एसिडः हिंसाको हतियार


प्रकाशित मिति :2018-09-23 13:21:53

–शशी बस्नेत–

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो कोही माथि पनि यो हिंसा हुन सक्छ । तथापि, यसबाट संसार भरिनै महिला तथा किशोरीहरू बढी मात्रामा पीडित भएको पाईन्छ ।

एसिड हिंसा एक विशेष जाति, धर्म वा भौगोलिक स्थानमा मात्र सीमित छैन, यो एक विश्वव्यापी समस्याको विषय हो । एसिड पछिल्लो समयमा आएर महिला हिंसाको लागी हतियारको रुपमा संसार भरी नै प्रयोग भएको पाईन्छ ।

महिला विरुद्धका अन्य हिंसाभन्दा यो हिंसाको प्रकृति अलि फरक देखिन्छ । यसमा आक्रमणकारीको मुख्य उद्देश्य भनेको महिलालाई कुरुप बनाई आजीवन अपमान सहेर बाँच्नु परोस् र कहिले पनि आफूमाथि भएको घटना नभुलोस् भन्ने रहेको हुन्छ ।

Acid Survivors Foundation नामक संस्थाले बंगलादेशमा मात्र सन् १९९९ देखि २०१७ सम्म ३३८६ घटना घटेको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त तथ्यांक अनुसार १८ बर्ष देखी ३५ वर्षका महिलाहरू एसिड आक्रमणजन्य हिंसामा बढी पीडित भएको देखिन्छ । तर यसको जोखिममा महिला पुरुष सबै छन् ।

त्यसैगरी दाइजो, पारिवारिक विवाद, विवाह र प्रेम प्रस्तावको इन्कारी लगायतका कारणबाट त्यस्ता घटनाहरू बढी घट्ने गरेको तथ्य उक्त संस्थाले उजागर गरेको छ (-Acid survivors foundation, http://www.acidsurvivors.org/Statistics/1) । हाल एसिड आक्रमण कुनै पनि कारणबाट उठेको आक्रोस पोख्ने सजिलो माध्यम भएको पाइन्छ ।

नेपालमा कति भए एसिड आक्रमणका घटना ?

विभिन्न सञ्चार माध्यम प्रकाशित समाचारका आधारमा हेर्ने हो भने नेपालमा यस हिंसाको कारण महिला तथा बालबालिका पीडित भएको पाइएको छ ।

पछिल्ला वर्षहरूमा नेपालमा एसिड आक्रमणजन्य लैंगिक हिंसाको प्रवृत्ति बढ्दो छ । लेखकले प्राप्त गरेको विवरण र विभिन्न पत्रपत्रिकामार्फत हालसम्म १५-१६ वटा घटनाहरू सार्वजनिक भएका छन् ।

पहिलो चोटी मिति २०६३ साल जेष्ठ महिनामा मोरङ्गकी २० वर्षीया सदिना खातुनले आफ्नी ३ वर्षकी छोरीलाई स्तनपान गराईरहेको अवस्थामा निजकै पतिले एसिड प्रहार गरी आमा र छोरी दुवैलाई घाईते बनाएको घटना सार्वजनिक भयो ।

भर्खरै अछाममा आफ्नै सानिमा (आफ्नै काकी) ले ६ महिने शिशुलाई एसिड खुवाइन् र शरीरममा छर्किदिइन् । समयमै उपचार नहुँदा बालकको निधन भयो ।

नेपालमा घटेका घटनाहरूको अध्ययन गर्दा किशोरी तथा युवतीहरूप्रति लक्षित गरी एसिड आक्रमण गर्ने गरिएको पाईन्छ । यस्ता घटनाले विशेषगरी विद्यालय तथा विश्व विद्यालयमा पढने किशोरी तथा अन्य किशोरीहरूलाई बढी मात्रामा आतंंकित बनाएको देखिन्छ ।

कुन एसिड बढी प्रयोग भएको छ ?

विभिन्न अध्ययन अनुसन्धान अनुसार धैरै एसिड आक्रमणका घटनाहरूमा Hydrochloric तथा sulphuric acid नामक एसिड प्रयोग भएको पाईन्छ । Hydrochloric तथा sulphuric acid अत्यन्त खतराजनक एसिड हो ।

यो मानव शरीरमा परेमा छाला मात्र नभई हड्डि समेत जलाउने गर्दछ । यसको तत्काल उपचार नगरेमा प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव छैन । यदि आँखामा परेको खण्डमा तत्कालै दृष्टिविहीन बनाईदिन्छ ।

छालामा परेको खण्डमा तत्कालै प्राथमिक उपचार गरी यसको असरलाई कम भने गर्न सकिन्छ । त्यसैले एसिड आक्रमणका पीडितको तत्काल उपचार तथा प्राथमिक उपचारको विधिको जनचेतना आम जनतामा हुनु आवश्यक छ । यस विषयमा नेपाल सरकारको ध्यान जानु आवश्यक छ ।

किन हुन्छ महिलामाथि एसिड आक्रमण ?

एसिड आक्रमणका विभिन्न हिंसाजन्य घटनाहरूको अध्ययन गर्दा यस्ता अपराधहरू प्रायजसो महिलालाई चरम यातना, पीडा दिने, कुरुप र अन्धो तथा अपांग बनाउने समेत उद्देश्यबाट प्रेरित हुने गरेको देखिन्छ ।

किशोरी तथा युवतीहरूको टाउको र अनुहारलाई बढी लक्षित गरी धेरैजसो एसिड प्रहार हुने गरेको पाईन्छ । एसिडको प्रयोगले मानिस मर्नेसम्मको परिणाम ल्याउने गरेको देखिन्छ ।

प्रायजसो घटनाका कारण गम्भीर तथा अपुरणीय शारीरिक, मनोवैज्ञानिक र सामाजिक क्षति हुन जान्छ । महिलामाथि हुने एसिड आक्रमण भनेको परम्परागत पितृसत्तात्मक सोचकोे उपज हो ।

यस सोचका कारण महिलालाई व्यक्ति भन्दा बढि सुन्दर वा भोग गर्ने बस्तुको रुपमा हेरिन्छ । जसको कारणले गर्दा कुनै पनि महिलामाथि बदला लिनको लागी यस्ता घटनाहरू घटेको पाइन्छ ।

महिलाको सहअस्तित्वलाई अस्विकार गर्ने तथा महिला तथा किशोरीलाई भोग्य वस्तुको रुपमा हेर्र्न हाम्रो समाजमा समयमा नै एसिडजन्य आक्रमणलाई कडाईकासाथ दण्डनीय बनाउने तथा यस्ता हिंसाको माध्यमको रुपमा रहेको एसिडजन्य पदार्थको बिक्री वितरणलाई नियन्त्रण तथा नियमन गर्ने सन्दर्भमा राज्य उदासिन रहने हो भने यो समस्याले विकराल रुप लिंदै जाने देखिन्छ । जसले गर्दा बालिका तथा महिलाहरूको मानव अधिकारको उपभोगमा गम्भीर क्षति पु¥याउँदछ ।

एसिडले हुने क्षति

कुनै पनि व्यक्तिलाई एसिड प्रहार हुँदा निजको अनुहार र शरीरमा मात्र चोट लाग्दैन । उसको आत्मसम्मान तथा आत्मविश्वासमा पनि चोट पुग्दछ ।

जसको फलस्वरुप निजले पटक–पटक पीडा, तिरस्कार र हेला सहेर आजीवन बाँच्नुपर्ने हुन्छ । कतिपय महिलाहरूले मानसिक रुपमा परेको यस पीडालाईसहन नसकेर आत्महत्या समेत गर्ने गरेको उदाहरणहरू प्रसस्त छन् ।

यस्ता घटनाका पीडितलाई शारीरिक उपचारको साथै मनोवैज्ञानीक उपचार तथा समाजमा पुनस्र्थापनाको आवश्यकता पर्दछ ।

एसिड आक्रमण विरुद्ध भएका विगतका कानूनी प्रावधानहरू

२०७२ साल अगाडिसम्म यस्तो गम्भीर प्रकृतिको सामाजिक अपराध विरुद्धमा नेपालमा स्पष्ट र कडा सजाय गर्ने व्यवस्था थिएन ।

लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन २०७२ ले घरेलु हिसां (कसुर सजाय) ऐन, २०६६ को दफा २(ग), मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ क. थप गरी एसिड आक्रमणलाई नेपालमा पहिलो चोटी अपराधको रुपमा परिभाषीत गरी सजायको पनि व्यवस्था गरेको थियो ।

एसिड आक्रमणलाई अपराधिकरण गर्न मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ क. नम्बर थपिएको थियो । जस अनुसार “तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पारेमा कसूरको प्रकृति हेरी अनुहारमा कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एकलाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जीउमा पीडा गराएमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था थियो ।

यसरी जरिवाना वापत प्राप्त पुरै रकम पीडितलाई घा खर्च वापत दिइनेछ भनि उल्लेख गरेको थियो ।

त्यसैगरी घरेलु हिसां (कसुर र सजाय) ऐन, २०६६ को दफा २(ग) मा परिमार्जन गरिएको शारीरिक यातनाको परिभाषा यस्तो छ “शारीरिक यातना” भन्नाले कुटपिट गर्ने, गैर कानूनी थुनामा राख्ने, शारीरिक चोट पु¥याउने, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनु पर्छ” भनिएको छ ।

एसिड आक्रमण विरुद्ध अपराध संहितामा भएका प्रावधानहरू

मुलुकी अपराध (संहिता) ऐन, २०७४, को दफा १९३ अनुसार कसैले पनि तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ ।

कसैले यस्तो कसूर गरे कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिबापत दिनु पर्ने व्यवस्था गरेको छ ।

अपराध संहितामा भएका प्रावधानहरू एसिड आक्रमण नियन्त्रणका लागि पर्याप्त छन् त ?

एसिड आक्रमणलाई नेपालमा अपराधको रुपमा परिभाषित गरेता पनि एसिडको बिक्री वितरण, ओसारपसारलाई नियमन तथा नियन्त्रण गर्ने तथा अनुगमन गर्ने सम्बन्धमा खास कानूनी प्रबन्ध भएको पाईदैन ।

एसिड अन्य सामान्य खाद्यवस्तु जसरी बजारमा सहजै खरिद गर्न पाईने हुनाले एसिड आक्रमणको घटना बढ्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

एसिड जस्तो मानव शरीरका लागी हानी गर्न सक्ने पदार्थको बिक्री वितरणमा नियमन तथा नियन्त्रण र अनुगमनको आवश्यकता टड्कारो छ । पीडकलार्ई पीडा दिइसकेपछि कडा सजाय दिने कुरा आफ्नो ठाउँमा छ ।

संगसंगै, कुनै घटना घट्ने वातावरण सृजना हुनै नदिनु पनि राज्यको पहिलो प्राथमिकता हुनु पर्दछ । जसले गर्दा महिला मैत्री तथा हिंसामुक्त समाजको निमार्ण हुन सक्दछ ।

मानव शरीरका लागी खतरा हुने पदार्थको नियन्त्रण गरी महिला तथा बालिकामाथि हुने हिंसालाई अन्त्य गर्नु राज्यको प्रमुख दायित्व हो । यसको लागी एसिडको बिक्री वितरणमा अनुगमन तथा उचित नियन्त्रण गर्न सकेमा सम्भावित धैरै अपराधलाई रोक्न सकिन्छ ।

अर्कोतिर एसिड प्रहारबाट पीडितलाई अकल्पनिय क्षति हुने भएकाले यस्तो जघन्य तथा मानवता विरुद्धको अपराधमा राज्यले उपचार गर्ने दायित्व लिनु पर्छ ।

पीडककोे जरिवानामा मात्रै उपचारलाईनिर्भर गराउनु सर्वथा अन्यायपूर्ण छ । साथै जरिवानाको रकमको हद तोक्नु भन्दा पीडितलाई उपचारका लागी आवश्यक खर्च पीडक तथा राज्यबाट भराउने वा उपचार गराउने व्यवस्था भएमा हाल कानूनमा भएको रिक्तता संवोधन हुन सक्दछ ।

एसिड आक्रमणको घटना हुन नदिने प्रयासको साथै यदि कसैमाथि प्रहार भैहाले पनि त्यसबाट क्षति कम गर्न सकिने अवस्था हुन्छ । क्षति कम गर्नका लागी प्राथमिक उपचार के हुन्छ ।

त्यसको जनचेतनाको साथै प्रत्येक सार्वजनिक अस्पतालमा एसिड पीडितको लागी अति आवश्यक सेवाको रुपमा निशुल्क उपचार प्राथमिक सहायता वा उपचार प्रदान गर्नु आवश्यक छ ।

विद्यमान अपराध संहिताले एसिड आक्रमणको उद्योगलाई अपराधको रुपमा परिभाषित गरेको छैन । कुनै पनि अपराधको उद्योग गर्नु भनेको सबै प्रकारबाट अपराध हो ।

खाली केही कारणले गर्दा कार्य सफल हुन पाएको हुदैन । तर ऐनले एसिड आक्रमणको उद्योगलाई अपराधको रुपमा उल्लेख नगरेकाले अपराधिले पुन अपराध गर्न पाउने सम्भावना रहन्छ ।

एसिड नियन्त्रणका लागि अन्य देशले चालेका प्रयासहरू

एसिड आक्रमण नियन्त्रणमा बंगलादेशको प्रयास उल्लेख्य रहेको छ । बंगलादेशमा सन् २००२ मा एसिड आक्रमण नियन्त्रण ऐन (Acid Crime Control Act)र एसिड नियन्त्रण ऐन(Acid Control Act)बनाई कार्यान्वयनमा ल्याएको पाईन्छ । जसले एसिड आक्रमणलाई अपराधको रुपमा परिभाषित गरी सजाय गर्नुको साथै यसको विक्रिवितरणको लागी अनुमतीपत्र अनिवार्य गरेको छ ।

ऐनको दफा ६ ले एसिड आक्रमण मात्रै होईन त्यसको उद्योगलाई पनि अपराधको रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । यस ऐन अनुसार एसिड आक्रमणको मुद्दामा विशेष कार्यविधि अपनाउनु पर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी एसिडको प्रयोगमा नियन्त्रण, एसिडको प्रयोगको अनुगमन, नियमन, विक्रिवितरण, खरिद, भण्डारण, ओसारपसार, निकासी पैठारी समेतलाई कानूनी शासनको अधिनमा ल्याएको छ ।

यो ऐन लागु भएपछि बंगलादेशमा १५ प्रतिशतले एसिड आक्रमण कम भएको अध्ययनले देखाएको छ http://www.acidsurvivors.org/Legal_।

यसै सन्दर्भमा एसिड आक्रमणजन्य हिंसाको अन्त्यका लागि राज्यका निकायलाई जवाफदेही बनाउन न्यायालयले पनि हस्तक्षेपकारी भूमिका खेलेका दृष्टान्तहरू छन् ।

उदाहरणको लागि छिमेकी देश भारतको उच्च अदालतले Renu Sharma vGNCT OF Delhi and ORS (W.P.(C) 2229/2016) मुद्दामा पीडितलाई निशुल्क स्वास्थ्य उपचारको साथै पीडितको शैक्षिक योग्यता अनुसार रोजगारीको अवसर प्रदान गर्न विपक्षीको नाममा आदेश दिएको देखिन्छ ।

त्यसैगरी भारतको कानून आयोगले सर्वोच्च अदालतलाई पेश गरेको एक प्रतिवेदन (प्रतिवेदन नं २०२६, जुलाई २००९)मा एसिड आक्रमणजन्य हिंसा नितान्त गम्भीर प्रकृतिको भएको र यसलाई नियन्त्रण गर्नको लागि दण्डनीय कानूनका अतिरिक्त एसिडको बिक्री, वितरणलाई कडाईका साथ नियमन गर्नुपर्ने सिफारिस गरेको पाईन्छ ।

विभिन्न देशहरूको एसिड सम्बन्धी कानूनी व्यवस्थाको तुलनात्मक अध्ययन समेतका आधारमा आयोगले भारतको विद्यमान कानूनी प्रबन्ध अपर्याप्त भएको निष्कर्ष निकाल्दै थप दण्डात्मक एवं निरोधात्मक उपायहरूको अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ ।

सुझावहरू

एसिड जस्तो संवेदनशिल बस्तुको बढ्दो दुरुपयोग भई लैंगिक हिंसाजन्य अपराध हुन नदिनका लागि एसिडको उत्पादन, भण्डारण, आपूर्ति, खरिद, बिक्रि तथा वितरणको नियमनका लागी आवश्यक नियमनकारी मापदण्ड लागु गर्नुपर्ने ।

एसिड आक्रमणबाट अपागंता वा घाईते भएका तथा निजहरूसँग आश्रित व्यक्तिहरूको संरक्षण र आवासका लागी उपयुक्त व्यवस्था गर्नुपर्ने ।

एसिड आक्रमणको उद्योगलाई पनि अपराधको रुपमा परिभाषित गरी सजायको व्यवस्था गर्नुपर्ने ।

एसिड आक्रमणको पीडितलाई तत्काल उपचारका लागि प्रत्येक सरकारी अस्पतालमा निशुल्क उपचार सुविधा उपलव्ध गराउनु पर्ने ।

एसिड आक्रमण, यसले पार्ने प्रभाव र यस अपराध विरुद्धमा हुने सजायको विद्यमान व्यवस्थाका सम्बन्धमा सबै तहमा व्यापक प्रचारप्रसार गर्नुपर्ने र यसबाट हुने क्षति न्यूनीकरणका लागि आवश्क जनचेतना जगाउनुपर्ने ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: