–महिला खबर–
ललितपुर । दुईदिन अघि तेजाव आक्रमणमा परि गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका ६ का दिदीबहिनी मध्ये सम्झना दास (१८)को अवस्था गम्भीर छ । सम्झनाको काठमाडौंको किर्तिपुरस्थित किर्तिपुर अस्पतालको सघन उपचार कक्षामा उपचार भइरहेको छ । उनको टाउको र अनुहारको धेरै बाहिरी भाग तेजावले जलेको छ ।
तेजावले देब्रे हातको बाहिरी भाग जलेकी बहिनी सुस्मिता (१५)को भने वार्डमा राखि उपचार भइरहेको छ ।
बालिकाका बुबा जादोलाल दासले २६ भदौ मध्यराततिर सुतिरहेका छोरीहरुमाथि तेजाव आक्रमण भएको बताए ।
श्रीमती र छोरीहरु घरमा अलग अलग कोठामा सुतिरहेको अवस्थामा सो आक्रमण भएको थियो । ‘सय मिटर जति टाढा आफूले चलाएको पुल हाउसमा सुत्ने गर्दथे’ उनले भने, ‘मध्यरातमा श्रीमती र छोरीहरुको चिच्याहट सुनेर ब्युझिँए । घर पुग्दा छोरीहरु छट्टाइरहेका थिए ।’ त्यसपछि जादोलाल घाइते छोरीहरुलाई लिएर अस्पताल पुगे ।
रौतहटमा उपचार सम्भव नभएपछि उनी दुवै छोरी लिएर भोलिपल्ट २७ भदौमा काठमाडौं आएका हुन् ।
घटनाको निन्दा
यसैबीच रौतहटस्थित गैह्रसरकारी संस्था ग्रामिण विकास केन्द्र (आरडिसी)ले सो घट्नाको कडा शव्दमा निन्दा गर्दै घट्नाको निश्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारवाही गर्न माग गरेको छ ।
केन्द्रका अध्यक्ष पारस हुसैनले सो घट्नाका दोषी उम्किन नदिन प्रहरी सक्रियता तिव्र बनाउन जरुरी रहेको बताए ।
Comment Here!