‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’


प्रकाशित मिति :2018-09-21 17:21:59

–महिला खबर–

ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद गर्न नहुने बताएकी छिन् ।

शुक्रबार ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुसँगको छलफल’मा सभापति श्रेष्ठले नेपालमा जन्मिएका छोरा र छोरीमा विभेद गर्न नहुने बताएकी हुन् ।

सञ्चारिका समूह, महिला, कानुन र विकास मञ्च, नागरिकता अधिकारकामा नागरिक समाज सञ्जाल र नागरिकता प्रभावितहरुका सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले भनिन्, ‘राज्यले दुई खालको नागरिक उत्पादन गर्ने काम गर्नुहुन्न । महिला नागरिक र पुरुष नागरिक भन्ने हुन सक्दैन ।’

सभापति श्रेष्ठले तेस्रो लिंगीहरुका लागि पनि संविधानमा सम्बोधन भइसकेको भन्दै कानूनी जटिलताहरु सम्बोधन गरेर जाने बताइन् । उनले २००४ सालदेखि हालसम्म कार्यान्वयनमा आएका ६ वटा संविधानमध्ये सापेक्षतामा रुपमा पछिल्लो संविधान उत्कृष्ट भएको पनि बताइन् ।

श्रेष्ठले संविधानको धारा १० ले कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको भन्दै यसैमा टेकेर बाझिएका बुँदालाई संशोधन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा संसदको न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेले संविधानमा आमा वा बाबुबाट नगरिकता दिने व्यवस्था भएपनि विभिन्न बाधा अड्चन कायम रहेको बताए । उनले नागरिकता सम्बन्धी समस्याको संशोधन प्रस्ताव पेश भइसकेको भन्दै छिट्टै सहज कानून आउने पनि बताए ।

काठमाडौंको शंकरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले संविधानमा नागरिकता सम्बन्धी व्यवस्था भएपनि ऐन कानून संशोधनको अवस्थामा रहेकाले नागरिकताका लागि सिफारिस गर्न समस्या भएको पनि बताएकी थिईन् ।

महिला कानून र विकास मञ्चका अध्यक्ष मीरा ढुंगानाले नागरिकताका संशोधनहरुलाई गम्भीरताका साथ लिन समेत सांसदहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारले नागरिकताका विषयलाई सञ्चारमाध्यममा प्रकाशन प्रसारण गरेर झक्झक्याउनुपर्ने बताइन् । अध्यक्ष पण्डितले नागरिकतामा भएका प्रावधानलाई सहज बनाउन सांसदहरुलाई सुझाएकी थिईन् ।

महिला कानून र विकास मञ्चका कार्यक्रम संयोजक सविन श्रेष्ठले संसदमा परेको संशोधित कानूनमा भएका व्यवस्थाका बारेमा जानकारी गराएका थिए । साथै संविधानमा व्यवस्था भएअनुरुप नागरिकता ऐन संशोधन नभएको कारण नागरिकता पाउनबाट वञ्चित हुनुपर्ने बाध्यता भएको बताए ।

कार्यक्रममा नागरिकताबाट वञ्चित भएका व्यक्तिहरुले सांसदहरु समक्ष आफ्नो समस्या राखेका थिए ।

सांसद डिला संग्रौला, विमला वि.क, विमला विश्वकर्मा, इन्दु कुमारी शर्मा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सञ्चारिका समूहका उपाध्यक्ष कमला पन्थीले गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: