६० कटेपछिको ‘क, ख’ मोह


प्रकाशित मिति :2018-10-05 11:11:01

–इन्द्रसरा खड्का–

ललितपुर । जोरपाटीस्थित विद्यासागर विद्यालयका विद्यार्थी छुट्टी भएर बाहिर निस्कँदै थिए । दिनभरको पढाइको बोझ सकिएको उत्साह उनीहरूमा थियो ।

बढ्दो उमेरका बालबालिका विद्यालयको गेटबाट निस्किएपछि बुढ्यौली लागिसकेको पाका महिलाहरू हातमा किताब कापी बोकेर गेटबाट छिरे ।

भदौको पहिलो साता । दिउँसो ४ बजेको दृष्य हो यो । उनीहरूको पिठ्यूँमा कालो रंगको एकैनासका झोला थिए । सबैजसोको कपाल कपास झैं सेता । उमेरले ६० कटेका ।

विद्यालयको गेटबाट पस्दा उनीहरूको चाउरिएका तर चम्किला मुहारमा पढाईप्रतिको आकर्षण प्रष्ट देखिन्थ्यो ।

बृद्धबृद्धा भेट भएपछि सामान्यतया स्वास्थ्यका कुरा, छोराछोरीका कुरा, पुराना स्मृतिमा गफिन्छन् । तर, यी महिलाहरूको गफ भने यी कुरा भन्दा पढाइमा केन्द्रित थियो ।

यसरी गफिँदै थिए उनीहरू –

– हिजोे दिएको ‘होमवर्क’ सकियो ?

– मेरो त आधा पनि सकिएको छैन ?

– बुढ्यौली लागेछ, के होमवर्क थियो पनि भूलें ।

– खोई के दिएको थियो, म त बिर्से ।

३० जना जेष्ठ नागरिक महिला । ठिक ४ बजे विद्यालय पुगिसके । उनीहरू कक्षा कोठामा पसिसकेपछि शिक्षक पनि पुगे ।
शिक्षकभित्र पस्नेबित्तिकै सेतै फूलेका आमाहरू बेञ्चबाट जुरुक्क उठे अनि भने, ‘गुड इभिनिङ सर, म्याम’ ।

त्यसपछि सबैजनाले राष्ट्रिय गान सुरु गरे । कण्ठस्त भइसकेको राष्ट्रिय गान भनिसकेपछि शिक्षकको अनुमतिमा आ–आफ्नो सिटमा बसे ।

त्यसपछि शिक्षकले उनीहरूलाई बस्न आग्रह गरे । पढाइ सुरु गर्नुअघि उनीहरू फेरि उठे । एकैसाथ शारीरिक व्यायाम गर्न थाले । हात रगडे, आँखा तातो बनाए, शरीर तन्काए । करिब ५ मिनेट व्यायाम गरेपछि सिटमा बसे ।

अनि होमवर्क बुझाउने पालो आयो । होमवर्कमा भने सबैजना इमान्दार देखिएनन् । केहीले भने ‘सर, के दिनुभएको थियो भूलें म त ।’ शिक्षक उनीहरूलाई कारबाही गर्न तर्फ लागेनन्, होमवर्कमा कडाई थिएन पनि । अनि कक्षा अघि बढ्यो ।

महिलाहरूले किताब कापी निकाले । सबैको हातमा सिसाकलम थियो । कापी निकालेर सिसाकलमले बाङ्गो टिङ्गो धर्को तान्दै नाम लेख्न सिक्न थाले ।

७५ वर्षकी भवकुमारी बराललाई आफ्नो नाम राम्रोसँग लेख्न आउँदैन । हातमा सिसाकलम समात्दै नाम लेख्न बसेकी उनको हात काँपिरहेको थियो ।

                                                                                           भवकुमारी बराल

‘क, ख, ग का अक्षर चिन्छु । अरु सिक्दै छु’ उनले भनिन् । बुढेसकालमा किताब कापी समातेर घरबाट निस्कँदा छिमेकी हेर्न आउँछन् । छोरा बुहारी पनि किन पढ्नुपर्‍यो अब ? पढेर के गर्ने हो ? भन्दै कराउँछन् । तर, भवकुमारीलाई भने पढ्ने रहरले छोडेकै छैन । कखरा सिक्ने ठूलो धोको छ ।

‘हाम्रा पालमा यस्ता दिन भए त कति रमाइलो हुन्थ्यो बरै’ कापीमा धर्का तान्ने कोशिस गर्दै उनले भनिन्, ‘के गर्नु उतिबेला यस्तो जमाना थिएन । यी अहिले यसरी नाम लेख्न सिक्दै छु ।’

जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम अन्र्तगत भवकुमारी जस्तै ३० जेष्ठ महिलाहरू अक्षर जान्ने कोशिस गरिरहेका छन् । उनीहरूले साउन २ गतेदेखि पढ्न थालेका हुन् ।

निरक्षर उनीहरू अहिले क, ख अक्षर चिनेर उच्चारण गर्न सक्ने भएका छन् । केहीले आफ्नो नाम पनि लेख्न सिकिसके ।

तिनै मध्येकी एक हुन् ८० वर्षीया चन्द्रकुमारी पन्त । भन्छिन्, ‘हाम्रो पालामा पढ्ने, लेख्ने दिन थिएनन् । अहिले बुढेसकालमा मर्नुभन्दा पहिले क, ख उच्चारण गर्न जानेकोमा भाग्यमानी ठानेको छु ।’

                                                                                                    चन्द्रकुमारी पन्त

उनलाई आफ्नो उमेर ढल्किँदै गएको चिन्ता पनि छ । आफू डाँडामाथिको जून भइसकेको बताउँछिन् । यद्यपि पढ्ने रहर भने दिनदिनै बढ्दो छ । थप्छिन्, ‘मान्छे बुढो भए पनि विद्या कहिल्यै बुढो हुँदैन भन्छन् त्यसैले पनि नाम लेख्न सिक्दैछु ।’

भोजपुरकी राधिका वडारी अहिले जोरपाटीमा बस्छिन् । ७६ वर्षको उमेरसम्म आउँदा गरेका संघर्षको लेखाजोखा छैन । अहिले पनि मकै पोलेर जीवन गुजार्दै छिन् ।

अहिले भने उनमा पढ्ने जाँगर छ । आँट पनि । त्यसैले क, ख ज्ञ सम्मै लेख्ने र चिन्ने भइसकिन् । मकै बेच्दा कसैले ५ सय, हजारको नोट दिए फिर्ता कति दिनुपर्छ थाहा पाउँदिनन् । त्यसैले जोड घटाउ, हिसाब किताब जान्न उनलाई मन छ ।

जेष्ठ महिलालाई आधारभूत शिक्षा सिकाइन्छ भन्ने थाहा पाएपछि पढ्न जान थालेकी हुन् । २ महिनाको समयमा पैसाको हिसाब गर्न पनि अलि जान्ने भएको उनले महशुस गरेकी छिन् ।

यसरी पढाइन्छ जेष्ठ महिलालाई

एजिङ नेपाल संस्थाको आयोजनामा जेष्ठ नागरिक महिलालाई आधारभूत शिक्षा पढाउन थालियो । उनीहरूलाई पढाउने मात्रै हैन, मनोरञ्जन पनि दिने गरिन्छ ।

शिक्षक श्याम खतिवडाले भने, ‘नाच्ने, गाउने, कविता भन्ने रमाउने गर्नाले बुढो शरीरलाई बिर्सेर एकैछिन भए पनि उनीहरू खुसी हुन्छन् ।’
बुढ्यौली लाग्दै गएपछि मानिसको शारीरिक र मानसिक अवस्था कमजोर हुँदै जान्छ । बुढेसकालमा घरपरिवारबाटै जेष्ठ नागरिक अपहेलित हुन्छन् ।

लामो समयसम्म अपहेलनामा परे उनीहरूमा डिप्रेसन पनि आउन सक्छ । त्यसैले कक्षामा सहभागी हुँदा एक अर्कासँग कुराकानी गर्ने, नयाँ कुरा सिक्ने रमाउने गर्दा उनीहरू खुसी हुने अनुभव शिक्षक खतिवडाले सुनाए ।

उनीहरूलाई अक्षर सिकाउने तरिका बालबालिकालाई भन्दा फरक छ । अक्षर ठूला लेखिन्छ । अनि मनोरञ्जनात्मक तरिकाबाट सिकाइन्छ ।
जेष्ठ नागरिकको स्मरण शक्ति बालबालिकाको जस्तो हुँदैन । त्यसैले पनि कतिपयले भने अहिले जानेको कुरा भोलिपल्ट बिर्सिने शिक्षक खतिवडाले बताए ।

नाम लेख्न नजानेर ल्याप्चे लगाउन नपरोस् । कुनै बिरानो ठाउँमा जाँदा, यो कुन ठाउँ हो भन्ने चिन्न सकुन् भन्दै उनीहरूलाई पढ्न सिकाइरहेको उनले बताए ।

एजिङ नेपालले काठमाडौका विभिन्न ४ ठाउँमा जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकलाई शिक्षा सिकाउन थालेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, बौद्ध नगरपालिका ६ र गोकणेश्वर नगरपालिका ५, मा कक्षा सञ्चालन भइरहेको जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रमका संयोजक पवित्रा अधिकारीले बताइन् ।

राज्यले ६० कटेकालाई नागरिक नै ठानेन

नेपालमा झण्डै ३० लाखको हाराहारीमा जेष्ठ नागरिक छन् । ती मध्ये १५ लाख बढी जेष्ठ नागरिक महिला रहेको एजिङ नेपालसँग तथ्यांक छ ।

अधिकांश जेष्ठ नागरिक पुरुष साक्षर छन् । ९५ प्रतिशत जेष्ठ नागरिक महिला निरक्षर रहेकाले उनीहरूको शिक्षामा पहुँच पुर्याउन आधारभूत शिक्षा सिकाउन थालिएको एजिङ नेपालका अध्यक्ष कृष्णहरी मुरारीले बताए ।

नेपालले सन् २०३० सम्ममा नेपाललाई साक्षर देश घोषणा गर्ने लक्ष्य अनुसार यो अभियान सञ्चालन गरे पनि जेष्ठ नागरिकलाई भने समावेश नगरेकोमा उनले गुनासो गरे ।

एकल भत्ता, बृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिँदा ल्याप्चे लगाउनु पर्ने समस्याको अन्त्य गर्न पनि एजिङ नेपालले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिकाको प्रदेश ३ मा सरिता

-महिला खबर- ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश

मलाई फाँसी मन्जुर छ !

-हेमन्त गिरी- स्केच तयार भयो-हुवहु म जस्तै ! जजसाब, मै रैछु बलात्कारी !

वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं

यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

-सर्मिला बुढाथोकी- दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी

ख्याउँची …

त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर सर्पले भ्यागुत्ता निले झै खर्लप्पै निल्न मन छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: