बेचिएपछिको अवस्था : ‘तावाबाट फुत्किएको माछो भुंग्रोमा’


प्रकाशित मिति :2018-10-09 12:05:00

-गाेपाल गड्ताैला- 

घटना १,

मेरो उमेर १६ वर्ष भयो । काममा लगाईदिन भन्दै मलाई सौतेनी भिनाजुले भारतको हिमाञ्चल लगेका थिए । त्यहाँ एक वर्ष जति कृषिमा काम गरें । त्यतिबेला भिनाजुले मैले काम गरेको पैसा दिनु भएन । अनि त्यहाँबाट मलाई बम्बै लगे ।

बम्बैमा उहाँले चिनेको महिलाको घरमा मलाई राख्नुभयो । त्यो घरमा अरु पनि महिला थिए । केटाहरू आइरहन्थे । मलाई पनि केहि खान दिन्थे । म अचानक निदाउँथे । मलाई पनि नराम्रो काममा लगाउलान् भन्ने डरले एकदिन घरबाट भागे ।

रेल्वे स्टेसन पुगेपछि प्रहरीलाई आफू भागेको बताएँ । रेल्वे प्रहरीले मलाई संस्थामा पठाईदियो । त्यही संस्थाको सहयोगमा नेपाल त फर्किएँ, घर फर्किन सकेको छैन । परिवारले वास्ता पनि गरेको छैन ।

घटना २,

म ३० वर्ष पुगे । म विदेश गएर रकम कमाउन चाहन्थें । त्यही बीचमा एक जना दलालसँग सम्पर्क भयो । उसले कुबेत लैजान्छु भन्यो ।

मलाई पनि हो झैं लाग्यो । पासपोर्ट बनाएँ । अनि कुबेत जाने भनेर नेपालबाट उडायो । तर दुबईमा लग्यो । दुबईमा पुगेपछि मलाई कुबेत पठाइएन । यहीँबाट सम्पर्कमा रहेको हेटौंडाको बिनोद तिवारीले उसँगै राख्यो । मेरो यौन शोषण गर्यो । मलाई बाहिर सम्पर्क गर्न दिएन ।

उ काममा जाँदा मलाई कोठामा ढोका थुनेर राख्थ्यो । म गर्भवती भएँ । गर्भवती भएपछि उसले नेपाल पठायो । यहाँ आएपछि म घर जान सकेकी छैन । छोरी जन्मिई । संस्थाको संरक्षणमा छु । कहाँ जाने, के गर्ने केही थाहा छैन ।

घटना ३,

मेरो घरको आर्थिक अवस्था साह्रै कमजोर थियो । पेट गुजाराका लागि मजदुरी गर्थे । त्यही बेला मेरै दुई साथीले काठमाडौंमा राम्रो काम पाइन्छ भने । च्याङ्वा तामाङ भन्ने मान्छेसँग चिनाइदिए । म उनीसँगै काठमाडौं आएँ । च्याङ्वाले बालाजुको एउटा गेष्ट हाउसमा १४ दिन थुनेर राखे ।

१५ औं दिनमा काममा जाने भनेर बस चढाए । भोलिपल्ट नचिनेको ठाउँमा पुर्याएपछि एक महिला माईक्रो बस लिएर आइन् । तिनले रेलमा चढाएर भारत लगिन् । भारतको दिल्लीमा पिंकी तामाङ भन्ने च्याङ्बाको श्रीमती मलाई लिन पुगिन् ।

मेरो उमेर सानै थियो । यौन व्यवसायमा लगाउन उमेर पुगेको रहेनछ । त्यसैले केही महिना पिंकीले आफूसँगै राखिन् । त्यसपछि कामको लागि भनेर पुना भन्ने ठाउँमा लगिन् । त्यहाँ पिंकीले मलाई अर्को महिलाको जिम्मा लगाईन् । ती महिलासँग तीन महिना जति बसें ।

त्यसपछि उनले यौन धन्दामा लगाइन् । मैले गर्दिन भन्दा कुट्न थालिन् । दिनमा ७/८ जना ग्राहकलाई यौन सन्तुष्टि दिनुपर्ने । केही समयपछि पुलिसले छापा मारेर त्यहाँबाट निकाल्यो । पुनाको एउटा संस्था मार्फत माइती नेपालमा ल्याइयो ।

माइती नेपाल आएपछि ब्यूटिसियन तालिम सिके । एकपटक दशैको विदामा घर जाँदा मेरो विवाह भयो । बिहेपछि श्रीमान्ले हेरेनन् । बिरामी परें । माइतीले पनि उपचार गर्न नसकेपछि पुनः माइती नेपाल ल्याएर छोडिदिए । माइती नेपालमा आएपछि उपचार पाएँ । अहिलेसम्म मलाई सम्पर्क गर्न कोही आएको छैन ।

माथिका तीनै जना महिला बेचबिखनमा परेर स्वेदश त फर्किए । तर परिवारमा पुनर्मिलन हुन सकेन । अझ उदाहरण नम्बर ३ की महिला त परिवारमा फर्किएर पनि पुनः संस्थाकै संरक्षणमा जान बाध्य हुनुपर्यो । जन्मदिने आमाबुबा र जीवन साथीले समेत बिरामी पर्दा साथ नदिएपछि कोठीबाट उद्धार गरेर ल्याएको संस्थाले उपचार गराइदियो, आश्रय दियो ।

नेपाल प्रहरीको महिला बालबालिका सेवा निर्देशनालयका अनुसार २०५३ साल यता आर्थिक वर्ष २०७४/०७५ मा सर्वाधिक ३ सय ८ जना महिला बेचबिखनमा परे । भने, २०५८/०५९ मा सबभन्दा कम ४० महिला बेचबिखनमा परेका थिए ।

२२ वर्ष २ हजार ९ सय ८२ महिला बेचबिखनमा परेको उजुरी नेपाल प्रहरीसँग छ । यी मध्ये अधिकांश महिलाहरू बेचबिखन विरुद्ध काम गर्ने गैर सरकारी संस्थाको संरक्षण गृहमै छन् । तर, कति महिलाको पारिवारिक सामाजिक पुनर्मिलन भयो भन्ने यकिन तथ्याङ्क भने कुनै निकायमा पनि छैन ।

बेचिएर फर्किएका अत्यन्तै कम महिलाको मात्रै परिवारमा पुनर्मिलन भएको छ, जसको बारेमा छरछिमेक तथा आफन्तलाई उ बेचिएर फर्किएको कुरा जानकारी छैन ।

माइती नेपालका कार्यबाहक अध्यक्ष विश्वराम खड्का समाजमा अझैं पनि पीडित नै बदमास हो भन्ने सोच हावी भएका कारण बेचिएका महिलाहरूको परिवारमा पुनर्मिलन हुन नसकेको बताउँछन् ।

खड्का भन्छन्, ‘यसको मूल कारण लैंगिक विभेद हो ।’ उनले बेचबिखनमा परेर उद्धार भएपछि महिलाहरूले नारकीय अवस्थाबाट मुक्ति पाए पनि परिवारमा इज्जतका साथ फर्किने अवस्था नरहेको बताए ।

कार्यवाहक अध्यक्ष खड्का बेचिएर भाग्यवस् फर्किएका महिलाहरूले परिवारको साथ र सहयोग नपाउनुलाई ‘तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परेको’ ठान्छन् । भन्छन्, ‘रौरवपूर्ण हविगतबाट मुस्किलले बाहिर निस्किएका महिलाहरूलाई घर समाजमा स्थान नहुनु उनीहरू माथिको थप अन्याय हो ।’

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले बेचबिखनमा परेर उद्धार गरिएका महिलाहरूको पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनको कुरा उल्लेख गरेको छ ।

रोजगारीमा जाने क्रममा बेचबिखनमा परि फर्किएका धेरैजसो महिलाहरू ‘इज्जत जाने’ डरले एकातिर न्यायिक प्रकृयामा जान सकेका छैनन् । भने, अर्कोतिर परिवारमा पनि सम्मानसाथ जीउन नसकेको उनले बताईन् ।

ऐनको दफा १३ को उपदफा ४ ले उक्त व्यवस्था गरिएको छ । जसमा भनिएको छ ‘पुनर्स्थापना केन्द्रमा रहेको व्यक्तिलाई सामाजिक रुपमा पुनर्स्थापना र पारिवारिक पुर्नमिलन गराउने व्यवस्था केन्द्रले गर्नेछ ।’

तर, सरकारको कार्य योजनामा उनीहरूको पारिवारिक तथा सामाजिक पुनर्मिलनको कुरा प्राथमिकतामा परेको देखिँदैन ।

हाल नेपाल सरकारले विभिन्न गैर सरकारी संस्थासँग समन्वय गरी मानव बेचबिखनबाट पीडित हुनेहरूलाई अल्पकालिन् पुनर्स्थापना भनेर १० वटा केन्द्र चलाएको छ । भने एउटा मात्रै दीर्घकालिन पुनर्स्थापना केन्द्र छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव रोश्नीदेवी कार्की भन्छिन्, ‘ऐन अनुसार केन्द्रहरूले नै पुनर्मिलन गराउने, मनोसामाजिक परामर्श दिने व्यवस्था गरेको छ ।’ कति महिलाको पुनर्मिलन भयो भन्ने यकिन तथ्याङ्क भने उनीसँग पनि छैन ।

मंगलादेवी, सहाना पुनर्स्थापना केन्द्रले भने त्यस्ता महिलाको सामाजिक तथा पारिवारिक पुनर्मिलन नभएसम्म राख्ने व्यवस्था गरेको उनले बताईन् ।

१५ वर्षदेखि मानव बेचबिखन विरुद्ध कार्यरत संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ चर्काे सामाजिक विभेद र लाञ्छानाका कारण बेचबिखनमा परेका धेरै महिला परिवारमा फर्किने वातावरण नभएको बताउँछिन् ।

उनीहरूलाई परिवारले नै राम्रो दृष्टिकोणले नहेर्ने उनको अनुभव छ । प्रहरी कारबाहीमा गएका घटना भन्दा कम्तिमा ४ गुणा बढी बेचबिखनका घटना भएको हुनसक्ने अनुमान पनि उनको छ ।

तर, वैदेशिक रोजगारीमा जाने क्रममा बेचबिखनमा परि फर्किएका धेरैजसो महिलाहरू ‘इज्जत जाने’ डरले एकातिर न्यायिक प्रकृयामा जान सकेका छैनन् । भने, अर्कोतिर परिवारमा पनि सम्मानसाथ जीउन नसकेको उनले बताईन् ।

गुरुङ थप्छिन्, ‘विदेशको रोजगारीमा जानु नै महिलाहरुको प्रतिष्ठा गुम्नु हो । इज्जत जानु हो । आम सामाजिक मनोविज्ञानमा बद्लाव आएमात्रै यस्ता महिलाहरुको परिवारमा सम्मानित पुनर्मिलन हुनसक्छ ।’

मनोविद् तथा अधिवक्ता नानी थापा बेचिएर भाग्यवस फर्किएका महिलाले समाजमा दीर्घकालिन पुनर्स्थापना चाहने बताउँछिन् । परिवारले यथास्थितीमा स्वीकार गरेर उनीहरुलाई परिवारमा पुनर्स्थापना गर्नुपर्ने उनको धारणा छ ।

नेपाल प्रहरी भने पछिल्लो समय बेचबिखनबाट उद्धार गरिएका महिलालाई हेर्ने सामाजिक दृष्टिकोण बद्लिएको दावी गर्छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाले पहिले पहिले बेचिएर फर्किएका महिलालाई परिवारले स्वीकार नगर्ने प्रवृत्ति भए पनि केही समय यता भने अभिभावक नै छोरी बुझ्न आउने गरेको बताए ।

उनी भन्छन्, ‘उजुरीमा आएका महिलाहरुलाई सकेसम्म नजिकको नातेदारको जिम्मा लगाउने गरेका छौं ।’ ‘केही महिलाहरूले भने आफ्नो वास्तविक ठेगाना नै बताउन नसकेको अवस्थामा उनीहरूलाई चाहिँ संघ संस्थाको जिम्मा लगाउने गरेका छौं ।’

मनोविद् तथा अधिवक्ता नानी थापा बेचिएर भाग्यवस फर्किएका महिलाले समाजमा दीर्घकालिन पुनर्स्थापना चाहने बताउँछिन् । परिवारले यथास्थितीमा स्वीकार गरेर उनीहरुलाई परिवारमा पुनर्स्थापना गर्नुपर्ने उनको धारणा छ ।

त्यस्तो नहुँदा नारकीय जीवनबाट फर्किएका महिलामा मनोसामाजिक असर पर्ने भएकोले उनीहरुलाई नयाँ जीवनमा फर्काउन परिवार, समाज र सरकारले भूमिका खेल्नुपर्ने थापाले बताईन् ।

(गाेपाल गड्ताैला काठमाडाैंबाट पत्रकारिता गर्छन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: