विभेद जितेर ब्ल्याक बेल्ट


प्रकाशित मिति :2018-08-19 12:28:37

–इन्द्रसरा खड्का–

काठमाडौं वानेश्वरको एक विद्यालय जहाँ सेतो पोशाक लगाएका केटाकेटीहरु मुक्कामुक्की गरिरहेका थिए । स्कूलबाट फर्किरहेकी १२ वर्षकी बालिकाले देखिन् ।

‘एक आपसमा किन लडिरहेका होलान् ? ठूलै झगडा पो परेछ कि ?’ मुक्कामुक्कीको दृष्य देख्ने बित्तिकै बालिकाको मनमा लाग्यो । झट्ट प्रश्न पनि उब्जियो, सबैले एकै ड्रेस चैं किन लगाए ?

विद्यालयबाट एक्लै फर्किरहेकी थिईन् । मनको जिज्ञासा सोधिहाल्न साथमा कोही थिएन । भोलिपल्ट पनि स्कूल छुट्टी भएर त्यहि बाटो घर फर्किँदै थिईन्, उही दृष्य देखियो ।

त्यो दिनभने उनीसँगै दाजु पनि थिए । सोधिन्, यो के गरेको ? दाईले यो कराँते खेल सिकिरहेको हो भनेर खेलबारे जानकारी दिए ।

मुक्कामुक्की गर्ने खेल रहेछ भन्ने थाहा पाएपछि त झन् उनको मनमा जिज्ञासाको खात लाग्यो । कुट्ने पनि खेल हुने रहेछ ? यो खेल किन खेल्ने होला ? कसरी खेल्ने होला ? मैले पनि खेल्न पाए….. यावत प्रश्न दाजुले मेट्न सक्लान् भन्ने उनलाई लाग्दै लागेन ।

तेस्रो दिन उनले एक निर्णय लिईन् । आज जसरी खेल सिकाउने गुरुलाई भेट्छु । स्कूल छुट्टी भएपछि घर फर्किदा कराँते सिकाईरहेका मदन गुरुलाई भेटिन् ।

गुरुलाई भेट्ने बित्तिकै मनको प्रश्न एकाएक पोखियो, यो के सिकाइएको हो ? कसरी खेल्नु पर्छ ? मैले खेल्न हुन्छ कि हुँदैन ? यो खेलेपछि के हुन्छ ? लगायत अनेक प्रश्न सोधिन् । गुरुले पनि उनले बुझ्ने गरी जवाफ दिए ।

त्यसपछि उनलाई थाहा भयो, कराँते एउटा खेलको नाम हो । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ । लगाब लगाएर खेल्न सक्यो भने जितिन्छ पनि । त्यसपछि उनलाई खेलतर्फ लगाब बढ्यो । कराँते खेलाडी बन्ने सपना देख्न थालिन् ।

यहि कुरा आमासँग भनिन् । बुबासँग पनि कराँते सिक्ने रहर सुनाईन् । तर उनी केटा थिईनन् । १२ वर्षे छोरी पो थिईन् । त्यसैले आमाबाबुले एकैस्वरमा भने, ‘कराँते त केटाहरुले खेल्ने खेल हो । केटीले खेल्न हँुदैन ।’ अनि उनका थप कुरा सुन्दै सुनेनन् ।

त्यहि समय जतिबेला कराँते छोरीको लागि होइन भनिएको थियो, उनको भाइले भने खेल्ने स्वीकृति पाएका थिए । सँगसँगै स्कूलबाट फर्किदा देखेको दृष्यले दिदीभाइ आकर्षित भएका थिए । तर, छोरी भएकै कारण परिवारबाट उनको रहरमा उत्साह थपिएन । उनीभन्दा २ वर्ष कान्छो भाइलाई भने कराँते खेलमा आमाबुबाले नै भर्ना गरिदिए ।

खेल सिक्न १ हजार रुपैयाँ शुल्क लाग्ने रहेछ । आमाबुवाले छोरीले कराँते खेल्न नदिने भनेपछि पैसा दिने कुरै भएन । त्यतिबेला उनीहरुको घरमा पसल थियो । ति बालिकाको मनमा कराँते खेल्ने रहर नमेटिने गरि पसिसकेको थियो । त्यसैले उनले पसलको काउण्टरबाट अलिअलि गर्दै पैसा चोरेर १ हजार रुपैयाँ जम्मा गरिन् । त्यहि पैसा बोकेर उनी कराँते सिक्न गईन् ।

छोरी भएकै कारण कराँते खेल्न अस्वीकार गरिएकी तिनै बालिका आज कराँते खेलकै कारण चर्चामा छिन् । आमाबाबुसँग लुकीलुकी कराँते सिक्न गएकी उनी ब्ल्याकबेल्ट हुन् । कराँते प्रशिक्षक अनि अन्तर्राष्ट्रिय स्तरको खेलाडी पनि । हो त्यति चुपचाप बिद्रोहले कराँतेमा स्थापित नाम हो – सञ्जु महर्जन ।

सञ्जु काठमाण्डौको सिनामंगलकी हुन् । उनी अहिले सञ्जु महर्जन कराँते प्रशिक्षक हुन् । उनको आफ्नै डोजो छ । उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराँते प्रतियोगितामा मेडल पनि प्राप्त गरिसकेकी छन् ।

मानिसलाई कुनै काममा स्थापित हुनको लागि भित्रदेखिको लगाव चाहिन्छ । सफल हुन निरन्तरको मेहनत । हो त्यहि मेहनतले आज सञ्जु कराँतेमा स्थापित छन् । उनले कुनै पनि खेल महिला वा पुरुषको लागि भनेर यो समाजले निर्धारण गरिदिएको बन्धन पार गरिन् । त्यसपछि त समाजलाई पनि उनको मेहनतलाई चुपचाप स्वीकार गर्न कर लाग्यो ।

सञ्जुले २०५२ देखि २०५६ सालसम्म कराँते सिकिन् । कराँते खेल्न लागेको ७ वर्षसम्म पनि आमाबाबुले राम्रो मानेका थिएनन् । छोरीले केटाहरुसँग मुक्कामुक्की खेल्ने काम उनीहरुलाई चित्त बुझेकै थिएन ।

सञ्जुले कराँते सिक्न थालेको ८ वर्षपछि काठमाडौंमा देस्रो पुनम स्मृती अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भयो । प्रतियोगितामा ६ देशको सहभागिता थियो । ६ देशका खेलाडीमा सञ्जु पहिलो भइन् ।

त्यसपछि मात्र उनका आमाबुवा खुसी भए । अनि उनलाई सहयोग पनि गर्न थाले । उनले २०५८ सालमा भएको गणेशमान स्मृती कपमा पनि उनले प्रथम हुदै मेडल प्राप्त गरिन् । २०७४ सालमा भएको अन्तर्राष्ट्रिय वल्र्ड पिस कप प्रतियोगितामा समेत उनले मेडल प्राप्त गरिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल प्राप्त गरिसकेपछि उनलाई परिवारले हेर्ने दृष्टिकोण बदलियो । समाजले हेर्ने नजर बदलियो ।

कराँते खेलको प्रशिक्षक बन्न ९ चरण पार गर्नुपर्ने हुन्छ । खेलाडीको सिकाईको आधार हेरि सेतो, पहेंलो, हरियो लगायत ९ वटा बेल्ट प्राप्त गर्नुपर्ने हुन्छ । सञ्जुले यि चरण पार गरिसकेकी छिन् । उनी ब्ल्याक बेल्ट प्राप्त प्रशिक्षक हुन् । उनले प्रशिक्षकको रुपमा काम गर्दा मोरक्कोमा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएकी छन् ।

पारिवारिक जिम्मेवारी

हरेक व्यक्तिले आफ्नो पेशाका साथै परिवारको जिम्मेवारी निभाएकै हुन्छ । अझ महिलालाई त पेशागत जिम्मेवारीसाथै पारिवारिक जिम्मेवारीको दोहोरो भूमिका सँधैजसो हुन्छ नै ।

सञ्जुले पनि कराँते सिक्ने क्रममा नै विवाह गरिन् । उनले १८ वर्षको उमेरमा काठमाडौंकै मैतीदेवी घर भएका सुनिल महर्जनसँग विवाह गरेकी हुन् । उनको भागी विवाह थियो । उमेर नपुग्दै भागेर बिहे गर्दा परिवारले राम्रो मानेन् । आमाबुवा पनि रिसाए ।

बिहे गरेको १ वर्षमै सञ्जुले छोरी जन्माईन् । १९ वर्षमै आमा बन्दा उनलाई खेल क्षेत्र नै छोडौं झै नभएको पनि होइन । तर, उनको अन्तरहृदयले खेल क्षेत्रलाई यसरी अंगालेको थियो कि, उनले कराँते छोड्नै सकिनन् ।

उनले भनिन्, ‘श्रीमान, सासु, ससुरा सबै बुझ्ने भएकाले बिहे गरिसकेपछि मलाई खेल्न समस्या भएन । तरपनि घरको काम, गर्भावस्थामा पनि खेल खेल्न समस्या त हुने रहेछ नै ।’

६ महिनाको गर्भवती हुँदा पनि उनले कराँते सिकाउन नछोडेको बताईन् । तर श्रीमानले छोरी जन्मेपछि पनि रेखदेख गरिदिएकोले आफूले निरन्तरता दिन सकेको पनि उनको भनाई छ ।

अहिले उनकी छोरी १५ वर्षकी छिन्, छोरा ९ वर्षको । उनले भनिन्, ‘अब म पारिवारिक बोझमा छैन । देश, विदेश जान स्वतन्त्र छु ।’

खेल क्षेत्रमै विभेद

सञ्जुको नाम पछाडि विभिन्न पदहरु जोडिएका छन् । उनी राष्ट्रिय खेलकुद परिषदको सहायक प्रशिक्षक, पाको नेपाल क्योकुसिन कराँते संघका अध्यक्ष, महिला हिंसा विरुद्धको आत्मरक्षा तालिमका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहकी छन् ।

यी पदसम्म पुग्नका लागि धेरै संघर्ष गरिन् । उनले खेल क्षेत्रमा पनि विभेद सहेकी छिन् । महिला खेलाडी र पुरुष खेलाडीबीच तलबमा विभेद छ । विभिन्न ठाउँबाट दिईने सम्मान, पुरस्कारमा पनि पुरुष नै प्राथमिकतामा पर्छन् ।

आफुलाई सिकाउने गुरुहरुले पनि केटी मान्छेलाई गर्ने व्यवहार फरक हुन्छ । उनीहरुले कुरा गर्दा, खेल सिकाउँदा कुन तरिकाले गरिरहेका छन् त्यो पनि खेलाडी महिलाले नै बुझेर सजग हुनुपर्ने उनको अनुभव छ ।

उनी स्वयं पनि बेला बेला हिंसाको जोखिममा हुन्छिन् । कराँते सिकाउने गुरुले नै आफु माथि दुव्र्यवहार गर्न खोज्दा आफुले सिधै प्रतिकार गरेको अनुभव पनि सुनाईन् ।

हिंसाबारे थप भनिन्, ‘खेल सिक्ने, सिकाउने क्रममा देश, विदेश विभिन्न ठाउँमा जानुपर्दा पुरुष सहकर्मीसँग एउटै कोठामा बस्नुपर्ने पनि हुनसक्छ । यस्तो बेलामा आफु कसरी सुरक्षित रहने भन्ने स्वयं महिलालले पनि बुझ्न आवश्यक छ ।’

आत्मरक्षा तालिमले महिलालाई फाईदा

अहिले सरकारले महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न भन्दै आत्मरक्षा तालिम सुरु गरेको छ । ३६ जिल्लामा पहिलो चरणमा तालिम भइसक्यो । सञ्जुले २ जिल्लामा प्रशिक्षण दिएकी छिन् ।

आत्मरक्षा तालिम महिला, किशोरी र बृद्धा महिलालाई पनि दिने गरिएको छ । यो तालिमले महिलालाई आत्मरक्षा गर्न सहज हुने उनको विश्वास पनि छ । यहि तालिम सिकेको दुई दिनमा एउटा किशोरी बलात्कार हुनबाट जोगिएको उदाहरण दिँदै उनले महिलाका लागि रक्षात्मक हुने बताईन् ।

पछिल्लो समय महिला आफन्तबाटै असुरक्षित भइरहेका छन् । बुवाबाट छोरी, छोराबाट आमा पनि असुरक्षित भएकाले पनि आत्मरक्षा तालिम महिलाको सुरक्षाको लागि आवश्यक रहेको उनको बुझाई छ ।

उनले थपिन्, ‘आफुमाथि जबरजस्ती हुँदा अथवा कोही आइलाग्दा कसरी भाग्न सकिन्छ, कसरी प्रतिकार गर्ने भन्ने बारे जान्न महिलाले आत्मरक्षा सिक्न जरुरी छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: