महिलालाई दोस्रो दर्जामा राख्ने पर्व ‘तीज’


सम्पादकीय

प्रकाशित मिति :2018-09-12 12:44:58

आज हरितालिका अर्थात् तीज पर्व । महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो – तीज । संस्कृति र परम्पराको नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरु धूमधामका साथ मनाइरहेका छन् । कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।

आजको दिन पानी समेत नपिई, भोकै व्रत बसी भगवान शिवको पूजाआराधना गर्नाले अविवाहित महिलाले चाहेको र असल श्रीमान पाउने र विवाहितले व्रत गर्दा श्रीमानको आयु लम्बिने अन्धविश्वास छ ।

परापूर्व कालमा पार्वतीले आजकै दिन शिवजी पति पाउँ भनि निराहार व्रत बसेका कारण शिवजीलाई पति पाएको किंवदन्ती अनुसार आज महिलाहरुले व्रत बस्ने गरेका छन् । यद्यपि पछिल्लो समय तीज विरुद्ध चर्का स्वरहरु गुन्जिरहेका छन् । तीज मान्नेसँगै नमान्ने महिलाहरुको संख्या पनि ठूलो छ ।

तीजको व्रत पितृसत्तात्मक समाजको उपज हो । मुलुकमा पितृसत्तात्मक सामाजिक प्रणाली विद्यमान छ भन्ने कुराको उदाहरण हो । तीजले पुरुषलाई नै उपल्लो वरीयता प्रदान गरेको छ । पुरुष नै सर्वश्रेष्ठ र महत्वपूर्ण व्यक्ति हो भन्ने सन्देश दिएको छ । अनि महिलालाई चाहिँ कमजोर, सोझो, अस्तित्वहीन र गौण पात्रको रूपमा स्थापित गरेको छ ।

महिलाले तीजको व्रत बस्नु पुरुषमा अहमत्याइँको भावना विकास गराउनु हो भने महिलामा हिनताबोधको । किनभने पुरुषको लामो आयुका लागि महिलाले व्रत बसिदिनु तर पुरुषले आफ्ना श्रीमतीलाई व्रत बस्नुबाट रोक्नु यसैको उदाहरण हो ।

कुनै युगमा पार्वतीले शिवलाई पति पाउँ भनि व्रत बसिन् रे । अनि शिव नै पति पाइन् रे । के सत्य यही नै हो त ? पार्वतीले व्रत बसेकै कारण शिव पति पाइन् या अन्य कुनै कारणले ? पार्वतीको त्याग देखेर मात्रै शिव प्रभावित भए या अरु कुनै कारणले ? यदि पार्वतीको घोर तपस्या देखेरै शिव प्रशन्न भएका हुन् र पार्वतीको पति बन्न राजी भएका हुन् भने भने शिवको नियतमाथि चाहिँ प्रश्न उठाउनु पर्छ । उनी घुस्याहा मनोवृत्ति भएका चाकरी रुचाउने व्यक्ति हुन् भन्नुपर्छ ।

माक्र्सवादी विचारक आन्टोनियो ग्राम्सीले भने झैं रहस्यको भरमा भ्रमको खेती गर्नेहरू असहाय र गरिबका मुख्य शत्रु हुन् । यसलाई चिर्न रहस्यहरूको पर्दाफास गर्नुपर्छ । रहस्य रहस्यमै सीमित रह्यो भने अन्धविश्वासको जन्म त्यहींबाट हुन्छ । त्यसैले कुनै पनि रहस्यको कारण सम्बन्ध उद्घाटन गर्न सकिएमा मात्र अन्धविश्वास विरुद्ध विजय हासिल गर्न सम्भव छ । र परापूर्व कालमा पार्वतीले शिवलाई श्रीमान पाउनका लागि तपस्या गरेको, शिव खुसी भई पार्वतीको श्रीमान हुन तयार भएका तथ्यहिन कुरामा विश्वास गर्नुभन्दा बरु यो धर्तीका हजारौं दीन दुखी र हिंसा प्रभावित मान्छेहरुको न्यायका लागि अनसन (भोकै) बस्न तयार हुनुपर्छ । राज्यलाई दण्डहिनता अन्त्यका लागि पहल गर्न बाध्य पार्नुपर्छ ।

मानव जातिमा मात्र हुने पर अनुभूतिको भाव पुरुषले किन नदर्साउने ? हामीले आफूलाई अरू जस्तै र अरूलाई आफू जस्तै किन नसोच्ने ? किन नबुझ्ने ?

हिंस्रक र पीडक गुण कदापि मानवीय हुन सक्दैनन् । पुरुष अर्थात श्रीमानहरुमा परानुभूति र संवेदनाको भाव हुनैपर्र्छ । विश्वासका नाममा विद्यमान यस्ता तर्कहिन अन्धविश्वासका पछि लागेर आफ्नो आयुको कामना गर्दै व्रत बस्ने श्रीमतीलाई अँध्यारोबाट उज्योतर्फ डोर्याउने महत्वपूर्ण जिम्मेवारी बहन गर्ने तर्फ पनि श्रीमानहरु लाग्नुपर्छ ।

अतः मानव जातिमा मात्र हुने पर अनुभूतिको भाव पुरुषले किन नदर्साउने ? हामीले आफूलाई अरू जस्तै र अरूलाई आफू जस्तै किन नसोच्ने ? किन नबुझ्ने ? सामाजिक अन्धविश्वास, कुरीति तथा कुप्रथालाई हटाइ सबै मानवअधिकार सबैका लागि र सधैँका लागि प्रत्याभूत तथा सुनिश्चित गर्न हामी सबै एकजुट भई अभियानरत हुनुको विकल्प छैन । यो नै समयको माग पनि हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: