बलात्कारी अछुत हो


प्रकाशित मिति :2018-08-08 13:23:07

–गायत्री खतिवडा–

‘दाईलाई म आफूलाई भन्दा धेरै माया गर्थें । मेरो भाग काटेर खानेकुरा दिन्थें । त्यसले यस्तो गर्छ भन्ने थाहा पाएकी भए पहिले नै खानेकुरामा विष हालिदिएर मार्थें होला ।

त्यसले मसँग गरेको व्यवहार सम्झिँदा त्यसलाई काट्न मन लाग्छ । मैले पाँच महिनासम्म त सहेर बसें । अति भएपछि म आफै भागेर पुलिसमा गएको हो’ आफ्नै दाइबाट यौन हिंसाको शिकार भएकी १४ वर्षीया किशोरीको आक्रोस हो यो ।

धादिङ जिल्लामा हरेक वर्ष यी र यस्तै घटना ३० देखि ३५ को हाराहारीमा बाहिर आउँछन् । उजुरीमा आउनै नसकेको त अभिलेख नै हुने भएन । उजुरी गरेका मध्ये पनि अधिकांश प्रभावितहरू घरपरिवारबाट विस्थापित छन् ।

कति प्रभावितले त परिवार समेत गाउँ निकाला र बहिष्कारमा पर्नुपर्छ भनेर घटना बाहिर ल्याउन सकेका छैनन् । सामाजिक बहिष्कारको डरले कति प्रभावितका आफन्तले घटना बाहिर ल्याउन नै चाहँदैनन् ।

बलात्कार प्रभावित बालिकाकी आमा यसो भन्छिन्

मेरो चार वर्षकी छोरीलाई तीन जना दाइ नाता पर्ने केटाहरू ले जबरजस्ती करणी गरेछन्् । त्यसपछि मेरो छोरी बिरामी परिन् । काठमाडौ टिचिङ अस्पताल लगेर उपचार गराएँ ।

छोरीको योनी च्यातिएर पाठेघरसम्म असर पुगेको छ रे । घटना भए यता छोरीको पिसाब नरोकिने समस्या देखिएको छ । हिँड्दा पनि खुट्टा खोच्याउँछिन् ।

मेरो यही एउटी छोरी हो । छोरीमाथि भएको घटनाको बारेमा उजुरी गरेमा गाउँ निकाला गर्छौं भनेका छन्, छिमेकीहरू ले । त्यसैले उजुरी गर्न सकिन ।  हाम्रो परिवार गरिब छ । जग्गा जमिन धेरै छैन । ज्यालादारी गरेर जीविका चलाउछौं । छोरीको बारेमा उजुरी गरिस् भने तेरो श्रीमानलाई काम दिँदैनौ भनेका छन् ।

मैले उजुर गरेर के पाउँछु ? मेरी छोरीले के पाउँछे ?

बलात्कृत बालिकाकी आमाको भनाइबाट पनि बुझ्न सकिन्छ कि बलात्कार प्रभावित र उनको परिवारले कुन परिस्थितिको सामना गरिरहनु परेको छ भन्ने ।

हामीलाई सानैदेखि नचिनेको मान्छेदेखि सावधान हुन सिकाइयो । तर आफ्नाहरू देखि होसियार रहन सिकाइएन । म सानो हुँदा आमाले भन्नुहुन्थ्यो ‘नचिनेको मान्छेसँग नबोल्नु र नचिनेको मान्छेले दिएको नखानु ।’ म पनि यस्तै सोच्थें ।

अहिले सोच्छु मेरी आमाले किन मलाई आफ्नै भनिएकाहरू सँग सावधान रहन सिकाउनुभएन ? मलाई उहाँले कहिल्यै भन्नुभएन ‘तिमी आफ्ना भनिएकाहरू सँंग पनि सावधान रहनु । आफ्ना भनिएकाहरू ले तिम्रो इच्छा विरुद्धको व्यवहार गरेमा चिच्याउनु, कराउनु, नाइँ भन्नु र अभिभावकलाई जानकारी दिनु ।’

मलाई मात्र होइन कुनै पनि आमाहरू ले आफ्ना छोरीहरू लाई ‘नचिनेको मान्छेसँग मात्रै होइन आफ्नाहरू देखि पनि सजग रहनु र मन नपरेको व्यवहार गरेमा नाइँ भन्नु’ भनेर सिकाएकै छैनन् ।

त्यसैले त आफ्नै बाबु, दाइ, मामा, हजुरबा, काका जस्ता नजिकका नाताका व्यक्तिहरू ले बलात्कार गर्नेको संख्या धेरै रहेको छ । यस्ता नजिकका आफन्तहरू ले गर्ने बलात्कारको घटना निकै लामो समय पछि मात्र बाहिर आउने गरेको छ । कति घटना बाहिर आउनै सक्दैन । प्रभावित बालिका र किशोरीले भन्नै सक्दैनन् ।

‘अरुलाई जन्मदिने बुबाले ज्ञान दिन्छन् । नराम्रो कुराहरू सँग लड्ने साहस र शक्ति दिन्छन् । तर मेरो बुबाले मेरो अस्तित्व लुटे । मलाई जन्म दिए र ज्यूँदै मारे ।’ आफ्नै बाबुबाट बलात्कृत १४ वर्षकी किशोरीको पीडा हो यो ।

आखाँभरि आँशु पार्दै उनले भनेकी थिईन्, ‘म फलानाको छोरी भनेर समाजमा कसरी बाँच्ने ? मलाई त्यो मान्छेसँग नाम जोड्न मन छैन । म र मेरी आमालाई दिएको यातनाको हिसाब छैन । चार महिनासम्म सहें । अब त अति भयो । सहन सकिनँ ।’

बलात्कारका घटना हिजोआज हेर्दा सामान्य झैं लाग्न थालेजस्तो लाग्छ । सञ्चारमाध्यमको पनि कम मात्रै प्राथमिकमतामा पर्ने गरेको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पनि पाँचौ, छैठौं नम्बरको समाचार बन्छ । पत्रिकाको भित्री पेजको कुनोतिर सानो कोलममा सामाचार छापिन्छ । रेडियो र टेलिभिजनको अन्तिमतिर दुई हरफका समाचार बन्छ ।

विभिन्न समयमा बलात्कृत भएका २० जना प्रभावितलाई घटना भएको कति समयपछि भन्न सक्नुभयो ? भनेर सोधेकी थिएँ । उनीहरू ले जवाफमा चाँडोमा एक महिनादेखि एक वर्ष कटिसकेपछि मात्र भन्न सकेको बताएका थिए ।

साथै पीडकसँगको नाता पनि सोधिएकोमा २० जना मध्ये ३ जनाले मात्र नचिनेको मान्छे भएको बताएका थिए । यी घटनामा आफ्नै परिवारका सदस्यले गर्ने अधिकांश यौन हिंसामा लामो समयसम्म पनि अरुसँग भन्न नसकेर उजुरीमा जान नपाएको देखिन्छ । किनकी बलात्कारको उजुरी गर्ने हदम्याद ६ महिनासम्म मात्रै छ ।

बलात्कारका घटना हिजोआज हेर्दा सामान्य झैं लाग्न थालेजस्तो लाग्छ । सञ्चारमाध्यमको पनि कम मात्रै प्राथमिकमतामा पर्ने गरेको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पनि पाँचौ, छैठौं नम्बरको समाचार बन्छ । पत्रिकाको भित्री पेजको कुनोतिर सानो कोलममा सामाचार छापिन्छ । रेडियो र टेलिभिजनको अन्तिमतिर दुई हरफका समाचार बन्छ ।

अनि अर्को पाटो, बलात्कृत भएपछि उ र उनका परिवार लज्जित हुनुपर्ने अवस्था छ अहिले । कि त चुपचाप बस्यो । बाहिर आइहाले बलात्कृत जसको कुनै कसुर छैन उनै समाजबाट अघोषित बहिस्कृत हुनुपर्ने अवस्था छ ।

एक जोर स्तन, एक योनी र संसार सृजना गर्न पाठेघर लिएर जन्मिएका हरेक स्त्री जाति केवल भोग्ने साधन हुन् भन्ने सोच अधिकांश (अपवाद बाहेक) पुरुषको छ । उनीहरू को सोचमा परिवर्तन नहुँदासम्म बलात्कारका घटना भइरहनेछन् ।

‘म मर्द हुँ, स्त्री मेरो मनोरञ्जनको साधन हो । मेरो इच्छा अनुसार भोग्ने साधन हो’ भन्ने पुरुष वर्गको सोच नबद्लिएसम्म बलात्कार भइरहने छ । त्यतिमात्रै होइन बलात्कारी र तीनका परिवारसमेत समाजबाट बहिस्कृत हुने दिन जबसम्म आउँदैन तबसम्म यो समस्या घट्दैन । अब बलात्कृत छोरी होइन, बलात्कृत छोरालाई समाजबाट बहिस्कार गर्नुपर्छ ।

हामी कथित जात विशेषलाई अछुत भन्छौं । विज्ञानको यो दुनियामा पनि जातका आधारमा मान्छेमाथि व्यवहार गछौं । दलितले बनाएको मन्दिरमा उसैलाई प्रवेश गर्न दिन्नौं । छोरी दिन्नौं । बुहारी भित्र्याउँदैनौं । उसले छोएको पानी चलाउँदैनौं । धारामा रोक लगाउँछौं । तर हाम्रा नाबालक छोरीलाई जबरजस्ती गर्ने नरपिचासले छोएको ठाउँ र पानी चाहिँ कि बिटुलो हुन्न ?

हो, अब समाजमा तिनै व्यक्ति अछुत बनाइनु पर्छ, जसले एउटा मान्छेको जीवन नरक बनाइदिएको छ । अबोध बालिका र महिलालाई बलात्कार गरेका छ । बलात्कारपछि निर्मम तरिकाले हत्या गरेको छ ।

बलात्कारीले छोएको पानी नचलाऔं । उसलाई चाडपर्वमा बहिस्कार गरौं । उसले बलात्कार गरेकी छोरी होइन, उसैलाई बिटुलो बनाउँ । विवाहको लागि छोरी नदिउँ । अनि परिणाम हेरौं छोरी सुरक्षित बनाउने यो एउटा विकल्प बन्न सक्छ कि ?[email protected]

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: