‘देउता’का कारण स्पेन पुगे राराका ‘अप्सरा’


प्रकाशित मिति :2018-07-20 16:55:28

-प्रतिमा सिलवाल-

ललितपुर । एउटा जबरजस्त अन्धविश्वास । सुन्दा दन्त्यकथा झैं लाग्ने । पत्याउन पनि गाह्रो । तर, पत्याउनै पर्ने सत्य, मुगु जिल्लाका १७ किशोरी देउताको कारण स्पेन पुगेर फर्किएका छन् । हो, देउताकै अनुमतिले उनीहरु स्पेन गए, फुटबल खेले अनि नेपाल फर्किए ।

मुगुका १७ किशोरीको स्पेन जाने कारण थियो फुटबल । सुनाकली डकुमेन्ट्रीका निर्माता पत्रकार भोजराज भाटले ती किशोरीहरुको लागि स्पेन जाने व्यवस्थापन गरेका थिए ।

लामो प्रकृयापछि भिसा पनि लागिसकेको थियो । किशोरीहरुले २० दिन काठमाडौं बसेर फुटबल अभ्यास गरिसकेका थिए । बाँकी थियो उनीहरुको स्पेन उडान ।

उडान असार १५ गतेको लागि निर्धारित थियो । त्यसअघि नै काठमाडौं आइसकेका उनीहरुले एकपटक परिवारसँग आर्शिवाद लिन बाँकी थियो । असारको पहिलो साता पत्रकार भाट नै उनीहरुलाई लिएर बाआमाको आर्शिवाद लिन मुगु लगे ।

भिसाको छाप लागेका पासपोर्ट बोकेर आर्शिवाद थाप्न घर पुगेका छोरीहरुलाई अभिभावकले आशिर्वाद दिएनन् । उनीहरुलाई फुटबलको महत्व त थिएन नै । विदेश पठाएकोमा फाइदा बेफाइदा पनि आफ्नै विवेकले निर्धारण गर्न सकेनन्, गरेनन् ।

बरु हातमा भिसा छाप भएको पासपोर्ट बोकेका छोरीहरुलाई रोके । अनि नारायण गोसाइँ (मुगुबासीले मानि आएका धामी) बोलाए । नारायण गोसाइँलाई देउता आयो ।

अनि किशोरीका अभिभावकले सोधे, ‘प्रभु हाम्रा छोरीहरुलाई विदेश पठाऔं कि नपठाउँ ? के गरौं हामी ?’

नारायण गोसाइँ निकै बेर काँपे । विचार गरेझैं गरे । अनि जवाफ फर्काए, ‘राम्रै कामको लागि लैजान लागेका रहेछन् । पठाउँदा हुन्छ ।’

‘नारायण गोसाइँको पठाउँदा हुन्छ को जवाफ सुनेपछि आँखाबाट तरक्क आँशु आयो’ पत्रकार भाटले भने, ‘नारायण गोसाइँको सकारात्मक जवाफ नआएको भए मैले गरेको परिश्रम माटोमै मिल्थ्यो ।’

त्यसपछि त १७ किशोरीले पहिलोपटक जहाज चढ्न पाए । पहिलो पटक काठमाडौं देख्न पनि ।

‘काठमाडौंमा एन्फाको फुटबल ग्राउण्ड देखेपछि अचम्म लाग्यो । मिलेको दुबो देखेर हामी त छक्कै पर्यौं’ समूहकी एक किशोरी रोशनी कामीले भनिन्, ‘एकनास बनाएर दुबो कसरी काट्न सकिन्छ सर ? भनेर सर (भोजराज) लाई सोधे । सरले गाइले खाएको भन्नुभयो । हामी झनै छक्क पर्यौं । काठमाडौंमा कस्ता गाई पाइन्छन् सर, यसरी एकनासले दबो चर्ने भनेर फेरि सोधेँं । पछि सरले नै प्लाष्टिकको दुबो हो भन्नुभयो ।’

आफ्नो फुटबल आइडल ‘सुनाकली दिज्यू’ ठान्ने उनीहरुले फुटबलका अन्तर्राष्ट्रिय हस्तीहरुको नाम सुन्न पाए । ‘मेस्सी, रोनाल्डो’ भन्ने नाम काठमाडौं आएपछि मात्रै सुनेको । त्यो भन्दा अगाडि त फुटबल खेलाडी सुनाकली दिज्यू मात्रै हो जस्तो लाग्थ्यो’ विपना मल्लले भनिन् ।

विपना टीम राराकी किपर हुन् । उनले मेस्सीको नाम सुनेको मात्रै होइन, मेस्सीले फुटबल बल कुँदाएका अन्तर्राष्ट्रिय फुटबल ग्राउण्ड पनि देखिन् । ‘अझै विश्वकप नभएको भए त मेस्सीसँगै भेट्न पाइने रहेछ’ हँसिलो चेहरा बनाएर उनले भनिन् ।

यिनीसँगै मुगुका १७ किशोरीले पहिलो पटक ठूलो जहाज चढे । ‘आम्मै घरजत्रै जहाज । त्यसमा त सिटमै टिभी पनि । ट्वाइलेट, खानेकुरा सबै जहाजभित्रै पाईने । हामी त छक्कै पर्यौं’ विदेशयात्रामा जहाज चढ्दा चकित परेको बताईन् रोशनीले ।

छोईंदा पनि सरी भन्ने रैछन्

उनीहरु स्पेन पुगे । ‘आम्मामा……। कति सफा ठाउँ’ १७ जना नै किशोरीको आँखिभौं उचालिए । हुन त उनीहरुको हरेक कुरा नयाँ थियो । देखेका र महशुस गरेका सबै चिज पहिलो पटक नै थियो । त्यसैले पटक पटक चकित भएका थिए नै । स्पेनको भूमी टेकेपछि थप चकित बने ।

स्पेन पुगिसक्दा पनि घरी मुगुमै छु झैं लाग्ने, घरी काठमाडौंमै । रोशनीले स्थानीय लबजमै भनिन्, ‘सपना हो कि झैं लाग्ने ।’

स्पेन गएपछि उनीहरुले अन्तर्राष्ट्रिय फुटबल ग्राउण्ड त देखे नै । उनीहरुको फुटबल सनसवेस्तानमा थियो । २ दिन बार्सिलोना घुमे । २ सय वर्षदेखि निर्माण भइरहेको चर्च देखे । समुन्द्र देखे । जमिनमुनी गुडेको रेल देखे । देखेका जति सबै चिजले छक्कै पार्यो । रोशनीले रारा तालको पानीसँग समुद्रको तुलना गरिन्, ‘मलाई त विश्वमै ठूलो ताल हाम्रै रारा जस्तो लाग्थ्यो । समुन्द्रमा त आँखाले देखेभर पानी पो हुने रहेछ ।’

अझ उनलाई अचम्म लागेको कुरा, नेपालमा बाटो हिँड्दा ढेसिएर ठोक्किएरै हिँड्दा पनि कसैले माफी मागेको उनलाई थाहा थिएन । ‘त्यहाँ त एसो छोइयो भने पनि सरी सरी भन्ने रैछन्’ रोशनीले विश्लेषण गरिन्, ‘कति राम्रा मान्छे । अच्चम्मै’

११ गोल खाइयो

रारामा उनीहरुको फुटबल मैदान भनेको अलि फराकिलो बाटोको छेउकुनो । हिउँ, माटो, ढुंगा, सिसा भएका बारीका गरा थिए । त्यही धुलो माटोमा तुना गाँसेका चप्पल चुँडिएला कि भन्ने मायाले जोगाउँदै, थोत्रिएका बल हानेका अनुभव थिए मात्रै उनीहरुसँग ।

किशोरीको फुटबल समूहलाई क्लोज क्याम्पमै राखेर ६ महिना प्रशिक्षण दिने भनेर पत्रकार भाटले खेलकुदसँग सम्बन्धित सरकारी, गैर सरकारी निकाय सबै गुहारे । तर, कसैको प्राथमिकतामा १७ किशोरीको दक्षता बढाउने कुरा परेन । अन्ततः उनको एकल प्रयासले क्लोज क्याम्प हुन सकेन ।

त्यतिमात्रै होइन किशोरीहरुलाई स्पेनसम्म पुगेर फुटबल खेलेर फर्किनको लागि सहयोग गर्छु भन्नेले पनि सहयोग नगरेका भाटले बताए । उनका अनुसार १७ जना किशोरीलाई स्पेनसम्म पुर्याएर फर्किदासम्म उनी २५ लाख रुपैयाँ व्यक्तिगत ऋणमा छन् ।

किशोरीहरुले फुटबल प्रशिक्षण लिएको भनेको २० दिन दिन मात्रै थियो । एन्फाको मैदानमा २० दिन उनीहरुले प्रशिक्षण लिए । एउटै बलको लागि एकै समूहका सबै लुछाचुँडी गर्ने उनीहरु आ–आफ्नो पोजिसनमा बसेर खेल्नुपर्छ भन्नेसम्म सिके ।

तर, साथीबीच समन्वय, पास लगायत फुटबलका खास तौरतरिका उनीहरुले सिक्नै भ्याएनन्, पाएनन् । तैपनि हिमालको जडीबुटी खाएको ताकतले फुटबल खेले । उमेर समूह १४ मूनी नै भए पनि मोटाघाटा । हाइट अग्ला भएका र खेल सीपमा दक्ष स्पेनका खेलाडीहरुसँग भिडे ।

जितको संभावना न्यून छ भन्ने कुरा मैदान प्रवेश अघि नै बुझिसकेका थिए । यद्यपि, आँट लिएर मैदानमा उत्रिए । ‘ठूलो मैदान, ठूला ठूला खेलाडी देखेर निकै डर लाग्यो । यत्रा ठूला मान्छेसँग खेल्न सकिन्न, हारिन्छ भन्ने लाग्यो’ किपर विपनाले भनिन्, ‘तैपनी आँटले खेलियो ।’

सेल्फी लिँदै राेश्नी

टीम राराले ४ खेल खेल्यो । उनीहरुका खुट्टामा बल मुस्किलले मात्रै आउँथ्यो । आँटले मैदान छिरेमा उनीहरुले पटक पटक गरी ११ खोल खाए । ‘स्पेनका कोचको कम्तिमा ३० गोल खान्छन् भन्ने अनुमान रहेछ’ पत्रकार भाटले भने, ‘उनले यिनीहरु मैदानमा टिकेको देखेर उनीहरुमा अथाह सम्भावना छ । अवसर पाए राम्रो गर्छन् भन्ने विश्लेषण गरे । र टीम राराको तारिफ गरे ।’

११ गोल खाएर स्पेनबाट फिरेका भए पनि उनीहरुमा कत्ति पनि हिनभाव छैन । अन्तराष्ट्रिय स्तरमा फुटबलको पहिलोपटक अनुभव लिए । खेलका नियमहरु राम्रोसँग सिक्ने अवसर पाए । जित्ने साहस त अझै छ । टोली नेता रीता रोकायाले भनिन्, ‘खेल हार्यौं । हिम्मत हारेनौं । अर्को अवसर पाए त जितेरै फर्किन्छौं ।’

परिवर्तनका सारथी

स्पेन पुगेर फर्किएका १७ किशोरी मुगुमा भएको प्रतिस्पर्धामा १ सय ४० जनालाई पछि पारेर छानिएका हुन् ।

गाउँमा महिनावारी हुँदा छाउगोठदेखि घरको काम धानेर भ्याइनभ्याई स्कुल पढिरहेका थिए । महिला खबरसँगको सामूहिक कुराकानीमा तपाईंहरु कतिजना महिनावारी हुँदा गोठ बस्नुहुन्छ भन्ने प्रश्नमा चार जनाले हात उठाए । उनीहरु महिनावारीको बेला सात दिन गोठ बस्दा रहेछन् । यी सबै समस्याका बाबजुद अब उनीहरुको काँधमा अर्को जिम्मेवारी थपिएको छ, ‘फुटबल सिक्नु, आफू अब्बल बन्नु र अरु खेलाडी तयार पार्नु ।’

सुनाकली डकुमेन्ट्रीका मुख्य पात्र सुनाकलीले १८ वर्षमै विवाह गरेपछि पत्रकार भाटलाई अर्को चिन्ता थपिएको छ, ‘यिनीहरुलाई विवाह गर्नबाट कसरी जोगाउने ?’

एक त मुगुको समाजमा छोरी १५ कटेपछि ‘विवाह गर्न योग्य भएको ठानिन्छ । १५ कटेपछि हुर्किएकी भनेर विवाहको लागि हतारो हुन थाल्छ । हो त्यही समाजका यी किशोरीहरुले आफूलाई अब्बल बनाउन गरिबीसँग भिड्नु मात्रै छैन । समाजको कुरीतिलाई पनि चिरेर आफूलाई अब्बल खेलाडी बनाउनु छ ।

त्यसका लागि उनीहरु स्वयंलाई त चिन्ता छँदैछ । उनीहरुमा सम्भाव्यता देखेका धेरैलाई थप चिन्ता छ । तर स्पेनपछि काठमाडौंमै रहेका उनीहरुले विश्वस्तरका अरु खेलमा पनि भिड्ने सपना देखिसकेका छन् ।

‘घरबाट स्पेनका लागि हिँड्दा लगाएको लुगा बाहेक एक जनासँग पनि फेर्ने लुगा थिएन । रोशनी कामीले भनिन्, ‘घर छोड्दा बुबाले ६ सय दिनुभएको थियो ।’

बुबा आमाले हिँड्नेबेला दिएका केही सय रुपैयाँ बोकेर घर छाडेका उनीहरुका अहिले ३ झोला सामान भएका छन् । ‘लुगा, जुत्ता, फुटबलले तीन झोला भरिएको छ’ घरबाट लगाएको एक जोर लुगामा हिँडेकी सुनमती बुढा भन्छिन्, ‘घरमा सामान लैजान गाह्रो हुने भैराछ’ ।

अहिले १७ खेलाडीको साथमा एकएक थान फुटबल छ । फुटबल खेल्दा लगाउने जुत्ता छन् । ट्र्याक छन् । ट्राउजर छन् । गाउँमा अभ्यासको लागि पर्याप्त खेल सामग्री नेपालदेखि स्पेनसम्मको यात्रा अवधीमा सहयोगबाट जुटिसकेका छन् ।

अब आवश्यक छ उनीहरुको निरन्तर अभ्यास अनि फुटबलर बन्ने दृढ संकल्पको । एउटै उमेर । उस्तै उस्तै लाग्ने अनुहार अनि जिउडाल । काठमाडौंमा भेटिएका सत्रै जनाले भने, ‘हामी अब्बल खेलाडी बनेरै छाड्छौं ।’

उनीहरुको संकल्पमा परिवार, गरिबी अनि सामाजिक कुरीति तँगारो नबनिदेओस् । उनीहरुको गतिशिलताका लागि राज्य र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने गैर सरकारी निकायहरुको ध्यान जाओस् । हाम्रो शुभकामना ।

तस्वीर सौजन्य: भोजराज भाट

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: