बलात्कारमाथि सतही बहस


प्रकाशित मिति :2018-08-05 11:37:47

काठमाडौ‌‌ । बलात्कार, बलात्कारपछि हत्याजस्ता समाचार सुनिन्छ, पढिन्छ । घटनालाई सम्बोधन गर भनेर प्रतिक्रिया आउँछन् । कोही कसैको प्रतिक्रिया बाहिर देखिएन भने अनेक थरी टिप्पणी हुन्छन् । कानुन दह्रो भएन भन्ने पीडा व्यक्त गर्छौं । सीमित प्रतिक्रियापछि हामी चुप लाग्छौं ।

डा.रेणु अधिकारी राजभण्डारी

अर्को घटना घट्यो भने प्रतिक्रिया दिन तयार भएर बस्छौं । यो क्रमले केही समयदेखि निरन्तरता पाइराखेको छ । ०७० वैशाखदेखि असारसम्म बलात्कारका १४९ र बलात्कार प्रयासका १४ वटा घटना वोरेक नेपालको रेकर्डमा थियो ।

२०७५ वैशाखदेखि असारसम्म १०१ वटा बलात्कारका घटना रेकर्ड भएका छन् । तीमध्ये ३ जनाको बलात्कारपछि हत्या गरिएको छ भने थप ४ जना सामूहिक बलात्कारमा परेका छन् ।

वोरेकको रेकर्डमा सन् २०१३ मा ३ सय ७५, २०१४ मा ४ सय ४०, २०१५ मा २ सय ५७, २०१६ मा १ सय ८८, २०१७ मा १ सय ६८ र २०१८ मा अहिलेसम्म २ सय ३० वटा बलात्कारका घटना छन् ।

प्रहरीले गत वर्ष सार्वजानिक गरेको तथ्यांकअनुसार हरेक दिन तीन जनाभन्दा बढी महिला बलात्कृत हुने गरेका छन् । धेरै घटना बाहिर आउँदैनन्, प्रहरीकहाँ पनि पुग्दैनन् ।

बलात्कारका घटना सार्वजनिक भएपछि खास गरी महिला अधिकारकर्मीमाथि काम नगरेको, नबोलेको, डलर खाएको जस्ता आरोप लाग्ने गरेका छन् तर यस्ता हिंसाविरुद्ध महिला अधिकारकर्मी चुप भने बसेका छैनन् ।

२०७० सालको त्रासदीपूर्ण घटना बाहिर आएपछि महिला मानव अधिकार रक्षकले राष्ट्रिय अभियान सञ्चालन गरेका थिए । विभिन्न जिल्लाबाट आएका पीडित महिला भद्रकालीमा धर्ना बसे ।

फलस्वरूप बलात्कारविरुद्ध उजुरी गर्ने हदम्याद ३५ दिनबाट ६ महिना भयो । महिला मानव अधिकार रक्षकले फास्ट ट्रयाक कोर्टको माग गर्दै धर्ना दिए ।

वैदेशिक रोजगारीबाट फर्केकी भोजपुरकी युवतीमाथि अध्यागमनका कर्मचारीबाट भएको बलात्कार अनि मुद्दाको ढिलो सुनुवाइजस्ता कुराबाट उद्वेलित हँुदै युवाले ‘अकुपाइ बालुवाटार’ अभियान चलाए ।

कञ्चनपुरकी महिला मानव अधिकार रक्षक लक्ष्मी बोहोराको हत्याबारे छानबिन गर्न माग राख्दै माइतीघर मण्डलामा २५ दिने अनशन चल्यो । कालो पेटीकोट जुलुस निस्कियो । त्यसपछि तत्कालीन संविधानसभाका अध्यक्षले सरकारलाई महिला हिंसाविरुद्ध कानुन बनाउन रुलिङ गरे ।

अहिले घरेलु हिंसाविरुद्ध कानुन छ, बलात्कारविरुद्ध हदम्याद बढेको छ, धेरै जिल्लामा सुरक्षागृह, अस्पतालमा एकद्वार संकट प्रणालीको व्यवस्था भएको छ । महिलाका विशेष घटनालाई संवेदनशील तरिकाले फास्ट ट्रयाक प्रयोग गरेर फैसला पनि भएको छ ।

यति हुँदाहुँदै पनि त्रासदी रोकिएको छैन । न बलात्कारका घटना कम भएका छन्, न त बलात्कृतले न्याय प्राप्त गर्न सहज छ । आखिर यस्तो किन भएको छ, बहस हुनुपर्छ ।

कुनै व्यक्तिमाथि अर्को व्यक्तिले शारीरिक मानसिक, यौनिक वा अन्य कुनै पनि प्रकारको हिंसा कति बेला गर्न सक्छ भन्ने बुझेपछि बलात्कारको त्रासदी किन निरन्तर छ भन्ने जान्न सकिन्छ । त्यसपछि यो त्रासदीको निवारण प्रेस विज्ञप्ति वा फेसबुके भित्ता रंगाइले मात्रै सम्भव छैन, गहिरो प्रतिबद्धता चाहिन्छ भन्नेमा प्रस्ट हुन सकिन्छ ।

हिंसा जहिले पनि शक्ति बढी हुनेले कम हुनेमाथि गर्छ । चाहे त्यो शारीरिक शक्ति होस् वा आर्थिक सामाजिक, महिलामाथि हुने हिंसाको चुरो कारण त्यही हो ।

समाजमा विभिन्न मूल्यमान्यताका आधारमा पुरुषलाई अत्यन्तै शक्तिवान् बनाइएको छ । महिलामाथि हिंसा पुरुषद्वारा धैरै भएको छ । महिला र पुरुषको यौनिकतालाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ ।

महिलाको शरीर अरूको अधीनमा रहनुपर्छ भन्ने मानिन्छ । देश चलाउनेहरूदेखि लिएर घरका मालिक मानिनेको बोली र व्यवहारले त्यसलाई पुष्टि गर्छ ।

धेरै बच्चा महिलामाथि हिंसा हुनु स्वाभाविक हो भन्ने सिक्दै हुर्किएका छन् । कठिन परिस्थितिमा रहेकाहरूले माया भनेकै नियन्त्रण हो कि भनी बुझ्ने स्थिति छ । माया, सही सोच र बाटो देखाउन न अहिलेको शिक्षा सक्षम छ न त समाज । यौन आधारभूत आवश्यकता हो । यौन चाहना जीवन विकासक्रमको कडी हो ।

पश्चिमा मनोविज्ञ अब्राहम मास्लोले मानिसको पहिलो आवश्यकताका रूपमा खाना, नाना, छानाजस्ता कुरालाई राखेका छन् भने दोस्रो आवश्यकतामा यौन । अरू आवश्यकता समाजमा पाउने माया, सम्मान हुन् । मानिसलाई ‘मेरो यो समाजमा मूल्य छ, मैले केही गर्न सक्छु’ भन्ने विश्वास हुनुका साथै आफूले गरेको काममा सन्तुष्ट हुन पाउने वातावरण चाहिन्छ ।

अहिलेको हाम्रो समाज दुइटा स्थितिले निर्देशित छ । पहिलो, शक्तिवान् खासगरी सत्ता (राजकीय सत्ता) मा रहेकाको दम्भ हो । उनीहरूमा मैले जे गरे पनि हुन्छ भन्ने बुझाइ छ ।

दोस्रो, सामाजिक घरको सत्तामा रहेका व्यक्ति (पुरुष र पितृसत्तात्मक संरचनाबाट डोरिने समूह) हुन् जसमा महिलालाई ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता छ ।

यस्तो समाजमा मनिसले न माया पाउन सक्छ न त सही सोच्न । यसबाट महिला–पुरुष सबै पीडित हुन्छन् । त्यस्ता व्यक्ति कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । विभिन्नखाले कुण्ठाबाट ग्रसित हुन पुग्छन् ।

यौनबारे खुलेर कुरा गर्नु, यौनलाई मर्यादित परिधिमा राखेर बुझ्नु, मानवीय यौनिकतालाई उसको व्यक्तित्व विकास, सिर्जनशीलतासँग जोडेर हेर्नुलाई अपराध मानिने समाजमा यौन दुव्र्यवहार, यौन हिंसा हुने गर्छन् ।

मानसिक रूपले स्वस्थ व्यक्ति अर्कालाई पीडा दिएर आफू खुसी हुन सक्दैन । मानसिक रूपमा विक्षिप्त व्यक्तिहरू मात्रै अरूको पीडामा रमाउन सक्छन् । यो विभिन्न अनुसन्धानमा आधारित सत्य हो ।

हाम्रो समाजमा के त्यस्ता तत्त्व छन्, जसले एउटा ठूलो जनसंख्यालाई मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याइरहेका छन् भनेर हेर्नुपर्छ । ८० प्रतिशतभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित छन् । पीडा दिने घरकै सदस्य छन् । बलात्कार घटना बढ्दो छ । बलात्कार गर्ने सबभन्दा बढी घरकै सदस्य र छिमेकी छन् ।

सबभन्दा सुरक्षित ठाउँ घर र आफ्नो समाज हुनुपर्ने हो तर ती ठाउँ सबभन्दा असुरक्षित छन् । यस्तो किन छ रु किन हुँदै छ  ? यिनलाई कसरी माया र सम्मानले भरिएको ठाउँमा परिणत गर्ने  ? अहिले हाम्रो आगाडि सबभन्दा ठूलो चुनौती यही हो ।

मेरो अनुभवमा मानिसलाई मानसिक विक्षिप्तताको स्थितिमा पुर्‍याउने प्रमुख तत्त्व समाजमा स्थापित हानिकारक परम्परागत व्यवहार हुन् ।

जस्तो– महिलाको शरीर पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यताका आधारमा गरिने व्यवहार, महिलाको इज्जत कुमारी हुँदासम्म मात्रै हुन्छ भन्ने बुझाइ, उसलाई दुस्ख दिनुपर्‍यो वा उसको परिवारसग बदला लिनुपर्‍यो भने बलात्कार गरे हुन्छ भन्ने अघोषित मान्यता । यस्ता हानिकारक सोचाइ परिवर्तन हुनुपर्छ । छोरा र छोरीलाई विभेदपूर्ण तरिकाले हुर्काउने, बिहे गर्दा होस् वा अन्य कार्यमा पुरुष ठूलो हुनुपर्छ भन्ने मान्यता बदल्न जरुरी छ ।

सार्वजनिक भएका बलात्कारका घटनामा पीडक प्रायस् गरिब, समाजले विभेदमा पारेको समूहका युवा देखिन्छन् । यसमा दुई कारण हुन सक्छन् (क) विभेदमा रहेको समूहलाई आरोप लगाउन सहज हुन्छ ।

समाजमा गलत काम एउटाले गर्ने तर केही पैसा दिएर अलि कमजोर व्यक्तिलाई जिम्मा लगाउने चलन पनि छ । (ख) मानिस गरिब भएर जन्मँदैन, विभेदित हुँदैन । उसलाई गरिब, विभेदित बनाउने सामाजिक र राष्ट्रिय संरचना हुन्छन् ।

परम्परागत मान्यता हुन्छन् । आफ्नो समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा, चाहेजस्तो काम नपाउँदा, सही हुर्काइ नहुँदा व्यक्तिमा गम्भीर मानसिक असर परेको हुन्छ ।

उनीहरू अनेक कुण्ठा लिएर बाँचिरहेका हुन्छन् । उनीहरू अपराधमा संलग्न हुन पुग्छन् । उनीहरूलाई सामाजिक राजनीतिक संरचनाले नै अपराधी बनाएको हुन्छ । यो स्थिति परिवर्तनको खाँचो छ ।

समाजले दिएको असीमित शक्तिका कारण ‘शक्तिवान्’ भएको समूहले यथार्थ आत्मबोध गर्दै आफू परिवर्तन हुने र अरूमा परिवर्तन ल्याउने अभियान थालनी गर्नुपर्छ ।

समाजमा पाखा लगाइएका समूहलाई अगाडि बढाउनुपर्छ र सारभूत समानताको सिद्धान्तलाई व्यवहारमै पालना गर्नुपर्छ । बच्चाको हुर्काइकै क्रमदेखि परिवर्तनको

अभियान थाल्ने अगुवाइ असीमित शक्ति उपभोग गरिरहेका समूहहरूले गर्नु जरुरी छ । यौन चाहना, यौन दुव्यवहारजस्ता विषयमा समुदाय तहदेखि बहस चलाउने एवं समाजलाई माया र सम्मानका बाटामा डोर्‍याउने अभियान सञ्चालन गर्नसके यो त्रासदीबाट बच्न सकिन्छ कि  ?

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: