म अब यौनकर्मी बन्दिन


प्रकाशित मिति :2018-07-11 14:31:09

–इन्द्रसरा खड्का–

ललितपुर । म अहिले २८ वर्षकी भए । मैले २०६५ सालमा उदयपुर घाईघाटको केटासँग बिहे गरे । २० वर्ष नपुग्दै दुईटा छोरी जन्मे ।
अहिले जेठी छोरी ९ वर्ष र कान्छो छोरी ८ वर्ष पुगे ।

म सानै छँदा आमाको मृत्य भयो । बुवाले अर्को बिहे गरे । सँगैका साथीहरू स्कुल जान्थे । मैले घरको काम गर्नुपर्दथ्यो । सबै साथीहरू स्कुल गएको देख्दा मलाई पनि उनीहरूसँगै स्कुल जान, खेल्न मन लाग्थ्यो । तर खोई भाग्यमै थिएन होला, त्यो अवसर जुटेन मलाई ।

त्यतिबेलाका रहरहरू सबै मनमै बिलाए । सबै रहर त अहिले पनि पुरा भएका त कहाँ हुन् र ! तर पनि बचपनमा खान, लाउन, हिँड्न, डुल्न, रमाउन मन लागेका बेला नपाएका कुराले अहिले पनि मन अमिलो बनाउँछ ।

घरमा सौतेनी आमाको प्रवेश भएपछि बुवा पनि सौतेना नै भए । उहाँको व्यवहार पनि बद्लियो । उहाँ पहिले जस्तो रहनुभएन । सौतेनी आमाले पेटभर खाना नदिएका दृश्यले समेत आफ्नै बुवालाई छोएन । पेटभर खान पाएको दिन त बिरलै थिए ।

सौतेनी आमा र बुवाको यस्तो व्यवहारले मैले बाल्यकालदेखि नै विभिन्न दुःख कष्ट भोग्नुप¥यो । पढ्ने लेख्ने ईच्छा हुँदा पनि आमाबुवाले स्कुल नपठाएपछि म फुपूको घरमा गएर बसे । र त्यहीँबाटै ९ कक्षासम्म पढेँ ।

मेरै भाग्य भनौं फुपूको घरमा पनि बस्ने राम्रो वातावरण बनेन । त्यहाँको वातावरणले मलाई त्यहाँ पनि बस्न मन लागेन । ९ कक्षा पढ्दापढ्दै मैले फुपूको गाउँकोे केटासँग बिहे गरे ।

बिहे गरेको २ वर्षमै दुईटा छोरी जन्मे । पहिलो छोरी जन्मिदासम्म त श्रीमानले राम्रै गर्थे । दोस्रो सन्तान पनि छोरी नै जन्मेपछि छोरा नजन्माएको भन्दै श्रीमानले जाँड रक्सी खाने र सधैंजसो कुटपिट गर्न थाले ।

‘सुत्केरी भएको ४ दिनमै श्रीमानले कुट्दाको पीडा सम्झदा अहिले पनि मन पोल्छ । र आफैसँग सोध्छु के मैले माया गरेको मान्छे त्यही नै थियो त ?’

पहिले त्यति धेरै माया गर्ने श्रीमानले छोरा नजन्मेको भन्दै अनेक यातना दिन थालेपछिका दिनहरू सम्झदा त लाग्छ मान्छे यतिसम्म त कसरी निर्दयी हुनसक्छ भनेर ।

कहिले चक्खु देखाएर काट्न खोज्ने । कहिले रक्सी खाएर आधिरातमा आउने अनि छोरीलाई मार्न खोज्ने । तिनै श्रीमानले एकदिन अर्को श्रीमती ल्याएपछि त झन् बाँच्न मनै लागेन । दुईटै छोरीसहित आत्मदाह गरौं जस्तो लाग्थ्यो । तर ज्यान फाल्न सकिदोरहेनछ । छोरीकै कारण बाँच्न पर्ने भो ।

साना दुई छोरी लगेर कता जानु । जाने ठाउँ पनि त थिएन । डेढ बर्षसम्म सौता झेलेर सँगै बसेँ । हिजोका दिनमा तिमी बिनाको जीवन सम्भव छैन । तिमी बिना बाँच्न सक्दिन भन्ने श्रीमानले सौता भित्र्याएर तन, मन र धनसहित उसैको भएपछि कति रोएँ भन्ने कुरा कि मलाई थाहा छ, कि मेरो आत्मालाई । तर पनि श्रीमानको व्यवहार बद्लिएन । यातनाको श्रृंखला रोकिएन ।

श्रीमानले दिएको पीडा सहन नसकी घरबाट माईती जान्छु भन्दै भागेर काठमाडौं पसे । बिरानो शहरमा चिनेको मान्छे कोही नभएपछि मेरो कथा व्यथा बुझ्ने र माया गर्ने अरु त को हुन्थे र ?

एकजना गाउँकै बहिनी थिइन् । उनीसँगै बसेँ । म आफू एक्लै मात्र थिइन । छोरीहरू पनि खाने भइसकेका थिए । मैले उनीहरूलाई पाल्नकै लागि काम खोज्नुपर्ने भो ।

९ कक्षा मात्रै पढेकी मसँग शैक्षिक योग्यताका प्रमाणपत्र पनि थिएनन् । सोचेजस्तो राम्रो जागिर पाउने कुरै भएन । हातमुख जोर्नकै लागि काठमाडौंका कति गल्ली धाएँ, त्यसको लेखाजोखा छैन । तर पनि अहँ, मैले काम पाउन सकिन ।

भोक लाग्थ्यो हातमा पैसा हुँदैनथ्यो । कति दिन त मैले भोकभोकै कटाए । छोरीहरूले भोक लाग्यो भनेका बेला पानी दिन्थे । त्यी क्षणहरू सम्झदा त अहिले पनि भक्कानो फुट्ला जस्तो हुन्छ ।

भोको पेटमा मान्छे जस्तोसुकै काम गर्न बाध्य हुँदोरहेछ । अन्ततः कतै काम नपाएपछि रेष्टुरेन्टमा काम पाएँ । त्यो काम गर्न म राजी भएँ ।
अघिपछि अनेक कुरा काट्नेहरू प्रशस्तै भेटिन्छन् । तर भोको पेटका विषयमा कसैलाई मतलव नहुँदोरहेछ । मान्छेको बाध्यता कसैले नबुझ्ने रहेछ । जसले भोग्छ, उसैलाई मात्रै थाहा हुन्छ ।

रेष्टुरेन्टमा काम गर्न थालेपछि मेरो दैनिकी फेरियो । कामको प्रकृति फेरियो । अनुहार र व्यवहार भएका, नभएका, धनी गरिव, सबैथरीका मान्छेसँग भेट र कुराकानी हुन थाल्यो ।

चिन्दै नचिनेका केटाहरूसँगै मैले रक्सी खाएर कुरा गरिदिनुपर्ने भो । उनीहरूका कुरा सुनिदिनुपर्ने भो । त्यतिमात्रै होइन, मैले उनीहरूसँग नाच्न र खुसी बनाउनका लागि अनेक नखरा गर्नुपर्ने भो । मैले गरे । किनकी त्यति नगर्दा मसँगका तीन पेट भरिदैनथे । उनीहरूको शरीर ढाकिदैनथ्यो ।

रेष्टुरेन्टमा आउने पुरुष ग्राहकसँग खाइदिने, रमाइदिने कुराले मात्र उनीहरूका चाहाना पुरा हुँदैनथे । विस्तारै ग्राहकको चाहानालाई म मेरो बाध्यतासँग साट्न पुगेँ । उनीहरूलाई खुसी बनाउन र मेरा आवश्यकता पुरा गर्न म धेरै जनासँग सुत्न पुगेँ ।

म जुन दिन पैसाको लागि पर पुरषसँग सुत्थे । मसँग पैसा हुन्थ्यो र मेरो डेरामा मिठोमसिनो पाक्थ्यो । छोरीहरूलाई कापी कलम र नयाँ लुगाहरू किन्थेँ । निकै रमाउँथे छोरीहरू । उनीहरूको खुसी देख्दा आफ्नो मन भने भित्रभित्रै पोल्थ्यो । तर पनि छोरीहरूको अनुहारको खुसीमा मैले आफ्नो शरीर बेच्दै गएँ ।

बाध्यताले अँगालेको यौन व्यवसायलाई मैले मूल पेशा कहिल्यै बनाइन । यौनकर्मीलाई छि छि र दूर दूर गर्ने मान्छेहरू उनीहरूका बाध्यता र विवशतासँग भने नजिक हुन चाहादैनन् रहेछन् । खाली हात र भोको पेटको इज्जत गर्नु मान्छेको धर्म भइदिएको भए आफू र छोरीको सामान्य पेट पाल्नकै लागि म कहाँ अरुसँग सुत्थेँ र ? कसले बुझिदिने यस्तो कुरा ?

तर पनि मलाई आफ्नो कामप्रति चित्त बुझेन । यौन बेचेर आएको पैसाले जति सन्तुष्टि दियो, त्यो धन्दा धेरै पीडा पनि दियो । किनकी मलाई त्यो काम मन पर्थेन र पर्दैन पनि ।

त्यसकारण मैले अब पैसाको लागि यौन नबेच्ने मनसाय बनाए । छोरीहरू पनि ठूला भइसकेका कारण एकछिन पख् है भन्दा बुझ्छन् । आज छैन अलि साधारण खाऔं भन्दा मान्छन् । पैसा छैन सस्तो लुगा किनौं भन्दा हुन्छ भन्छन् । त्यसकारण पनि मलाई यौनकर्मी हुन मन लागेन ।

यो काम छोडे अहिले । दुनियाँका केटाहरूलाई खुसी पारेँ । तर मेरो खुसीका लागि कसैले केही गरेनन् । यतिसम्म कि म जोसँग सुत्न जान्थेँ, उसँग आफ्ना पीडा पोख्न मन लाग्थ्यो । तर कसले सुन्ने मेरो कथा ? मसँग रमाउन मात्रै आएका उनीहरूलाई मेरो पीडाले मन खल्लो बनाउनु थिएन । मेरो कुरा सुन्न मन लगाएनन् कसैले ।

अहिले म अरुको घरमा काम गरेर मासिक ७ हजार कमाउँछु । यो पैसाले तीनटा पेट पाल्न, कोठा भाडा तिर्न, छोरीहरूको पठनपाठनमा खर्च गर्न, खान लाउन निकै मुस्किल परिरहेको छ । तर के गर्नु अब म यौनकर्मी बन्दिन । चाहान्न र सक्दिन पनि ।

  तर मेरा छोरीहरूको आगामी शिक्षा र हाम्रो लालन पालनका बारेमा कसले सोचिदिने ? अलमल्ल पर्छु क्षणक्षणमा । दिक्क लाग्छ आफैलाई । अनि शून्य हुन्छु आफैभित्र । र भन्न मन लाग्छ बिहे गरेर सन्तान जन्माई श्रीमती र सन्तान जन्माउनेले कर्तव्य पालना गर्नु पर्छ कि पर्दैन ? म कुनै दिन यौनकर्मी थिएँ भन्ने कुरा सुन्दा त्यो मेरो कथित श्रीमानलाई के लाग्दो होला ? के मेरो कारण मेरो श्रीमतीले त्यस्तो हालत व्यवहोर्नु पर्यो ।

छोरीहरूले दुःख पाए भन्ने कुराको महशुस गर्छ त्यसले ? अनि त्यतिबेला यो समाजले गलत कसलाई भन्छः मलाई या मेरो छोरीको बाउलाई ? अनि यो समाजको भूमिकाचाहिँ के त ? सुत्केरी भएको चार दिनमा म कुटिदा, छोरीकी आमामाथि सौता भित्रिदा, सौता र श्रीमानको दिनरातको कुटाई सहनुपर्दा यो समाज कहाँ थियो ? कसले जवाफ दिन्छ मलाई ?

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: