म पापी होईन
अपराध गरेकै छैन
थुप्रै पीडा सहेर संसार धानेकी छु
के सन्तान जन्माउनु मेरो गल्ती हो ?
अहँ अवश्य होइन,
किनकी रजस्वला नभएर त पाठेघर सुध्रिन्न
स्वस्थ शरीर नभई गर्भ नै रहन्न ।
गर्भ धारण गर्नु मेरो गल्ती हो र ?
अहँ हुँदै होइन,
किनकी मैले जन्माएर त संसार जोगिएको छ ।
सन्तान जन्माउनु, हुर्काउनु मेरो मुर्खता होईन
म रजस्वला हुँदा पापीनी भन्नेहरु हो
तिमी कसरी जन्मियौं समीक्षा गर बरु
सुरक्षित हुनुपर्छ, सफा बस्नुपर्छ, पौष्टिक खाना चाहिन्छ
छोई छिटो गरी छी छी र दूरदूर होईन ।
के रजस्वला नहुनेले सन्तान जन्माउन सक्छ त ?
अहँ होईन
रजस्वला हुनु नै आमा बन्न पक्का हुनु हो
तिनै सन्तानबाट अपहेलित हुनु हैन
रजस्वला हुँदा म अछुत हुने होईन
त्यसैले ऋषी पञ्चमीको व्रत र पूजा गर्ने गरेको छैन ।
पण्डित पुरेतहरु हो, तिमीहरु कसरी जन्मियौ ?
आफ्नै आमालाई कसरी दुत्कार्छाै ?
बरु तिम्रो मोक्ष हुन्छ आमाको सम्मानले
टपरा बटुली मुक्ति पाउने होईन ।
जबसम्म हुन्न आमाको सम्मान
बढेरै जानेछ हिंसा र अपमान
धर्तीको सभ्यता थाम्नु अपराध होईन
आफैलाई अपराधी मानेर व्रत बस्ने होईन
म पापीनी होईन
अपराध गरेकै छैन
सन्तान जन्माउनु मेरो धर्म हो
त्यसैले रजस्वलालाई पाप कर्म ठान्ने होईन ।
Comment Here!