने, खुवाउने, सरसफाइ गर्ने र अरुलाई नै खुसी बनाउनुपर्ने बाध्यता भएका नारीलाई पनि दसैँ उत्तिकै रमाइलो लाग्ला त ?

सत्य युगमा राक्षसलाई नष्ट गर्ने माता दुर्गाको दसैँको नवरात्रमा पूजा हुन्छ । यो समाजले चाँही देवीको प्रतिक नारीको सम्मान कहिले गर्लान् ?

भान्सामा पसेर बनाउने, खुवाउने काम नारीको मात्र हो ? सबैसँग बसेर हाँस्ने, बोल्ने, रमाउने इच्छा नारीलाई हुँदैन ? श्रीमती आधा रातसम्म घरधन्दा गरिरहँदा हातमा रिमोट समातेर टी.भी हेरिरहने श्रीमान्लाई किन अप्ठेरो नलागेको होला ? दुबैजना सँगै काम गरौँ अनि सँगै बसौँ भन्ने भावना किन नपलाएको होला ? सहभाव र समभाव बिनाको जीवनयात्रामा आत्मीयता कसरी बढ्न सक्छ ?

यस्ता कुरामा पुरुषले विचार गर्नुपर्ने बेला भएको छ । घरेलु कामकाज केवल नारीले मात्र गर्ने हो भन्ने परम्परित मान्यता तोडेर जबसम्म घरेलु कामलाई परिवारका सबै सदस्यको साझा कामका रूपमा लिने गरिन्न, तबसम्म समाजमा परिवर्तन आउन र नारीको जीवन सरल बन्न सक्दैन ।

मालिकपनको भ्रम

पछिल्लो समय केही श्रीमानहरूले आफ्ना श्रीमतीहरूलाई घरायसी काममा सहयोग गर्ने र व्यक्तित्व निर्माणमा साथ दिने गरेको यदाकदा देखिन थाले पनि यस्ता पुरुषहरूको सङ्ख्या अत्यन्तै न्यून छ ।

देखावटी रवाफ र मालिकपनको भ्रम पालेर बसेका पुरुष घरायसी काममा श्रीमतीप्रति यति आश्रित हुन्छन् कि उनीहरूलाई आफूले लाउने कपडा, आफूले खाने खाना र आफ्ना आवश्यकताका सामान कहाँ छन् भन्ने समेत थाहा नै हुँदैन ।

श्रीमान्का हरेक सुखदुःखमा, आवश्यकताहरूमा अनि जटिल परिस्थितिमा साथ दिने श्रीमतीलाई पनि यसरी नै साथ दिनुपर्छ भन्ने चेतना पुरुषमा नआउनु बिडम्बना होइन र ?

 बिहानबेलुकी घर र दिनमा जागिर गर्ने कुन महिलाको रहर नहोला कामको बोझ र जिम्मेवारी बिसाएर केही क्षण हलुको बन्न ।

अफिसबाट थाकेर उही समयमा घर फर्केका श्रीमान्श्रीमतीमध्ये श्रीमान् घरमा आएपछि स्वतन्त्र हुन्छ । श्रीमतीको भने आधा रातसम्मको अर्को ड्युटी सुरु हुन्छ । घरमा पाहुना वा साथीहरू आए भने श्रीमान् आगन्तुकसँग गफ हाँकेर बैठकमा बसिरहेको हुन्छ । श्रीमतीलाई भने भ्याइनभ्याइको चटारो ।

यस्तो अवस्थामा साथ र सहयोगको भावना नपलाउनु र श्रीमतीप्रति सहभाव उत्पन्न नहुनुले पुरुषको कठोर र स्वार्थी प्रवृत्तिलाई उजागर गरिरहेको हुन्छ ।

बिहानबेलुकी घरमा र दिनभरि अफिसमा काम गर्ने कुन महिलालाई इच्छा लाग्दैन होला कामको बोझ र जिम्मेवारी बिसाएर केही क्षण हलुको बन्न ।

घरभित्रको यथार्थ

धेरै नाम र सम्बोधनबाट चिनाइने वा पुकारिने सम्बन्ध नै दाम्पत्य सम्बन्ध हो । श्रीमान् – श्रीमती, लोग्ने–स्वास्नी, पति–पत्नी, जोई–पोइ, बूढा–बूढी, वर–वधू, दुलहा–दुलही, जीवनसाथी, सहयात्री आदि थुप्रै नामले यस सम्बन्धलाई चिनाइन्छ र यही सम्बन्धबाट नै एउटा सुन्दर घरसंसारको निर्माण हुन्छ ।

श्रीमान् श्रीमतीको सहकार्य र समझदारी नै सफल र सुखी दाम्पत्य जीवनको कारक हो । नेपाली समाजको यथार्थ भने पृथक छ । घरबाहिर जतिसुकै समानता र हकहितको कुरा गरे पनि घरभित्रको यथार्थ भने विभेदकारी देखिन्छ ।

केही अपवादलाई छाडेर समग्र नेपाली नारीहरूको पीडा र समस्या एकैप्रकारका छन् । म पुरुष हुँ घरभित्रको काम मेरा होइनन् यी त आइमाईले गर्ने काम हो भन्ने अभिमानले नै दाम्पत्य जीवनको सुखशान्तिलाई बिथोल्ने काम गरेको छ ।

घरेलु कामकाजलाई नारीको मात्र काम हो भन्ने सोच्नु आजका सन्दर्भका अव्यावहारिक र सङ्कीर्ण मानसिकता हो ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने अधिकांश नारीले जीवनको सबैभन्दा महत्वपूर्ण र एक मात्र उद्देश्य गृहस्थी सुखलाई बनाएका हुन्छन् ।

उनीहरूको सपना र लक्ष्य गृहस्थी सुखको गन्तव्यमा गएर टुङ्गिन्छ । गृहस्थी सुख भनेको नै सफल दाम्पत्य जीवन हो र यसैलाई सपना बनाएका भए पनि कतिपय नारीले गृहस्थी सुखको अनुभूति गर्न पाएका हुँदैनन् । यस्तो अनुभूतिबाट वञ्चित हुनुमा अरु कोही नभएर अधिकांशतः श्रीमान् नै बाधक बनेका देखिन्छन् ।

निर्दयी, शङ्कालु, सङ्कीर्ण, अविवेकी र व्यभिचारी लोग्ने तथा कायर, स्वार्थी, सामन्ती र धोकेवाज प्रेमीका कारणले जीवन बरबाद भएका नारीहरूको सङ्ख्या समाजमा अधिक देखिन्छ ।

दाम्पत्य जीवनका दुर्घटनाहरूलाई हेर्दा नेपाली समाजका अधिकांश दुर्घटनाहरू पुरुषको असहयोग र असमझदारीबाट भएको देखिन्छ ।

दाम्पत्य जीवन सफल हुने र सुखमय बन्ने भनेको नै श्रीमान् श्रीमतीका बीचको समझदारी, साथ र सहयोगले हो । परम्परित समाजलाई हेर्ने हो भने त्याग, समर्पण र सम्झौता केवल नारीबाट मात्र एकोहोरो रूपमा हुँदै आएको पाइन्छ ।

एकोहोरो सम्झौताका कारण उनीहरूको जीवन निरीह र कष्टकर बन्नपुगेको पनि देखिन्छ । हाम्रो समाजमा कयौँ यस्ता नारी छन् जसले दिल खोलेर हाँस्न समेत पाएनन् अनि प्रफुल्ल बनेर बाँच्न पाएनन् ।

मानव विकासको इतिहासका पाना पल्टाएर हेर्ने हो भने नारीका भागमा दुःखैदुःख र पीडैपीडा परेको छ भने पुरुषका भागमा विजय, प्राप्ति र सफलता मात्र हात परेको छ । यसो हुनाका पछाडिको कारण पुरुषसत्ता र पुरुष वर्चस्व नै हो ।

आजको समाजमा नारीमाथि अझ बढी भूमिका थपिएको छ । उनीहरू घरभित्र र घरबाहिरको दोहोरो भूमिकामा छन् । यस्तो अवस्थामा यदि उनीहरूले श्रीमानबाट साथ र सहयोग नपाउने हो भने उनीहरूको प्रतिभा र क्षमता बिलाएर जान्छ । विभिन्न अवसरहरूको उपयोग गर्नबाट वञ्चित हुन्छन् ।

दाम्पत्य जीवनको साझा उत्तरदायित्व बोकेका दुई पक्षमध्ये एक सधैँ दासीका रूपमा र अर्को सधैँ मालिकका रूपमा देखिने अवस्था हुन्छ । यस्तो हुनु मानव सभ्यताको सबैभन्दा कुरूप पाटो हो ।

हुन त तिमी त मेरी ज्यान हौ, प्राण हौ भन्ने श्रीमान्हरू प्रशस्त पाइन्छन् हाम्रो समाजमा । यसरी मुखले आकाशका तारा झार्ने श्रीमानहरू थाकेर लखतरान भएकी श्रीमतीलाई एक गिलास चिसो पानीसमेत दिन सक्दैनन् । समाज यस्तै विरोधाभासहरूमा चलेको छ ।

देशमा नारीमाथि भएका विभिन्न किसिमका हिंसाजन्य व्यवहार र नारी समस्यालाई हेर्दा बारम्बार प्रश्न उठ्ने गर्छ के उनीहरू अपमान, पीडा, दुःख र प्रताडना खप्नका लागि मात्र जन्मिएका हुन् ? उनीहरूका लागि किन आकाश खुला छैन ?

उनीहरूलाई आफ्नो चाहनाअनुरूप बाँच्ने स्वतन्त्रता किन छैन ? उनीहरू किन सुरक्षित महसुुस गर्न सक्दैनन् ? यी सब प्रतिकूलताको कारक को हो ? आजको सभ्य र शिक्षित भनिएको समाजका पुरुषलाई किन यी प्रश्नहरूले छुदैनन् ? के पुरुष साच्ची नै निर्दयी र कठोर बन्दै गएको हो ?

हामी राज्यले दिने अधिकारका कुरा गर्छौ, राज्यले लागू गर्ने कानुनका बारेमा बहस गर्छौँ । घरभित्र भइरहेको शोषण र ज्यादतिका बारेमा भने बोल्न सक्दैनौँ । घरेलु कामदारका रूपमा सीमित भएर काम गर्नुपर्ने बाध्यता भएका नारीहरूका लागि घर वास्तवमा पिँजडा नै हो । सुनको भए पनि वा फलामको भए पनि पिँजडा आखिर पिँजडा नै हुन्छ ।

आ–आफ्नो ठाउँमा नारी र पुरुषको उत्तिकै महत्व र भूमिका हुन्छ । यस्तोमा पाइलापाइलामा पुरुषको दासताको तितो अनुभूति गर्नुप¥यो भने यो कुरा एउटी स्वाभिमानी नारीलाई कसरी सह्य हुन सक्छ ? कतै नारीको नारीत्व अभिशाप बन्नु पहिले नै, नारीहरूमा विद्रोहको आगो बल्नु अघि नै यस्ता झिनामसिना सम्झिएका र परम्परागत रूपमा चल्दै आएका नारीद्वेशी व्यवहारहरूको अन्त्य हुनु जरुरी छ ।

दसैं र नारी

मिथकलाई आधार मान्ने हो भने महिषासुर जस्तो राक्षसको अहंकार र दम्भलाई नास गर्न देवी अर्थात नारीको उत्पति भयो । देवी र महिषासुरबीच ९ दिनसम्म चलेको युद्धमा देवीद्वारा महिषासुरको वध भयो । देवीको जित भयो, राक्षसको हार । दशौं दिनमा विजयोत्सव मनाइयो ।

त्यसैले जगतको संरक्षकको रुपमा नारीलाई शक्ति प्रतिक मानेर दसैँमा नवदुर्गाको आरधना गरिन्छ । हिन्दु मान्यतामा शक्तिकी देवी मानिने दुर्गाको पूजाआराधना गरेर मनाइने धर्तीको दसैंमा साक्षात ‘देवी’ अर्थात नारीलाई भने भ्याइनभ्याइ हुने कामको चटारोले दसैँ ‘बोझ’ भएर आइदिन्छ ।

सत्य युगमा राक्षसलाई नष्ट गर्नका लागि माता दुर्गाले जन्म लिनुपर्यो । दसैँको नवरात्रमा उनै दुर्गा माताको पूजा हुन्छ । यसबेला दुर्गामाताको पूजा गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । तर देवीको प्रतिक नारीको पूजा अर्थात् सम्मान चाहिँ कहिले त ?

जे होस्, हिन्दूहरूको महान् चाड दसैँ घरआँगनमा आइसकेको छ । आफन्तहरूसँगको भेटघाट, पारिवारिक मिलन, बालबालिकाको खुसी र हाम्रो सांस्कृतिक आस्था बोकेर आएको यो पर्व सबैका लागि प्रिय बनोस्, सबैका लागि खुसी बनोस् र आत्मीयताको माध्यम बनोस् । सबैलाई हार्दिक शुभकामना !

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: