मर्न नसकेपछि घरै फर्किएँ


प्रकाशित मिति :2018-10-03 17:14:32

म ८ वर्षकी थिएँ । म आमाको झोला बोक्न साथी भएर नारायणी नदी गएकी थिएँ । नदीमा आमा र दिदी उमेरका सयौं महिलाहरू थिए । उहाँहरूले १ सय ८ पटक दतिवनले दात माझ्नु भो । १०८ पटक आफ्नो योनि रातोमाटोले धुनुभयो । किनकी त्यो दिन ऋषि पञ्चमी रहेछ ।

उहाँहरूका सबै गतिविधि के होलान् भन्ने लाग्यो । त्यसपछि उहाँहरूले नुवाइधुवाई गरेपछि फेरि चौतारामा बसेर पूजा गर्न थाल्नुभयो ।

ऋषि पञ्चमीको दिन मेरी आमा र अन्य महिलाहरूले गरेका कामले मलाई महिलाहरू पापी हुन भनेर बुझ्न गाह्रो भएन । पापका कारण महिलाहरू जन्मिन्छन् र महिनावारी हुन्छन् भनेर बुझ्न मेरो बाल मनोविज्ञानलाई समस्यै भएन ।

इन्द्र भगवान रिसाउनु भो रे । रिसाउदा उहाँको रिस चार भागमा विभाजन भयो । त्यो मध्ये एक भाग महिलाको पाठेघरमा आयोे । अनि त्यसैलाई पापको रुपमा बुझिन थाल्यो । महिनावारी भएका बेला कसैलाई छोएको खण्डमा पाप लाग्छ भनेर सिकाइयो ।

ऋषि पञ्चमी व्रत कथाको पुस्तक पढ्नुस् । जहाँ महिनावारी हुनुलाई पापको रुपमा बुझाइएको छ । पाप गरेका कारण आमा कुकुर्नी भएर जन्मिएको र बाबु गोरु भएर जन्मिएको कथा मैले पनि आठ वर्षमै थाहा पाएँ ।

८ वर्षकै उमेरमा महिला भएर जन्मिनु नै पाप हो भन्ने बुझें । सिनेमामा जस्तो २५÷३० जना महिलाहरूले सँगै नुहाएको, पुजा गरेको देखे । बीचमा केटीहरू पनि । केटीहरूलाई त आमा दिदीबहिनीहरू र पण्डितहरूले पनि जिस्काउने । जस्तो कि, अब तिम्रो पोइल जाने बेला भयो । बच्चा पाउँछेस् । फलानाको छोरा छ यस्तै यस्तै । त्यो बेला उनीहरू नर्भस हुने गर्थे ।

यी दृश्यले ओहो म पनि महिला भएर जन्मिएँ । अब पापी हुन्छु । मैले पनि यही प्रक्रियाबाट जानुपर्छ । यो सरासर गलत हो भन्ने लाग्यो ।

स्टाफ नर्स पढ्न जाने क्रममा मलाई महिनावारी के रहेछ भन्ने थाहा भयो । यो बीचमा सात वर्षदेखि साढे १५ वर्ष अर्थात करिब ९ वर्ष त म हरेक दिन मरेर बाँचे । यो अर्थमा कि – महिला हुनु र महिनावारी हुनु पाप हो भन्ने सोचेर ।

यो अवधिमा मलाई हरेक दिन आमाले, बाबाले अथवा छिमेकीले कुनै विषय वा प्रसंगमा गाली गर्दा म छोरी भएर गाली गरेको हो । मर्न जान पाए हुन्थ्यो । म किन जन्मिएको होला ? भनेर तनाव भइरहन्थ्यो । यही पीरले १४ वर्षको उमेरमा म घर छोडेर मर्न हिँडे ।

त्यतिबेला घर, स्कूल र जंगल बाहेक मलाई केही थाहा थिएन । मर्न जंगल गएँ । मर्नै सकिन । अनि फर्केर घरै आएँ । र म हरेक पल मरेर बाँचे ।

‘महिनावारीमा बग्ने रगत शुद्ध हो’

स्टाफ नर्स पढ्ने क्रममा मैले सन्तान जन्मिने प्रक्रियाका बारेमा पढ्दै गएँ । अनि थाहा पाएँ महिनावारी भनेको त प्राकृतिक कुरा रहेछ ।

पाठेघर तीन तहले बनेको हुन्छ । बाहिरी तह, भित्री तह र बीचको तह ।

भित्री तह बच्चा आउँछ कि भनेर तयार भएर बस्छ । रक्तसञ्चार हुने, मुलायम हुने, बच्चा आईहाल्यो भने नौ महिनासम्म हुँर्काउनुपर्छ, जोगाउनुपर्छ भनेर तयारी अवस्था बस्छ ।

तर केही कारणवस् सानो उमेर हुनसक्छ । विवाह नगरेको हुनसक्छ, पार्टनसँग नरहेको हुन सक्छ । परिवार नियोजनका साधन प्रयोग गरेको हुनसक्छ । अथवा कुनै रोगहरू लागेको हुन सक्छ । बच्चा नचाहेको अवस्था हुन सक्छ । विभिन्न कारण बच्चा जन्मने वातावरण हुन सक्दैन ।

बच्चा नजन्मिएपछि जुन तयारी अवस्थामा रहेको भित्री तह त्यो च्यातिन्छ वा फुट्छ । त्यो हुँदा रगत बग्छ अर्थात् महिनावारी हुन्छ । त्यो नितान्त शुद्ध रगत हो ।

यदि एचआइभी र ‘हेपटाइटिस बी जस्ता रोग लागेको छैन । अथवा रगतबाट सर्ने रोग लागेको छैन भने महिनावारीमा बग्ने रगत पनि नितान्त शुद्ध हुन्छ । यो कुरा मैले पछि मात्रै थाहा पाएँ ।

जुन स्त्री ज्ञानले वा अज्ञानले रजस्वला भएका बखत गृहकार्य गर्दछन् । अथवा भाँडाहरू छामछुम गर्दछन् भने त्यसका कारण महिलाहरूलाई ठूलो पाप लाग्दछ भनेर कृष्ण भगवानले युधिष्ठिरलाई कथा भनेको सन्दर्भ ऋषि पञ्चमीको व्रत कथामा उल्लेख छ ।

महिलाहरू महिनावारी भएको बेला चार दिनसम्म त्याग गर्नुपर्छ भन्नेछ । किनकी पहिलो दिन चण्डाल्नी हुन्छे । दोस्रो दिन ब्रम्हा हत्यारी हुन्छे । तेस्रो दिन धोविनी हुन्छे । चौथो दिन शुद्ध हुन्छे भन्ने छ ।

चौथो दिन पनि नुवाइधुवाई गरेपछि सुनपानी छर्किएर गाइको गहुँत खाएर मात्रै शुद्ध हुन्छे । प्रकृतिले जतिखेर महिला पुरुष चाहिन्छ भनेर सृष्टि ग¥यो । विज्ञानको विकास हुँदै जाँदा हाम्रो पाठेघर कसरी बनेको हुन्छ, बच्चा कसरी बन्छ, महिनावारी हुँदा रगत कसरी बन्छ भन्ने परिभाषित गरेको छ ।

गत वर्ष उग्रतारा मन्दिरमा दर्शन गर्ने अवसर पाएँ । त्यो दिन म महिनावारी भएको तीन दिन भएको थियो । म महिनावारी भएकी छु भन्ने कुरा त देवीले बुझ्नु भा’को थ्यो होला । तर खोई त, उहाँले मन्दिरमा नआइजा भन्नु भएन ।

हामी अहिले ग्लोबल भिलेजका रुपमा रहेका छौं । आजको पाठ्यक्रममा कक्षा सातमा महिनावारीको विषय राखेको हुन्छ । कक्षा ५, ६ मा पनि महिनावारीको विषयलाई व्याख्या गरेको छ ।

कक्षा ७ र ९ मा स्पष्ट रुपमा उल्लेख छ । हरेक १० कक्षाका पढ्ने भाईबहिनीले महिनावारीका विषयमा पढेका हुन्छन् ।

विज्ञानबाट हामीले अरु कुरा स्वीकार गरे पनि महिनावारीको विषयलाई भने स्वीकार गर्न सकेनौं ।

यस्तो हुनु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो ।

‘हामीले आफूलाई प्रेम गरेनौं’

हामीले आफूलाई प्रेम गरेनौं । मात्रै श्रीमानलाई प्रेम ग¥यौ । छोराछोरीलाई ग¥यौं । अरुलाई ग¥यौं ।

हेलचेक्र्याँई गरेजस्तो । आफूले आफैलाई प्रेम नगरेजस्तो भएर समस्या भएको छ । आजभोली सबै कुरा गुगलमा पाइन्छ । हामी गुगलका अन्य कुरा आत्मसाथ गर्ने । तर महिनावारीका कुरा आत्मसाथ नगर्नु भनेको हेलचेक्र्याँई हो ।

‘धर्ममा राम्रा कुरा छन्’

हिन्दु धमका थुप्रै जोगाउनुपर्ने कुराहरू छन् । गरुण पुराणमा केही राम्रा कुराहरू पनि लेखिएको छ ।

हामीले जोगाउनुपर्ने राम्रा कुरालाई जोगाइएनौं । जुन कुरा जरैदेखि उखेल्नुपर्ने थियो, त्यसमा मात्रै मलजल गरिरहेका हुन्छौं ।

अभियान घरबाटै

१४ वर्षको उमेरमा महिनावारी भए । घरमा एक सेकेण्ड पनि नबसी घर छोडेर भागे । मलाई कहाँ जाने थाहा थिएन । दिदीको घरमा गएर बसें ।

मेरी आमा र दिदीहरूले महिनावारी मान्दा छोरीहरू केही होइनन् भन्ने थियो । साढें १५ वर्षमा नर्सिङ पढ्दा महिनावारीको विषयमा थाहा पाइसकेपछि मैले पहिलो पटक मेरो बा आमालाई चित्र बनाएरै पढाएँ ।

महिनावारी प्रथा विरुद्धको अभियान घरबाटै शुरु गरें । शुरुमा बाबाले नै यस्तो के गरेको होला भन्नुभयो । अहिले हाम्रो घरमा महिनावारी हुँदा घर, भान्सा छुइने बार्ने केही गरिदैन ।

तीजको दिन हामी कसैले पनि ब्रत बस्दैनौंैं । यसपाली पनि बाबाले बाटो सफा गर्दा घर नजिकैको दतिवन तीजको अघिल्लो दिनै काटेर फाल्दिनु भो ।

महिनावारीमा मन्दिर गएकी छु

म आमाको किरिया गर्ने क्रममा पनि महिनावारी भएकी थिएँ ।

पशुपतिको मन्दिर होस् वा जुम्लाको प्रख्यात मन्दिर । डडेल्धुराको उग्रतारा, जनकपुरधाम, चितवनको देवघाट, मनकामना सबै ठाउँमा महिनावारी भएकै बेला मैले दर्शन गरेकी छु ।

मानवता नै धर्म हो भन्ने बुझेकी छु ।

गत वर्ष उग्रतारा मन्दिरमा दर्शन गर्ने अवसर पाएँ । त्यो दिन म महिनावारी भएको तीन दिन भएको थियो । म महिनावारी भएकी छु भन्ने कुरा त देवीले बुझ्नु भा’को थ्यो होला । तर खोई त, उहाँले मन्दिरमा नआइजा भन्नु भएन ।

जबसम्म हामी साँस्कृतिक विभेद भत्काउँदैनौ, तबसम्म राजनीतिक र आर्थिक परिवर्तन प्राप्त गर्न सक्दैनौ ।

डर लाग्नु भएन । पाप गर्नु भएन । धर्म छोड्नु भएन । परिवर्तनका लागि पुस्ता कुर्नु पर्दैन । हाम्रै पालामा हुनछ ।

महिनावारी बार्ने कारण नै बलात्कार

आज हरेक दिन चार जना छोरीहरू बलात्कृत हुन्छन् । महिनावारी बार्ने कारणले नै बलात्कारको शुरुआत भएको हो ।

संविधानमै कुनै व्यक्तिलाई जात, लिंगको आधारमा भेदभाव गर्न पाइदैन भनेर उल्लेख छ । मौलिख अधिकारको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ ।

कानूनमा कसैले महिनावारी प्रथा मान्ने कुरा गर्दा, छुवाछुत अथवा विभेद गरेर हिंसा गरेको अवस्थामा ३ महिना जेल, १० देखि ३ हजार रुपैयाँ अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

वहसको अभाव

नेपालमा महिनावारीको बारेमा वहस नै भएको छैन ।

अलिअलि खानेपानी, सेनेटरी प्याडसँग जोडेर भएका छन् । यस्ता सतही वहसले यो कानून र संविधान कार्यान्वयन हुन्छ भन्ने जस्तो लाग्दैन । हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । यसलाई सामाजिक, आर्थिक र विकासका एजेण्डासँग जोडेर हेर्नुपर्छ ।

(महिला खबरसँग गरिएको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: