सम्पादकको रंगविहीन तस्वीर


प्रकाशित मिति :2018-09-25 11:29:04

केही दिन अघि एक रंगविहीन तस्वीरले शहर ततायो । प्रधानमन्त्रीसँग ठिंग उभिएका पुरुष सम्पादकहरूको रंगविहीन र विविधताविहीन तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । यसले नेपालमा विचार निर्माणको आधिपत्य कसको छ, ठ्याक्कै भनिदियो ।

पत्रकारिता र राजनीतिको घाँटी जोडिएको हुन्छ । दुवैमा शक्ति र सोचको भारी असन्तुलन कस्तो छ, बताइरहनु पर्दैन । दृष्य छर्लङ्ग छ । दुवै ठाउँको सोच र निर्णयलाई जे मूलधारको विषय लाग्छ, त्यही नै मूलधार हुन्छ । सम्पादकीय के लेखिन्छ, संसदले कान ठाडो पार्छ । नेताको मिटिङ्मा के भयो पत्रकारले चनाखो भई हेर्छ । दुवै ठाउँमा एकैथरि मानिसको वर्चस्व अहिले पनि उस्तै छ ।

पत्रकारिता सुरु भएको सत्तरी वर्षसम्म किनारामा पारिएका मानिस र मुद्दा पत्रकारिता छिर्न सकस भईरहेछ । कारण, यही दृष्यले राम्रोसँग बोल्छ ।

प्रधानमन्त्रीसँग पुरुष सम्पादकहरु

नेपालमा एफएम रेडियो उदाउनु अघि सीमित पत्रिका थिए । पत्रकार भन्ने टाइटल केटीको पनि हुनसक्छ भन्ने कल्पनाको मुहूर्त नै फक्रिएको थिएन । निकै जोर जुलुमले केही महिला पत्रकारितामा छिरे । पत्रकार होइन ‘पत्रकार्नी’ भएर ।

घरबाट निस्कनु, काममा स्वीकार गरिनु, समाज र पत्रकारिताको संस्थासँग एकैपटक जुध्नु पर्ने हुन्छ । विषयको छनौट, सामग्रीको स्पेस, कामको मूल्य र सुरक्षा हरप्रहर लडिरहनुपर्ने विषय हुन् ।

घरभित्रको पितृसत्तासँग भिड्दै, सडक, शहर, बजार र मिडिया हाउसको पितृसत्तासँग पनि एकैपटक संयुक्त लडाइँ कोही लड्छ भने त्यो हो -महिला पत्रकार ।

केही समय अघि दक्षिण एसियाली फेमिनिस्ट कमला भासिनले कुराकानीको क्रममा भनिन्, ‘तिमी अहिले पत्रकारिताको काम गर्दैछौ, घरमा अनगिन्ती कामहरू तिमीलाई पर्खेर बसेका होलान् ।’

परम्परागत परिवार भन्दा भिन्न आफ्नै एजेन्सी बनाएर बसेका केटी मान्छेका लागि घरमा तोकिएका कामले पनि पर्खेको हुन्छ । पितृसत्ताका पत्र पत्रका पर्खाललाई सरापेर मात्र पुग्दैन, हरप्रहर मुक्काले हान्दै रक्ताम्मे हुनैपर्छ । सडकमै, भौतिक रुपमै भिडिरहेको हुनुपर्दछ । यो भिडन्तमा सामेल हुन सकेकोमा सानदार महसुस गरिरहन सक्नुपर्छ ।

नेपालमा रेडियो रहरलाग्दो तरिकाले जिल्ला–जिल्लामा खुल्न थाले । झन्डै डेढ दशक अघिदेखि एफएम रेडियो देशव्यापी रुपमा खुल्ने क्रम बढ्यो । केही वर्ष अघिसम्म रेडियो खुल्ने जोस कायम रह्यो । आफ्नै घर वरिपरि खुलेका रेडियोले महिलालाई पत्रकार हुन सजिलो बनाइदियो । पत्रकार बन्न डेरा डन्डा बोकी हिँड्न परेन ।

यी मध्ये थोरैले आँगन छिचोले । धेरैले आाफ्नै ठाउँ वरिपरि रहेर पनि राम्रो काम गरे, गरिरहेछन् । रेडियो पत्रकारितालाई मूलधारको पत्रकारिता नगनिनुले नेपाली पत्रकारिताले महिलासहितको सामूहिक तस्वीरको सौन्दर्य गुमाएको छ ।

अहिले पनि जोसिला रेडियोकर्मी महिला लागिरहेकै छन् काममा । समाचार प्रमुख र स्टेशन म्यानेजरको रुपमा पनि धेरै छन् । अनलाइनको उदयसँगै रेडियोको चमक सिथिल हुन थाल्यो । के भइरहेछ, के हुँदैछ, कहाँ कसरी सम्भावना छ भन्ने खोज्ने कम छन् । पत्रकार महिलाको ग्रुमिङको लागि ध्यान दिने भन्दा ‘खोई महिला ?’ भन्ने धेरै छन् ।

एकछिन चर्कने एक्टिभिजम फेसनमा छ । यसले हल्ला त मच्चाउँछ । निकास निकाल्ने आवाज दिँदैन ।

असहिष्णु डेस्क र पपुलिष्ट सम्पादक

राजनीतिमा युगौं नफेरिएको अनुहार जस्तै मूलधारको पत्रिकामा उही अनुहार र विचारको वर्चस्व छ । डेस्कमा बसेर विचारको नाप तौल गर्ने मर्का र तप्का उही छ । ताजा हावा छिराउन हम्मेहम्मेकै अवस्था छ । वर्षौं विचार लेख्ने उनै, डेस्कमा सम्पादन गर्ने उनै । दशकौं नफेरिने दोस्ताना । अरे वा !

चिया पसलमा गरिने राजनीति र अपराधका गफ बाहेक सबै सफ्ट मुद्दा मानिन्छ, आजसम्म पनि । पत्रकार महिलाहरूलाई यसरी सफ्ट भनिएका मुद्दाकै जिम्मा बढी लगाउन थालियो सुरुबाटै ।

राजनीतिको छत बलियो हुन सफ्ट भनिएका सबै मुद्दाको पिल्लर बलियो गरि पत्रकारितामा उभिनुपर्छ । यो कुराको होस नेपाली मिडियाले दशकौं पाएन । अब निद्राबाट बिस्तारै ब्यूँझदै छ । कुन मुद्दा मूल, कुन सहायक त्यो विषयले तय गर्दैन । समय, सन्दर्भ र त्यसको घनत्वले तय गर्छ । लामो समय पत्रकारिता हाँक्नेहरूलाई भनिरहनु नपर्ने हो ।

पत्रकार महिला किन सम्पादक हुन सक्दैनन् भन्ने कुरामा सम्पादक र प्रकाशकबाट आउने एउटा तर्क हो ‘जेन्डर पत्रकारितामा महिला बढि फोकस हुन्छन् । मूलधारको राजनीतिमा कम लेख्छन्, बोल्छन् ।’

मानव सुरक्षा र आधा भन्दा बढी महिलाको सवाललाई मूलधार होइन भन्नु आफैमा त्रुटिपूर्ण सोच हो । ढिलो नगरि सच्याइनु आवश्यक छ । मूलधारमा बोलेनन् भन्ने बहाना पनि अब फिका बन्दैछ ।

पछिल्लो दशकमा मूलधारका र विवादित भनिएका विषयमा बोल्ने लेख्ने महिला देखा परेकै हुन् । राजनीति, जातीयताको मुद्दा, संघीयताको सवाल, संक्रमणकालिन न्याय, नाकाबन्दी, भ्रटाचार वा अरु कुनै मुद्दा । यी सबैमा लेख्ने पत्रकार र लेखक महिला सतहमा आएकै हुन् । भलै संख्या थोरै होस् ।

एक सत्य दृष्टान्त 

देशको तातो राजनीतिमा लेखिएको खोज फिचर मूलधारको दैनिक पत्रिकामा पुग्यो । रिपोर्ट मुख्य पृष्ठमै छापिने निर्णय भयो । केही दिनमा सूचना आयो नछापिने । एक दुई हप्तामा सो रिपोर्ट अर्को मूलधारकै साप्ताहिक पत्रिकामा कभर बनेर आयो ।

नछापिएको पत्रिकाको डेस्कमा बुझ्दा थाहा भयो, ‘यस्तो रिपोर्ट अरुले पठाए हाम्रा रिपोर्टरहरूले माइन्ड गर्छन् । हामीले नै गर्न पाएको भए हुने भन्छन् ।’ कारण पनि सोधेपछि मात्र भनियो । गैर जिम्मेवार र असुरक्षित मनोभावको यो भन्दा ठूलो उदाहरण अर्को लागेन ।

त्यही पत्रिकामा एक हप्ता भित्रै महिलालाई पितृसत्ताले केही गर्न नदिएको दुई पानाको लेख आयो । सम्पादकले अप्ठेरो नमानी सामाजिक सञ्जालमा विज्ञापन गर्दै बसे । यसरी हेर्दा, महिलाले केही गर्न सकिन्न भनेरै बसुन् । टेबलमा प्रतिस्पर्धी लेख ड्याम्म नल्याउन भन्ने चाहेको बुझिदैन र !

पुरुष रिपोर्टर र आफ्नो असुरक्षित मनोभावको रक्षा गर्ने उनै सम्पादक । नारीवादी लेख छापिदिएर नारीहरूका प्रिय पनि उनै । अनारीवादी हुनुपर्ने गालबाट बँचियो । मूलधारमा हस्तक्षेप गर्ने र प्रश्न गर्ने पत्रकार लेखक महिला झेल्न पनि परेन । हाइसन्चो ।

दोहोरो मापदन्डको यो भन्दा ठूलो नमुना अन्त कहाँ खोज्ने ? मूलधार भनिएका विषयमा कलम चलाउने महिलाहरूको सामग्री सामाजिक सञ्जालमा अनदेखा गर्ने पनि पोलिटिक्कल्ली करेक्ट सम्पादक नै धेरै छन् । यो चलाखी हो ।

अर्कोथरि, महिलाको सवालमा लोकप्रिय देखिनेहरू कुनै देखावटी कर्मकान्ड गर्दैनन् । गल्ती पनि गर्छन् । सबैखालका विषयमा पत्रकार महिलालाई विश्वास गर्छन् र प्रोत्साहन गर्छन् । तर, आफ्नो सञ्चार माध्यममा रिपोर्ट ल्याउने महिलाको कष्ट, उसको सुरक्षाको सवालमा भने आँखा चिम्लेर बस्छन् । सोध्ने कष्टसम्म गर्दैनन् ।

दर्कने झरीमा नौ बजेसम्म अफिसमा काम गरिरहेको रिपोर्टर घर कसरी पुग्छ यो उनीहरूको चासोको विषय होइन । बस ! हातमा रिपोर्ट आयो पुग्यो । र, सम्भावना देखिएको महिलालाई ग्रुमिङमा ध्यानै दिँदैनन् । अलिकति मात्र ध्यान दिँदा पत्रकार महिलाको करिअरले लिने माइलेज प्रकाशक र सम्पादकको महत्वको विषय होइन ।

भारतको आउटलुक पत्रिकाका सम्पादक स्व. बिनोद मेहताले आफ्नो किताबमा अरुन्धतीको हस्तक्षेपकारी (सकारात्मक अर्थमा) स्वभावबारे बयान गरेका छन् । अरुन्धतीले कसरी आफ्ना विषयमा डेस्कमै आएर हल्ला मच्चाउँथिन् भन्ने कुरा गर्वका साथ लेखेका छन् ।

आउटलुक पत्रिकाको जागिरे थिइनन् अरुन्धती । फ्रिलान्स लेखकको दृष्टिकोण र हस्तक्षेपलाई सानको विषय मान्ने बिनोद मेहता जस्तो सम्पादक नेपालमा को होला ? कल्पना मात्र पनि ठूलो छ अहिलेसम्म त ।

प्रश्न सोध्नु र कुनै कुरामा असन्तुष्टि जनाउनु भनेको फेरि काम नगर्ने जोखिम गर्नुपर्ने अवस्था छ । नेपालका सिनियर सम्पादक र प्रकाशकले सम्पादक महिला ग्रुम गर्न नसकेकोमा दोष अरुतिर तेस्र्याउने होइन, लाज मानुन् ।

‘महिलावादी’ नारी र पुरुष 

मुख्य भनिएका विषयमा महिलाको दृष्टिकोणलाई मूल प्रवाहिकरण गरिएको लेखनीलाई महिलाको विषय मान्दैनन्, आफूलाई महिलाको सवालमा मुखर मान्नेहरू । यादव पुरुषको सट्टा मुसहर महिलाको स्वर मधेसको राजनीतिमा मुख्य बनेर पत्रिकाको अगाडि उभिँदा मतलब हँुदैन । विचार फरक हुन सक्छ । तर, किनाराको विचार मूल ठाउँमा आउनु सच्चा महिलावादीको लागि खुशीको कुरा हुनुपर्ने होइन र ?

अर्को, इतिहासदेखि आजसम्म कम चर्चा गरिएको महिलाको शक्ति र उसको बुद्धिको हो । इतिहासमा यो भएन भन्न हामीलाई कसैले सक्दैन । जब वर्तमानमा आफ्नो शक्ति देखाइरहेका, महिलाको चर्चा सञ्चार माध्यमले सानदार तरिकाले गर्छ, उनीहरू नदेखेझैं गर्छन् । एक होइन अनेक एजेन्सी धानेका पावरफूल महिलाहरूको बारेमा आउने कभरेजलाई ‘महिलावादी’ले आँखा चिम्लने कुरा नौलो होइन ।

खोई, छैनन्, हुन्न, सकिन्न, भन्नै रमाइलो मानिरहे जस्तो देखिन्छ । महिलाको भनेर तर्काएका विषय केन्द्रमा मूल बनेर आउनु र मूल भनेर महिलालाई छिर्न नदिएका विषय पत्रकार महिलाले उठाउनु दुवै शक्तिशाली होइन ? पत्रकार महिलाले गरिरहेको दृष्टिकोणको मूल प्रवाहिकरणलाई ‘जेण्डर’ होइन भन्ने महिलावादी सोच हुनै सक्दैन ।

मुख्य भनिने विषयमा हस्तक्षेपको प्रयास गरिरहेका पत्रकार महिलाको सास्ती र उपलब्धि महिलावादको विषय बन्दैन । महिलावादी देखिन मन पराउने पुरुषको त झन् विषय नै भएन । बुझाई कमजोर कि पुर्वाग्रह ? महिलावादको वकालत किनारामा बसेर हुन्छ या बीचमै हस्तक्षेप गरेर ?

पुरुषनै पुरुषले भरिएको सञ्चार माध्यममा हरप्रहर उनीहरूसँगै मिलेर काम गर्नुको विकल्प छैन । सँगै काममा हिँडे महिलावादी हुँ भन्नेले ट्वीट लेख्छन्, ‘पुरुषले उचालेको कारण अघि बढे ।’ जब सम्पादक महिला खोई भन्नु पर्छ तब उनैले भन्छन् ‘सम्पादकले पुरुष रिपोर्टरलाई सँगै लिएर ग्रुम गरें महिलालाई गरेनन् ।’ हैट !

हालसालै पुरुष सम्पादकको सामूहिक तस्वीरमा तीव्र प्रतिक्रिया आए – ‘खोइ महिला सम्पादक ?’ अहिले बीबीसी नेपाली सेवामा नेतृत्वदायी पदमै रहेकी रमा पराजुली, घटना विचारकी सम्पादक बबिता बस्नेत र महिला खबरकी सम्पादक लोग्शरी कुँवर लगायतको नाम लिन जरुरी नै ठानेनन् धेरैले ।

उभिएका पुरुषहरूमा सबै सम्पादक थिएनन् । राजनीतिक, सामाजिक विषयमा निर्धक्क टिप्पणी गर्न सक्ने पत्रकार महिला पनि उभिन सक्थे । पुरुष सम्पादज्यूहरूबाट उभ्याउने कष्ट भएन । प्रश्न सोध्ने प्रश्नकर्ताहरूले ‘खोई’ भन्नु बाहेक अरु दृष्य देखाइदिने जमर्को पनि भएन । पत्रकार महिलाहरूको सास्ती र उपलब्धिमा ध्यान पुगेको भए पो दृष्य देखियोस !

जब महिलाहरू राजनीतिमा लेख्न थाल्छन्, ट्रोल हुन्छ यसरी, ‘यी महिला लेखक वा पत्रकारको यो राजनीतिक विचार कसरी भयो ? यीनलाई सिकाउने कोही त छ ।’ यस्तो टिप्पणी दिनेले पनि आवरण नारीवादकै ओडेको देखियो । यस्ता पुरुषको ट्वीट चैं— कठै, नारीवादीले ढुक्कै सेयर गरे । ‘दलित महिलाले पत्रकारको अघि कसरी बोल्न सकिन् । यो हुनै सक्दैन ।’ भन्छन्, ब्राम्हण मधेसी पुरुष । उनै पुरुष ‘महिलावादी’का प्रिय ।

महिलाको राजनीतिक विचार हुन्न भन्ने तिमी को हो ? भनेर प्रश्न गर्नुपर्ने होइन सच्चा महिलावादीले ? पत्रकार महिलालाई व्यक्तिगत आक्रमण गर्ने डेस्क सम्पादकलाई लेखको सुरुमै आदरपूर्वक सम्बोधन गरि किन चोख्याइदिन्छ महिलावाद । कमला भासिनकै अर्को शब्द सापटी ‘बौद्धिक नारीवादी हुन सजिलो छ । व्यवहारिक हुन सुरु गर ।’

उभिएका पुरुषहरूमा सबै सम्पादक थिएनन् । राजनीतिक, सामाजिक विषयमा निर्धक्क टिप्पणी गर्न सक्ने पत्रकार महिला पनि उभिन सक्थे । पुरुष सम्पादज्यूहरूबाट उभ्याउने कष्ट भएन । प्रश्न सोध्ने प्रश्नकर्ताहरूले ‘खोई’ भन्नु बाहेक अरु दृष्य देखाइदिने जमर्को पनि भएन । पत्रकार महिलाहरूको सास्ती र उपलब्धिमा ध्यान पुगेको भए पो दृष्य देखियोस !

पत्रकार महिलाको स्तरोन्नती भनेर लागि परेका संस्थाहरू पनि कोर पत्रकारिता भन्दा विकासे पत्रकारितामा बढि लोभिएको देखिन्छ । अब यस्ता संस्थाले पनि अरुलाई प्रश्न गर्ने बेला दुई पटक सोच्नै पर्छ । नारीवादको जलप होइन, सही अर्थमै पत्रकार महिलाको नेतृत्वको लागि काम गर्ने मानिसहरूको खाँचो देखिन्छ ।

साहित्यिक मेला र महिला टक फोरम

पत्रकार महिलाले उठाएका सवाल र गरेका अनुसन्धानात्मक विषयहरूमा साहित्यिक मेलामा बोल्न वा मोडरेड गर्न पुरुष पत्रकार उक्लन्छ । एक दुई महिला सेसन दियो, समावेशी भइहाल्यो । चलेको राजनीतिमा बागी विचार राखेको कारण सर्वत्र आक्रमणमा परिरहेका हुन्छन्– महिला लेखक र पत्रकार । शहरको कुनै कुनामा बसेर आक्रमणको भयमा आत्तिरहेको बेला युटुबमा देखिन्छ, बागी विचारबारे विमर्श – साहित्यिक मेलाहरूमा ।

वर्षौंदेखि उही अनुहार । उही विचार । फेरिने भनेको बोल्नेहरूको कपडा मात्र हो । तैपनि बागी । केहेनेमे क्या हर्ज हे । यसरी मूल राजनीतिमा फरक धारको विचार राख्ने महिलालाई पुरै बेवास्ता गर्ने मेला आयोजकहरू (महिला, पुरुष) पनि सामाजिक सञ्जालमा महिला सम्पादक खोजिरहेकै हुन्छन् । ‘खोइ खोइ’ भनेर चोर औंला अर्कोतिर तेस्र्याउँदैमा भेटिदैन हजुर ।

कुनै राजनीतिक प्रश्न गरेपछि बिच्किने नारीवादी पुरुष पनि छन् । जसले दिने ‘चौतारी फोरममा’ फरक राजनीतिक विचार राखेर मूल धारका पत्रिकामा लेख्ने महिलामाथिको निम्न कोटीको आक्रमणको जिकिरसम्म हुन्न । महिलावादको घुम्टो ओढ्ने केही सर्वपरिचित पुरुषहरू पनि सबै विषयमा लेख्ने महिलाको सामग्री जानेरै अनदेखा गर्दछन् ।

पितृसत्ताको यो अर्को तह हो । जोसँग लड्न धेरै कठिन छ । त्यसैले आजका नारीवादीहरू शक्ति र सत्तासँगको लडाइँ भन्न मन पराउँछन् । जसले शक्तिमा बसेकालाई चुनौती दिने हैसियत राख्छन् । उनीहरू आँखी हुन्छन् । यस्ता फोरम जसको हातमा छ, उनीहरूलाई चिढ्याउन नचाहने महिलाको लागि यो खालको शक्तिसत्ता स्वागतद्वार ओच्छ्याई बस्छ । पर्दा महिलामैत्री छ । चरित्र शक्ति सत्तात्मक ।

संगत साउथ एसिया जस्तो फोरमका नारीवादीहरू भन्छन् ‘शक्ति सत्ताले तिमीलाई तबसम्म प्रोत्साहन गर्छ, जबसम्म तिमी उसको लागि खतरा लाग्दैनौ ।’ मूल भनिएका विषयमा आफ्नो विचार राखेपछि चौतर्फी आक्रमणमा परेका केही महिला लेखकहरू अहिले मौन छन् ।

महिला लेखकमाथि भएको आक्रमणको जिकिर गर्न कोही ‘महिलावादी’ महिला, पुरुष, सम्पादक वा फोरमदाता कसैलाई आवश्यक लागेन । यो हतोत्साहले कसरी बोल्छन् राज्यका केन्द्रका विषयमा महिला ? कसरी गर्छन् पत्रकार महिलाले मूल भनिएका विषयमा रिपोर्टिङ । पितृसत्तात्मक चरित्र देखिने संचारमाध्यम र तिनका संचालकसँग त सिधा रेखामा मात्रै लडाइँ हुनसक्छ ।

जो जो महिलावादको सुरक्षित आवरणमा बसेर पत्रकार महिलाको तेजोवध गर्न तम्सेका छन्, सबैभन्दा कष्ट यहीँ छ । जुन नदेखिने घाउ हो । दुख्छ मात्र । पत्रकार महिलाको लडाइँ पत्र पत्रमा छ । लामो र जटिल छ । हार मान्ने सुविधा छैन । मान्ने पनि होइन । पितृसत्ताको यो अर्को तह नछिचोली गन्तब्यमा पुगिन्न ।

उदार समाज

मान्छेले कुरा गर्ने व्यक्तिगत र सामूहिक अनुभवकै आधारमा हो । अनुभवले भन्छ, पत्रकार महिलाको लागि सबैभन्दा उदार नेपाली समाज नै हो ।

नौ वर्ष अघि सुदुरपश्चिमा मैले चिनेका दुई जुझारु पत्रकार महिला थिए । माओवादी द्वन्द्वदेखि घरेलु र सामाजिक सबै खाले हिंसामा जुध्दै पत्रकारिता गरिरहेका । धनगढीमा लोग्शरी कुँवर र महेन्द्रनगरमा यमकला पाण्डे ।

यही चिनजानको भरमा बुटवल नटेकेको म धनगढी पुगें । उनीहरू र बाँकी समाजको उदारता र सहयोग मन लोभ्याउने खालको थियो । एउटा चरबाट छिरेर बाँकी छ जिल्लामा रिपोर्टिङ गरि फर्कदा नेपाली समाजले छोरीहरूको काम खोजिरहेको महसुस भयो ।

बहस र विवादमा भिडिरहने बौद्धिक जमात भन्दा धेरै सहयोगी लाग्यो । पत्रकार महिलाका लागि जति चमक उनीहरूका आँखामा थियो, त्यस्तो ‘खोई महिला सम्पादक’ भन्ने जमातमा अहिलेसम्म देखिएको छैन ।

मधेसमा आधारातमा किरियापुत्री बसेको ठाउँमा रिपोर्टिङ गर्दा होस् वा पहाडका भिरमुनिका गुफामा । कालो चिया दिएर, बिरामी पर्दा जाउलो ख्वाएर, बास गास दिएर सहयोग गर्ने यही समाज हो । कुनै संस्थाको कार्ड वा पद नदेखाई हिँड्ने पत्रकार महिलालाई पनि गर्छ सानदार स्वागत, आफ्नो आँगनमा ।

मैले भेट्दा अँध्यारो गल्लीमा कुटाई खाएकी धनगढीकी पत्रकारले पाइला नसारेको भए उनको नाम अघि सम्पादक शब्द कसरी आइपुग्थ्यो ? जति पटक उनको नाम अघि सम्पादक लेखिएको देख्छु, उति पटक गर्वले म मुस्कुराउँछु । सञ्चार गृहले सहयोग गरि पत्रकार महिलालाई बढि भन्दा समाजसँग साक्षात्कार गराउन सके धेरै कुरा पत्रिकामा आउन सक्छ । श्याम श्वेत खबरहरूमा रंग थपिन सक्छ ।

पत्रकार महिला पुग्दा अझ बढि खुल्छ । राजनीतिक विषय होस् वा सामाजिक । पत्रकारको लिंग हेर्दैन । सन्दर्भ हेर्छ र बोल्छ । चिया पसल होस् वा चुलो चौको दुवैतिर महिला सजिलै विचरण गर्न सक्छन् । विश्वास र सद्भाव देखाउँछन् । मन खोल्छन् मानिसहरू ।

सीमा नाकामा नागरिकताको भरमा काम गर्दा पनि सहयोग गर्ने नेपाली समाज नै हो । मधेस न पहाड यसको मायालु स्वभाव उस्तै छ । छठको मधेस, तीजको पहाड । आफन्ती माया । जुझारु काम । यस्तो संसारमा अन्त कहाँ मिल्ला !

श्रीलंकाकी एक पत्रकार महिलासँग केही दिन अघि कुरा भयो । दुवैले आफ्ना अनुभव साट्यौं । काठमाडौंका सडकमा हिँड्दा र उनको देशमा हिँड्दाको फरक बताइन् । हाम्रो समाज भोगेर हेरिन् केही दिन । हाम्रो अनुभव सुनेर लोभिइन् । तुलनात्मक रुपमा नेपाली समाज बदलाबको लागि आफूलाई खुल्ला राख्ने समाज हो । यो त्यति जड छैन, जति हामी सोच्छौं ।

एक्लै काम गर्दै आँगनमा पुगेका चेलीलाई कसरी सुरक्षा दिने र एक छाक भए पनि मिठो ख्वाउने भनेर लागिपर्ने पर्ने देशका मानिस हौं हामी । मन्दिर र ब्यारेकसम्ममा बास लिएको व्यक्तिगत अनुभवमा भन्छु, नेपालका कुनै पनि बौद्धिक फोरम र जमात भन्दा यो समाज प्रगतिशिल छ ।

संसारका कस्तै राम्रा भनिएका समाजमा पनि अपराधका घटना हुन्छन् । त्यस्ता काला धब्बासँग लड्नै पर्छ । अर्कोतर्फ तुलनात्मक रुपमा उदार समाजको फाइदा हामीले लिनै पर्छ ।

नेपाली पत्रकार महिला अब गुनासो मात्र गरि बस्ने होइन । समाजको बदलिँदो स्वभावको फाइदा लिँदै अघि बढ्ने हो । पाइला नै नसारे बाँकी काम कसरी हुन्छ ? मैले भेट्दा अँध्यारो गल्लीमा कुटाई खाएकी धनगढीकी पत्रकारले पाइला नसारेको भए उनको नाम अघि सम्पादक शब्द कसरी आइपुग्थ्यो ? जति पटक उनको नाम अघि सम्पादक लेखिएको देख्छु, उति पटक गर्वले म मुस्कुराउँछु ।

सञ्चार गृहले सहयोग गरि पत्रकार महिलालाई बढि भन्दा समाजसँग साक्षात्कार गराउन सके धेरै कुरा पत्रिकामा आउन सक्छ । श्याम श्वेत खबरहरूमा रंग थपिन सक्छ ।

समाजको मनमा युगौं दबिएर बसेका मुद्दा पत्रकारिताको मूलधारमा ल्याउनु छ । यसको लागि पत्रकार महिलाको भूमिका कति चाहिएको छ, कति । आजसम्म नउठेका विषय संचार माध्यममा नछिरे ‘हामी मूलधार’ भनेर कसैले पनि भन्नु बेकार छ । संचार गृहलाई सही अर्थमा मूलधारमा ल्याउन निर्णायक तहमा महिलाको दृष्टिकोण मात्र होइन, भौतिक उपस्थिती नै बढाउनु पर्छ । समाज तयार छ । पत्रकार केटीहरू तयार हुनैपर्छ । बाँकी काम कसले गर्ने हो व्यवहारिक रुपमै तयार नभई सुख छैन । खुला, समावेशी र उदार बहसको सुरुआत गरौं अब ।

(लेखक गौतम स्वतन्त्र पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: