श्रीमानबाटै बलात्कार, न्याय खोज्दा बेघर


प्रकाशित मिति :2018-07-13 12:34:24

–लक्ष्मी बस्नेत–

घटना १ (उदयपुर)

मेरो बिहे भएको ४ वर्ष भयो । बिहेपछि डेढ महिना जति विराटनगर बसेर घर उदयपुरको गाइघाट फर्कियौं । बिहेलगत्तै मैले श्रीमानको नामबाट नागरिकता बनाएँ । विवाह दर्ता पनि भयो । तर, घर आउँदा थाहा भयो, घरमा त उहाँकी श्रीमती पनि रहिछिन् ।

आखिर विवाह भइसक्यो । पहिलो श्रीमती भए पनि सहनु नै पर्यो । सुरुसुरुमा श्रीमानले हामी दुवैलाई राम्रै गर्थे । तर विस्तारै व्यवहारमा फरक आउन थाल्यो । केही समयपछि तीन जना नै एकै ओच्छ्यानमा सुतौं भने । हामी एउटै ओच्छ्यानमा सुत्न थाल्यौं ।

एउटै ओच्छ्यानमा सुत्न थालेपछि श्रीमानको राक्षसी रुप देख्न थालें । जेठी श्रीमतीलाई योनीमा सेक्स गर्थे । मलाई भने त्यही लिंग मुखमा लगाईदिने । उसले झारेको शुक्रकिट जबरजस्ती निल्नुपर्ने ।

विस्तारै थाहा भयो, जेठीले पनि श्रीमानको यौन चाहाना पुरा गर्नकै लागि भनेर मलाई बिहे गर्न सहमति दिएको रे । उनी ‘तँलाई त्यसैको लागि बिहे गर्न लगाएको, श्रीमान्को यौन चाहना पुरा गर्ने तैंले हो’ भनेर दिदी (पहिलेको श्रीमती) आफ्नी छोरीसँग छुट्टै कोठामा सुत्न थालिन् ।

मैले श्रीमानलाई तपाईंको व्यवहार मन परेन भन्न थालेपछि झन् जथाभावी शारीरिक सम्बन्ध राख्न थाल्यो । यतिसम्म कि, मेरो शरीरमा भएको प्वाल कँही पनि बाँकी नराखी अप्राकृतिक यौन सम्बन्ध राख्ने ।

मैले नमान्दा शारीरिक यातना दिने । पछि काठमाडौं बस्ने भन्दै काठमाडौं लिएर आए । हामी २०७१ सालदेखि भक्तपुरमा बस्न थाल्यौं ।

मेरो श्रीमान धामी हुन् । उनीकहाँ धेरै मानिसहरु उपचार गर्न आउँथे । तर, अधिकांश बिरामी महिला हुन्थे । भक्तपुरमा बस्न थालेपछि पनि यौन व्यवहार भने सुध्रिएन । म बिरामी हुँदा औषधी उपचार पनि नगर्ने । कतै हिँडडुल गर्न पनि नदिने । कोठामा मात्र भइरहनु पर्ने । आमाहरुसँग फोनमा समेत कुरा गर्न नदिने गर्थे ।

भक्तपुर बसाइमा पनि मैले यौन यातना खेपिरहें । कहिले जबरजस्ती मुख, कहिले मलद्वार र नाक, कानमा समेत लिंग हाल्दिन्थे । यस्तो व्यवहार कति सहनु ? भनुँ कसरी कसलाई भनुँ ? कसैलाई भेट्न, फोनमा कुरा गर्न समेत अनुमति छैन । यस्तो कुरा कसैलाई सुनाएमा ज्यान मार्ने धम्की दिन थाले ।

एकदिन त्यस्तै जबर्जस्ती यौन सम्पर्क गर्दा धेरै गाह्रो भयो । म रोएँ, कराएँ र पनि छोडेन । बेहोस भएछु । मलाई काठमाडौंको केएमसी अस्पताल लगेको रहेछ । अस्पताल पुगेपछि मात्रै थाहा पाएँ ।

डाक्टरले स्वास्थ्यमा समस्या छ, ३ महिनासम्म यौन सम्पर्क नगर्नु भनेर औषधी पनि लेखिदिएका थिए । तर न यौन सम्पर्क गर्न छाडे न त औषधी नै किनिदिए । यौन यातना सँधै उस्तै ।

उसले जथाभावी शारीरिक सम्बन्ध राख्ने गर्न थाल्यो । यतिसम्म कि, मेरो शरीरमा भएको प्वाल कँही पनि बाँकी नराखी अप्राकृतिक यौन सम्बन्ध राख्ने । कहिले जबरजस्ती मुख, कहिले मलद्वार र नाक, कानमा समेत लिंग हाल्दिन्थ्यो।

एकदिन एक्कासी मलाई उपचार गर्ने भनी जहाजबाट विराटनगर लगे । सप्तकोशी अस्पतालमा भर्ना गरे । मलाई किन त्यहाँ पुर्याइएको पहिला केही भनिएको थिएन । तीन दिनपछि थाहा भयो मेरो त अप्रेसन गरि पाठेघर नै फ्याँकेको रे ।

थाहा पाएपछि म रोएँ । कराएँ । प्रश्न सोधेँ, किन यसो गरेको भने । ‘तेरो पनि बच्चा नहोस् भनेर पाठेघर फाल्न लगाएँ के गर्छेस् गर’ भनेर उल्टै हप्काउन थाले । उसको पनि पहिले नै परिवार नियोजन गरेको थियो रे ।

मेरो पाठेघर फालेपछि त झन् यातना बढ्यो । ‘तेरो पाठेघर छैन, तेरो योनीमा यौन सम्पर्क गर्दा मलाई सन्तुष्टि हुँदैन’ भन्दै उसको इच्छा जतिबेर हुन्छ, त्यति नै बेला मुखमा गर्थे ।

विभिन्न थरिले यौन सम्पर्क गरेको भिडियो हेरेर त्यस्तै गर् भन्थ्यो । आफू पनि त्यस्तै गथ्र्यो । ब्लू फिल्महरु देखाउने गर्थ्याे ।

हुँदाहुँदा ‘तँबाट सन्तुष्टि भएन भन्दै तेरो बहिनी, भदैनी गरी ७ जना मेरो लागि मिलाइ दे’ भन्न थाले । ‘उनीहरु नमिलाए तँ र तेरो माइतीका सबैलाई मार्दिन्छु’ भनेर धम्की दिइरहन थाले ।

यसले गर्दा मानसिक यातना पनि थपियो । शारीरिक यातना त झण्डै ४ वर्ष भयो, उस्तै छ । ३ वर्ष भक्तपुर बस्दा कतै निस्किन दिएनन् । पसल जान पनि नदिने । दिनभरि कोठामा नाङ्गै राख्ने । उसलाई मन लागेको बेला यौन सम्पर्क गर्ने । ट्वाइलेट जान्छु भनेपछि बेला बेलामा ढोका खोलिदिन्थे । नत्र बाहिरबाट चुुकुल लगाएर अर्को कोठामा झारफुकका लागि आउने बिरामीको उपचार गर्न भनेर जान्थे ।

यातना सहनै नसकेपछि २०७४ चैतदेखि सँगै बस्दिन । अहिले म एक्लै लुकेर बसेकी छु ।

घटना २ (महोत्तरी)

मेरो विहे भएको यहि असारमा एक वर्ष भयो । वैवाहिक सम्बन्ध राम्रो भएको भए विहे भएको वर्ष पुगेको दिन रमाइलोसँग मनाइन्थ्यो होला । तर, यहि दिन मैले कठोर निर्णय लिएको छु, ‘मेरो जीवन यो श्रीमानसँग चल्दैन । म न्यायको लागि कानूनसंगत लड्छु ।

वैवाहिक जीवनको वर्ष दिनसम्म झेलेका कुरा पहिलोपटक दोस्रो मान्छेसँग सुनाउँदैछु –

मैले स्नातक अध्ययन गर्दै आफ्नै नाममा विद्यालय दर्ता गरेर प्रिन्सिपल भएर काम गरिरहेकी थिएँ ।

बुबा बिरामी हुनुहुन्थ्यो, २०७३ सालको माघमा बित्नुभयो । जीवनको अन्तिममा बुबाले आमालाई ‘हुर्केकी छोरी छ, बिहे चाँडै गर्दिनु मैलै गर्दिन सकिन’ भन्नुभएको थियो । त्यतिबेला म २८ वर्ष लागेकी थिएँ ।

बुबाकै कुराले होला आमालाई मेरो बिहे जति सक्यो चाँडो गरिदिन पाए हुन्थ्यो जस्तो लागेको पाउँथे । यस्तैमा आफन्तबाटै एउटा केटाको कुरा आएछ ।

केटा तराइ (महोत्तरी) को । स्थायी शिक्षक । जग्गाजमिन धेरै भएको भनेर । तर उमेर अलि जेठो भनियो । केटा हेर्ने कुरा भयो । घरमा आयो । भेट भयो । कुरा गर्न लगाइयो मलाई पनि ।

किन हो कुन्नी केटा देख्नेबित्तिकै मलाई उ मन परेन । योसँग मेरो जीवन चल्दै चल्दैन भन्ने लाग्यो । आमालाई ‘कुनै हालतमा बिहे गर्दिनँ’ भनिदिएँ । धनी, जागिर भएको केटा भनेर मलाई कर लगाइयो ।

म ३० वर्ष पुग्न लागेको भनेर सबैले गाली गरे । अनुहार र उमेरले मात्र सबथोक हुने होइन भनियो । कर लगाइयो । म पनि चुप हुन बाध्य भएँ । बिहे चाँडै गर्ने कुरा भयो ।

बुबाको मृत्यु भएको वर्ष भएकाले ठूलो बिहे नगर्ने भन्दै घर बाहिरबाट टिकाटालो मात्रै लगाएर गर्ने भनियो । २०७४ असार १८ गते सामान्य रुपमा बिहे भयो ।

मेरा आफन्तहरु त थिए । केटाको पक्षबाट उसहित ३ जना आए । बिहान चाँडै आइपुगे । टिकाटालो, सिन्दुरपोते सकियो । धेरै समय लागेन । ४ जना भयौं । गाडी रिजर्भ गरेर ल्याइएको रहेछ । साँझ पर्नु अघि नै घर पुगियो ।

तर, घर पुग्नेबित्तिकै सपना हो कि विपना भन्ने भयो । मलाई भित्र्याएको घर कुखुराको खोर जस्तै थियो । भित्र पस्दा सासु रहिछन् । उनले अचम्म माने जसरी भनिन्, ‘ए आजै लिएर आएछ । हामीलाई घरमा त थाहा पनि थिएन ।’

धनी, जागिरे भनेर बिहे गरेको केटाको घर देख्नेबित्तिकै अचम्ममा परेकी म सासुकै त्यो कुराले त झन् छाँगाबाट खसे जस्तै भएँ । बेलुकाको भात खाने बेला भयो । मलाई पनि खान भनियो । खान मनै लागेन । आँशु नदेखाई धेरै रोएँ । श्रीमान्ले खाना खाए र खुरुक्क सुत्न गए ।

त्यतै हो भनेर मलाई कसैले कोठा देखाइदियो, म कोठातिर गएँ । श्रीमान् सुतिसकेछन् । सानो कोठा, दुई जना कसरी अट्ने भनेको जस्तो खाट । भईँमा बस्नै पनि नमिल्ने फोहोर ।

उनी निदाए निदाएनन् थाहा भएन । म निकैबेर रोएँ । उनी केही बोलेनन् । फेर्ने कपडाहरु सबै छ भनेका थिए रे । त्यही भएर माइतीबाट एकजोर कपडा लगेको थिइनँ ।

बेहुली हुँदा लगाएकै कपडामा छु । बाध्य भएँ, बोल्नुपर्यो र सोधें म पनि सुत्ने यहीं हो ? कसरी सुत्ने ? मेरो प्रश्नको जवाफ आएन ।

बिहे त गरेर आइसकियो । जेसुकै होस् भनेर फेरि बोलाएँ, मलाई सुत्ने ठाउँ छैन भनें । ‘तँ जेसुकै गर्’ भनें । कहाली लागेर आयो । केही सोच्नै सकिनँ । उसँग सुतेको पनि छैन ।

काठले बारेको कोठा । अर्को कोठामा मान्छे बोलिरहेको सुनिन्छ । पहिलो रात नै झगडा गरेछ भनेर थाहा पाउलान् भनेर सानो स्वरमा भनें ‘मलाई आजै सुत्ने ठाउँ हुँदैन भने म किन तपाईंसँग बस्नु ? मलाई सिन्दुर त हालिहाल्नु भयो । भोलि सम्बन्ध विच्छेद गर्दिनु । म आजको रात सुत्दिन, यत्तिकै बस्छु’ भनेँ । बसिरहेँ ।

 

महिनावारी भएको दोस्रो दिन थियो । मैले धेरै रगत बगिरहेको छ भनें । तर जसरी पनि यौन सम्बन्ध राख्नुपर्छ भने, मैले मानिन । मैले नमानेपछि मलाई मार्छु भन्दै हान्नका लागि यताउता के के खोजे, दाँत माझ्ने ब्रस भेटेछन् । मेरो याेनीमा त्यही कोचिदिए ।

कपडा फेर्न पनि पाइन । बिहेको पहिलो रात यसैगरी बित्यो । दिमागले केही काम नगरे जस्तो भइरह्यो । आज किन यस्तो गरे, भोलिदेखि राम्रो होला नि भन्ने सोचें । तर पहिलो रात नै बिगे्रको सम्बन्ध के राम्रो हुन्थ्यो र ?

भोलिपल्टदेखि सँगै त सुत्यौं तर हाम्रो यौन सम्बन्ध राम्रो भएन । पहिलो पटक नै उनले जबर्जस्ती यौन सम्बन्ध राखे । सायद पशुले नि त्यस्तो गर्दैन । हरेक रात यस्तै हुँदै गयो । रातको ४/५ पटकसम्म पनि यौन सम्बन्धका लागि तयार हुनुपर्ने, सुत्ने बेला भएपछि डर मात्रै लाग्थ्यो ।

एक वर्षको बीचमा कुनै दिन श्रीमानसँगको राम्रो शारीरिक सम्बन्ध भनेको कस्तो हुन्थ्यो भन्ने सोच्नै सकिनँ । किनकी, उनी यौन सम्बन्धका तयार हुँदा जताततै चिथोर्थे, जबर्जस्ती गर्थे । अप्राकृतिक व्यवहार गर्थे ।

बिहे भइसकेपछि एउटा बच्चा होस् भन्ने लाग्थ्यो । त्यसैले पनि श्रीमान्को यौन यातना सहेरै बसें । महिनावारी भएका बेला पनि सुख पाउँथिन ।

असार महिना यस्तै बित्यो । बिहे गरेको पहिलो साउन महिना श्रीमान् श्रीमती सँगै बस्न हुँदैन भनेर मलाई माइत पठाइयो । एक महिना माइती बसें । त्यसपछि भदौमा घर फर्किएँ ।

घर जाँदा महिनावारी भएको दोस्रो दिन थियो । मैले धेरै रगत बगिरहेको छ भनें । तर जसरी पनि यौन सम्बन्ध राख्नुपर्छ भने, मैले मानिन । मैले नमानेपछि मलाई मार्छु भन्दै हान्नका लागि यताउता के के खोजे, दाँत माझ्ने ब्रस भेटेछन् । मेरो याेनीमा त्यही कोचिदिए । त्यसपछि पनि पटक पटक जबर्जस्ती यौन सम्बन्ध राखे । मेरो प्याड र रगत लतपत भयो । आफैंलाई बान्ता पनि आयो । केही समयपछि श्रीमान् निदाए ।

दिनभरि केही नबोल्ने । सानो कुरामा पनि निहुँ खोज्ने । मैले बोलेको हरेक कुरालाई उल्टो बुझेर फर्काउने । हुँदाहुँदा सबै भएको ठाउँमा पिट्ने । जस्तो पनि शब्द प्रयोग गरेर बोल्न थाले ।

म भने आखिर बिहे भइहाल्यो, एकदिन त सुधे्रलान् । बच्चा भएपछि म बलियो हुन्छु भन्ने सोचेर पीडाको पोको कसैसँग फुकाउने आँट गरिन् । समय बित्दै जाँदा सासु, देउरानी, श्रीमानहरु बसेर कोठामा केही सामान छैन त कहिले आउने हो ? भन्दै मसँग सोध्न थाले ।

मैले ‘आउँदैन त्यस्तो सामान भनेँ । सामान नआए पनि पैसा आउला यतै किन्नुपर्छ’ भनिरहन थाले । दाइजोको लागि बिहे गरेको रहेछ । त्यसपछि त अतिबाट पनि अत्याचार नै गर्न लागे । सहनै नसकने भएपछि गएको फागुनदेखि घर छोडेर माइत गएर बस्न थालें ।

मेरो परीक्षा थियो, काठमाडौं आएँ । त्यसयता काठमाडौंमै थिएँ । असार १३ गते ससुरा बिरामी भएर केएमसी अस्पतालमा राखेको थाहा पाएँ । आफ्नो कर्तव्य भनेर अस्पताल गएँ । ५ दिन अस्पतामै बसेँ । हस्पिटलमा भेटेर पनि श्रीमान् मसँग बोलेनन् । तर, एकदिन डाक्टर नर्स भएकै ठाउँमा ‘तँ किन आइस्’ भनेर कुट्न खोजे ।

एकदिन नन्द आएर मेरो घर भक्तपुर गएर दाइभाउजु आराम गर्नु । म अस्पताल बस्छु भनिन् । हामी नन्दकोमा जानलाई निस्क्यौं । तर सिनामगंल चोकमै मलाई तँ अस्ति नै देखि काठमाडौं आएर कोसँग बसिस् ? भनेर कराउन, कुटपिट गर्न थाले ।

पछि नन्देभाई त्यहीँ आइपुगे । सँगै भक्तपुर घर जाने भनेर आयौं । त्यहाँ दुई दिन, दुई रात बस्यौं । त्यहाँ पनि उनले गर्ने यौन सम्बन्धको प्रक्रिया त्यस्तै भयो । जून सामान्य मान्छेले गर्दै गर्दैन भन्ने लाग्छ मलाई ।

मैले विहेपछिका कैयौँ रात उनको यौन यातना सहेँ । असार १७ गतेको रातीसमेत यसै गरी सम्बन्ध भयो । अब कति सहने ? भनेर बिहे गरेको एकवर्ष पुगेकै दिन अर्थात् असार १८ गतेकै दिन मैले अब यो मान्छेसँगको सम्बन्ध अघि नबढाउने निर्णय लिएँ ।

अब कानूनी प्रक्रिया अनुसार अघि बढ्छु । कानूनी बाटोबाट उसलाई कारबाहीको भागीदार बनाउने मेरो एक मात्र इच्छा छ । एक वर्ष मलाई जति कष्टपूर्ण अवस्थामा राख्यो, त्यसलाई कानूनले त्यस्तो बनाओस् भन्ने अब एउटै चाहना छ ।

घटना ३ (नुवाकोट)

मेरो घर नुवाकोट हो । २०५५ सालमा १० कक्षा पढ्दै गर्दा पे्रम विवाह भयो । त्यतिबेला १६ वर्षकी थिएँ । विवाह भएको १८ वर्षपछि अर्थात् २ वर्ष अघि सम्बन्ध विच्छेद गरेँ ।

सम्बन्ध बिच्छेदको कारण हो, श्रीमानको यौन यातना सहन नसक्नु । बिहे गरेको २/३ महिनासम्म राम्रै थियो । तर त्यसपछि उनको व्यवहार फेरियो । सामान्य मान्छेले त त्यस्तो व्यवहार गर्दै गर्दैन । उसलाई जतिबेला मन लाग्यो त्यतिबेला म यौन सम्पर्कको लागि तयार हुनुपर्ने ।

घरका अरुले देख्लान् भन्ने डर पनि छैन । जहाँ पनि समाउने, जिस्क्याउने । छोराछोरीको अगाडी लाजमर्नु । समाजमा इज्जत जाला भन्ने डरले सबै यातना सहेरै बसेकी थिएँ ।

मेरा दुईजना बच्चा छन् । पहिलो बच्चा १७ वर्षमै जन्मियो । बच्चा जन्मिएको बेलामा पनि आफन्तहरुले ४\५ दिन स्याहार गर्न बसेको बेला बाहेक यौनसम्बन्धका लागि तयार हुनुपर्थ्याे । दोस्रो बच्चा जन्मिएका बेला त झन् ३ दिनमै यौन सम्बन्ध राख्न आए । आफू सुत्केरी गलेकी थिएँ । प्रतिकार पनि गर्न सकिन ।

जिल्लामै हुँदा आफ्नै ब्यूटीपार्लर थियोे । काम गरिरहेको हुन्थें । उनलाई मन लागेपछि जुनसुकै बेला घर बोलाउने । नगए मोटरसाइकल लिएर पसलमै लिनै आउँथे । नमाने कुटपिट गर्थे ।

कति कुटाइ खानु भनेर लिन आएपछि पसल छोडेर जान्थेँ । घर गएपछि आफूलाई इच्छा नभएपछि यौन सम्पर्क गर्न पनि नमान्ने भनेर कुट्दै जबर्जस्ती गर्थे । म सँधै पीडा सहेर सहमति दिएको जस्तो अवस्थामा बस्थें ।

याैन यातना अति भएपछि सम्बन्ध विच्छेद गर्ने निर्णय गरेर कानूनी प्रक्रियामा गएँ । पहिला बालाजु प्रहरीमा गएर श्रीमानले दिने सबै यातना र आफ्नो पीडा सुनाएँ । यौन यातनाको कुरा गरेँ । आफ्नै श्रीमान्ले सँधै बलात्कार नै गर्थे भनेँ । प्रहरीले पनि श्रीमान श्रीमतीबीच हुने यस्तो सम्बन्ध सामान्य हो भन्दै बस्नै नसके अंश र सम्बन्ध विच्छेदको मुद्दा हाल्न सुझायो ।

पछिल्लो ४/५ वर्ष यता काठमाडौं बस्न थालेका थियौं । उनी घरजग्गा कारोबार गर्थे । काठमाडौं आएपछि पनि यस्तो क्रम रोकिएन ।

तर सम्बन्ध विच्छेदमा लागि जानुको कारणचाहिँ भूकम्प हो । भूकम्पपछि पालमा बस्नु पर्ने भयो । घरमा हुँदा त ममाथि जबर्जस्ती भए पनि अरुले त देख्दैनथे । तर भूकम्पका बेला पालमा बस्दा पनि व्यवहार उस्तै भयो ।

खुला ठाउँको पालमा त धेरै परिवार बस्थे । तर त्यहाँ पनि घरमै जस्तो यौन सम्पर्कका लागि तयार हुनुपर्ने । जिस्क्याइरहने, चलाइरहने मान्छेले देखेर के भन्छन् भन्ने पनि नसोच्ने ।

अति भएपछि सम्बन्ध विच्छेद गर्ने निर्णय गरेर कानूनी प्रक्रियामा गएँ । पहिला बालाजु प्रहरीमा गएर श्रीमानले दिने सबै यातना र आफ्नो पीडा सुनाएँ । यौन यातनाको कुरा गरेँ । आफ्नै श्रीमान्ले सँधै बलात्कार नै गर्थे भनेँ ।

मेरो जस्तो घटनामा वैवाहिक बलात्कारमै मुद्दा हाल्न सकिन्छ भन्ने थाहा थिएन । प्रहरीले पनि श्रीमान श्रीमतीबीच हुने यस्तो सम्बन्ध सामान्य हो भन्दै बस्नै नसके अंश र सम्बन्ध विच्छेदको मुद्दा हाल्न सुझायो ।

अंश दाबी गरेर अंश मुद्दा हाल्दा झन् यातना देलान् भनेर सम्बन्ध विच्छेदको मुद्दा मात्र हालें, अंश दाबी गरिनँ । झण्डै एक वर्षमा फैसला भयो । सम्बन्ध विच्छेद भयो ।

अहिले मलाई आनन्द छ । त्यति कानूनी प्रक्रियामा नगएर वर्षांै पीडामा बसेछु भन्ने लाग्छ अहिले । त्यतिबेलाको कुटपिटले दायाँ हात चल्दैन, खुटले राम्रो टेक्न मिल्दैन । शरीर सबै दुख्छ । पेटभित्र पनि घाउ भए जस्तै पोलिरहन्छ ।

(गोपनियताका कारण पीडित महिलाका पहिचान खुलाइएको छैन ।)

 

यौन अत्याचार सार्वजनिक गर्न हिचकिचाउँछन् महिला

नेपाली समाजमा अझै पनि यौन कुरा लाजको विषय मानिन्छ । यौन तथा प्रजनन् स्वास्थ्यका कुरा पाठ्यक्रममा भए पनि शिक्षकले नपढाइ विद्यार्थीलाई आफैं पढ भन्ने चलन हटिसकेको छैन । अझ श्रीमान श्रीमतीबीच हुने यौन सम्बन्धलाई त श्रीमानको हकको विषय ठानिन्छ ।

माथिका घटनाहरुबाट पनि प्रष्ट हुन्छ कि, अधिकांशले विवाहको अर्थ नै यौन हो भन्ने ठान्छन् र यसको भोगाधिकार पनि श्रीमानमा मात्रै छ भन्ने ठान्छन् । र श्रीमतीहरु आफ्नो शरीर र मनले धानुन्जेल यौन यातना सहिरन्छन् । विरोध गर्दा आफ्नै लाज हुने डरले सबै यातना सहन विवश हुन्छन् ।

तर, कानूनले श्रीमान श्रीमतीबीच पुरुषको हकले होइन सहमतीमा यौन सम्बन्ध रहनुपर्छ भन्ने परिभाषित गरिसकेको छ । श्रीमान श्रीमतीबीच जबरजस्ती यौन सम्बन्ध भए त्यसलाई बैवाहिक बलात्कारको रुपमा कानूनले व्याख्या गरेको छ ।

अझ अर्को पाटो, महिलाले यौन यातनाको कारण कानूनी उपचार खोज्दा घरेलु हिंसा, सम्बन्ध बिच्छेद वा अंश मुद्दा हुने गरेको पनि पाइन्छ । महिला हिंसा विरुद्ध काम गर्दै आएको कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) का अनुसार सन् २०१४ देखि २०१८ सम्म ८ जनाले श्रीमान्बाट जबर्जस्ती करणी भएको बताएका थिए ।

ल्याकले वार्षिक तीनहजार महिलालाई सेवा दिने गरेको संस्थाको भनाइ छ । संस्थाका अध्यक्ष अधिवक्ता अनिता थपलियाका अनुसार घरेलु हिंसाबाट पीडित भएको भनेर आउने मध्ये अधिकांशमा यौन सम्बन्धको विषय जोडिने गरेको छ ।

तर धेरै परामर्शपछि मात्रै पीडितले सम्बन्ध बिग्रनुको रहस्य खोल्छन्, ‘यौन सम्बन्धमा श्रीमान्को जबर्जस्ती सहनै नसकेपछि घरेलु हिंसा, मानाचामल, अंश र सम्बन्ध विच्छेदको मुद्दामा महिलाहरु जान्छन् । तर वैवाहिक बलात्कारमा पनि कानून छ भन्दा पनि महिलाहरु यसमा मुद्दा अघि बढाउनै नमान्ने अनुभव अधिवक्ता थपलियाको छ ।

यति मात्रै होइन, सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाका अनुसार श्रीमान श्रीमतीको सम्बन्ध बिग्रने मुख्य कारणहरु मध्ये यौन सम्बन्ध पनि एक हो । सम्बन्ध बिग्रिंदै गएपछि हिंसा सुरु भएर चरम रुप लिन्छ । तर महिलाहरु यो पीडालाई बाहिर ल्याउनै सक्दैनन् । उनीहरुलाई समाज, परिवार लगायतका इज्जतले बाँधेको हुन्छ ।

वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन माग गर्दै अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा हालेको रिटमा २०५९ साल बैशाख १९ गते सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता ढुंगानाका अनुसार अहिले कानून भएर पनि महिलाहरु पीडित भइरहेका छन् । पहिले कानून थिएन । तर अहिले कानून भएर पनि उजुरी पर्दैन । वरिष्ठ अधिवक्ता ढुंगाना भन्छिन्, ‘अब उजुरी किन पर्दैन भनेर राज्यले अध्ययन गर्नुपर्छ ।’

त्यसका साथै यौनको विषयलाई लुकाएर राख्ने विषय होइन । जनचेतनासँगै भएका कानूनको बारेमा पनि सबैसँग जानकारी पुर्याउनुपर्ने उनको भनाइ छ ।

यौन सम्बन्धको लागि दुबै तयार हुनुपर्छ

मनोचिकित्सक डा. सरोज ओझा, शिक्षण अस्पताल, महाराजगञ्ज

मनोचिकित्सक डा. सरोज ओझा यौन सम्बन्धको मामलामा तीन थरी विचार भएका व्यक्ति हुने बताउँछन् । त्यही विचारबाट निर्देशित भएर नै यौन सम्बन्धका बेला श्रीमानले श्रीमतीसँग गर्ने व्यवहार छुट्टाछुट्टै हुन्छन् ।

पहिलो खालका पुरुष अरुलाई हुने पीडाले सन्तुष्टि प्राप्त गर्छन् । उनीहरुको बानी नै दोस्रोको पीडामा रमाउने भइसकेको हुन्छ । यौन पार्टनर रुँदा, कराउँदा, ऐया गर्दा वा तनावमा देखिदा उ खुसी हुन्छ ।

दोस्रो थरीका पुरुषमा अत्याधिक यौन चाहना हुन्छ । जसका कारण उ आफ्नो पाटर्नरको इच्छा छ कि छैन भन्ने कुरामा मतलब नै गर्दैन । श्रीमतीलाई इच्छा नलागेको पनि हुन सक्छ, अथवा उसलाई इच्छा लाग्ने बनाउनका लागि के गर्नुपर्छ भन्ने सोच्दैन । आफूलाई मनलागेपछि जबर्जस्ती गरिहाल्छ । यसप्रकारका व्यक्तिबाट पार्टनरमाथि असह्य पीडा भइरहन्छ ।

तेस्रो खालका पुरुष रक्सी खाने तथा लागूऔषध दुर्व्यसनीमा फसेका हुन्छन् । यिनीहरुले पनि श्रीमतीसँगको यौन क्रियाकलापमा समझदारीको मतलब गर्दैनन् । आफूलाई मन लाग्दा श्रीमतीको मन छ कि छैन भन्ने कुराको कुनै हेक्का हुँदैन ।

डा. ओझाका अनुसार यौन सम्बन्धका लागि दुवै जना यौन पार्टनर उत्तिकै तयार हुनुपर्छ । पुरुषले चाहेकै बेला महिला यौन सम्बन्धका लागि तयार नहुन सक्छिन् । त्यसका लागि पुरुषले उनलाई तयार गर्ने क्रियाकलाप गर्न जरुरी हुन्छ । यसो हुँदा दुवै जनाको यौन सम्बन्ध स्वस्थ र सन्तुष्ट हुन्छ । श्रीमान श्रीमतीको सबै सम्बन्ध मजबुद बनाउँनका लागि सबैभन्दा पहिले यौन सम्बन्ध राम्रो हुनुपर्छ ।

अहिले त श्रीमतीको इच्छा विपरित श्रीमान्ले जबरजस्ती गर्न हुँदैन भनेर नेपालमा दण्ड सजायको व्यवस्था पनि छ । तर यो कुरा पनि सबैलाई जानकारी छैन । कानून र दण्ड सजायको कुरा थाहा पाउने हो भने त्यस्ता मान्छेहरु केही हदसम्म सचेत हुने र पनि डा. ओझा बताउँछन् ।

कानूनी व्यवस्था

सर्वोच्च अदालतले कानून बनाउन भनेर परमादेश जारी गरेको ४ वर्षपछि नेपालमा बैवाहिक बलात्कारको विरुद्ध कानून बन्यो ।

लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३, मा मुलुकी ऐनलाई संशोधन गर्दै श्रीमानले गर्ने जबर्जस्ती करणीमा ३ देखि ६ महिनासम्म कैदको व्यवस्था गर्न थालेको हो । नेपालमा यो नै वैवाहिक बलात्कार सम्बन्धी पहिलो कानून हो ।

त्यसपछि लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले बैवाहिक बलात्कारमा दण्ड सजाय बढाएर ३ देखि ५ वर्ष पुर्याएको छ ।

सोही ऐनअनुसार वैवाहिक बलात्कारको उजुरीको प्रारम्भिक छानबिनबाट श्रीमतीलाई तत्काल वा मुद्दा किनारा नहुँदासम्म दुवै एकै ठाउँमा बसोबास गर्न नसक्ने अवस्था भए पतिलाई तत्काल अलग बस्ने आदेश अदालतले दिन सक्छ । यसअनुसार श्रीमानले गर्ने जबर्जस्ती करणीको घटनाको हदम्याद ६ महिना तोकिएको छ ।

आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा ४ अनुसार बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।

यस ऐनले पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानेको छैन ।

तर पीडितको अवस्था र माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्ने व्यवस्था पनि छ –

(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन,

(ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,

(ग) दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,

(घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन ।

अपराध संहिताले उजुरीको हदम्याद बढाएर एक वर्ष पुर्याएको छ । जुन सकारात्मक हो । यस्तै कैद सजाय ५ वर्षसम्म हुने भनिएको छ । यसमा न्यूनतम कैद सजाय राखिएको छैन, त्यसले गर्दा न्यूनतम सजाय कति गर्ने न्यायधीशको स्वविवेकमा भर पर्छ ।

वरिष्ठ अधिवक्ता ढुंगानाका अनुसार कैद सजायमा तल्लो हद राख्नु उपयुक्त हुन्छ । तल्लो हद नहुँदा एकदिन कैद गरे पनि पुग्ने हुन्छ । त्यसैले यसमा पनि तल्लो हद राखिएको भए उपयुक्त हुने उनले बताईन् ।

हालसम्मको कानूनमा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ३ देखि ५ वर्षसम्मको कैद सजायको व्यवस्था छ । जसमा कम्तीमा ३ वर्ष कैद सजायको फैसला अदालतहरुको आदेशमा देखिन्छ ।

(पत्रकार लक्ष्मी बस्नेत काठमाडाैंबाट पत्रकारिता गर्नुहुन्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: