कुवेतको रहरले दिल्ली…


प्रकाशित मिति :2018-08-06 16:04:08

–सन्दिप विक–

ललितपुर । मेरो घर मोरङको बेलवारी हो । अहिले २४ वर्ष पुगेँ । १६ वर्षको उमेरमा भोजपुरबाट मेरो विवाह भयो । चाँडै विवाह भएका कारण ६ कक्षा भन्दा बढी पढ्न पाइन् । हाम्रो मूल पेसा खेती किसानी हो ।

म १७ वर्षकी छँदा मागी विवाह भो । उहाँ र मबिच १० वर्षको फरक छ । अहिले ८ वर्षको छोरा छ । छोरा १४ महिनाको हुँदा उहाँ विदेश जानु भयो । २ वर्ष बसेर फर्कनुभयो । फेरि २ वर्ष घरमै बिताउनुभयो । अहिले फेरि उहाँ विदेशमै हुनुहुन्छ ।

विदेशको सोच

मेरो घरको आर्थिक अवस्था कमजोर छ । श्रीमानको खासै राम्रो कमाइ छैन । घर पनि बनाउन सकिएको छैन । अहिले अर्काको घरमा बस्छौ । ऋण कर्जा गरेर छोरालाई बोर्डिङमा पढाएका छाै‌ । अहिले २ मा पढ्छ । महिनाको १६-१७ सय फि मात्र लाग्छ । अरु खर्च बढी छ ।

तीन महिना अघिदेखि श्रीमानसँग फोनमा झगडा परिरहेको थियो । उहाँले पैसा पठाउन छोड्नुभयो । घरका अरु सदस्यलाई नै पैंसा पठाउन थाल्नु भो । मसँग भने बोलचाल, व्यवहार सबै बन्द । घर मैले चलाउनुपर्ने, हातमा एक सुको नहुँदा समस्या हुन थाल्यो । अनि मैले पनि विदेश गएर पैसा कमाउने सोच बनाए । र विदेश जानका लागि सरसल्लाह गर्न थाले ।

दलालसँग भेट

भोजपुरकै एउटा दिदीसँग फेसबुकमा कुरा भइराख्थो । उहाँ कुवेतमा हुनुहुन्थ्यो । उहाँलाई मेरो घरको दुःख बताएको थिए । उहाँले पनि कुवेत आउन त भन्नुभयो ।

विदेश पठाउने एजेन्टको नम्बर दिनुभो । एजेन्टको घर चितवन रहेछ । काठमाडौं बस्छु भन्थे । पासपोर्ट लिन एजेन्ट नै इटहरी आउनुभएको थियो । उहाँलाई पासपोर्ट दिए । कुवेतमा घरको काम गर्नुपर्छ । नेपाली मासिक ३०÷३५ हजार रुपैयाँ कमाई हुन्छ भनेपछि म विदेश जान राजी भए ।

काठमाडौंबाट बस चढियो

काठमाडौंमा आउँदा हेटौँडाबाट आएकी एक दिदीसँग भेट भयो । उहाँ पनि विदेश जान लाग्नु भएको रहिछ । एजेन्टसहित हामी दुई जना नयाँ दिल्लीको लागि बस चढ्यौ । मैले कत्ति पनि पैसा तिरेको थिइन् ।

एजेन्टले बाटोमै हामीलाई कसैले सोध्यो भने ‘उहाँ दाई हो । घुम्नका लागि जान लागेको हो भन्नु’ भन्नुभयो । हामीले त्यसै भन्यौ । हामी दिल्ली पुग्यौं । हामीलाई त्यहाँ छोडेर हाम्रो एजेन्ट नेपाल फर्किए । त्यहाँ अर्को एजेन्ट थियो, लोप्सन तामाङ भन्ने । उसैले एरपोर्टमा सेटिङ मिलाउने काम गर्दो रहेछ ।

दिल्लीमा एक हप्ता एक महिना

हामीलाई नयाँ दिल्लीस्थित मुनिर्काको दुई÷तीन तलाको घरमा कोठामा राखिएको थियो । त्यो एजेन्टले भाडामा लिएको कोठा थियो । हामी जानुभन्दा पहिले पनि अन्य महिलाहरू त्यहाँ थिए ।

एजेन्टले त्यहाँ खाना पकाउने, सामान ल्याउने दुई कर्मचारी राखेको थियो । खानाको व्यवस्था उनीहरूले नै गर्थे ।
दिल्लीमा हामी एक महिना, एक हप्ता बस्यौ । आज काम हुन्छ । भोली हुन्छ भन्थ्यो । काम नभए नेपाल फर्काइदेउ भन्दा पनि मान्दैनथ्यो ।

त्यहाँ बसिरहेका मध्ये हामी भन्दा अघि ५ जना महिला कुवेतको लागि उडि सकेका थिए । मलाई लग्ने एजेन्टका त्यसमा दुई जना परिसकेका थिए ।
म र अर्को एउटा दिदीको पालो आयोे । तर दिल्ली एरपोर्टमा एम्बेसीको डकुमेन्ट नक्कली भनेर फर्काइदियो । पासपोर्ट त्यहिँ राख्यो । पार्सपोर्ट माग्दा २०-२२ दिन पछि आउनु भन्यो । हामीले एजेन्टलाई भन्यौ । उसले हामीलाई लिन गाडी पठायो । फेरि हामी त्यही कोठामा फर्कियौं ।

साउन ८ गते

त्यो दिन हामीले खाना ढिलो खाएका थियौ । १२-१ बजेसम्म सुतेका थिएनौं । एक जना काम गर्ने केटा नेपाल फर्किसकेकाले एजेन्ट लोप्सन र एउटा कामदार केटा मात्रै थिए ।

राती उनीहरूले मुखमा मेहेन्दी लगाए । किन लगाउनुभयो भनेर सोध्दा मुखको पिम्पल हटाउन भनेका थिए । उनीहरू दिल्ली महिला आयोग, दिल्ली पुलिस र के आई नेपालका प्रतिनिधी आउनुभन्दा २० मिनेट अगाडी भागिसकेका थिए ।

उहाँहरू आउँदा मैले सबै कुरा भने । तर साथीहरूले घुम्न आएको भन्छौं भन्ने सोच बनाएका थिए । उनीहरू विदेश जान चाहान्थे । मैले सबै कुरा भनेकै कारण उनीहरूले मेरै कारण नेपाल फर्कनु परेको भन्ने सोच परेको छ । म पहिलो चोटी विदेश जान लागेको थिए । तर त्यहाँ विदेश गएर फर्केका र दोस्रो, तेस्रो पटक जान लागेका महिलाहरू पनि थिए ।

९ गते विहान साढे एक बजे म लगायत १६ जनाको टिमलाई उद्धार गरियो । हामीलाई गलत तरिकाले विदेश पठाउन लागेको थाहा पाएपछि मुटु झस्कियो । निकै डर लाग्यो । केही गरेर विदेश गएको भए केही दुख पो पाइन्थ्यो कि भन्ने लाग्यो । हामीलाई दिल्ली महिला आयोगको संरक्षण गृहमा राखिएको थियो । केही दिनपछि हामी नेपाल फर्कियौ । अब विदेशको रहर पुग्यो । कोही दिदीबहिनीहरू पनि यसरी दलालको विश्वास नगर्नुहोला । अब केही सीप सिकेर नेपालमै बस्ने सोच बनाएकी छु । हेरौं भाग्यले कता कता डोर्याउँछ ।

६८ महिलाको उद्धार

नयाँदिल्लीबाट गतसाता मात्रै ६८ नेपाली महिलाको उद्धार गरिएको छ । उनीहरू मध्ये एक यी महिला पनि हुन् ।

उनीहरूलाई गैरकानूनी रुपमा अरबका मुलकु पठाउन लागिएको पुष्टि भएको छ ।  उद्धार गरिएका ७१ नेपाली महिला मध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो ।

सो मध्ये १६ जनालाई मंगलबार काठमाडौ ल्याइएको छ भने बाँकी ३६ जनालाई शनिबार साँझ दिल्लीबाट झैरहवा ल्याइएको छ । नेपाल ल्याइएका सबै महिलाहरूलाई आफन्तको जिम्मा लगाइएको छ । बाँकी १६ जनालाई भोली मंगलबार दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नेपाल प्रहरीका अनुसार हरेक वर्ष बेचबिखनको जोखिममा रहेका १६ सयभन्दा बढी नेपाली महिलाहरूको सिमा क्षेत्रबाट उद्धार हुने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: