यसरी रोकौं मानव बेचबिखन


प्रकाशित मिति :2018-09-05 12:28:57

–उमा पौडेल–

आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । देशभर दिवस त मनाइरहेका छौं । तर हामी मानव बेचबिखन भन्ने बित्तिकै महिला बेचबिखनलाई बुझ्छौं । कानूनले कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उदेश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको ईच्छा बिपरित जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याईने अवस्थालाई मानव बेचबिखन भनेको छ ।

मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध ऐन २०६४ को दफा ४ (१) ले त मान्छेको किनबेच मात्रै होइन कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने र वेश्यागमन गर्ने कार्य समेतलाई मानव बेचबिखन भनेको छ ।

सोहि ऐनको दफा ४ (२) ले किन्ने वा बेच्ने उदेश्यले मानिसलाई विदेशमा लैजानुलाई पनि बेचबिखनको परिभाषामा समेटेको छ । कुनै प्रकारले ललाईफकाई प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्च मिलाई, जबरजस्ती, करकापमा पारी, अपहरण गरि, शरीर बन्धक राखी, नाजुक स्थितिको फाईदा लिई, बेहोस पारी, डर धाक धम्की दिई नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई ओसारपसार भनेको छ ।

नेपालको राष्ट्रिय कानून तथा विभिन्न दस्तावेजहरुमा मानव बेचबिखन तथा ओसारपसारका फरकफरक रुप समेटिने गरि परिभाषित गरिएको त हामीले हेरिहाल्यौं ।

नेपालको संविधान २०७२ को धारा २९ मा रहेको शोषण विरुद्धको हक अन्तर्गत कसैलाइै पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भनी उल्लेख गरिएको छ ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रकाशित गरेको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०७४ अनुसार विश्वमा २.९ प्रतिशत मानिसहरु दासत्वको रुपमा रहेको अनुमान गरेको पाइन्छ ।

त्यसमध्ये ९५ लाख पुरुष र बालकहरु तथा १ करोड १४ लाख महिला र बालिका रहेको अनुमान छ । मानव अधिकारको क्षेत्रमा कार्यरत एक विश्वब्यापी संस्था वाल्क फ्रि पाउण्डेशनको विश्व दासत्व प्रतिवेदन २०१६ (ग्लोबल स्लेभरी रिपोर्ट २०१६) ले गरेको अनुसन्धान अनुसार विश्वभरी कुनै न कुनै रुपमा आधुनिक युगको दासतामा बाँच्न परेका ४ करोड ५८ लाख मानिसहरुमध्ये दुई तिहाई एसिया महादेशमा छन् ।

नेपालमा मानव बेचबिखन

सर्वोच्च अदालतले प्रकाशन गरेको पछिल्लो ६ आर्थिक वर्षको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा ५ सय ३५ र ०६९÷७० मा ६ सय २७ वटा मानव बेचबिखनको मद्धा दर्ता भएको थियो ।

त्यस्तै आ.ब ०७० /०७१ मा ५ सय १८, २०७१/०७२ मा ९ सय ८५ मुद्धा दर्ता भए । आर्थिक वर्ष ७२/०७३ मा १ हजार ९२, ०७३/०७४ मा ९ सय ४६ र ०७४/७५ मा ६ सय ७८ मुद्धा दर्ता भएका छन् ।

तथ्यांकलाई हेर्दा वर्षेनी मानव बेचबिखनको मुद्धा घटबढको अवस्थामा छ । दर्ता भएका कुल मुद्धामध्ये करिब ४५ प्रतिशत फछ्र्यौट भैसकेका छन् ।

नेपालमा २०७२ साल बैशाख १२ गतेको भुकम्प पछि नेपालीमा मानव बेचबिखन बढेको देखिन्छ । पछिल्लो ६ आर्थिक वर्षकै सबैभन्दा बढी १ हजार ९२ बेचबिखन तथा ओसारपसार सम्बन्धि घटना आर्थिक वर्ष ७२/०७३ मा दर्ता भएका छन् ।

दर्ता भएका मुद्धाहरुमा ९८.३२ प्रतिशत महिला तथा बालिका पीडित रहेको सर्वोच अदालतको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांकले पनि बेचबिखनको जोखिममा महिला तथा बालबालिका बढी रहेको पुष्टि गर्छ ।

निर्देशनालयमा पछिल्लो ५ पर्षमा दर्ता भएका १ हजार ६७ मुद्धाका कुल १ हजार ५ सय ४३ पीडितमध्ये महिलाको संख्या ९ सय ८५, बालक ४२, बालिका ५ सय १७ र पुरुष १६ जना रहेका छन् ।

त्यस्तै खुला सीमा नाकाका कारण नेपालबाट भारतमा बेचिनेको संख्या बढी रहेको छ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रकाशन गरेको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०७४ अनुसार गत आर्थिक वर्षमा २६ देशमा ६ सय ७८ जना नेपाली बेचबिखनमा परेका छन् । ती मध्ये सबैभन्दा बढी भारतमा ६५ जना बेचिएका छन् ।

कुल बेचिएका मध्ये बालकको संख्या १५, बालिका ३, महिला ४७ जना रहेका छन् । नेपालभित्र २० प्रतिशत, सिमापार ६४ प्रतिशत र अन्य तथा तेस्रो मुलुकमा १६ प्रतिशत नेपाली बेचबिखन हुने तथ्याङ्क छ ।

२४ वर्षभन्दा कम उमेरमा बेचबिखनको जोखिम बढी रहेको र ३६ वर्ष पछि कम जोखिम रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिन्धुलीमा बेचबिखनको अवस्था

सिन्धुली जिल्लामा पनि मानव बेचबिखनको अवस्था जटिल रहेको छ । तर, जिल्लाको तथ्याङ्कले यसको पुष्टि गर्दैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकोे पछिल्लो ५ आर्थिक वर्षको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७०÷७१ मा मानव बेचबिखन तथा ओसार पसार विरुद्ध कुनै पनि उजुरी दर्ता भएका छैनन् ।

आर्थिक वर्ष ०७१/०७२ मा २ वटा, ०७२/०७३ मा शुन्य, ०७३/०७४ मा २ र ०७४/७५ मा १ वटा मुद्धा दर्ता भएका छन् । यसरी पछिल्लो ५ आर्थिक वर्षमा ५ वटा मात्रै मुद्धा दर्ता भएको छ ।

भएका ऐन, नियमावली, योजना , कार्यविधि लगायतका दस्तावेजहरु स्थानीय तहसम्म प्रभावकारी ढंगबाट प्रचारप्रचार हुन सकेका छैनन् । त्यस्तै गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तत्वहरु मानव बेचबिखनको प्रमुख चुनौती हुन् ।

तर, तथ्यांकगत रुपमा यस्ता संख्याहरु निकै नै न्युन देखिएपनि जिल्लामा मानव बेचबिखनका घटनाका नयाँ नयाँ स्वरुपहरु देखा पर्न थालेका छन् । मानव ओसारपसारका ५ वटा घटनाका पीडित सबै बालिकाहरु रहेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

५ बर्षका ५ उजुरीध्ये ४ जना पीडित १५ वर्षभन्दा कम उमेरका बालिका छन् भने १ ज ना १८ वर्षीया युवती छिन् । मानव ओसारपसारका ५ वटा मुद्धामध्ये जागिर लगाईदिने तथा विवाह गर्ने किसिमको १, आर्केष्ट्रा (तराईमा ठुलाबडाहरुका छोराछोरीहरुको विवाहमा गरिने नाचगानमा नृत्यगंनाको रुपमा बालिकाको प्रयोग गर्ने काम । उनीहरुको शारीरीक तथा यौन शोषण पनि हुन्छ ) नृत्यको लागि २ र २ जना बालिकालाई जागिर लगाईदिने भन्दै भारत लैजादै गर्दा पीडकलाई पक्राउ गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका सुब्बा अनन्त न्यौपानेका अनुसार जिल्लामा मानव बेचबिखन तथा ओसारपसारमा दर्ता भएका सम्पुर्ण मुद्धाहरुको छिनोफानो भई सकेको छ । पीडकहरुले कानून बमोजिम सजाय भोगिरहेका छन् ।

वैदेशिक रोजगारीका नाममा बेचबिखन

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन त जिल्लाको मुख्य समस्या नै हो । सुरक्षित आप्रवासनमा काम गरिरहेको सामी परियोजनाको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७०/०७१ मा भने अनुसारको काम÷तलब नपाएको भनी ५ वटा मुद्धा सुचना तथा परामर्श केन्द्रमा दर्ता भएका थिए ।

यस्ता उजुरी आर्थिक वर्ष ०७१/७२ मा २१ वटा, २०७२/७३ मा १६, २०७३/०७४ मा १४ वटा र ०७४/७५ मा १० वटा परेका छन् ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई करार अवधि सकिने बेलाको पछिल्ला महिनाहरुमा पारिश्रमिक नदिने, विदेशमा भएका हत्याका घटनामा जबरजस्ती नेपालीलाई आफूले अपराध गरेको भनि स्वीकार गर्न बाध्य पारिने जस्ता घटना हुने गरेका परियोजनाका परामर्शकर्ता जीवनाथ गौतमले बताए ।

ऐन कानूनमा उल्लेख सजायबारे ग्रामीण भेगसम्म सुचना पुर्याउनु अपरिहार्य छ । विशेषत स्थानीय तहहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अपनत्व ग्रहण गर्नुपर्दछ ।

मानव बेचबिखन अन्तर्गत नै पर्ने यी ६१ वटा घटनामध्ये ४३ वटा सामी परियोजनाको पहलमा वैदेशिक रोजगार विभाग, विदेश स्थित नेपाली राजदुतावास, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको पहलमा समाधान भएको गौतम बताउँछन् । यी घटनामा भने २ जनामात्रै महिला पीडित देखिएका छन् ।

जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरकारी संयन्त्रका अलवा शक्ति समुह, सुरक्षित आप्रवासन (सामी परियोजना), ओरेक नेपाल, ईन्सेक सिन्धुली लगायतका विभिन्न गैर सरकारी निकायहरुले सिन्धुली जिल्लामा काम गरिरहेका छन् ।

मानव बेचबिखन रोक्ने चुनौती

मानव बेचबिखन न्यूनिकरणका लागि विभिन्न राष्ट्रिय कानुन तथा दस्तावेजहरु निर्माण भएका छन् । मानव बेचबिखन विरुद्ध नेपालको मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ छ ।

त्यसैगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोकथाम गर्ने, दबाउने र सजाय गर्ने ईच्छाधिन आलेख २०००, अन्तरदेशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पुरक, (पालेर्मो प्रोटोकल), वेश्यावृत्तिको लागि महिला र बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२, बेचबिखनमा परेका व्यक्तिका लागि मानवअधिकार मापदण्ड लगायतका विभिन्न दस्तावेज महासन्धि एवं काुननको खात हामीसँग छ । तर यी काननूको कार्यान्वयन पक्ष निकै फितलो छ ।

भएका ऐन, नियमावली, योजना , कार्यविधि लगायतका दस्तावेजहरु स्थानीय तहसम्म प्रभावकारी ढंगबाट प्रचारप्रचार हुन सकेका छैनन् । त्यस्तै गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तत्वहरु मानव बेचबिखनको प्रमुख चुनौती हुन् ।

मानव बेचबिखन तथा तस्करीबारे पर्याप्त अनुसन्धानको अभाव, प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीमा युवाको आकर्षण बढी जस्ता कुराहरु पनि मानव बेचबिखनलाई बढवा दिने तत्वहरु हुन् ।

यसरी गरौं बेचबिखन नियन्त्रण

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि घटनामा अधिकतम २० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

ऐन कानूनमा उल्लेख सजायबारे ग्रामीण भेगसम्म सुचना पुर्याउनु अपरिहार्य छ । विशेषत स्थानीय तहहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अपनत्व ग्रहण गर्नुपर्दछ ।

मानव बेचबिखन विरुद्ध अनिवार्य बजेट विनियोजन गरी चेतनामुलक कार्यक्रम संचालन गर्ने, वडा स्तरीय समुह गठन गरी सक्रिय बनाउने, प्रहरी, पशासनलाई अनुसन्धानका क्रममा आवश्यकता अनुसार सहयोग गर्न तदारुकता देखाउने जस्ता कार्यमा स्थानीय तहले सघाउ पुर्याउनुपदर्छ ।

यस्तै प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा आएका मुद्धालाई गम्भिरताका साथ हेरी अनुसन्धानलाई तिब्र बनाउने तथा पीडितलाई न्याय पाउनेमा विश्वास दिलाउन पनि सक्नुपर्छ ।

अर्को महत्वपूर्ण भनेको विद्यालय शिक्षा देखि नै बेचबिखनमा सचेतना हो । विद्यालयका पाठ्यक्रममा यस्ता विषय राख्न, बेचबिखनको जोखिमबाट बच्ने उपायबारे बालबालिकालाई जानकारी दिने गर्नुपर्छ ।

मानव बेचबिखन संगठित अपराध हो । यो एक पक्ष अथवा क्षेत्रको सक्रियतामा मात्रै नियन्त्रण गर्न सकिँदैन । राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी संघ संस्था, शिक्षक, नागरिक समाज, अधिकारकर्मी, सामाजिक अभियन्ता सबैको साझा प्रयास हुनुपर्छ । तबमात्र हाम्रो देश र यहाँका महिलालाई बेचविखाको चंगुलमा पर्नबाट जोगाउन सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: