बहिनी, तिमी नजन्मिएकै बेस भो


प्रकाशित मिति :2018-09-10 10:00:08

–सन्दिप वि.क–

मेरी नजन्मिएकी बहिनी,

तिमी जन्मिएको भए कस्ती हुन्थ्यौ ? तिम्रो रुपरंग कस्तो हुन्थ्यो त्यो त थाहा छैन । तर, तिमीलाई जन्माउन मेरो बुबा आमाले ठूलो कोशिस गरेको मलाई थाहा छ ।

तिमीलाई थाहा छ, तिमी जन्मिन्छाै‌ भनेर मेरी आमाले धेरैपटक गर्भमा छोरी छ कि छोरा छ भनेर भिडियो एक्सरे पनि हेरिन् । हो, तिमीलाई नै जन्माउन । मलाई पनि थाहा छ बहिनी, कति पटक त तिमी गर्भमा नभएकै कारण आमाले गर्भपतन गरिन् । अहिले त्यही कारणले आमालाई बेला बेला तल्लो पेट दुखिरहन्छ । तर, तिमी जन्मिइनाै।

तिमीले आमाबुबालाई हरेक वर्ष खिन्न बनायौ । हामी पनि निराश भयौं । थाहा छ, तिमी जन्मियौ कि भनेर च्याँहा आवाज सुन्नेबित्तिकै बुबा हतारिएर तिम्रो अनुहार हेर्न पुग्नुभएको थियो रे । तर, तिमी जन्मिइनौं । भाइ जन्मियो । अनि फेरि बुबा निराश ।

बहिनी, छिमेकको काकीले छोराको आशामा छोरी जन्माइरहँदा हाम्री आमाले भने तिम्रै आशामा भाईलाई जन्माउनुभयो । हामी ४ भाई हामी हुँदासम्म तिमी यो धर्तीमा आइनौं ।

तिमी नआएकै कारण आज हामीलाई खल्लो हुन्छ । तीज आउँछ, टोल छिमेकका नानीहरु छमछमी नाचेर घरै रमाइलो बनाउँछन् । बिबाहिता नानीहरु दर खान, तीज मान्न माइती आउँछन् । हाम्रो घर उज्यालो बनाउने तिमी छैनौं । तिहार आउँछ हाम्रो निधारमा सप्तरंगी लगाइदिने कोही हुँदैन ।

तिमी भएकी भए दाजु भन्दै चाडपर्वमा घर आइपुग्थ्यौ होला । तिम्रो र मेरो सम्बन्ध मखमलीको फूलजस्तो हुन्थ्यो होला ।

तिमी जन्मिइनौ ।

तर अहिले त लाग्छ, तिमी नजन्मिएरै ठिक भयो ।

तिमीलाई थाहा छ, अहिले हाम्रो देशमा प्रत्येक दिन ३ जना महिला बलात्कृत हुन्छन् । यसरी बलात्कृत हुनेमा धेरै बालिका छन् ।

यदि तिमी जन्मिएकी भए ! घरीघरी त म झसंग हुन्छु । ती नरपिचासहरुबाट तिम्रो सुरक्षा गर्न सक्थें होला त मैले ? तिमी कसरी सुरक्षित हुन सक्थ्यौ ?

तिमी परिवारबाटै असुरक्षित हुन्थ्यौ कि ? कतै मैबाट…………….

तिमीलाई थाहा छ, अस्ति भर्खरै आफ्नै बाबुबाट छोरी बलात्कत भइन् । यहाँ हजुरबुबाबाट नातिनी, अनि दाजुबाट बहिनी नै बलात्कृत भएका छन् ।

आजभोली तिमीजस्ता साना नानीहरु समेत बलात्कृत हुन थालेका छन् । अस्ति भखरै ८ महिनाकी बालिका समेत बलात्कृत भइन् ।

बहिनी ! म कल्पना गर्छु, जब तिम्रो उमेर बढ्दै जान्थ्यो । तिमी कपी, कलम र किताब च्यापेर स्कूल जान्थ्यौ ।

तिमी त्यहाँ पनि असुरक्षित हुन्थ्यौ । तिम्रा शिक्षकले तिमीलाई राम्रो नजरले हेर्दैनथे । ज्ञानको मन्दिरमा धेरै राक्षसी रुपहरु देख्थ्यौ । त्यहाँ पनि तिमी दुव्र्यवहारमा पर्न सक्थ्यौ ।

म पनि एउटा पुरुष । सम्झँदै जीउ सिरिङ्ग हुन्छ । कसरी सक्छन् साना नानीहरुलाई त्यस्तो व्यवहार गर्न । यसो सोच्छु मेरी बहिनी भएकी भए !

तिमी स्कूल, शौचालय जताततै असुरक्षित हुन्थ्यौ । केहि दिन अघि मात्रै एलकेजीमा पढ्ने ६ वर्षकी नानी विद्यालयको शौचालयमै बलात्कृत भइन् ।

तिमी स्कूलबाट घर नआउँदासम्म ठूलो पीर हुन्थ्यो हामीलाई । कतै तिमी अपहरणमा त परिनौ, बलात्कृत त भइनांै भनेर । हुन त तिमी सुरक्षित त घरमा पनि कहाँ हुन्थ्यौ र !

तिमी घर फर्किए पनि साथीको घरमा होमवर्क गर्न जान्छु भन्थ्यौ । हामी तिम्रो वचन काट्न सक्दैनथ्यौं ।

तिमी त्यहाँ पनि असुरक्षित हुन्थ्यौ । अदृष्य संसारबाट देखेकी होलाउ नि, कञ्चनपुरकी निर्मला पन्त साथीको घरमै होमवर्क गर्न जाँदा बलात्कारपछि हत्या भएकी थिइन् ।

पढाई सकेपछि तिमी जागिर खान्छु भन्थ्यौ । तिम्रो पनि सपना हुन्थे । जागिर खाएर बुबा आमालाई सुख दिने ।

तर, बहिनी तिमी त्यहाँ पनि सुरक्षित हुँदैनथ्यौ । त्यहाँ पनि तिमी सहकर्मी साथीबाटै असुरक्षित हुन्थ्यौ ।

त्यतिमात्रै हो र ! तिम्रा बाआमा दलित । दलितको कोखमा जन्मिएपछि तिमी पनि दलित ।

तिमी पनि पानी छोएकै निहुँ, धारो छाएको निहुँमा कुट्थ्यिौ । यस्तो अवस्थामा म तिमीलाई कसरी सुरक्षा दिन सक्थें बहिनी ।

तिम्रो उमेर बढ्दै जान्थ्यो । एकदिन तिमी महिनावारी हुन्थ्यौ । महिनावारी हुँदा तिमी पनि छाउ गोठमै जानुपथ्र्यो । तिमीलाई समाजले ‘अपवित्र’ मान्थे ।

हाम्रा बाआमा गरिब छन् । उनीहरुले तिम्रा श्रीमानले भनेको जति दाईजो दिन सक्दैनथे । अनि तिमी दिनरात दाईजोकै कारण हिंसामा पर्ने थियौ । मैले नै लेख्दै आएको छु नि, दाईजोकै कारण प्रत्येक घरपरिवारबाटै ज्यूँदै जलिएका महिलाहरुको व्यथा ।

तिमीले महिनावारी हुँदा न त मलाई नै हेर्न पाउथ्यो । नत सुर्यलाई नै । घरभन्दा धेरै टाढाको छाउ गोठमा बस्नुपथ्र्यो तिमी । त्यहाँ पनि ति सुरक्षित हुँदैनथ्यो । आज छाउगोठमै सर्पले डसेर धेरै किशोरीको ज्यान गएको छ बहिनी ।

तिम्रो विवाह हुन्थ्यो । त्यहाँ पनि तिमी सुरक्षित हुन्थ्यौ भन्ने पक्का छैन । तिम्रा श्रीमान, परिवारबाटै हिंसामा पर्ने थियौ ।

हाम्रा बाआमा गरिब छन् । उनीहरुले तिम्रा श्रीमानले भनेको जति दाईजो दिन सक्दैनथे । अनि तिमी दिनरात दाईजोकै कारण हिंसामा पर्ने थियौ । मैले नै लेख्दै आएको छु नि, दाईजोकै कारण प्रत्येक घरपरिवारबाटै ज्यूँदै जलिएका महिलाहरुको व्यथा ।

नानी, दाईजोकै कारण गत वर्षमात्र धनुषाकी हजरा खातुनले ज्यान गुमाइन् । उनलाई पनि दाइजो र नागरिकता कै निहुँमा श्रीमान, सासुससुराले ज्यूँदै मट्टितेल खन्याएका थिए ।

तिमी पनि यो धर्तीमा जन्मेको भए हजराको जस्तो स्थिति आउँदैनथ्यो भन्ने कसरी भन्थें मैले ।

आज हरेक दिन समाजमा अपराध मौलाउँदो छ बहिनी । महिला, बालिका आफ्नै घरपरिवार, छरछिमेक र पाइला पाईलामा असुरक्षित छन् ।

प्रत्येक दिन बाबुबाट छोरी, हजुरबुबाबाट नातिनी, दाजुबाट बहिनी, शिक्षकबाट विद्यार्थी बलात्कृत भएको घटना आइरहेका छन् ।

जब तिमी मबाटै असुरक्षित हुन्छेउ भने तिम्रो सुरक्षा कवज अरु को नै हुन सक्थ्यो र ? त्यसकारण तिमी जन्मिएनौं, त्यही नै वेश भो बहिनी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: