मानव बेचविखन रोकथामबारे यसो भन्छन् सरोकारवाला


प्रकाशित मिति :2018-07-30 15:13:08

आज अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस । ‘बालबालिका तथा युवा बेचविखनलाई जवाफ दिनु’ भन्ने मूल नाराका साथ विश्वभर मनाईंदैछ । नेपाल मानव बेचविखनको उच्च जोखिममा रहेको देश हो । प्रहरीकै पछिल्लो तथ्याङ्कले पनि मानव बेचविखनको क्रम बढ्दो अवस्थामा रहेको देखिन्छ । नेपालमा मानव बेचविखन रोक्न के गर्नुपर्ला ? यहि विषयमा महिला खबरले विभिन्न सराेकारवाला व्यक्तिहरुको धारणा लिएका छौं  :

बेचविखन रोक्न थप कानून बनाउने तयारी

थममाया थापा
मन्त्री, महिला, बालबालिका तथा जेष्ठ नागरिक

मानव बेचविखन मानव समाजकै लागि एउटा कलंक हो । सरकारको उद्देश्य यहाँका नागरिक विभिन्न कारणले त्यस्तो खालको फन्दामा पर्ने स्थितिको सामना गर्न नपरोस भन्ने हो । राज्यले यस बारेमा सचेत गर्ने काम गरिरहेको छ । देशमा रोजगारीको समस्याले गर्दा वैदेशिक रोजगारीमा जाँदा नै महिलाले यस्ता खालका समस्या भोगिरहेका छन् ।

अमेरिका युरोपतिर जानलाई मान्छे त्यत्ति कै हाम फाल्छन् । अरब देशमा जाँदा पनि म्यानपावरबाट जाँदा उचित खालको पारिश्रमिक नपाउने विभिन्न खालको काममा लाग्नु पर्ने बाध्यता पनि छ । नबुझेरै विदेश जाँदा पनि महिलाले यस्ता समस्या भोग्छन् ।

सरकारले वैदेशिक रोजगारमा जाँदा गलत धन्दामा पठाउनेलाई पनि कारबाही गर्ने काम पनि गरिरहेको छ ।

अहिले भारतको दिल्लीमा गएर विभिन्न देशमा जान पासपोर्ट बनाउने काम भइरहेको छ । यसलाई रोक्नका लागि त्यो देशसँग पनि हामीले कुरा गरिरहेका छौँ । त्यहाँको सरकारले पनि यसको काम गर्न त दिँदैन तर त्यहाँ पनि नेपालका जस्तै दललाहरु सक्रिय भएका हुने भएकाले समस्या भएको हो ।

यस्ता खालका समस्या समाधान गर्न, दलालहरुलाई कानूनी दायरामा ल्याउने काममा सरकारले आवाज उठाइरहेको छ । सरकारले ध्यान दिएको छ, लागि परेको छ । अब यसलाई रोक्न कानून बनाउन आवश्यक छ । र, सरकारले कडा खालको कानून बनाउने तयारी पनि गरिरहेको छ ।

‘पीडितले नै दलालको संरक्षण गर्छन्’

शैलेश थापा
प्रवक्ता, नेपाल प्रहरी

पाँच वर्षयताको तथ्याङ्क हेर्ने हो भने मानव बेचविखनको अवस्था बढ्दै गएको छ । आर्थिक वर्ष २०६९/०७० मा १ सय ४४, आव २०७०/०७१ मा १ सय ८५, आव २०७१/०७२ मा १ सय ८१, आव २०७२/०७३ मा २ सय १२, २०७३/०७४ मा २ सय २७ मानव बेचविखनका मुद्धा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा मात्रै २ सय ६८ वटा मानव बेचविखनका मुद्धा दर्ता भए । यो तथ्याङ्क विश्लेषण गर्दा पनि थाहा हुन्छ, मानव बेचविखन बढ्दो छ । हाम्रो अभिलेख अनुसार नेपालमा झण्डै ८० प्रतिशत महिला तथा बालबालिका यसबाट पीडित छन् ।

बेचखिनको संख्या बृद्धि हुनुमा थुप्रै कारण हुनसक्छन् । पहिले जीउ मास्नेबेच्ने अन्र्तगत यस्ता समस्यालाई सम्बोधन गरिन्थ्यो । त्यो बेलामा मानव बेचविखन अपराधको दायरा नै साँघुरो थियो ।

अहिले २०६४ सालमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन बनिसकेपछि यसको दायरा नै ठुलो भयो । यौन शोषण, श्रम शोषण, मानवअंग प्रत्यारोपण पनि गैरकानुनी तरिकाले गरेको छ भने यस्ता कार्यलाई मानव बेचविखन अन्र्तगत राखेकाले पनि संख्यामा बृद्धि भएको हो ।

अर्को कारण, पहिले भारतमा मात्रै यो बेचविखन कार्य सीमित थियो भने अहिले विभिन्न देशमा नेपाली चेली पुग्ने गरेकाले अहिले यो समस्या अन्तर्राष्ट्रियकरण बनेको छ । यसले पनि यो समस्या निकै बढेको देखिन्छ ।

यस्तै नेपाल प्रहरीले सीमा नाकाबाट पनि महिला तथा बालबालिकालाई उद्धार गरिरहेको छ । आथिक वर्ष २०७०/७१ मा १ हजार ३ सय ८९, आर्थिक वर्ष २०७१/०७२ मा १ हजार ६ सय ७३ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।

आर्थिक वर्ष आव २०७३/०७४ मा १ हजार ६ सय ३० र आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ७७ महिला तथा बालबालिकाको नेपाल प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ ।

नेपाल प्रहरीले यसको नियन्त्रणका लागि कतिपय सीमा नाकामा डेस्कको व्यवस्था गरेर काम गरिरहेको छ भने कतिपय सीमा नाका चेक प्वाइन्ट स्थापना गरिे काम गरिराखेको छ । कतिपय सीमा नाकामा प्रहरीसँग हातेमाले गरी गैरसरकारी संघ संस्थामा र अन्तर्राष्ट्रिय सस्थासँग मिलेर पनि काम गरिरहका छौँ ।

अनुसन्धान आफैमा जटिल विषय हो । मानव बेचविखनको कुरामा अझै समस्या छ । दलालहरुले महिला तथा बालबालिकालाई फकाई फुल्याई ठिक्क पारेका हुन्छन् ।

उनीहरुलाई सोधपुछ गर्दा पनि केहि कुरा भन्दैनन् कतिपय अवस्थामा पीडत र अभियुक्तलाई सँगै पक्राउ गर्छौं । अभियुक्तलाई थुनामा लैजाने बेला स्वयं पीडितले नै बिरोध गर्छन् । यसले गर्दा पनि समस्या भएको छ ।

कहिलेकाँही पीडीत विदेशमा हुन्छन् उनीहरुलाई तत्काल उद्धार गर्न प्रक्रियागत कठिनाइ हुने भएकाले उद्धार तत्काल हुन नसक्ने र अदालतमा तत्काल उपस्थित गराउन नसक्ने भएकाले मुद्धा फितलो हुने गर्छ, समस्या हुन्छ ।

कतिपय मानव बेचविखनमा स्वयं उनीहरुकैै परिवारका सदस्य पनि यसमा सामेल हुने भएकाले वैदेशिक रोजगारको सम्बन्धमा मुद्धा दर्ता गर्नुभन्दा पनि वैदेशिक रोजगार विभागमा गएर क्षतीपूर्ति प्रप्त गर्ने र त्यसैमा सन्तुष्ट हुने भएकाले पनि प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको हो ।

अनुसन्धानमा यस्ता धेरै समस्या भएपनि नेपाल प्रहरी आफ्नो दायित्व प्रति प्रतिबद्धताका साथ लागिरहेको छ ।

हामीले यो वर्षदेखि मानव बेचविखनलाई नै हेर्ने गरि मानव बेचविखन नियन्त्रण ब्यूरो भन्ने एउटा छुट्टै विशिष्ट संरचना स्थापना गर्न गइराखेका छौं । यसले बेचविखनलाई मात्रै हेर्ने भएकाले पनि केही सघाउ पुग्ने हामीले आशा गरेका छौं ।

कानूनमै समस्या छ

निशा बानियाँ, अधिवक्ता
मानव बेचविखन सम्बन्धी कानून नै प्रष्ट छैन । कानूनमा दुइवटा व्यवस्था छ । एउटा मानव बेचविखन तथा ओसारपसार ऐनले गरेको व्यावस्था अर्को चाँहि वैदेशिक रोजगार ऐन २०६४ ले गरेको व्यवस्था ।

यसको लागि प्रक्रिया पनि छुट्टाछुट्टै छ । अब वैदेशिक रोजगार ऐनले अनुमति नलिइकन कसैले विदेशमा पठाएको अवस्थामा ७ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

भने मानव बेचविखन तथा ओसारपसारमा २० वर्ष कैद सजाए तोकेको छ । यसले गर्दा मानव बेचविखनको मुद्धा पनि वैदेशिक रोजगारमा रिफर गरिएको पाइन्छ ।

दुई कानूनमा अझै स्पष्टता हुन आवश्यक छ । राम्रो अनुसन्धान गरियो भने कानुनमा खासै बाधा त छैन तर अनुसन्धान नै फितलो छ भने यसमा निकै समस्या हुन्छ । अहिलेसम्मको अवस्था हेर्ने हो भने अनुसन्धानमै स्पष्टता भएको देखिँदैन ।

वैदेशिक रोजगारीमा गएर वेचविखनमा परिएका मुद्धाहरु पछिल्लो समयमा बढी आउने गर्दछन् । अदालतमा जाँदा वैदेशिक रोजगारी भन्ने र वैदेशिकमा रोजगारी विभागमा जाँदा मानव बेचविखन भन्ने कारणले गर्दा पनि मुद्धा दर्ता नहुने अवस्थामा पुग्छन् ।

कानूनमा मानव बेचविखन भनेको कसैको इच्छा विपरित अथवा ललाईफकाई कुनै एकठाउँबाट अर्को ठाउँमा लैजाने अथवा कामको प्रलोभन देखाई झुक्याई छक्याई बेचविखन गर्ने उद्देश्यले आफुले आय आर्जन गर्ने उदेश्य भनेको यौन व्यावसायमा लगाउने अंगहरु झिकी दिने यस्ता कुनैपनि गतिविधि गर्यो भने यसलाई मानव केचविखन भएको मान्ने मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐनले व्यवस्था गरेको छ ।

वैदेशिक रोजगर ऐनमा चाँही वैदेशिक रोजगार विभागबाट इजाजत नलिइकन कसैले कामदारको रुपमा पठाउँछ भने त्यसलाई पनि कैद सजाय हुन्छ भन्ने व्यवस्था गरिएको छ ।

कामको प्रलोभन देखाई एकठाउँबाट अर्को ठाउँमा लैजाने समस्या वैदेशिक रोजगारमा पनि निकै देखिएको छ । यसले गर्दा कानूनमै समस्या देखिन्छ ।

कानूनमा भएको कुरालाई परिमार्जन गर्न निकै आवश्यक छ । सबैभन्दा पहिले कस्तोलाई मानव बेचविखन भन्ने कस्तो मुद्धालाई वैदेशिक रोजगार भन्ने यि दुबै कुराको स्पष्ट हुन आवश्यक छ ।

कानून कार्यन्वयनमा पनि धेरै समस्या छ । बेचविखन हो कि वैदेशिक रोजगार हो । भन्ने कुरा नै छुट्याउन समस्या हुँदा यसको कार्यन्वयन कसरी सजिलो हुन्छ । कानून भएर मात्र हुँदैन यसको कार्यन्वयन पनि हुनुपर्छ कतिपय मुद्धा पैसाको लेनदेनमा पनि टुंगिन्छ ।

सबैभन्दा पहिले कानून स्पष्ट हुनुपर्यो त्यसपछि अनुसन्धानकर्मीले पनि राम्रोसँग अनुसन्धान गर्नुपर्यो । त्यसपछि यसको कार्यन्वयन हुनु पर्यो ।

बेचविखनको मुख्य कारण खुला सीमा

इन्द्रराज भट्टराई
कार्यक्रम निर्देशक, केआइ नेपाल

मान्छे बेचिने क्रम अझै छ । पहिलेको भन्दा धेरै । यसका पछाडि थुप्रै कारणहरु पनि छन् । खुला सीमाना, दलालहरूको बलियो जालो, युवावर्गमा विदेश मोह, सामाजिक संजालको दुरुपयोग लगायत विभिन्न कारणले मान्छे बेचिने क्रम रोकिएको छैन ।

यस्तै दुरदराजका समुदायमा शिक्षाको अभाव हुनु पनि अर्को कारण छ । ग्रामिण स्तरमा जनचेतनामूलक कार्यक्रमको कमीले बेचविखनबारे थाहा नपाएर पनि महिला तथा बालबालिका यो समस्यामा रहेका छन् ।

मानव वबचविखन हुनुको कारणहरु धेरै छन् । देशभित्रै रोजगार नहुनु, बेचबिखन भनेको के हो कसरी बेचिन्छन् भन्नेबारे जानकारी नहुनु, आर्थिक अभावले पनि यो समस्या बढ्दै गएको छ । बेरोजगारी, अज्ञानता, गरिबी, आधुनिकीकरणको प्रभाव लगायतका धेरै कारणले मानव बेचविखन भइरहेको पाइन्छ ।

यसका लागि हामीले विभिन्न चेतनामुलक कार्यक्रम पनि गरिरहेका छौँ । सीमामा निगरानी गरेका छौं । वर्षेनी करिब १५ हजारलाई सीमामा सूचना संप्रेषण गरिरहेका छौं । करिब ५०० को संख्यामा हामीले अहिलेसम्म सीमा नाकाबाट उद्दार गरेका छौँ । उद्दार गरिएका सयौंलाई आवास सुविधा र व्यवसायका लागि हामिले आर्थिक सहयोग पनि गरेका छौँ ।

‘घरेलु कामदारमा रोक लगाउँदा झन् जोखिम’

मञ्जु गुरुङ
अध्यक्ष, पौरखी नेपाल

पछिल्लो समय बढ्दो वैदेशिक रोजगारीका कारण मानव बेचविखनको अवस्था डरलाग्दो हुँदै आएको छ । स्वदेशमा रोजगारको व्यवस्था नहुँदा यहाँका महिला विभिन्न देशमा घरेलु कामदारको रुपमा जाने गर्छन् ।

सरकारले केही खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारको रुपमा जान प्रतिबन्ध लगाएको छ । यसले गर्दा महिलाहरु भारतको बाटो वा तेस्रो मुलुकको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेकाले पनि यो समस्या बढ्दै गएको हो ।

महिलाहरु यसरी विदेशिन थालेपछि दलालहरु पनि सक्रिय हुँदै जान थाले । अहिले मानव ओसारपसार गर्ने गिरोहहरुको अन्तर्राष्ट्रिय ठुलो नेटर्वक बनिसकेको छ ।

नेपाली महिला जाने भनेको घरेलु कामदारमा हो । सरकारले घरेलु कामदरमै प्रतिबन्ध लगाएर महिलालाई जोखिममा धकेल्ने काम गरेको छ । सरकारको अथवा राज्यको काम भनेको नियमन गर्ने, व्यवस्थापन गर्ने हो । प्रतिबन्ध मात्र समस्याको समाधान होईन ।

घरेलु कामदारमा जाने कतिपय देशमा नेपाली दुतावास नहुँदा पनि अझ समस्या भएको छ । यसका लागि पौरखी नेपालले वैदेशिक रोजगारीमा गएर बेचविखनमा परेका वा समस्यामा परेका महिलाहरुलाई उद्धार गरिरहेको छ ।

पौरखी नेपालले विभिन्न देशमा रहेका दुतावास, एनआरएन, मानव अधिकारकर्मी लगायत विभिन्न व्यक्तिको सहयोगमा यस्ता महिलाका उद्धार गरिरहेको छ ।

सन २००३ मा वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले स्थापना गरेको यो संस्थाले विभिन्न देशमा गएर बेचविखनमा परेका अथवा समस्यामा परेका ३ हजार बढी महिलालाई उद्धार गरेको छ ।

यसका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम पनि हामीले गरिरहेका छौं  । संघसस्थाले मात्रै बेचविखन नियन्त्रण गर्न सक्दैनन् यसका लागि सरकारले गतिलो कदम चाल्न आवश्यक छ ।

‘राज्यको कदम दह्रो भएन’

हस्त खड्का, माइती नेपाल

पहिलेको भन्दा अहिले मानव बेचविखनको स्वरुप फेरिएको छ । पहिले नेपाल भारत सीमा नाका अथवा छिमेकी मुलुकमा मात्रै मानव ओसारपसार सीमित थियो भने अहिले दायरा फराकिलो भएको छ ।

अहिले विभिन्न देशमा वैदेशिक रोजगारीमा महिला जान थालेकाले अन्य देशमा पनि मानव बेचविखन हुँदा यसको स्वरुप परिर्वतन भएको हो ।

माइती नेपालले रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । अहिले स्थानीय सरकारमा गएर पनि क्षमता अभिबृद्धि गर्ने कार्यक्रम गरिरहेका छौं । नेपाल, भारत र चीनको सीमामा पनि हामीले उद्धारको काम गरिरहेका छौँ ।

सीमा नाका हुँदै भारत अथवा तेस्रो मुलुकमा जाँदा उमेर नपुगेकालाई रोकथाम गर्ने प्रयास गर्छौं भने उमेर पुगेकालाई श्रम स्वीकृत लिएर गएको हो कि होइन भन्ने कुरा खोज्छौँ, यसरी काम गर्दा हामीलाई उद्दार गर्न सहज भएको छ ।

हामीले नेपालका १३ वटा सीमामा काम गरिरहेका छौं । हरेक दिन १३ सीमामा गरि १० जना महिलाको उद्दार गरिरहेका छाैं ।

महिलासँगै बालबालिकाहरु पनि उत्तिकै जोखिममा छन् । सीमा नाका हुँदै भारत जान थाले कहाँ जाने हो भन्दै सोध्दा दाइले बोलाएको भन्दै छक्याएर बालबालिका बढी जाने गर्दछन् ।

महिला भन्दा बालबालिकालाई सीमा पार गराउन सजिलो हुने भएकाले पछिल्लो समय दलालहरुले बालबालिकाको धेरै ओसारपसार गरिरहेका छन् ।

हामीलाई कस्ता खालका महिला जोखिममा पर्छन् भन्ने पनि थाहा हुन्छ । त्यहि अनुसार उद्दार गर्न हामी सक्षम हुन्छाैं ।

माइती नेपालले २७ वर्षको अवधीमा सीमा नाका तथा विभिन्न देशमा बेचविखनमा परेका ३७ हजार महिला तथा बालबालिकालाई उद्दारर गरेका छौं ।

यसको रोकथामका लागि राज्यले राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रिय स्तरमा दरो हिसाबले कदम चाल्न आवश्यक छ । राज्यले केही नगरेको भने होइन तर अझै दरो तरिकाले राज्यले लाग्न आवश्यक छ ।

जबसम्म स्वदेशमै सुरक्षित रोजगारीको ग्यारेन्टी राज्यले गर्दैन तबसम्म यो अवस्था रोकिने देखिँदैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: