मानव बेचबिखन : पुन:स्थापनामै समस्या


प्रकाशित मिति :2018-09-05 14:35:17

-सन्दिप वि‍ क-

‘मिठो खाने, राम्रो लगाउने रहरले बेचिन पुगें’

मेरो नाम सपना हो । १४ वर्षको उमेरमा नाताले भिनाजु पर्नेले रोजगारी लगाइदिने बहानामा भारत लग्नुभयो ।

उहाँलाई पैसा चाहिएको रहेछ । मलाई लगेर बेच्नुभयो । राम्रो काम पाइन्छ । मिठो खाना पाइन्छ भन्दै उहाँले मलाई फकाएर लगेका थिए ।

शुरुमा मलाई भारतको हिमाञ्चल प्रदेशमा लगियो । त्यहाँबाट बेच्नका लागि बम्बईको होटलमा राखियो । होटलमा काम गर्ने महिलाले तिम्रो भिनाजुले बेच्न लागेको छ भाग भन्नुभयो ।

त्यसपछि म त्यो होटेलबाट भागें । त्यहाँको प्रहरी र विभिन्न विभिन्न संघसंस्थाले मलाई उद्धार गरेर नेपाल पठाए । अहिले म काठमाडौंको एउटा संस्थामा बसेको छु । घरमा आमा, सौताने बुबा र एउटा बहिनी छिन् ।

चार वर्ष भयो घर नगएको । जान मन लागेको छ तर समाजले के भन्ला, घर परिवारले के भन्ला भन्ने लाग्छ । मलाई लैजाने व्यक्ति पक्राउ त पर्यो तर छुट्यो भन्ने सुनेको छु । मलाई जस्तै अरु दिदी बहिनीलाई पनि अनेकौ लोभ देखाएर बेच्लान नफस्नु भन्न चाहन्छु ।

धन कमाउने आशामा विदेशिँदा

मेरो नाम मन्जु । वैदेशिक रोजगारका शिलशिलामा पहिलो पटक कुवेत गए । त्यहाँ २ वर्ष बसे । कुवेतमा राम्रै थियो ।

त्यहाँबाट फर्किएपछि दुई वर्ष घरमा नै बसें । त्यसपछि फेरि विदेश जाने सोच आयो । कुवेतको लागि गएँ । तर दुबई एरपोर्टमा नै दलालीले कम्पनीमा यहि राम्रो काम लगाइदिन्छु भनेर पासपोर्ट राख्यो ।

दुवईमा घरमा काम पनि पायौँ । त्यहाँ दुई जना नेपाली थियौँ । त्यहाँ हामीलाई समयमै खान, सुत्न दिँदैनथ्यो । मालिक मालिक्नी ठिक थिएनन् । काम गर्न साह्रै गाह्रो भयो ।

त्यहाँबाट निस्कने सोच बनायाैँ । एकजना नेपाली (हेटौंडाका बिनोद तिवार)ले अन्तै काम लगाइदिन्छु भने । नेपाली भएकै कारण आड भरोसा लाग्यो ।

उनले अर्को साथीलाई इन्डियनको घरमा काम लगाइदिए । तर मलाई तीन महिनासम्म बाहिर निस्कन नदिइ एउटा घरमा लगेर राखे । त्यहाँ म माथि यौन हिंसा भयो । म प्रत्येक दिन बलात्कृत हुन्थें । तीनमहिना मेरो महिनावारी पनि रोकिएको थियो ।

उसलाई भने मेरो बच्चालाई केहि भयो भने जेलमा हाल्दिन्छु भनेर धम्की दियो । ८ महिनापछि म नेपाल फर्कीएँ । उसले एरपोर्टमा दाजु भाउजु लिन पठाउँछु भनेको थियो । तर कोही आएनन् । त्यसपछि ऊ विस्तारै मबाट सम्पर्क विहिन हुन पुग्यो । मैले काठमाडौंमै साथीको कोठामा गएर बच्चा जन्माएँ ।

अहिले बच्चा १ वर्ष ४ महिना पुग्यो । उसको जन्मदर्ता छैन । ऊ विरुद्ध बौद्ध प्रहरीमा उजुरी गरें तर उल्टै प्रहरीले हप्काएर पठायो । यस्तो अवस्थामा म कसरी घर जाऊँ ? समाजले के भन्ला भन्ने डर छ ।

साथीको लहैलहैमा भारत

चिनेकै साथीले नै काम लगाइदिन्छु भनेर भारत लग्यो । त्यो बेला म १४ वर्षको थिएँ । पछि मात्रै थाहा भयो उसले मलाई बेच्न लगेको रहेछ । त्यहाँ एक वर्ष बसें । ३ महिना मलाई नराम्रो काममा लगाइदियो । त्यसपछि मलाई त्यहाँबाट उद्धार गरियो । ७ महिना भारतमै रेस्क्युमा बसें । अनि नेपाल फर्किएँ ।

त्यसपछि विवाह पनि भयो । म बिरामी भएँ । श्रीमानले माइत लगेर छोडिदियो । बुबाले धामी झाँक्री लगाउनुभयो । तर, सन्चो भएन । अहिले काठमाडौंमै संस्थामा बस्दै आएको छु । घरमा बुबाआमा हुनुहुन्छ । घरमा दशंै तिहारमा मात्रै जान्छु । मलाई बेच्नेलाई उजुरी त हालें तर पक्राउ गर्न सकेको छैन ।

६ महिनापछि घर पुगें

मेरो नाम राधा । धन कमाउने आशामा भारतको बाटो हुँदै अवैधानिक रुपमा कुवेत पुगें । मेरा दुई सन्तान छन् ।

विदेशमा पैसा कमाउँला, सुःखसँग परिवार पालांैला भन्ने आशा थियो । तर भारतमा मलाई केहि दिन राखियो । त्यहि नै म ट्रान्जिटको क्रममै एजेन्टबाटै बलात्कृत भएँ । म गर्भवती भएँ । कुवेत पुगें । तर ६ महिना मात्रै बस्न पाएँ ।

गर्भवती भएको थाहा पाउने वित्तिकै मालिकले नेपाल फर्काइदिए । एक्लै कुवेत पुगेको म गर्भ बोकेर नेपाल फर्किए ।

यस्तो अवस्थामा म पेटमा बच्चा लिएर न घर नै जान सक्थें । काठमाडौंकै एउटा पुनस्र्थापना केन्द्रमा बसें । त्यहि बच्चा जन्माएन् । घरपरिवारमा सम्पर्क गर्दा गर्दा ६ महिनापछि मात्र गाउँ फर्किएँ । अहिले माइतीमा बस्दै आएको छु । तर श्रीमानको घर जान सकेको छैन ।

मानव बेचविखनको स्वरुप बदलियो

  • विश्वराज खड्का, कार्यवहाक अध्यक्ष, माइती नेपाल

अझै पनि बेचविखनमा परेको भन्ने वित्तिकै छुट्टै रुपले हेरिन्छ । सीमापारिबाट शुरु भएको मानव बेचविखन अफ्रिकी मुलुकसम्म फैलिएको छ ।

अहिले वैदेशिक रोजगारीका नाममा महिलाहरु श्रममा बेचिने क्रम बढ्दो छ । समाजमा चेतनाको अभावले जो पीडित छ उसलार्इृ झन् पीडित बनाउने अवस्था छ । विदेशमा यौन शोषणमा परेका महिलाहरुलाई झनै समाजमा पुर्नस्थापित हुन समस्या छ ।

बेचिएका महिलाहरु खुलेर कानूनी उपचारमा जान सक्ने अवस्था छ्रैन । तरपनि हिजोको भन्दा आज केही हदसम्म परिवर्तन आएको छ । सामाजिक चिन्तन, पितृसतात्मक समाजले पीडितलाई झनै पीडित बनाइएको छ । समाजकाले स्वीकार्न सकेको छैन ।

 

चिनेजानेकै व्यक्तिबाट बेचिन्छन्

  • रोस्नी कार्की, उपसचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
    मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा

अधिकांश महिला, बालबालिकाहरु आफन्त, चिनेजानेको, आफूले भरोसा गरेको व्यक्तिबाटै बेचिन्छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारिएको हुन्छ । उनीहरु आफन्तबाटै बेचिएका कारण पनि उजुरीका लागि जान सक्दैनन् ।

हिजो गरिबी, अशिक्षाबाट शुरु भएको बेचविखन आज श्रमबाट बेचिन पुगेका छन् । ऐन कानून कार्यन्वयनको प्रक्रिया लामो भएका कारण पनि न्याय पाउन समस्या छ ।

मन्त्रालयले बेचिएका महिलाहरुको पुनस्र्थापना केन्द्रमा राख्न १० वटा केन्द्र छ । जहाँ बेचिएर आएका महिलालाई मनोसामाजिक परामर्श र संरक्षण गरेर राखिन्छ । केन्द्रमा २५ जनाको क्षमता छ तर अहिले २१ जना त्यस्ता महिला बस्दै आएका छन् ।

‘अपराधीलाई कानूनको कठघरामा ल्याउन सकिएको छैन’

  • विमला वि.क, सांसद, प्रतिनिधिसभा

जतिसुकै ऐन कानून आएपनि त्यो कार्यन्वयनमा समस्या छ । पछिल्लो समय चेतनाको कारण उजुरी बढेपनि अझै आउन सकेको अवस्था छैन । त्यस्ता अपराधीहरु कानूनको कठघरामा आउन सकेका छैनन् ।

आफू अन्यायमा परेको हुँ र न्याय दिलाउने निकाय छन् भन्ने चेतना पीडितमा हुनुपर्छ । कानूनले स्पष्ट बोलेको छ पीडकलाई दण्ड हुनुपर्छ भनेर तर दण्ड सजायको घेराभित्र रहेर सम्बन्धित पक्षले उजुरी दिन सक्नुपर्छ ।

पछिल्लो समय बेचबिखन अपराधिक घटनाको रुपमा अघि बढेको छ । यो अन्तरदेशीय रुपमा फैलिएको छ । पीछडिएको वर्ग, लैंगिक विभेद, जातीय विभेदमा परेका व्यक्ति नै बेचबिखनमा पर्ने गरेका छन् ।

पुर्नमिलनमा जटिलता छ

  • इन्द्रराज भट्टराई, कार्यक्रम निर्देशक, के आइ नेपाल

सरकारले घरफिर्ती र पुनस्र्थापनाका लागि भन्दै १० वटा पुनस्र्थापना केन्द्र खोलेको छ तर यो प्रयाप्त छैन । सरकारले पुनर्मिलनको नीति कानून नै बताउनुपर्छ ।

पुर्नमिलन प्याकेजको रुपमा व्यवस्था गरेर समाजमा पुनस्र्थापित हुने वातावरण बनाउनुपर्ने देखिन्छ । मानव बेचबिखन नियन्त्रण जुन राष्ट्रिय समिति छ त्यसलाई प्रदेश, जिल्ला र स्थानीय तहमा विस्तार गर्नु पर्दछ । जसले प्रभावितलाई पुनर्मिलन गराउन भूमिका खेलोस् ।

बेचविखन गर्नेलाई के छ कानूनी उपचार ?

नेपालमा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन २०६४ आउनुअघि यसलाई जिउ मास्ने बेच्ने कार्यको रुपमा लिई साविक मुलुकी ऐन २०२० को जीउ मास्ने बेच्ने महलमा व्यवस्था गरिएकोमा सो कानुनी व्यवस्थाले अपराध नियन्त्रण गर्न अपुग महसुस गरी लोकतन्त्रको प्राप्तिपछि अझ कडा र गम्भीर रुपमा प्रस्तुत गरिएको छ ।

यसअघि ०४३ साल कार्तिक २४ गते यसलाई जीउ मास्नेबेच्ने कार्य नियन्त्रण ऐन भनि विशेष ऐनको रुपमा केही फराकिलो बनाइएको छ ।
यस किसिमको अपराध सरकार वादी फौजदारी मुद्दा हुने भएकोले यस्ता अपराधमा समातिएका अभियुक्त लाई विशेष अवस्था बाहेक मानव बेचबिखनका कसूरहरुमा अदालतले पुर्पक्षको लागि थुनामा राखी कारबाही गर्ने प्रावधान छ ।

यस्तो मुद्धामा आफु बिरुद्ध लगाईको कसुरको खण्डन अभियूक्त आफैले गनुपर्ने हुन्छ । यस्तो मुद्दामा प्रमाणको भार प्रतिवादीमा हुन्छ भनी पीडितलाई राहत दिन खोजिएको छ । जुन कार्यले गर्दा यस्तो अपराधलाई हदैसम्म कडा गर्न खोजिएको पाइन्छ ।

यस्तो अपराध प्रमाणित भएमा कसुर अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुन्छ । कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसूरको मात्राअनुसार दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।

प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्नेलाई दश वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, वेश्यागमन गर्नेलाई एक महिनादेखि तीन महीनासम्म कैद र दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था कानूनले गरेको छ ।

त्यसैगरी नेपालभित्रको एक ठाँउबाट अर्कोठाँउमा लैजानेलाई दश वर्ष कैद र पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना, बालबालिका लगेको भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: