बलात्कारको बढोत्तरी किन ?


प्रकाशित मिति :2018-08-16 17:18:43

विषय प्रवेश

‘समाजमा बलात्कारको बढोत्तरी किन ?’ भन्ने विषयमा विमर्श गरी रहँदा नेपालको कुन कुनाकाप्चा, कुन शहर, कुन गाउँ, कुन घर, कुन गल्ली, कुन स्कूल, कुन होस्टेल, कुन होटेलमा बलात्कार वा बलात्कारको प्रयास भइरहेको होला ? वा बलात्कार पछि मारिँदै होलान् ? भन्ने प्रश्न, चिन्ता, त्रास र दर्दनाक अनुभूतिका साथ यो कार्यपत्र प्रस्तुत गरिदैछ । किनभने प्रहरीकै रिपोर्टअनुसार नेपालमा बलात्कारका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । नेपाल प्रहरीको तालिका हेर्नुहोस ।

माथिको तालिकाले सबैलाई थप संवेदनशिल किन बनाएको छ भने भविष्यको कर्णधार बालिकाहरू सबैभन्दा बढि जबरजस्ती करणीको शिकार बन्दैछ ।

हिसिला यमी

विश्वमा ३mभ)तयय mयखझभलत चलिरहेको छ । नेपालमा भने महिलामाथिको चरम हिंसा बलात्कार हुँदै हत्याको पाशविक दुश्चक्रमा फसिरहेको छ । सरकारी तथ्यांकहरूका अनुसार नै यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । जति–जति बलात्कार जघन्य र पाशविक बन्दै जान्छ त्यति–त्यति यसले यौनप्रेरित हिंसाको घेरा तोड्दै अन्य हिंसाको रुपमा बदलिँदै गएको देखिन्छ । जब बलात्कार घटनाबाट प्रवृत्ति बन्छ, अनि प्रवृत्तिबाट पहिचान बन्न जान्छ, अनि प्रश्न उठ्छ– महिला बलात्कृत हुनु भनेको समाज बलात्कृत हुनु अनि सिंगो राष्ट्र बलात्कृत हुनु होइन र ?

बलात्कार एउटा यस्तो उत्पीडित माथि थप उत्पीडनको हिंसा हो जसलाई प्रश्न गर्दा थप प्रश्न तेर्साइन्छ, जब सजायँ दिन खोज्दा थप आफैँ सजायको शिकार हुन जान्छ । जब परिवार, समाज र सरकारको निकायसँग न्यायको भीख माग्दा थप भिखारी हुन जान्छ । त्यस्तै जब सुरक्षित स्थान माग्न जाँदा थप घरबारविहिन हुनजान्छ । जब लाज छोप्न खोज्दा बाँकी रहेको लाज पनि उदांगो पारिदिन्छ । यसको परिणाम बलात्कृत महिला पलपलमा मर्छिन् । उनको हत्या नभएपनि अन्तिममा आत्महत्या गर्न बाध्य हुन्छिन् । अनि दोष कसको ? महिलाको ? पुरुषको ? परिवारको ? समाजको ? राजनैतिक पार्टीको ? सरकारको ? राष्ट्रको ? विश्वको ? अर्थात् यसलाई समग्रतामा बुझ्नु जरुरी छ । यसको वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक पाटो उजागर गर्न जरुरी छ । बलात्कारभित्र सुक्ष्म ढंगले लुकेको जातीय विभेद, दलित विभेद, वर्गीय विभेद इत्यादि उदांगो पार्नु जरुरी छ । समस्या उजागर मात्र नगरी समस्याको समाधान पनि दीर्घकालीन र तत्कालीन गरी खोज्नु जरुरी छ ।

जब नेपाली नागरिक जन्माउने पाठेघर नै बलात्कृत हुन्छ भने देश बलात्कृत हुँदैन भन्ने कुराको के ग्यारेन्टी छ ?

विश्व भूमण्डलीकरण हुँदै गएको परिप्रेक्ष्यमा अब बलात्कार पुरुषद्वारा महिलामाथि मात्र नभएर पुरुषद्वारा पुरुषमाथि, पुरुषद्वारा ससाना बालिका मात्र नभएर बालकमाथि पनि बाल यौन शोषण हुँंदै गएको देखिन्छ । साथै यो घटना तेश्रो लिङ्गीय वीचमा पनि बढ्दै गैरहेको छ । नेपालको सन्दर्भमा यस्ता घटना नघटेका हैनन् तर सबैभन्दा बढी महिला हिंसाको रुपमा भएकोले यसै विषयमा केन्द्रित हुन जरुरी छ ।

वैचारिक प्रश्न

नेपालमा सामन्तवादको नाइके राजतन्त्र त फ्याँकियो तर सामन्तवादको अवशेषहरू धेरै बाँकी छ । सामन्तवादको अवशेषले गर्दा यहाँ महिलालाई परिवार, समाज, समुदाय, नश्लको पवित्रताको प्रतिकको रुपमा लिइएको हुन्छ । पुरुष, परिवार, समाज, समुदाय, नश्ल र वर्गको निरन्तरतालाई जोगाईराख्न बच्चा पाउने साधनको रुपमा लिएको हुन्छ । तसर्थ, महिलालाई लजालु बनाएर लुकाउने र निजी साधनको रुपमा घर गृहस्थिमा सीमित राख्ने गरिन्छ ।

अब नेपाल पुँजीवादको चरणमा पस्दै त छ तर त्यो भन्दा पहिल्यै साम्राज्यवादको उपभोक्तावादले यहाँको सामाजिक संरचनामा परिवर्तन ल्याइरहेको छ । साम्राज्यवादको विस्तारले महिलालाई वस्तुको रुपमा, बिकाउको मालको रुपमा, झिलीमिली, उत्तेजना ल्याउने, महिलाको शरीर झुण्ड्याएर विलासी सामान किन्न लोभ्याउने साधन बनाइरहेको छ । विशेषगरी मदिराको विज्ञापनमा प्रयोग गरिरहेको छ ।

नेपालमा कायम रहँदै आएको सामन्तवाद र साम्राज्यवादको मिश्रणले महिलामाथिको यौन शोषण झन विकराल समस्या बन्दै गइरहेको छ । एउटाले छोप भन्छ, लुक भन्छ, लुकाउ भन्छ, अर्कोले प्रदर्शन गर भन्छ । एउटाले पिछडिएको सामन्ती संस्कारको प्रतीक बन भन्छ, अर्कोले छाडा संस्कृतिको, उपभोक्ता संस्कृतिमा रमाउ भन्छ । एउटाले पवित्रतालाई सुरक्षा गर भन्छ, अर्कोले यौनिक स्वच्छन्दतामा रमाउ भन्छ । बस रुप फरक सार त महिलालाई साधन बनाउने नै हो । तसर्थ यसले बैचारिक क्षेत्रमा नयाँ आयाम, नयाँ परिणाम खोजिरहेको आभाष हुन्न र ?

राजनीतिक प्रश्न

जब राजनीति परिवर्तनकारी मुद्दा केन्द्रित नभएर सत्ताकेन्द्रित हुन्छ तब त्यहाँ सत्ता, शक्ति र सोखको बढी खोजी हुन्छ । अनि मनि, मसलले खोज्छ मदिरा र महिला । सायद यसै कारणले होला सत्ताकेन्द्रित हरेक पार्टीभित्र महिला हिंसा, बलात्कारका कुरा ढाकछोप तथा मेलमिलापमा टुंगिन्छ । सत्ताकेन्द्रित राजनीतिले राज्य र जनताबीच दूरी बढाउँछ । एउटा समुदायबाट अर्को समुदायबीच सम्बन्ध चिस्याउँछ । धनी र गरिबबीच खाडल ल्याउँछ र महिला र पुरुषबीच दूरी ल्याउँछ । यसले पार्टीभित्र सरकारमा र राजनीतिमा एकमनावादी सोच ल्याउँछ । उत्पीडक जाति, वर्ग, लिंगको दम्भ बढाउँछ । यसको स्वभाविक परिणाम उत्पीडित जाति, क्षेत्र, लिंग, वर्ग माथि हिंसा गर्न पुग्दछ । हाल आफुलाई कम्यूनिष्ट भन्न रुचाउने पार्टीको नेतृत्वको सरकार सदनमा दुई तिहाई बहुमतमा छ । तर, यो जघन्य अपराध किन बढिरहेको छ ?

सामाजिक प्रश्न

यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट बलात्कारमा शिकार भइरहेको कुरा गर्दैछौं । यहाँ वयस्क पुरुषद्वारा वयस्क महिलामाथि हुने यौंन हिंसाको कुरा मात्र गरी राखेका छैनौं । यहाँ हामी बुवा, हजुरबुबाको उमेर भइसकेको व्यक्तिले यौवन, यौन र योनि उच्चारणसम्मगर्न नसकेमा नाबालाकमाथि बलात्कार गरेको घटनाको बारेमा बुझ्न खोज्दै छौं । यहाँ हामी नाति उमेरको एक हिंस्रक पुरुषले हजुरआमाको उमेर भएकी महिलामाथि बलात्कार गरेको प्रश्न उजागर गर्न खोज्दै छौं । यहाँ हामी सबल पुरुषहरूबाट अपांगता भएका महिलामाथि पाशविक बलात्कारको कुरा गर्दैछौं । यहाँ हामी बालकहरूबाट बालिकामाथि बलात्कार भैरहेका कुरा गरिरहेका छौँ । आखिरमा यो समाज किन यसरी पतन भएको, निरिह भएको, पाशविक भएको र विवेकहिन बनेको ? सरकारको गलत आर्थिक नीतिले गर्दा यूवा–यूवतीहरू बैदशिक रोजगारमा जान बाध्य छन् । यसले थप परिवारमा बिखण्डन, विचलन ल्याएको छ । यसले देशमा मात्र होइन विदेशमा समेत महिलाहरू बलात्कृत हुन पुगेका छन् ।

आर्थिक प्रश्नः

देशभित्र ग्रामिण अर्थतन्त्र धरासायी बन्दै गएको छ । बढ्दो शहरीकरणले औद्योगिकरण ल्याउनुको सट्टा उपभोग केन्द्रित मात्र बनाएको छ । रोजगारी नपाउँदा युवाहरू विदेशिन बाध्य भएका छन् । यसले एकातिर परिवारको संरचनालाई भत्काइदिएको छ । परिवारभित्र उपभोक्तावादी संस्कृति मौलाइरहेको छ । शहरभित्र पसेमा श्रीमतीहरू उपभोगवादी सँस्कृतिको शिकार बनिरहेका छन् । खाली दिमाग शैतानको घर भने झैँ श्रीमानले पठाएको रेमिट्यान्सले परिवार बनाउनु भन्दा बिगार्नेतिर उन्मुख गराइरहेको छ । बच्चाहरू सानैदेखि मोबाइल र कम्प्युटरमा भिडियो गेममा लिप्त, बयस्क हुँदै गएपछि मदिरा, लागू पदार्थ खानमा लिप्त भैरहेछन् । त्यसमाथि पढेता पनि काम नपाउँदा तिनीहरू हिंस्रक बन्न बेर हुन्न ।

जब बलात्कारको घटना हुन्छ तब विचौलियाहरू मेलमिलापको नाममा बीचमा बसी दुवैबाट पैसा खान्छन् । यसरी पठाएको रेमिट्यान्सले उत्पादन क्षेत्र पाउँदैन, लगानी गर्न पाउँदैन । तब त्यही पैसा विलासितामा खर्च हुन जान्छ । जुवातास, रक्सी, लागू पदार्थ, यौन उत्तेजक संस्कृति आदिमा । बेरोजगारले हिनताबोध जन्माउँछ । आत्मसम्मान गुम्न पुग्छ र आक्रोस निम्त्याउँछ । रक्सी, मदिरा, लागू पदार्थ, अश्लिल फिल्म, गीतनाँचले मान्छेलाई जनावर बनाइदिन्छ ।

यतिखेर धेरैजसो राजनीतिक पार्टीका नेताहरूले अहिले नेपालको चरण आर्थिका विकासको चरण भनिरहदाँ उत्पादक शक्ति जन्माउने र आफैँ पनि उत्पादन शक्तिको श्रोत महिलाहरू बलात्कृ‘त भइरहेकोछ । महिलाको लिंग पहिचान पश्चात भ्रुण हत्या भइरहेको छ । त्रास र आशका साथ बाल विवाह बढ्दै गैरहेको छ । बढ्दो बेरोजगारीले दाइजो प्रथा बढ्दै विवाह र अनमेल विवाहको साथै घरेलु हिंसा बढ्दै गैरहेको छ । यो कहिले सम्म चल्न दिने ?

सांस्कृतिक पक्ष

भनिन्छ, संस्कृति भनेको त्यो देशको समाजको ऐना हो । सामन्तवाद र साम्राज्यवादको मिश्रणको संस्कृति, ग्रामिणबाट शहरीकरणको उपभोक्ता संस्कृतिले मानिसलाई अर्ध सामन्तवाद र अर्ध साम्राज्यवाद, आधा ग्रामिण, आधा शहरिया बनाएको छ । रेमिट्यान्सको पैसा जब उत्पादनमूलक काममा जान दिइन्न, त्यही पैसा विलासी, उपभोक्तावादी, फजूल खर्चमा जान्छ । अश्लिल मनोरञ्जनमा जान्छ । अनि सबै पक्ष फोहोर हुँदै जाने क्रममा साँस्कृतिक पक्षमात्र कहाँ चोखो हुन्छ र ? अनि महिला पनि अश्लिल हुँदै गएकोमा महिलालाई मात्र दोष दिएर पुग्दैन ।

मनोवैज्ञानिक प्रश्न

जब देशको नेतृत्व गर्नेहरूमा बैचारिक प्रश्न प्रष्ट हुन्नm र।जनीतिक क्षेत्र सत्ता केन्द्रित हुन्छ जब देशको अर्थतन्त्र बिग्रन्छ, त्यसले समाज र सँस्कृतिलाई पनि दिशाहिन गराइदिन्छ । यसले अन्ततः मनोविज्ञानलाई असर गर्दछ । बलात्कारमा हुने अस्वभाविक कृयाकलाप, हिंसा त्यसको परिणाम हो । यसले गर्दा नै अत्यासलाग्दो बलात्कारका घटना सुन्नमा आउँछ । यस्तो अवस्थामा बलात्कार सिधै यौन तृप्तिको कारण मात्र नभएर हिनताबोध, भय र मानसिक रोेगको अप्रत्यक्ष अभिव्यक्ति हुनजान्छ । यसले बलात्कारको रुपलाई नै अझ अस्वभाविक, संवेदनहिन र क्रुर बनाउँछ । यसरी जब आधा आकाश थाम्ने महिलाहरू त्रसित मनोबैज्ञानिकको शिकार हुन्छन्, तब आधा धर्ती ओगटेका पुरुषहरू कसरी शान्तरुपमा बस्न सक्छन् र ?

समाधान

माथिका सबै विश्लेषणहरूले के भन्छन् भने जघन्य बलात्कार त लक्षणमात्र हो । गहिरिएर हे¥यौँ भने यो मुलुक असफलतातिर लम्किदै छ । यहाँ शासकिय प्रणालीले स्थायीत्व लिदैन, विधिको शासन छैन । दण्डहिनता छ राम्रो गर्नेले पुरस्कार पाउँदैन । यसो हेर्दा सबै चिज छ, तर सबै चिज छैन । राज्यको विभिन्न निकायविच समन्वय छैन । कति स्थानमा ओभरल्यापिङ छ । सरकारी संयन्त्र झन कमजोर हुँदै गएको छ । तसर्थ यो रोगको उपाय दीर्घकालीन र तत्कालीन रुपमा खोजी गर्नु जरुरी छ ।

दिर्घकालीन उपाय

जबसम्म समाजमा पर्याप्त वस्तस र सेवाको उत्पादन र तिनको न्यायपूर्ण वितरण हुन्न तबसम्म हामी स्वतन्त्रताको दुनिँयामा हैन, बाध्यताको दुनियाँमा रहनुपर्ने हुन्छ । अभावले भरिएको जिन्दगीले सधैं सबैतिर कोपर्न बाध्य गराउँछ । साथै समावेशीता बिनाको सम्पन्नताले त्यो दीगो मात्र हुँदैन, त्यसले समाजमा असन्तुलन र अशान्ति ल्याउँछ । तसर्थ, उन्नत समाज र स्वतन्त्रताको दुनियाँमा पुगेर मात्र सत्ताको औचित्य सिद्धिन्छ, त्यसको साथसाथै हिंसाको औचित्य पनि सिद्धिन्छ । त्यो दुनियाँ ल्याउनको लागि वस्तु र सेवाको उत्पादनको घेरा धेरै गुना बढाउनुपर्छ र साथै उत्पादन सम्बन्ध र वितरण प्रणालीलाई अझ समावेशी, समानुपातिक र सहभागितामुलक बनाएर लैजानुुपर्दछ । त्यो एउटा लामो प्रक्रिया हो । साथै तत्काल के के गर्न सकिन्छ त्यो गर्दै जानुपर्दछ ।

तत्कालीन उपाय

नेपालमा संविधानसभाबाट संविधान बनेको छ । यद्यपि, यो संविधान अपूर्ण छ । कतै त्रुटिपूर्ण पनि होला । तर यो संविधान जनताले बनाएको संविधान हो । यो संविधानमा गणतन्त्र, लोकतनत्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता र समानुपातिकतालाई स्वीकारिएको छ । तर, अझै यसलाई कार्यान्वयन गर्ने चुनौती छ । यसको लागि राज्यको संरचना दिगो र बलियो हुनुपर्दछ । विधिको शासन हुनुपर्दछ । दण्डहिनताको अन्त्य हुनुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारलाई संविधानमा मौलिक हकमा राखिएको छ । यो कार्यान्वयन हुनुपर्दछ । यो कार्यान्वयन भयो भने आधाभन्दा बढी समस्या समाधान हुन्छ ।

संविधानको मर्मको कार्यान्वयन पक्ष अब सरकारमा मात्र होइन, हरेक पार्टीभित्र कार्यान्वयन हुनुपर्छ । अनि त्यसभित्र महिलाको आवाज सँगसगै उत्पीडित वर्ग, जाति, क्षेत्र, दलित आदिको आवाज सुन्ने वातावरण तयार हुनुपर्छ । पार्टीभित्र तिनीहरूको स्थान संविधानमा लेखेको आधारमा कमसेकम कार्यान्वयन हुनुपर्दछ ।

तत्काल सरकारले जघन्य बलात्कारका दोषीहरूलाई कडा दण्ड दिनुपर्छ । जहाँसम्म सरकारको कुरा छ, बलात्कार जस्ता जघन्य अपराध रोक्नको लागि नियम विनियम, ऐन बनाउने तयारीमा भएको देखिन्छ तर अत्यन्तै सुस्त छ । त्यस्तै महिला आयोग अब अधिकार सम्पन्न बनेको छ तर यो हालसम्म नेतृत्वविहिन भएर बसेको छ । सर्वोच्च अदालतमा गतवर्षमात्र बलात्कारका ३१७ मुद्दा मध्ये ३९ को मात्र फैसला भएको छ । यसर्थ, यसकोे लागि पहिलेदेखि माग हुँदै आएको र सर्वोच्चको बेञ्चले समेत परमादेश दिएको परिवार अदालत, फास्ट ट्र्याक अदालत जस्ता संयन्त्रको छिटो गठन गर्दै कार्यान्वयन गरिनुपर्छ । संविधानको मौलिक हकको प्रावधानलाई पालन गर्नेतिर सबैले जोड दिनुपर्छ । अनि मात्र नयाँ नेपालको कल्पना गर्न सकिन्छ । नयाँ महिला÷पुरुष सम्बन्ध स्थापित गर्न सकिन्छ । अनि समावेशी नेपाल सोच्न सकिन्छ । त्यसनिम्ति महिला र उत्पीडित समूहहरूले निरन्तर आवाज उठाइरहनुपर्छ । दबाब दिइरहनुपर्छ । संघर्ष गरिरहनुपर्छ ।

(संयुक्त महिला संघर्ष समितिले आज काठमाडौंमा आयोजना गरेको बलात्कार विरुद्धको अन्तरक्रिया कार्यक्रममा हिसिला यमीले प्रस्तुत गर्नुभएको कार्यपत्र जस्ताको तस्तै)

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: