बोक्सीको प्रमाणपत्र माग्दै लिरा राजधानीमा


प्रकाशित मिति :2018-08-17 16:27:01

–इन्द्रसरा खड्का–

ललितपुर । आफूलाई बोक्सीको प्रमाणपत्र दिनुपर्ने माग गर्दै विरगञ्जकी एक महिला राजधानी पुगेकी छन् । पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर १६ निगुवाकी ५६ वर्षीया लिरा कटुवाल क्षेत्री बोक्सीको आरोपमा गाउँलेले डेढ वर्षदेखि कुटपिट र यातना दिन नछोडेपछि पाँच दिनअघि राजधानी पुगेकी हुन् । उनी भन्छिन्, ‘मलाई कि त न्याय चाहियो, नत्र भने बोक्सीको प्रमाणपत्र ।

‘मैले न्याय मागे । सरकारले पीडा मात्रै दियो’ बोक्सी आरोप लगाउने विरुद्ध पाँचपटक स्थानीय प्रहरी, जिल्ला प्रहरी र जिल्ला प्रशासनमा उजुरी गरे पनि मिलापत्र गराएर पठाइदिएपछि आरोप र यातना थपिएको भन्दै गाउँ छोडेकी लिराले भन्न थालेकी छन्, ‘यदी बोक्सी हुन्छ र म बोक्सी नै हो भने मलाई सरकारले प्रमाणपत्र दिनुपर्छ । या त मलाई यस्तो यातना दिनेलाई कार्वाही गर्नुपर्छ । अब यो भन्दा धेरै यातना सहन सकिदन ।’

लिराको यो आक्रोस हो । बोक्सी आरोपमा कुटपिट र गाली बेइज्जती गर्ने छिमेकीलाई कार्वाहीको माग गर्दा समेत न्याय नपाएपछि सरकारले कि त न्याय दिनुपर्ने, या त बोक्सीको प्रमाण पत्र भन्दै उनी भौंतारिएर काठमाडौं पुगेकी हुन् ।

छोरा सम्पर्कबाहिर

बोक्सी आरोपमा गाउँलेको कुटाइ र गाली सहने लिरा मात्रै होइनन् । उनका २७ वर्षका छोरा राम क्षेत्रीले समेत वर्षौदेखि ‘बोक्सीको छोरो’ भन्दै यातना सहेर बसेका छन् ।

लिरा न्यायका लागि राजधानी पुगेको पाँच दिन भो । उनले घर छोड्दा छोरा राम सम्पर्कमा थिएनन् । कहाँ छन् भन्ने कुरा अहिले पनि थाहा छैन ।

रिक्सा चलाएर गुजारा गर्ने छोरालाई बोक्सी आरोपमा यातना दिने गाउँलेले आफ्नो नियन्त्रणमा लिएका थिए । खोजी गर्दा भेटिनन् । प्रहरीलाई गुहारिन्, प्रहरीले कुरै सुनेन ।

‘तँ डाइनको छोरा भन्दै पिट्थे । जहाँ भेट्यो त्यही अपमान गर्ने । पैसा नदिएर रिक्सा चढ्ने । सानादेखि ठूलासम्मले पिट्छन् छोरालाई पनि’ निकै भावुक भइन् लिरा यसो भनिरहँदा ।

छोरालाई ‘तेरो आमाले हाम्रा बालबच्चा, अन्न सबैको नोक्सान गरी भन्छन् । केही बोल्न सक्दैन, कमजोर छ छोरा’ उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, निगुवा प्रहरीचौकी, महिलासेल विभिन्न निकायमा पटक पटक उजुरी दिँदा पनि उनले अझै न्याय पाउन नसकेकोमा दुख व्यक्त गरिन् ।

‘पाँच पटक उजुरी दिएँ । पाँचैपटक मिलापत्र गराएर पठाइदियो । घरमा बस्ने वातावरण छैन । छोरा गायव गरिएको छ । अब म कहाँ जाऔं, के गरौं ?’ भक्कानिदै आँसु झारिरहिन् उनले ।

आयोगको पनि वेवास्ता

आफू र छोराले भोगेको यातना विरुद्ध गएको असार महिनामा लिराले राष्ट्रिय महिला आयोगमा समेत उजुरी दिइन् । तर अहिलेसम्म पनि आयोगले कुनै चासो नदिएको उनले बताइन् ।

‘उजुरीको किन सुनुवाई भएन भन्दै राष्ट्रिय महिला आयोगमा गएँ । म्याद सकियो । अब यसको सुनवाई हुँदैन । मधेसको मुद्दा, मधेसकै मान्छेले मिलाउनुपर्छ नि । हामीले केही गर्न सक्दैनौँ भन्दै फर्काए’ अब मैले कसलाई भनौं ? उनले प्रश्न गरिन् ।

भनिन्, ‘म बोक्सी भएर कोही मान्छे मरेको वा बिरामी भएको प्रमाण दिनुप¥यो । कि मलाई न्याय दिनुपर्यो । नत्र भने सरकारले मलाई बोक्सीको सर्टिफिकेट दिनुपर्छ अब ।’ तर बोक्सी हुन्छ भन्ने कुरामा भने उनलाई पनि विश्वास छैन ।

फुलवारी टोलकी सिमा तिवारीको छोराको गत वर्ष किड्नी फेल भएर ज्यान गयो । ‘म बोक्सी भएका कारण मैले खाएँ रे भन्दै लछारपछार गर्दै सडकमा ताने’ त्यसदिन शरीरमा लागेका खाउका खाटा देखाइन् उनले ।

सडकमा लछारपछार गर्दा उनको आँखा र टाउकोमा चोट लाग्यो । उनले पैसाको अभावमा उपचार समेत पाएकी छैनन् । अहिले पनि टाउको दुखिरहन्छ ।

को हुन् बोक्सी आरोपमा यातना दिने ?

फुलवारी टोलका मन्सुर मियाँ, सोही ठाउँमा रहेको शुक्रराज विद्यालयका शिक्षक जोगेन्द्र, हारुन सेक, सिमा तिवारीले डेढ वर्षदेखि बोक्सी भन्दै लिरालाई दिनहुँ यातना दिने गरेका छन् ।

आफूलाई डायन भन्दै कुटपिट गरेपछि प्रहरी कहाँ उजुरी दिँदा ‘तँ हाम्लाई प्रहरीकोमा पुर्याउँने’ भन्दै कुटपिट गरे । घटना बारे आफूलाई थाहै नदिई प्रहरी कहाँ उजुरी दिएको भन्दै घरबेटी बिनोद शर्माले पनि घर छोडेर जान धम्की दिइरहेका छन् ।

प्रहरी र प्रशासनकै वेवास्ता

घटना बारे लिराले पटक पटक पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई जानकारी गराइन् । तर प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालय जाऔ । यताबाट हुन्न भनेर फर्काए ।

यस विषयमा महिला खबरले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलसँग बुझ्दा उनले भने, ‘लिरा मकहाँ आउनु भएको हो । यो घटनाको कहानी लामो छ ।

अहिले तपाईंलाई सबै कुरा भन्न सक्दिन ।’ प्रजिअ पौडेलले यति भन्दै फोन राखिदिए । कुरै गर्न मानेनन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले घटनाको तथ्य र प्रमाण नभएका कारण प्रहरीले काम नगरेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: