‘आइमाई’को शत्रु आइमाई !


प्रकाशित मिति :2018-08-21 13:28:42

–साबित्रा ढकाल–

म सानो छँदा, जब आमा भाउजुहरु घर धन्दा सकेपछि एकैछिन खलोमा जम्मा भएर गफ गर्न थाल्नु हुन्थ्यो, बा दाजुहरु भन्नुहुन्थ्यो ‘आइमाईको थाङ्ने गफ शुरु भयो ।’

पँधेरोमा पानी भर्ने बेलामा जब दुःख सुखका कुरा चल्थे, त्यसले ‘पँधेर्नी गफ’को उपमा पाउँथ्यो । पुरुष जन्ती दुलही लिन गएपछि आमा भाउजुहरु रत्यौलीमा एक रात भए पनि जब आफूलाई स्वतन्त्र रुपमा विभिन्न हाउभाउमा प्रस्तुत गर्नु हुन्थ्यो, उहाँहरुले महिनौसम्म ‘रत्यौलीका आइमाई’को पगरी गुथ्नु पर्दथ्यो ।

वर्ष दिनको तीजमा जब मनभरीको पीडालाई भुलेर स्वतन्त्र रुपमा नाच्नु हुन्थ्यो, ‘कलियुगका आइमाईको कति उत्ताउलो नाच हो’ भन्ने लान्छना लाग्थ्यो ।

केही वर्ष अघि एउटा अनलाइन पत्रिकामा दिदी बहिनीबीच तिहारको टीका प्रसंगमा एउटा समाचार छापेको रहेछ, ‘यस पटकको तिहारमा बहिनी टीका रे !’

मैले ‘राम्रो कुरालाई त अलि प्रेरणादायी शिर्षक राखेको भए हुने नि ? यो त अलि पूर्वाग्रही भएन र ?’ भन्ने कमेन्ट लेखेको मात्र के थिएँ, पत्रकार बन्धुले उत्तर लेख्नु भयो, ‘के लेख्ने त समलिंगी टिका ?’

समुदायमा जाँदा दिदी बहिनीहरु सुनाउनु हुन्छ, महिला समूहको बैठकबाट कुनैदिन अलि ढिलो गरि घर फर्किदा श्रीमानको पहिलो प्रश्न हुन्छ, ‘लोग्ने को कुरा काटेर पुग्यो ?’

कार्यालयका कामकाजी महिलाहरुले आजभोली ढिलो गरि घर फर्कदा सुन्नुपर्ने प्रश्न हो, ‘महिलाहरुको वाईन पार्टी थियो कि क्या हो ?’

जमाना परिवर्तन भयो भनिन्छ । तर, महिला–महिलाबीचकोे सम्बन्धलाई गर्ने व्यङ्ग्यमा परिवर्तन आएको छैन । हिजो, आमा भाउजुहरु घर परिवार र समाजका भद्र भलाद्मीहरुको व्यङ्ग्यको शिकार हुनुभएको थियो । आज महिलालाई उपहासको पात्र बनाउन पत्रकार, नेता, समाजशास्त्री, चलचित्रकर्मी लगायत भलाद्मीकै पगरी भित्रका पुरुष छन् ।

महिला–महिलाबीचको सम्बन्ध जे सुकै होस्, सर्वत्र हेर्दे दृष्टिकोण नकारात्मक नै छ । हिजोआज महिला अधिकारको कुरा गर्दा धेरै पुरुष र केही महिलाहरुबाट आउने बनिबनाउ जवाफ हो, ‘आइमाईका शत्रु आइमाई नै हुन् ।’ तर यो सतही बुझाइले बृहत सामाजिक समस्यालाई एक पक्षीय बानाईदिएको छ ।

महिला–महिलाबीचको खिचातानी पितृसतात्मक समाजमा अभ्यास गरिने शक्तिको एक नमुना हो । हाम्रो सामाजिक संरचनामा पुरुषहरु मालिक, शासक, पति कहलिएका छन् । महिलाहरु दासी र शासित । पितृसतात्मक समाजमा हरेक परिवारको मुली पुरुष नै कहलिन्छ । त्यसकारण पुरुष नै घरको सर्वेसर्वा हुन्छ ।

पुरुषसँग पितृसत्ताले प्रदान गरेको शक्ति छ । त्यसकारण घरभित्र उसैको हैकम चल्छ । घरभित्र मात्र होईन, घर बाहिर पनि परिवारको प्रतिनिधित्व उसैले गर्छ । यसबाट परिवारका शक्तिविहीन सदस्य विशेष गरि महिला त्यही पुरुष शक्तिको नजिक रहनका लागि प्रयासरत रहिरहने अवस्था सिर्जना भएको छ । शक्ति केन्द्रसँग नजिक रहनका लागि महिलाहरु एक अर्कामा प्रतिस्पर्धा गर्छन् ।

हामी राज्य संरचनामा पनि देख्छौं कि, शक्तिको नजिक रहनका लागि राजनीतिक दलका कार्यकर्ताहरुको होडबाजी कसरी चल्छ । हो, त्यसैको प्रतिविम्ब हो परिवारभित्रको प्रतिस्पर्धा पनि ।

कमजोर भनिएकाहरुसँग शक्ति संरचना परिवर्तन गर्ने हैसियत नै रहँदैन । त्यसकारण उनीहरु आफूमाथिको दमनको प्रतिकार नजिकको प्रतिद्वन्द्वीसँगको भनाभन र झगडाबाट गर्दछन् । समाजले यसलाई आइमाईको सत्रु आइमाई भनेर व्याख्या गरिदिन्छ । 

पितृसतात्मक संरचनाले परिवारका सदस्यहरुलाई ओहोदा अनुसारको शक्ति वितरण गरेको छ । सामान्य अवस्थामा बुहारी भन्दा सासू शक्तिशाली । भाउजु भन्दा नन्द शक्तिशाली, देउरानी भन्दा जेठानी शक्तिशाली रहन्छन् । पितृसतात्मक संरचनाको चरित्र नै शक्तिशालीहरुले कमजोरमाथि शासन गर्ने हो ।

कमजोर भनिएकाहरुसँग शक्ति संरचना परिवर्तन गर्ने हैसियत नै रहँदैन । त्यसकारण उनीहरु आफूमाथिको दमनको प्रतिकार नजिकको प्रतिद्वन्द्वीसँगको भनाभन र झगडाबाट गर्दछन् । समाजले यसलाई आइमाईको सत्रु आइमाई भनेर व्याख्या गरिदिन्छ ।

हामी सामाजिक घटनालाई कहिल्यै पनि समाजको बृहत चित्रमा राखेर हेर्दैनाैं । आगाडी जे देख्छौं, त्यसैलाई हेरेर सतही व्याख्या गरिदिन्छौं । समाजको सानो हिस्सालाई पूर्ण समाज मानेर सामाजिक घटनालाई त्यसै अनुसार व्याख्या गर्दा समाजमा गलत र पूर्वाग्रही विचार स्थापित हुन्छ ।

हरेक घटनाका अन्तरनिहित कारणहरु केलाउन सके र त्यसको उचित विश्लेषणसहित सम्बोधन गर्नसके मात्रै सामाजिक न्याय स्थापना गर्न सकिन्छ । होईन भने जमाना त परिवर्तन हुन्छ, हाम्रो आनीबानी र व्यवहार जस्ताको त्यस्तै रहन्छ । समाज सभ्य होईन, झन् बर्बर बन्दै जान्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: