‘साइपाल’ चढ्ने पहिलो आरोही बन्दै सुदूरका चेली’


प्रकाशित मिति :2018-10-09 10:19:22

–इन्द्रसरा खड्का–

ललितपुर । प्रदेश नम्बर सातका प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित ‘साइपाल’ हिमालको आरोहणका लागि बझाङका चेलीहरूको तयारी अन्तिम चरणमा छ ।

बझाङमा रहेको साइपाल हिमाल चढ्ने योजनाका साथ लागिपरेका बझाङका चार जना युवतीको तयारी अन्तिम चरणमा पुगेको हो ।

बझाङको तल्कोट गाउँपालिका वडा नम्बर १ की २० वर्षीया सरस्वती थापा, सुर्मा गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया पवित्रा बोहरा, साईपाल गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया लक्ष्मी बुढा र साईपाल गाउँपालिका वडा नम्बर ४ की २० वर्षीया संगिता रोकाया साइपाल हिमालको आरोहणका लागि तयारीको अवस्थामा छन् ।

 

यही असोज ३१ गते साइपाल हिमाल चढ्ने तयारीमा रहेका चारै जनालाई रारा फिल्मस् प्रा.लिले यो हिम्मत र अवसर जुटाएको हो । हिमाल कसरी चढ्ने, हिमाल चढ्न कुन कुन तरिका अपनाउने, हिमाल चढ्दा के कस्ता जोखिम हुन सक्छन् भन्ने विषयमा उनीहरूले काठमाडौंमा तीन महिनाको तालिम पनि लिइसकेका छन् ।

हिमाल चढ्ने मौका पाएपछि बझाङी चेलीहरू यति बेला निकै उत्साहित छन् । गत हप्ता काठमाडौंमा भेटिएको उनीहरूको टोलीका चारै जना युवतीहरू हिमाल चढ्ने पहिलो नेपाली बन्न आतुर देखिन्थे ।

‘साँझ बिहान घर भित्रैबाट देखिने साइपालको चुचुरोमा टेक्न सकिन्छ भन्ने त सोचेकै थिएनौं’ हिमाल चढ्ने तयारी गर्न काठमाडौं पुगेकी संगीता रोकायाले महिला खबरसँग भनिन् ‘रारा फिल्मस्को प्रस्तावले सपना देख्ने र पूरा गर्ने हिम्मत जुटाइदियो ।’

यसरी जुर्यो हिमाल चढ्ने हिम्मत

रारा फिल्मस् प्रा.लि.ले ‘मिसन साइपाल’ नामक चलचित्र बनाउन लागेको थियो । सुदूरका पहाडी जिल्लामा छोरीहरूले अग्ला हिमाल चढ्नु हुन्न भन्ने रुढिवादी मान्यताको अन्त्य भइसकेको छैन ।

यही अन्धविश्वासलाई चिर्न राराले बनाउन लागेको फिल्मका लागि युवतीहरू चाहिएको कुरा बझाङका रेडियोमार्फत विज्ञापन बज्यो ।

विज्ञापन सुनेर १५ जना युवतीले निवेदन दिए । जसबाट सरस्वती, पवित्रा, लक्ष्मी र संगीता छानिए ।

आफू फिल्मका लागि छनौट भइसकेपछि निर्देशक भोजराज भाटले तिमीहरू साइपाल चढ्नुपर्छ भन्दा विश्वासै लागेन । सरस्वतीले भनिन्, ‘कल्पना नै नगरेको कुरा सुन्दा विश्वासै लागेन । दाजुले फिल्म यस्तो हो । तिमीहरूले यस्तो गर्नुपर्छ भनेर सम्झाई बुझाई गर्नुभो । अनि मात्रै हो रहेछ भन्ने भो ।’

‘यार्साको सिजनमा यार्सा टिप्न २, ३ महिना जति लेकमा जान्छौ‌ । साइपाल हिमाल चाँदी झैं टल्लक टल्किन्छ । यो हिमालको टुप्पोमा पुगेको भए कहाँ कहाँ देखिन्थ्यो होला भन्ने लाग्थ्यो ।

अहिले त्यही हिमाल चढ्न पाउने कुराले निकै उत्साहित छु’ पवित्राले भनिन्, ‘यार्सा टिप्दै गर्दा देखेको हिमाल चढ्न पाउने कुरा सोच्दा त सपना जस्तै लागेको छ । म त साँच्चै भाग्यमानी नै हुँ भन्ने लागिरहेको छ ।’

यार्सा टिप्न हिमाली भेगमा गएका बेला महिनावारी भएको खण्डमा घर फर्किएको विगत सम्झिँदै पवित्राले भनिन्, ‘यो अन्धविश्वास हो भन्ने थाहा नै थिएन । भोजराज दाजुले आँखा खोल्दिनु भो । हामी त्यसलाई साबित गर्न लागिपरेका छौं ।’

अग्ला स्थान र टाकुराहरूमा देवताको बास हुन्छ भन्ने मान्यताका कारण महिलाहरू अग्ला टाकुराहरूमा नजाने गरेको रारा फिल्मका प्रबन्ध निर्देशक भोजराट भाटले बताए ।

पत्याएनन् परिवारले

फिल्मका लागि आफूहरू हिमाल चढ्न लागेको कुरा घरमा भन्न निकै डराए उनीहरू । तर घरमा नभनेर सुखै थिएन । घरको अनुमति बिना डेग नचल्ने उनीहरूलाई बुबाआमाको स्वीकृति अनिवार्य थियो । अनि चारै जनाले घरमा भन्ने आँट गरे ।

यो कुरा परिवारले सहजै स्वीकार गरे त ? प्रश्न भुईँमा खस्न नपाउँदै लक्ष्मीले भनिन्, ‘सुरुमा त गाली खाएँ । नचाहिने नचाहिने काम । कसले सिकायो यस्ता कुरा भन्नुभो । तर, अवसर पाएकाले म जसरी पनि हिमाल चढ्छु भन्ने ढिपी कसेपछि उहाँहरू हुन्छ भन्न बाध्य हुनुभो ।’

साइपाल चढ्ने पहिलो नेपाली

साइपाल ७ हजार ३१ मिटरको उचाइमा छ । अहिलेसम्म यो हिमाल कसैले आरोहण गरेको आधिकारिक जानकारी छैन ।

नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण नगरेको नेपाल पर्यटन विभागले जनाएको छ ।

यो भन्दा पहिले विदेशी पर्यटकहरूले हिमाल चढ्ने प्रयास भने गरेको सुनिएको छ । विभिन्न ८ समूहले हिमाल चढ्न हिँडेका भए पनि दुई समूहमात्र सफल भएको सुन्नमा आएको छ ।

तर, सरकारी तथ्यांकमा भने अहिलेसम्म कसैले पनि साईपाल हिमाल चढेको नदेखिएको रारा फिल्मस् प्रालिका प्रबन्ध निर्देशक भोजराज भाटले बताए ।

‘यो मिसन सफल भएमा बझाङी चेलीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो नेपाली हुनेछन्’ मिसन साइपालका निर्देशक भाटले उत्साहित हुँदै भने, ‘महिलाले अग्ला ठाउँमा जानु हुन्न भन्ने अन्धविश्वास चिर्न र महिलाहरू पनि गर्न सक्छन् भन्ने साबित गर्न यो फिल्म बनाउन लागेका हौं ।’

चारै जना महिलाहरू यही अक्टोबर १७ मा साइपालको बेस क्याम्प जाने तयारी छन् । टोलीमा पर्यटकसहित २८ जना हुनेछन् र बेस क्याम्पमा उनीहरूले ३५ दिन बिताउनेछन् ।

उनीहरूको यही यात्रामा केन्द्रित भएर ‘मिसन साइपाल’ फिल्मस् पनि बनाइने रारा फिल्मस्ले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: