होचो कद तर अग्लो आचरणका श्रीमान


प्रकाशित मिति :2018-07-17 13:41:52

–इन्द्रसरा खड्का–

‘विहे आफू सुहाउँदो जोडीसँग गर्नुपर्छ’ यो आम धारणा हो । अझ हाम्रो जस्तो समाजमा त विहे गर्न ‘पद’ र ‘कद’ दुवै कुरामा केटा मान्छे नै उँचो हुनुपर्छ भन्ने स्थापित मान्यता छ ।

कुनै एक युवती आफूभन्दा ‘पद र कद’ दुवैमा कम भएका केटासँग विहे गर्न तयार हुन्छिन् भने समाजतिर सिधा नजरले आँखा फर्काउन उनले धेरै कसरत गर्नुपर्छ ।

कुनै न कुनै रुपमा आमाबुबा, दिदीबहिनी, दाजुभाइ अरु केके सम्बन्धहरू छन्, पहिला तिनैसँग पौंठाजोरी खेल्नुपर्छ । त्यसपछि समाज उपमाका व्यक्तिहरूको समूह उनका लागि तँगारो बन्छन् ।

हो तिनै तँगारो पन्छाउँदै सम्बन्ध, नातागोता नामका व्यक्तिहरूसँग पौंठाजोरी खेल्दै यशोदाले रोजिन्, आफूभन्दा कम ‘कद’ का व्यक्ति ।
पद त आफ्नै संघर्षपछि पाइने उचाइ न हो । आज यिनै कुरा सुन्दा हामीलाई उत्कृष्ट लाग्छ । १९ वर्षपछि उनका यी भनाइ उत्कृष्ट मान्ने तिनै व्यक्ति बालकृष्ण गुरुङ ‘ज्याक’ बाहेक कोही थिएन ।

यद्यपि यशोदाको खुट्टा काँपेनन् । निर्णय धर्मराएन । र त आज भन्छिन्, ‘उचाइ सानो भएर के भयो त । मलाई श्रीमानले गर्ने काम, कर्तव्यमा कहिल्यै कमी भएको छैन । विहे गरेको १९ वर्षसम्म हाम्रो सम्बन्ध सोचेभन्दा राम्रोसँग चलिरहेको छ ।’

व्यक्तिको उचाइले उसको वैचारिक उचाइ कदापी नाप्न सक्दैन । न त सक्छ उसले आर्जन गरेको विवेकको उचाइ नै मापन गर्न । तर हामी शारीरिक उचाइ मापन गर्न सक्छौं ।

बालकृष्ण ४० वर्षका भए । उनको उचाइ ३ फुट ४ इन्च छ । ३८ वर्षकी यशोदा पौने ५ । सँगै उभिँदा यशोदाको छातीसम्म मुस्किलले पुग्छन् ज्याक । यो जोडी काठमाडौंको नख्खुमा बस्छ ।

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो पनि गर्छन् । सुन्दर दुनियाँमा रमेको यो जोडीको कद नमिलेकै कारण खिसीटिउरी गर्नेहरु पनि कम छैनन् ।

‘हामी सँगै हिँड्दा पनि हाँस्ने, मुखामुख गर्ने, हेरिरहने गर्छन् । हामी श्रीमान श्रीमती भन्ने थाहा पाएका आफन्तैहरू पनि हामीलाई देखाउँदै हाँस्छन् ।’ यशोदाले भनिन्, ‘हाइट मिलेका, अनुहार मिलेका, जिउडाल सबै मिलेका जोडीको विचार नमिलेको देख्छु । लडाइँ झगडा गरेको देख्छु । हाम्रो जोडीको कदका बारेमा जसले कुराकाटे पनि हाम्रो जोडी संसारकै उत्कृष्ट हो जस्तो लाग्छ । र हो पनि ।’

काठमाडौंको नख्खुका बालकृष्ण गुरुङ ‘ज्याक’ नेपाल सरकारले अपाङ्गताको प्रकार अन्तर्गत छुट्याएको होचापुड्का समूहमा पर्दछन् । तिनै ज्याकसँग ओखलढुंगाकी यशोदा राइले विवाह गरिन् ।

यशोदालाई लाग्छ, भगवानले नै जुराइदिएको जोडी हो उनीहरूको । ज्याकको ठाउँमा कदमा होची यशोदा भइदिएको भए ज्याकले पनि त्यस्तै ठान्दा होलान् त ? यो कुरा ज्याककै अन्तरहृदयले जान्दो हो ।

ज्याक र यशाेदाका छाेरी  विनिसा

अहिले उनीहरूका १८ र १४ वर्षका दुई सन्तान छन् । उनीहरूको पारिवारिक भूमिका भने सामान्य पुरुषप्रधान परिवारमा हुने जस्तै छ । जहाँ समाजले तोकिदिएको भूमिकामा यशोदा छिन् । अनि ज्याक पनि ।

‘उनी अफिस जान्छन् । म घरकै काममा व्यस्त हुन्छु । खाना पकाउँछु । छोराछोरीलाई विद्यालय पठाउन नै मलाई ठिक्कै हुन्छ ।’ आफूले गर्ने कामको विवरण यशोदाले सुनाईन् ।

यतिमात्रै होइन । श्रीमानलाई सामान्यसरह ‘सक्षम’ देखाउन पनि उनी आतुर थिईन् । ‘हामी पनि बिदाको दिन घुम्न जान्छौं ।’ श्रीमानलाई बलियो भूमिकामा देखाउन पाउँदा गर्व गर्दै यशोदाले ज्याकले हाँक्ने चार पाङ्ग्रे स्कुटर देखाइन् ।

हुन त ज्याक यहि समाजका पुरुष हुन् । उनले यशोदाको ठाउँमा अरु सामान्य कदका महिला पाउँदा पनि हुन् । यद्यपि यशोदासँगको सम्बन्धमा आफूलाई बलियो पनि ठानेका छन् उनले ।

भन्छन्, ‘होचापुड्का केटा हुन् या केटी । उनीहरूसँग अन्य नर्मल मान्छेले सम्बन्ध जोड्न चाहँदैनन् । बिहे गरेर घरजम गर्न चाहँदैनन् । तर मैले यशोदालाई श्रीमतीको रुपमा पाएँ । म भाग्यमानी हुँ’ ज्याकले खुसी सुनाए ।

ख्याल ख्यालमै माया बस्यो

हेर्दा खाइलाग्दो ज्यान । अग्लो कद । त्यस्ता पुरुष देख्दा युवतीहरू भूतुक्कै हुन्छन् । अझ समाजले त तिनैलाई ‘मर्द’ को उपाधी दिन्छ । तर ज्याक कदमा सानो । सामान्यतया नेपाली समाजले ठान्ने ‘मर्द’ परिभाषामा समेटिने थिए या थिएनन् ।

तर माया गर्नलाई यी सबै खोटले भाँजो हालेन । हृदयलाई पगाल्न उचाइ अग्लिनु पर्दैन । मन त मनै हो । यशोदा भित्र पनि ज्याकप्रति मायाको प्रगाढता यसरी पलायो कि, उनी ज्याक प्रति आशक्त भइन् । माया गरिन्, उनैलाई आफ्नो जीवन ठानिन् । र जीवन साथी रोजिन् ।

हुन त सुरुमा उनीहरू दुवैले एक अर्कालाई श्रीमान श्रीमतीका रुपमा पाउँछौं भन्ने सोचेकै थिएनन् । ‘माया हो । थाहै नपाई बस्दो रहेछ’ ज्याकलाई अंगालो मार्दै,अलि लजाउँदै यशोदाले भनिन् ।

यसोदा र ज्याक दुवै ‘म्यानपावर’ कम्पनीमा काम गर्थे । ‘शान्त स्वभाव, चिटिक्क परेको जीउडाल । गोरो वर्ण । यशोदा साँच्चिकै सुन्दर थिईन् र छन्’ ज्याकले यशोदाको स्वभाव, व्यवहार र जिउडालको वयान गर्दै भने ।

‘यशोदाकोे बोलाई, काम गर्ने तरिका, स्वभावले मलाई तानिसकेको थियो’ ज्याकले भने, ‘मन परे पनि उनीसँग बिहे गर्छु भन्ने सोचेको भने थिइन ।’

ज्याकको मिजासिलो व्यवहारले यशोदा पनि उनीतर्फ तानिएकी त थिईन् नै । यो कुरा ज्याकले पनि थाहा पाउँदै गए । उनीहरू विस्तारै नजिकिँदै गए ।

यशोदा ओखलढुंगाकी राई । बालकृष्ण नवलपरासीका गुरुङ । कामकै शिलशिलामा चिनजान भएका यी दुईबीच नजिक नजिक हुँदै जाँदा बोलचालको क्रम पनि बढ्दै गयो । भेटघाट पनि बाक्लियो ।

अन्ततः आफूहरू मायाको डोरीमा बाँधिएको दुवेले पत्तै पाएनन् । ‘एउटै कम्पनीमा काम गर्दागर्दै कसरी माया बस्न गयो, पत्तै भएन’ यशोदा माया पिरतीको सुरुआती चरणबारे खुलिन् ।

हाम्रो समाज मानव मानवबीच जात भात । धनी गरिब । सानो ठूलो जस्ता बग्रेल्ती समस्याले जेलिएको छ । तर यी समस्याको जालोले यी दुईबीच केही अर्थ राखेन । यशोदा नै बोलिन्, ‘मायामा धनी गरिब, जात भात सानो ठूलो केही हुँदैन भन्थे हो रहेछ । त्यसैले त हामि अन्तरजातीय विहे गर्न पुग्यौं ।’

तर विवाहको प्रस्ताव यशोदाको थिएन । ज्याकले नै विवाह प्रस्ताव राखे । यशोदा पनि त्यही त कुरिरहेकी थिईन् । खुल्न पो नसकेकी त । उनले सहजै स्वीकारिन् ।

यशोदाको आँखामा ज्याक, ‘कामप्रति इमान्दार, लगनशिल, शिष्ट व्यवहार’का थिए । हो त्यहि व्यवहारले आफू उनीतर्फ तानिएको बुझाइ अहिले यशोदाको छ ।

ज्याकलाई त झनै यशोदा मन नपर्ने कुरै भएन । हाँस्दै भने, ‘मलाई पनि यशोदाको सबै कुरा मन पथ्र्यो । हेर्दै राम्री पनि थिइन् । बोलीचाली, व्यवहार त झनै राम्रो ।’

दिदीहरूले विवाहको अनुमति दिएनन्

यशोदा सानै छँदा बुबाको निधन भयो । परिवारमा आमा, दाजु र दिदीहरू थिए । उनले ज्याकलाई मन पराएको कुरा घरमा भनिन् ।

उनको कुरामा दिदीहरूले स्वीकृति जनाएनन् । ‘न जात मिल्ने न अरु केटा झैं सामान्य नै छन्’ भन्दै जस्तै दिदीहरूले गाली गर्न थाले ।

छाेरा वियोङ्सँग यशाेदा

उनका अनुसार आमा र दाजुहरूले भने केही भनेनन् । ‘राम्रो केटा भेटिन्छ । यस्तो पुड्कोसँग पनि विहे गर्छन् !’ भनेर दिदीहरूले गाली गर्न थाले ।

होचो केटासँग प्रेम गरेको भन्दै सँगैका साथीहरूले नाक खुम्च्याए । तर उनी हारिनन् । आमा र दाजुहरूले ‘तिम्रो खुसी गर’ मात्रै भने । उनले आफ्नो खुसी सम्झिईन् । ज्याकलाई जीवन साथीको रुपमा पाउनु नै उनको खुसी थियो ।

त्यसपछि जीवनको कठोर निर्णय लिईन्, –ज्याकसँग विवाह गर्ने । दुवैले २०५६ सालमा भागेर विहे गरे ।

एउटी सुन्दर यौवनाले होचोपुड्को पुरुषसँग विहे गर्दा समाजले हेर्ने दृष्टिकोण फेरियो । उनीहरूले गर्ने व्यवहार फेरियो । आफन्तले राम्रो मान्ने त कुरै भएन । कतिले त अनेक थरी कुरा काट्न थाले ।

‘मैमाथि पनि कतिले अनेकौ शंका गरे । तर मैले कसैको कुरा सुनिन । बोल्नेहरूसँग बोलिदिएँ । जसले जस्तो व्यवहार ग¥यो, उनीहरूसँग उस्तै व्यवहार गरें’ यशोदाले भनिन् ।

उनीहरूबाट जन्मिएको छोरा वियोङ् अहिले १८ वर्षका भए । उनको उचाइ आमाजस्तै सामान्य छ, ५ फुट ४ इन्च । छोरी विनिसा भने बुबा जस्तै होची । १४ वर्षकी छोरीको उचाइ ३ फुट २ इन्च छ ।

काठमाडौंमा संघर्ष

ज्याकको घर नवलपरासी हो । उनी २०४४ सालमा काठमाडौं पसे । काठमाडौं आउँदा उनका लागि यहाँको हरेक ठाउँ, मान्छे बिराना थिए ।

‘काठमाडौं आउँदा एउटी दिदीको सहाराले बाँच्न सकेँ । उनले कोठामा बस्न, खान दिईन् । अनि मैले संघर्ष गर्न आँटे’ ज्याकले भने, ‘पछि मैले पनि काम पाईसकेपछि अलग कोठा लिएर बसेँ ।’

विहे अगाडि नै ज्याक वैदेशिक रोजगारीमा समेत गएका थिए । उनले साउदी, दुबईमा पनि काम गरेका छन् । उनले त्यहाँ नाइट क्लबमा वेटरको काम पाए ।

त्यहाँ उचाइका कारण उनीमाथि कुनै विभेद भएन । बरु क्षमताका आधारमा ससम्मान काम गरे । केही रकम कमाए र नेपाल फर्किए ।

‘पहिलो पटक साउदी गएँ । त्यसपछि दुईपटक दुबई गएँ । उनले भने, ‘त्यतै काम गरेर कमाएकोे रकमले घर बनाएर नख्खुमा बसेको छु ।’

हुन त ज्याकसँग ‘ग’ वर्गको अपांगता परिचयपत्र पनि छ । तर उनले कहिल्यै आफूलाई कमजोर ठानेका छैनन् । त्यसैले त यशोदा कर्ममा सक्षम श्रीमान पाएर खुसी छिन् । उनी भन्छिन्, ‘उचो त विचारमा हुनुपर्छ । व्यवहारमा हुनुपर्छ । ज्याक होचो कद र अग्लो आचरण भएका श्रीमान हुन् । यस्तो श्रीमानको साथले आफूलाई संसारकै भाग्यमानी ठान्छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: