११ वर्षमा विहे, १५ वर्षमा २ सन्तान


प्रकाशित मिति :2018-08-27 17:14:28

–यमुना खनाल–

सिराहा । धनगढीमाई नगरपालिका ९, सिराहाकी संगीता राम १५ वर्षकी भईन् । उनीसँगैका साथीहरू किताब च्यापेर पढ्न जान्छन् । संगीताको पनि उमेर त विद्यालय जाने हो ।

तर ११ वर्षको उमेरदेखि नै उनको पढाई छुट्यो । अहिले हातमा किताब कापी होइन २ सन्तान च्यापेकी हुन्छिन् । उनको मुहारमा न त किशोरावस्थाको चञ्चलपन छैन । न त छ जीवनप्रतिको उत्साह नै ।

११ वर्षको उमेरमा परिवारबाटै जबरजस्ती विवाह गरिदिएपछि उनको बालापन गुम्यो । रमाईलो गर्न र पढ्नबाट बञ्चित भइन् । बालविवाहसँगै अनमेल विवाहको पनि शिकार भएकी संगीताका ३ र डेढ वर्षका २ सन्तान छन् ।

संगीताले विवाह गरेको १३ औं महिनामा पहिलो सन्तान जन्माइन् । त्यतिबेला उनी १२ वर्षकी थिईन् । त्यसको डेढ वर्षपछि अर्को सन्तान छोरी जन्मिइन् । छोरी जन्मिदा उनको उमेर १३ वर्ष ६ महिनाको थियो । अहिले १५ वर्षकी किशोरी संगीता तीनै दुई सन्तानकी आमा हुन् ।

जबरजस्ती विवाह

११ वर्षको हुँदा संगीता कक्षा ४ को विद्यार्थी थिईन् । उनी पढ्नमा साथीहरू भन्दा पनि चतुर थिईन् ।  उनको परिवार भने गरिब थियो, छ । त्यही गरिबीले उनको बालापन र खुसी खोस्यो । अझ भनौं त्यही निहुँमा उनको जीवनको सम्पूर्ण हक नै खोसियो, सिवाय बाँच्न पाउने हक ।
नातामा भाउजु पर्ने जलबा रामले जबरजस्ती बालविवाह गरिदिईन् । संगीता उनको विवाहको दिनको तिथीमिति त ठ्याक्कै भन्न सक्दिनन् । तर जुन दिन उनको विवाहको तयारी थियो, त्यो दिन उनी विद्यालय जाने तयारी गर्दैथिईन् ।

संगीताकी आमाले उनलाई विद्यालय जान पदैन भनिन्, आफन्तको घर लगिन् । संगीताको ठूलोबुबाकी बुहारीले सिराहाको हाक्पारा भन्ने ठाँउ बोलाएकी रहिछन् । त्यहाँ उनको फुपूको घर छ ।

‘फुपूको घरमा भारतको बेतिया जिल्ला रामपुरबाट ११ वर्षीया बालिकालाई हेर्न केटा आएका रहेछन् । आमालाई पनि राम्रो केटा छ । भाउजुले छोरीको विवाह गर्नुपर्छ भनेर उकासी सकेकी रहिछन् ।’ संगीता अहिले सम्झिन्छिन् ।

यी सब कुरा संगीतालाई के थाहा । उनी त आमाले फुपूको घर जाने भनेपछि फुरुङ्ग भएर हिँडेकी थिईन् । हुन त आमा नेपुर रामलाई आफ्नी बालक छोरीको विवाह गर्न मन थिएन ।
तर संगीताकी एकल आमा नेपुर छोरीलाई विवाहमा दिनुपर्ने दहेज सम्झेर आत्तिएकी थिईन् । त्यसैले मन नहुँदा नहुँदै पनि छोरी लिएर केटालाई देखाउन हिँडिन् ।

स्कूल छोडेर फुपू भेट्न हिँडेकी संगीताको जबरजस्ती विवाह गरिँदै थियो । गरिबीलाई बाध्यता ठानेर आफ्नी अबोध छोरी पराइको साथ लगाउन राजी भइसकेकी थिईन्, नेपुर ।

संगीताका अनुसार फुपूको घर पुग्नासाथ भाउजू र फुपूका आफन्तले ‘तोरा देखैला याल्छै, सादी करपर्तै’ (तिमीलाई हेर्न आएका छन् । विवाह गर्नु पर्छ ) भने । संगीता त त्यतिबेला छाँगाबाट खसेझैं भईन् । अझ धेरै कुरा त बुझ्ने बेला भएको पनि थिएन ।

संगीता भने ३४-३५ वर्षका केटा देखेरै तर्सिन् । त्यही उमेरमा पनि विवाह नगर्ने अड्डी लिईन् । रोइन्, कराईन् । उनले भनिन्, ‘इन्डियाको केटा न त त्यहाँ कोही नाता गोता, न त आफन्त थिए । म त एक्लै जाँदै जान्न भनें ।’

उनी विवाह गर्दिन भनेर रोइन, कराईन, चिच्याईन् । आमालाई घर फर्कन कर गरिन् । तर उनको केही सीप लागेन । अन्ततः उनका आफन्तले आमालाई पनि अनेकौं प्रलोभन र डर देखाए ।

‘अहिले केटा पाउँदा विहे नगरे दाईजो कहाँबाट ल्याएर दिन्छौ, तिम्रो छोरीका विवाह हुँदैन, भनेर आमालाई डर देखाए’ संगीताले आफ्नो जीवनको सुनौला दिन चुँडिएको दिन सम्झिईन् ।

संगीतालाई पनि तँसँग केही सम्पत्ति छैन । यो केटासँग विवाह गरिस् भने रानी बनेर बस्न पाउँछस्, धन सम्पत्ति, घर बंगला खेतीपाती सबै चीज छ भनेर सुखको सपना देखाए । संगीताले आफू भने घर लगिदेउ भनेर रोइरहेको बताईन् ।

त्यो निर्णयमा अन्ततः संगीता निरिह भइन् । उनको केही चलेन । फुपूकै घरमा जबरजस्ती उनलाई अन्जान केटाले दबाबमा सिन्दूर हाले । त्यही दुई चिम्टी सिन्दूरको रंगले उनको बाल्यकाल खोस्यो । अनि भइन्, ११ वर्षकी बालिका विवाहित ।

आमालाई वास्तविक उमेर थाहा छैन

संगीताको जन्म मिति र जन्म दर्ताको उमेर भने फरक छ । उनकी आमा नेपुर रामलाई छोरीको जन्म कहिले भएको हो भन्ने केही थाहा छैन । न त उनलाई आफ्नै उमेर थाहा छ ।

उनी साल, महिला, बार र गते केही बुझ्दिनन् । छोरीको विद्यालय पढ्ने समयमा जन्म दर्ता आवश्यक परेपछि वडा कार्यालय पुगेकी उनलाई जन्म मिति सोध्दा भन्न जानिनन् ।

नेपुरले आफूले नजानेपछि लेखिदिने मान्छेले यो मिति राखिदिउँ भनेर सोध्दा हुन्छ भनेको बताईन् । अनि अनुमानको भरमा जन्ममिति राखियो –२०५६ साल मंसिर १० गते ।

यो जन्म मिति अनुसार अहिले उनको उमेर १९ वर्ष पुग्छ । जन्मदर्ता अनुसार नै हिसाब गर्दा विवाह भएको मितिमा उनी १५ वर्षकी हुन्छिन् । तर संगीताकी छिमेकी अरुलिया संगीता आफ्नी कान्छी छोरी भन्दा पनि पछि जन्मेकी बताउँछिन् । उनले भनिन्, मेरी कान्छी छोरी १८ वर्षकी भई । मेरी छोरी भन्दा ३ वर्ष पछि संगीता जन्मिएकी हो ।’

उनीहरूको समुदायमा १४-१५ वर्षको उमेरमा हुने विवाह सामान्य मानिन्छ । बालविवाहमा गणना हुँदैन । तर संगीता भने ११ वर्षकी मात्रै भएकोले गाउँले नै उर्लिएर उनको विवाहको विरोध गरेका थिए । कारण थियो १५ वर्ष पनि नपुग्दै विहे ।

गाउँलेको दबाब

सिन्दूर हालेपछि गाउँलेले थाहा पाउँछन् भनेर संगीतालाई फुपूको घरबाटै केटाको घर भनिएको ठाउँ भारतको बेतिया जिल्ला रामपुर लैजाने तयारी गरियो । तर ती भाउजू नाता पर्ने महिलाले भने संगीतालाई छिाटो केटाको घर पठाउन व्यवस्था मिलाउँदै थिईन् ।

तर संगीताले आफनो जन्मघर धनगढी नगई त्यहाँबाट विदा भएर नजाने अडान लिईन् । संगीताकी आमाले पनि भारतको अनकन्टार ठाउँमा एक्लै छोरी पठाउँदिन । पहिला घरै लैजान्छु अनि विदाई गर्छु भनिन् ।

‘मलाई त विवाह भनेर बेच्नै लान लागेको भन्ने डर थियो ।’ संगीताले भनिन्, ‘मलाई बेच्यो भने सबैलाई थाहा होस् भनेर गाउँ जान्छु भन्दै अड्डी कसे र घर जान्छु भनें ।’

तर भाउजूलाई भने उनीहरू गाउँ गए भने छरछिमेकले विवाह रोक्छन् भन्ने चिन्ता रहेछ । त्यसैले उनी घर नलैजान जोड गर्दै थिईन् । संगीताको घर जाने जोडपछि उनकी आमा पनि छोरीलाई घरैबाट अन्माउन राजी भइन् । अनि सबैजना धनगढीमाईस्थित घर आए ।

उनीहरू राती घर पुगेका थिए । गाउँमा नाबालिका संगीताको विवाह भएको हल्ला फैलियो । उनकी छिमेकी अरुलियादेवी रामले भनिन्, ‘संगीताको जबरजस्ती विवाह गरेर बिदाईका लागि मात्र गाउँ आएको थाहा पाएँ । अनि गाउँलेलाई खबर गरें ।’

एकैछिनमा छरछमेकी भेला भए । उनीहरूले विवाह रद्द गर्नुपर्छ भन्ने आवाज पनि उठाए । छिमेकी अरुलियाले अपरिचित मान्छे, त्यो पनि बाबु भन्दा पाको उमेरकोलाई नाबालिका जिम्मा लगाउन नहुने भन्दै रोक्ने प्रयास पनि गरिन् ।

तर पनि उनको आफन्त नै पछि हटे । अरुलियाले भनिन्, ‘अहिले विवाह रोकेर भोली कसले विवाह गरिदिन्छ ? तिमीले दाईजो दिएर विवाह गर्न सक्छौ ? विहे भइसकेकी यो बालिकाको जिम्मा कसले लिन्छ ?’ भनेर एकथरीले प्रश्न उब्जाएपछि हामी पछि हट्न कर लाग्यो ।

विवाह भइसकेपछि बालिकाको जिम्मा कसले लिने भन्ने कारणले नै ११ वर्षकी बालिकाको विवाह रद्द गर्न बाधक भयो । न त कसैले प्रहरीमा उजुरी गर्ने साहस गरे ।

बरु छिमेकले केटालाई केरकार गर्न थाले । यो नानीलाई बेचिस् भने गाउँ नै उठी आउँछौ भने । केटाले आफूले नबेच्ने भनी गाउँलेलाई विश्वास दिलाए । उनले आफूले गलत नियतले विवाह गर्न आएको होईन भनेर विश्वास दिलाएको अरुलिया सम्झिइन् ।

राम समुदायमा विवाहपछि बेहुलीलाई श्रीमानको घर पुर्याउन जाने चलन छ । तर बेच्न लैजान्छ भन्दै संगीतासँग जान कोही तयार भएनन् । बरु त्यही भेलामा एक हप्ता पछि लिएर आउने सर्तमा संगीतालाई बिदाई गर्न राजी भए ।

संगीता भने गाउँलेको बहस सुनेपछि झनै डराईन् । बेच्नै लैजान लागेको हो भनेर जान मानिन् । हिजोसम्म लुकामारी खेल्ने आफ्ना उमेरका दाजुभाइलाई अँगालो हालेर, ‘म जान्न । मलाई बेच्न लैजान आँट्यो । मलाई बचाओ’ भनिन् ।

आफूलाई लुकाइदिन बिन्ती गरिन् । साथी नातागोताका काकाकाकी, दाजु भाउजू, छरछिमेकका साथीसंगी सबैका खुट्टा छुँदै विवाह रद्द गरिदिन आग्रह गरिन् । उनको त्यो दृष्य एउटा चलचित्रको छायांकन भन्दा कम थिएन । उनको आग्रह अघि निरिह बने, आफन्त अनि छर छिमेक ।

‘संगीता रुँदा उनको खेल्ने बालबालिकादेखि गाउँ छिमेकका बुढा, बुढी, युवा सबैको रुवाबासी भयो । गाउँ नै रोयो’ छिमेकी अरुलियाले भावुक हुँदै त्यो दृश्य बताइन् ।  निरिह समाजका अघि संगीताको केही जोर चलेन । भोलीपल्ट बिहानै ६ बजे जबरजस्त श्रीमानको घर लगिईन् ।

केटाको घरमा संगीता पुग्दा

संगीताका अनुसार केटाको घर वीरगञ्जसम्म बसको यात्रापछि भारतको नरकटीयागञ्जसम्म रेल चढेर सायिबा भन्ने गाउँ ओर्लिनुपर्छ । त्यहाँबाट तीन चारघण्टा बसकोे यात्रा गर्नुपर्छ । तीन घण्टा पैदल यात्रापछि बल्ल पुगिन्छ । केटाको घर भएको ठाउँलाई रामपुर भनिने उनले बताईन् ।

संगीता रामपुरस्थित श्रीमानको घर त पुगिन् । तर, त्यहाँ पुग्दा उनलाई अर्को झड्का लाग्यो । ‘न त भाउजुले भने जस्तो धन सम्पत्ति थियो । न घर बंगाला नै । एउटा सानो झुपडी बाहेक केही रहेनछ’ उनले भनिन् ।

घरमा भने सासू ससुरा, जेठाजु जेठानी भएकोले बेचिन्छुकी भन्ने डर चाँहि कम भएको उनले बताईन् । जसोतसो हप्तादिन बित्यो । त्यसपछि गाउँलेलाई दिएको वचन अनुसार संगीतालाई लिएर श्रीमान सिराहा फर्किए ।

त्यसपछि संगीता घरमाइती गर्न थालिन् । बिबाह भएको तीन महिना बित्दै थिया संगीता गर्भवती भईन् । घरमा पनि खाने लाउने केही थिएन । ‘चामल भए नुन हुँदैनथ्यो । जेठानीहरू झगडा गर्न आउँथे । म सानो भएकाले जहाँ भेट्यो त्यही जगल्ट्याउँथे । कुट्थे’ संगीताले भनिन्, ‘श्रीमानलाई नचाहिने कुरा लगाउँथे । उनीहरूका कुरा सुनेर श्रीमानले पनि कुट्ने पिट्ने गर्थे । म बस्नै सकिन र नेपाल आएँ ।’

गरिब परिवार

संगीता ६ वर्षको हुँदा उनका बुबा महेन्द्र रामको मृत्यु भयो । संगीताका २ दिदीबहिनी र एक दाजु छन् । संगीता कान्छी छोरी हुन् । बुबाको मृत्युपछि आमाले बनीबुतो गरेर हुर्काउँदै थिईन् ।

एकदिन उनको दाजुले पनि घर छोडेर हिँडे । उनले घर छोडेको तिथीमिति न संगीतालाई थाहा छ, न आमालाई । उनी बेपत्ता छन् । कहाँ गए, के गर्छन् केही पत्तो छैन ।

संगीताको माइती घर फुसले बनाइएको सानो भुपडी छ । सुरुमा उनीहरूको चार धुर जग्गा थियो । त्यो पनि बुबा बिरामी हुँदा उपचारमा सबै सकियो, संगीताले भनिन् ।

बाँकी रहेको एक धुर जग्गामा एक कोठाको घर छ । खाना पनि त्यही पाक्छ । ढोका पछाडि सानो एउटा खाट मुस्किलले अटेको छ । घरबाहिर खाना बनाउन जोहो गरेको दाउरा राख्ने ठाउँसम्म छैन ।

दाउरा पनि घरभित्रै राखिएको छ । एक जना अट्ने सानो खाटमा संगीताकी आमा र दुई छोराछोरीसहित संगीता सुत्छन् । त्यही हो उनीहरूको ओत लाग्ने थलो ।

१२ वर्षको उमेरमा सन्तान जन्माउन नसक्दा अप्रेसन गरेर दुबै सन्तान जन्माउदाको ऋणले कलिलो टाउको धर्तिको बोझले थिचे झै थिचिएको छ । दुई दुई पटकको अपे्रसनबाट सिथिल बनेको नाबालक शरीरले बेलाबेला दुख दिइरहन्छ ।

न श्रीमानको माया र संरक्षण न त पेटभरी खान पाउँछिन् उनी । तर पनि आफ्नो भोको पेट बिर्सेर सन्तानको मुखमा माड लाउने बारे सोच्नै पर्छ उनले । पलपलमा अरुले गरेको गल्तीको सजाय भोगेर कष्टपूर्ण जीवन बाँच्न बाध्य छन् अहिले ।

दिदीको पनि बालविवाह

संगीताको मात्र होईन, संगीताकी दिदीको पनि बाल बिबाह भएको थियो । सिराहाको कविलासीमा १४ वर्षकी हुँदा उनको दिदीको विवाह भएको थियो । त्यो पनि बोल्न नसक्ने केटोसँग ।

बाठा टाठा केटो खोज्दा र छोरीलाई दाईजो दिन सक्दैनाै‌ भन्दै आफन्तले एकोहोर्याएपछि आमा नेपुरले ज्वाई जस्तो भए पनि छोरी पन्छाईन् ।

                   अस्पतालमा छोराहरुका साथमा संगीता

अर्काको गल्तीको सजाय भोग्दै

आफन्तले ढाँटी, छली गरिदिएको विवाहको परिणाम आज संगीता भोग्दै छिन् । शारीरिक रुपले पूर्ण विकास भइनसकेकी उनले उमेर नपुगी सन्तान जन्माउँदा जोखिम भोग्नुपर्यो ।

उनको सामान्य सुत्केरी भएन । दुवैपटक शल्यक्रियापछि मात्रै सन्तान जन्मिए । त्यो पनि लाहानको सप्तऋषी नामको निजी स्वास्थ्य संस्थामा । अहिले उनको शरीर कमजोर छ । हातखुट्टा दुख्छन् । शरीर कमजोर छ । काम गर्ने जाँगर लाग्दैन । शल्यक्रिया गरेको ठाउँमा पनि दुखिरहने उनले बताईन् ।

ऋणको बोझ

संगीतालाई अहिले शारीरिक पीडा मात्र होईन, अर्को थप भार छ । दुवै सन्तान जन्माउदा लागेको एक लाख रुपैयाँ ऋणको भार उनैको थाप्लोमा छ । ऋणको प्रति महिना सय कडा चार रुपैयाँ ब्याज थपिन्छ । अहिले ऋण दोब्बर भईसक्यो । ऋण कसरी तिर्ने भन्ने सोच्दा सोच्दै शरीर आधा भइसक्यो ।

श्रीमानको कुटपिट

संगीता र उनका श्रीमान् भारत नेपाल आउने जाने गर्छन् । करिब एक वर्षयता पछिल्लो समय संगीता माईतीमै छन् । घर गएपछि जेठानी, सासूले कुटपीट गर्ने गाली गर्ने गरेकाले जान छोडेको उनले बताईन् ।

अहिले उनका श्रीमान कमाउन पन्जाब गएका छन् । श्रीमान् आएपछि पनि उनको घर भारतको रामपुरा नजाने संगीताले बताईन् ।
‘मेरो गल्ती नभए पनि श्रीमान सासू, जेठानको कुरा सुनेर कुट्छन् । घरै जान मन लाग्दैन’ उनले भनिन् ।

‘श्रीमान पञ्जाब, डिल्ली कमाउन त जान्छन् । छ, सात महिनामा घर आए पनि १०, १५ हजार मात्रै लिएर आउँछन् ।’ भन्छिन्, ‘सोधी खोजी गरे कुटपिट गर्छन् । घर आएपछि पनि उतैका महिलाहरूसँग फोनमा कुरा गर्दै घरमा ल्याएको पैसा पनि सक्छन् ।’

उनले थपिन्, ‘श्रीमान् श्रीमती बीचमा गर्ने जस्तै कुरा फोनमा अरु महिलासँग गर्नुहुन्छ । अझ मलाई पनि कुरा गर भनेर फोन दिनु हुन्छ । म कुरा गर्न मान्दिन । मलाई किन कुरा नगरेको भन्दै कुट्नु हुन्छ ।’

बालविवाहका उजुरी शून्य

सिराहामा संगीताको झैं यस्ता घटना गाउँ पिच्छे, टोलै पिच्छे छन् । तर उनीहरू प्रहरीसम्म पुग्दैनन् । नत घटना बाहिर आउँछन्, न प्रहरीले नै खोज्छ ।

आर्थिक वर्ष २०७१/०७२ मा एउटा र २०७३/०७४ मा एउटा मात्र बालविवाहको उजुरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यलय सिराहाको तथ्याङ्कले देखाउँछ ।

घटना नै थाहा पाउँदैनौं : जनप्रतिनिधि

संगीताकै माइती रहेको वडा धनगढीमाई नगरपालिका ९ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रकाश तामाङ महिलाहरू आफू विरुद्धको उजुरी लिएर नआउने बताउँछन् ।

महिला आफै स्वःस्फूर्त रुपमा प्रहरी कार्यलय र न्यायिक समितिसम्म उजुरीको लागि जाने अवस्थामा नआएसम्म यता घटनाहरू जनप्रतिनिधिको जानकारीमा नआउने उनले बताए ।

उनले धनगढीमाई नगरपालिकाले यस्ता घटना हुन नदिन अभियान चलाउने र भएका घटनामा महिला तथा बालिकालाई न्याय दिन सचेतना मुलक अभियान चलाउने पनि बताए ।

तामाङले नगरपालिकाले अब हिंसामा परेका महिलाहरूलाई न्यायमा पहुँच बढाउन हरेक वडामा महिला हिंसा सम्बन्धि छुटै डेक्स राख्ने छलफल कार्यपालिका बैठकमा भईरहेको जानकारी दिए ।

धनगढीमाई नगरपालिकाकी उपप्रमुख फुलकुमारी श्रेष्ठले बाल बिबाहका घटना गुपचुप हुने भएकोले यस्ता घटनाबारे न्यायिक निकायमा जानकारी दिनुपर्ने बताईन् ।

त्यस्तै, धनगढी नगरपालिकाका मेयर हरि नारायण चौधरीले भने महिला बालबालिका सम्बन्धि हिंसा न्यूनिकरण र बालबिबाहका घटना कम गर्न कानुनमा भएका कुराको कार्यन्वयन र सचेतना मुलक अभियान चलाइरहेको बताए ।

उनी महिलालाई बिद्रोह गर्न सुझाव दिन्छन् । चौधरी भन्छन् ‘महिलाहरू आफुमाथि हिंसा हुँदा कि त सहेर बस्नु पर्छ, कि परिवारमा बिद्रोह गर्नुपर्छ । बिद्रोह गर्ने न त आर्थिक रुपमा सम्पन्न हुन्छ, न त उसँग सीप हुन्छ । त्यसले गर्दा एक्लै बाँच्न सक्छु भन्ने आधार र आँट हुँदैन । त्यसैले सहन बाध्य पारिएको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: