हिंसाको मनोसामाजिक विमर्श


प्रकाशित मिति :2018-08-19 11:28:28

-डा.अजय रिसाल-

‘सामूहिक बलात्कारपछि हत्या’ । ‘प्रेमीद्वारा प्रेमिकाको बलात्कार अनि हत्या’ । ‘रक्सीको झोंकमा श्रीमतीमाथि छुरा प्रहार’ । ‘दाइजो नल्याएकामा ज्युँदै जलाइइन्’ । मनै सिरिङ्ङ पार्छन् यस्ता समाचार शीर्षकले । किन हुन्छन् यस्ता घटना ?

-डा.अजय रिसाल-

मनोचिकित्सकीय चस्माबाट हेर्दा व्यक्तित्वजन्य समस्या, ‘साइकोसिस’, मद्यपान या लागूपदार्थजन्य मानसिक समस्या, ठूला तनाव आदिका कारण यस्ता घटना भइरहेको देखिन्छ । तर प्रश्न उठ्छ, किन महिला यस्ता उन्मादका निसाना बनिरहन्छन् ? महिला अधिकारवादीहरू पितृसत्तात्मक सामाजिक बनोट या लैंगिक भेदभाव आदिलाई यसको कारक मान्छन् । त्यसो भए किन सबै पुरुष त्यस्तो पीडक बन्दैनन् ?

‘महिला हिंसा’ लाई मनोवैज्ञानिक, सामाजिक, आपराधिक, सैद्धान्तिक अनि राजनीतिक कोणबाट व्याख्या गर्ने गरिन्छ । तर कुनै एउटा मान्यताबाट मात्र यसलाई बुझ्न–बुझाउन वा तार्किक निष्कर्षमा पुग्न सकिँदैन । त्यसैले अन्तर्सम्बन्धित अवयवलाई मिहिन रूपमा केलाएर समाधानका उपाय खोज्नुपर्छ ।

विभिन्न अध्ययनले देखाएअनुसार, पीडक (प्राय: पुरुष) बालककालदेखि नै हिंसाकै चपेटामा परेको पाइन्छ । पति या परिवारका अन्य सदस्यद्वारा सताइएका आमाका छोराहरूले वयस्क अवस्था पुगेपछि आफ्ना महिला मित्र (श्रीमती) लाई हिंसाको सिकार बनाउने गरेको देखिन्छ । त्यस्तै, किशोरावस्थामा आफू नै हिंसाको प्रकोपमा परेका पुरुषहरू पछि महिला हिंसामा उद्यत भएको पाइन्छ ।

जो महिला सानामा आमाबाबुबीचको हिंसाका साक्षी थिए या आफू सानैमा परिवारजन या हेरचाह गर्ने व्यक्ति (शिक्षक, छिमेकी आदि) बाट कुनै न कुनै प्रकारका हिंसाद्वारा सताइएका थिए, तिनीहरू पछि ठूलो भएर नजिकका मित्र (पति) बाट प्रताडना पाउने या त्यस्तो हिंसालाई अस्वीकार गर्न नसक्ने अवस्थामा रहने गरेको पाइन्छ । हिंसाले ओतप्रोत परिवारमा हुर्केका किशोरकिशोरी नै भविष्यमा पीडक या पीडितका रूपमा देखा पर्ने गर्छन् ।

पुरुष आधिपत्य रहेको अर्थात् आर्थिक स्रोतको अधिकार पुरुषमै रहेको र महिलाले पैसा कमाउने काम गर्न नपाएको अनि पाँच वर्षमुनिका बच्चा देखभाल गर्नुपर्ने परिवारमा श्रीमान्ले श्रीमतीमाथि हिंसा गर्ने वा गर्न खोज्ने प्रवृत्ति बढी देखिन्छ । परिवारभित्रको श्रमविभाजनमा रहने असहमति, श्रीमान्को अत्यधिक मद्यपान या अलि बढी शिक्षित भएकी श्रीमती आदि कारक तत्त्वले वैवाहिक स्थितिमा उतारचढाव पैदा गर्छ । त्यसले हिंसाको रूप लिन्छ ।

परामर्शका लागि मकहाँ आएका व्यक्तिमा मद्यपानले आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई हिंसातिर डोर्‍याउने गरेको पाएको छु । मद्यपानका कारण पतिहरू परिवारप्रति उत्तरदायी नबन्ने, पत्नी या परिवारका अन्य सदस्यसँग मनमुटाव भइरहने गर्छ । यसैसँग बेरोजगारी, गरिबी, सामाजिक बहिष्करण आदि नकारात्मकता गाँसिएका हुन्छन् । यी सबैले ल्याउने तनाव, उदासीनता, दिशाहीनता, झैझगडा सबै महिला हिंसातर्फ डोर्‍याउने कारक तत्व बन्न पुग्छन् ।

समाजमा पुरुषलाई पुंसत्व या प्रभुत्व प्रमाणित गर्नुपर्ने अनि महिला सधैं कमजोर साबित भइरहने प्रवृत्ति छ । अर्थात श्रीमान्को पिटाइ सधैं परिवारको आन्तरिक मामिलाकै रूपमा सीमित रहिरहन्छ र समाजले त्यसलाई सजिलै स्वीकार गर्छ ।

यही कारण घरेलु हिंसालाई कानुनको कठघरामा ल्याउन समस्या छ । त्यसैको विकृत रूपमा जघन्य अपराधका घटना भएका हुन सक्छन् । व्यक्ति, परिवार, छरछिमेक, कार्यस्थल, समाज अनि समाजले अपनाएको सांस्कृतिक आधार महिला–हिंसासँग अन्तर्सम्बन्धित देखिन्छन् । समाधानका लागि ती सबै अवयव परिचालित गर्नुपर्छ ।

व्यक्तित्व विकासमा आफू जन्मिएको या हुर्किएको परिवारकै भूमिका अत्यधिक रहने मनोवैज्ञानिक सिद्धान्तहरूले प्रमाणित गरेका छन् । परिवारमा उचित शिक्षा, चेतना विकासका लागि सामाजिक परिस्थिति पनि जिम्मेवार रहन्छन् । परिवारभित्रको तनाव व्यवस्थापन, बेरोजगारी निराकरण अनि सदस्यहरूमा रहन सक्ने मानसिक समस्याको उचित उपचार अत्यावश्यक छ ।

मद्यपान या लागूपदार्थजन्य समस्या समाधानका लागि मनोचिकित्सकको मात्र नभई मनोविमर्शकर्ता र सामाजिक परिचारकको पनि अहं भूमिका रहन्छ । यी सबै प्रयासले स्वस्थ परिवार कायम राख्न सहयोग पुर्‍याउँछन् । त्यस्तो परिवारमा जन्मने या हुर्कने बालक–बालिका पछि गएर परपीडक या पीडालाई स्वीकार गर्ने गरी परनिर्भर बन्नेछैनन् ।

किशोरावस्थामा व्यक्तित्व विकासका लागि साथीसंगी, छरछिमेक अनि स्कुल–शिक्षाको भूमिका रहन्छ । मूल्यमान्यतामा आधारित नैतिकतामुखी शिक्षा पाएका किशोरकिशोरी स्वस्थ व्यक्तित्वले ओतप्रोत रहन्छन् । तिनीहरू लागूपदार्थजन्य समस्याबाट टाढै रहन्छन् अनि असामाजिक क्रियाकलापबाट बच्छन् ।

यस्ता किशोर–किशोरीबीच अंकुरित प्रेम हिंसाग्रस्त मनोग्रन्थिबाट सधैं टाढा रहन्छ । व्यभिचार, बलात्कार, झैझगडाको प्रश्नै रहँदैन । कार्यस्थलमा रहने तनाव व्यवस्थापनका लागि स्वस्थ एवं संयमित अनि उत्तरदायित्वबोध हुने किसिमको संरचना बनाउनुपर्छ । तनावजन्य मानसिक समस्या निराकरणका लागि मनोविमर्श अनि छलफल कार्यक्रम फलदायी हुन्छ । आवश्यक परे मनोचिकित्सकको सहायता लिन तयार रहनुपर्छ ।

बेरोजगारी समाधान, लैंगिक विविधताको सम्बोधन, गरिबी निवारण अनि अपराध निराकरणका लागि राष्ट्रको ठोस नीति बन्नुपर्छ । राजनीतिक नेतृत्वले यी सबको व्यवस्थापनका लागि दह्रो पाइला चाल्नुपर्छ । यसमा नागरिक समाजको नाताले चिकित्सक, मिडियाकर्मीको सहयोग अपरिहार्य छ ।

हाम्रो पूर्वीय संस्कृति नारीपीडक कदापि थिएन । ‘मातृदेवो भव’ भनी उद्घोष गर्ने, ‘माता मे भूमि:…’ भनेर जन्मभूमि, राष्ट्र एवं पृथ्वीलाई समेत आमा मान्ने उद्गारले ओतप्रोत संस्कृतिका धनी हामीले कसरी महिला हिंसालाई मान्यता दिन सकौंला र ? यी सबै तथ्यलाई हृदयंगम गर्दै उच्च सांस्कृतिक अनि सभ्य जीवनस्तर बनाउन जुट्ने कि !डा. रिसाल धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक हुन् ।

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: