–उषा किरण पन्थ–
बुटवल । महिलामाथि हुने हिंसा कम गर्न विद्यालय स्तरबाट नै अभियान शुरु गर्नुपर्ने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताएका छन् ।
उनले समाज नै महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नका लागि लाग्नु पर्नेमा जोड दिए ।
शुक्रबार सञ्चारिका समूहको आयोजनामा ‘महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मी महिलाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा महिलामाथि हिंसा बढेको भन्दै न्यूनीकरण गर्न सबै एकजुट हुनुको विकल्प नभएको उनले बताए ।
उनले धेरै महिला तथा बालबालिकामाथि हिंसा मदिराजन्य पदार्थका कारणले बढेको भन्दै पाँच नम्बर प्रदेशमा दर्ता बिनाका मदिरा पसलहरु बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर पाँचका उपाध्यक्ष भरत केसीले महिला हिंसाका घटना पहाडी समुदायमा भन्दा तराई समुदायमा कम हुँदै गएको बताए ।
तर सञ्चारकर्मीले भने यस्ता मुद्दालाई अझै बाहिर ल्याउन नसकेको उनको भनाइ छ ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दीपक ज्ञवालीले महिलामाथि हुने हिंसा कम गर्न महिला पुरुष दुवैको साथ बराबर हुनुपर्ने बताए ।
Comment Here!