दिलौरीः हिजो नम्बरी सुन थिई, आज फलाम


प्रकाशित मिति :2018-07-05 15:00:45

सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउदै दिलौरी चुरोट बेच्छे दिनभरी । हक्की स्वभाव मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खरलप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको ? नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्न कै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू ।

यो कस्तो कस्तूरी ? सुगन्ध उसैसँग थियो । तर ऊ बेखबर थिई, आफ्नै नाभिसँग । कतिले भन्थे ‘तँ सारै राम्री छेस्, नम्बरी सुन जस्ती । अरु सुनको त के भाउ र तेरो अघि ! कोही भन्थे ‘तँ आफै हिरा होस्, जो राती उधुमले चम्किन्छ । उसलाई फुर्काउनेहरू ठिटा मात्र थिएनन्, घरबार बसिसकेका बँधुवा गोरुहरू पनि थिए ।

हरिमाया भेटवाल

आँसु पुछ्ने रुमाल हातमा परेपछि आँसु नै आएन । जुनबेला आँसु आयो, त्यो बेला पुछ्नलाई रुमाल थिएन छेउमा । कस्तो अचम्म ! दिलौरी एक्लै हाँसी । हाँसो पुछ्न मिल्ने भए त्यही रुमालले पुछ्थी होला उसले यतिबेला । हातको रुमाललाई गल्ला छेउमा पट्याएर जतन साथ राखि उसले । फेरिएको त केहि थिएन । तर आज सबैकुरा फेरिए जस्तै लाग्दै थ्यो उसलाई । सुन्दर लाग्दैथ्यो घामको राप । रुखको छाँया । रेडियोको गीत । सायद रुमालसँग रुमाल मात्रै नभएर होला ।

अरु जसरी आउँथे, ऊ पनि त्यसरि नै आउँथ्यो । चुरोट किन्ने निहुँमा । दिपक र बचनले जिस्काएर जान्थ्यो । आउँदाआउँदै, जिस्किदा जिस्किदै मनका सारा कुरा साँटासाँट गर्ने बानी परेका थिए दुवै ।

– चिया खाँन्छस् ?
– खान्न, बरु चुरोट दे ।
– चुरोट नखा धेरै, छात्ती दुख्छ ।
– छात्ती त कति दुखेको छ कति ! तँलाई के थाहा ? भन्न मन लागेर पनि भनेन, बरु बिस्तारै आफैले आफैलाई सुनायो दिपकले ।
– किन चिन्तामा छस् तँ ?
– तँलाई छोडेर जानु परेकोले ….
– कत्ति न टाढा जाला जस्तो ।
– टाढात हो नि ! दिनदिनै भेट नभएसी ।
हावाले हावा मात्रै बोकेर ल्याउँदैन यतिबेला । धुलोका कणहरू बोकेर बेस्सरी दगुर्छ हावा यो उराठ लाग्दो चैत्र महिनामा । लाग्छ दिपकको मन र यो महिना उस्तै उस्तै हो ।
– किन म टाढा जाँदा तलाई केही हुँदैन ?
– अहँ हुँदैन ! हुन्छ कसरी भन्नु र ? बल्ल बल्ल पाएको जागिर जो छ । बुजकी दिलौरीले दिल कै कुरा गरी ।
– जागिर आवस्यकता थियो त प्रेम पनि आवश्यकता नै थियो । तर बाध्यता बिचमा उभिएको थियो– ठिंङ्ग ।
– एउटा कसम खा आज ।
– किन बिस्वास छैन तँलाई म प्रति ?
– छ । तर कुनै दिन कुनै चोर पस्यो भने ?
– चोर पस्ने दैलो बन्द गरेसी कसरी पस्छ ?
– कहिलेकाहीँ चोरहरू दैलोबाट नभएर झ्यालबाट, छतबाट पनि पस्छन्, त्यो बेला ?
– मेरो सानु यो पसलमा न झ्याल छ न छतबाट पस्ने ठाउँ छ । छ त सिङगल सटर । तँ नडरा ।
दुबै हाँसे एकले अर्कालाई हेर्दै । दिलौरीका आँखाले भन्दैथिए – तँ पनि त चोरै होस् । मेरो मन चोर्ने । तर मुखले केही भनिन उसले ।
– हाँसेर नटार न दिलौरी !
– ल मेरो कसम खाएर भन् ‘म तँ सिबाय अरु कसैलाई प्रेम गर्दिन भनेर ! तेरो यो पसलमा म भन्दा राम्रा कति आउछन् कति ! कतै ……!!
– यी केटाहरू यस्तै हुन्छन् । आफ्नै मात्र कुरा गर्ने । तेरो जस्तै हैन र मेरो पनि मन ! के प्रेम रुपसँग मात्रै हुन्छ, मान्छेसँग हुँदैन ? दिलौरी सुक्सुकाउन पो थालि ।
– भो नरो प्यारी । प्रेम मान्छेसँगै हुन्छ । उसले दिलौरीको गालामा चुक्क गर्यो । किन यतिछिटो फकिन्छन् होला केटी मान्छेहरू ? दिलौरी आफैले आफैलाई सोधी ।
– म त खुशी छु । खुशीले नै होला सपना पनि उस्तै देखिछु ।
– के देखिस् नि खुशीको सपना चाहिँ ?
– तँ र म दुवै माछा भएछौ क्या ! राता पखेटा भएका माछा ।
– अनि ?
– हामी नदीबाट पौडिदै पौडिदै समुन्द्र पुगेछौ ।
– त्यहाँ ठूला माछाले खाएनन् त हाम्लाई ?
– खान खोज्दा हामी ढुङ्गाको चेपमा लुक्दा रैछौ । घरी तँ अघी त घरी म अघी गर्दै । आहा ……पानी भित्र कस्तो मजाले पौडिएका हामी, हाम्रा थुप्रै साथीसँग ।
– (भाबुक हुँदै) जीवनको समुन्द्रमा जस्तोसुकै समस्या आए पनि हामी माछा जसरी नै पौडिने छौँ । म कहिल्यै साथ छोड्ने छैन तेरो ।
– मलाई ठूलो माछाले खाएर तँ बाँचिस् भने ?
– म ढुङ्गाको चेपमा लुक्दिन । अनि मलाई पनि खान्छ एकदिन ठूलो माछाले ।
– धत् ….के के गरौला भन्ने छ ! भो छोड् यो सपनाको कुरा । आफ्नो ख्याल गर्नु । आउँदा मोटाएर आउनु । बिहा गर्ने बेलामा बाघ र बिरालोको जोडी जस्तो देखिएला फेरि !
– दुबै हाँसे, जसरी हाँसेको छ आँगनको फूल ।

हृदयबाट गरिने प्रेमले हृदय नै दुखाईरहन्छ । नचाहेरै पनि दिपकले दिलौरीको हृदय दुखायो । आफू कति दुख्यो त्यो नाप्ने औजार कहाँ पाउनु र ? कुरा गर्दागर्दै बोल्न नसकेपछी उसले हातमा बोकेको रुमाल सायद जानिजानी छोडेर निस्किएको थियो, दिलौरीको पसलबाट ।

दिलौरीले उसको अघि रोएर देखाइन् । बरु उल्टा उस्को मन फुरुङ्गिएको थियो यो सोचेर कि, अब बाआमाले कुनै बहाना बनाउने छैनन्, नोकरी छैन केटाको भनेर । अब भने दिपकले जागिर खान थाल्नु भनेको विवाहको लागि लाइसेन्स पाउनुसरह हो, दिलौरीको लागि । एउटा मनले खुशी व्यक्त गर्दै थियो भने अर्को मनले दुःख । हैन मान्छेभित्र कतिवटा मन छ हँ !

जतिजति उकालो बाटो चड्छ, उतिउती मनबाट मस्तिष्कतिर सर्छ सम्झना । पाँच फूट दुई इन्चकी दिलौरी एक इन्चको आँखामा थपक्क बसेकी छे । आँखाबाट पसेकी ऊ मनमा बसेर मस्तिष्कमा डेरा जमाएकी छे । एकछिन घोत्लियो दिपक र सोच्यो ‘महिना दिनमा एक पटक त आउछु आउछु । उसले हिँडेकै दिनबाट गन्ती सुरु गर्यो गाडीमै । बसको रफ्तार र ऊ फर्किने समयको रफ्तार कमिला र हात्तिको हिँडाई झै लाग्यो उसलाई । तर बिकल्प अर्को थिएन ।

रातिको समय …..दिलौरीलाई विवाह गरी भर्खर ल्याइपु¥याएको थियो घरमा दिपकले । घाँटीमा एउटा तिलौरो र हातमा एउटा औठी पहि¥याएर । अनुहार जस्तै मन पनि सारै सफा दिलौरीको । उसलाई तारा झारिदिन्छु जुन झारिदिन्छु भनेर फूल्याउनै परेन कहिल्यै । जुन आफैले झार्ने बचन दिएको यो घडीमा दिपकलाई संसार एक्लै जिते झै लाग्यो । अरुबेला जिस्किदै बोल्ने दिलौरी आज लाटी बनेकी थिई । उसको मुख बोलिरहेको थिएन । तर आँखाले भने अरुबेला भन्दा धेरै बोलिरहेको थियो । रातै लुगामा सजिएकी दिलौरीलाई एकछिन आँखा नझिम्काइ हेरिरयो उसले र सोच्यो ‘यति राम्री दिलौरी अरु कसैले पाए के–के दिन सक्थे होला उसलाई । अरुसँग भए के–के माग्थी होला उसले ।

(दिलौरी मैले तँलाई धेरै गरगहना दिन नसके पनि प्रेम त म तलाई नै….। ऊ बसेको ठाउँबाट सर्दै दिलौरीतिर जुरुक्क उठेर सरेको त आफै सुतेको खाटबाट तल खस्यो । अत्तालिदै भूँइबाट जुरुक्क उठ्यो । यताउता हेर्यो त्यहाँ न दिलौरी थिई न त आफू बेहुलो भएकै थियो । निधार छाम्यो पसिनै पसिना । धत् सपना पनि के–के देख्या होला त लौ ! राती नै फोन गर्न खोज्यो । घडी हेर्यो रातको एक बजेको थियो । हिजो मात्र दिलौरीले फोनमा रिसाउँदै भनेको सम्झियो ‘मलाई फोनै मात्र गरिरहन्छौ भने पैसा के बचाउँछौ तिमी ? हप्तामा एकदिन मात्रै गर्ने गर फोन । केही हुँदा म नि गर्छु । हुन त म भन्दा थोरै पढेकी छे । तर प्रेममा अनेक अनुशासनको पाठ पढाउँछे ऊ मलाई भुक्तभोगी जसरी । सपनाबाट ब्यूझिएपछि आफैसँग एक्लै बातमारीरह्यो दिपक । रात मैन झैँ पग्लिएर सकिदै थियो । तर सकिएको थिएन दिलौरीको सम्झना आँखाबाट ।

धत् एउटी दिलौरीले कसरी बिर्साएकी बाआमा, सारा आफन्त ! सम्झनै पो आउँदैन त अरु कसैको । सायद प्रेममा सबै बिर्सिन्छन् होला केटामान्छे र विवाहपछी माइतका सबै बिर्सिन बाध्य हुन्छन् होला केटी मान्छे ।

बिहान सबेरै सपनाको कुरा सुनाउन फोन गर्यो उसले । तर फोन उठेन दिलौरीको । सायद फोन छोडेर पसलमा होला । एकछिनमा गर्छु । ऊ अफिस पुग्यो र पुग्ने साथ उसैलाई फोन गर्यो । तर फेरि पनि फोन उठेन । तात्तिएको मनमा कसैने तातो पानी खन्याए झैँ भो उसलाई । मन भित्रभित्रै थुप्रै पानीका फोकाहरू उठ्दै फुटे ।

महिनादिनमा गाउँ पुग्छु भन्ने दिपक चार महिना हुँदा पनि घरजाने वातावरण बनेको थिएन । घरी हाकिमले आफ्नु पनि कामको बोझ उसैलाई सुम्पिदिन्थे त घरी साथीभाईहरूले ।

जागिरको लगामले बाँधिएको दिपक चर्न जान कहाँ पाउनु र ? उसले क्यालेण्डर हेर्यो – चैत्र नौ गते होलीको बिदा । आज सात गते अझै दुईदिन बाँकी छ । अचानक दिपकको मनमा दिलौरीलाई सरप्राइज दिने जुक्ति फुर्यो । फोन नगरी पुग्ने । पसलको छेवैबाट उसैलाई लुकेर हेर्दै फोन गर्छु, के भन्दिरैछ हेरौ न !

होली प्रेमको दिवस । विजयको उल्लास मनाउने दिवस । शत्रुता बिर्सिएर शत्रुसंग पनि हात मिलाउने दिवस, यसै भन्छ हाम्रा संस्कारले । विजयीको रातो रङलाई महोत्सवको रुपमा लिइन्छ । दिपकले पनि सोच्यो – जीवनभरको साथ दिने दिलौरीलाई केही प्रेम उपहार लिएर जाउँ घर जाँदा ।

माटोले बनेको सुन्दर चुच्चो जोडिएका भाले पोथी सेता परेवा किन्यो उसले । फेरि सम्झियो रातो पनि केही किन्नु पर्छ । एउटा रातो साइडमा बोक्ने ब्याग किन्यो । आमालाई सम्झियो र खैरो ब्याग किन्यो । भर्खर गाडी चड्यो । तर गाडी भन्दा तेजवान मन मनकै खुड्किला चढेर अघि घर पुगिसक्यो ।

हैन हैन पहिले घर गयो भने बाआमाले कस्को लागि सामान ल्याईस् यो भनेर सोध्दा के जवाफ दिनु ? हैन पहिले दिलौरीको पसलमा जान्छु । उसलाई प्रेम उपहार दिन्छु । न्यास्रो अलिकति भए पनि मेटिन्छ अनि घर जान्छु । कुरा गर्न साथी कहाँ चाहिनु नि ! मनसँगको एकोहोरो सम्वादले होला बसमा अरु कसैसँग बोल्नै परेन दिपकलाई ।

हावाको गती र दिपकको पैतालाको गती उस्तै । परदेशबाट आएको लाहुरे झैं बेडिङ् बिस्तरामा नभए पनि जागिरे छात्ती आर्मीले परेड खेल्न उँभिए झैँ ऊ भन्दा अगाडी थियो । लोग्नेमान्छे हुनुको अभिमानलाई सटको गोजीमा कलम सिउरिए झैँ सिउरिएको थियो अनुहारमा । हिँड्दै गर्दा स–साना कमिलाको त के कुरा, ठूला ठूला ढुङ्गालाई पनि देखिरहेको थिएन उसले र लागिरहेको थियो ठेस् ।

धत् कैले बन्ला यो गाउँ सहर जस्तो ? चुनाव जितेको गाउँको नेतासँग यत्तिकै पनि रिसायो ऊ । भेटे भने योपाली दुई चार कुरा भन्छु नेतालाई पनि । पहिलेको दिपक जस्तो अहिलेको दिपक आफैलाई लागेन उसलाई । ऊ आफ्नै प्रगतिमा फिस्स हाँस्यो ।

दिलौरीको पसल पुग्नु भन्दा दुइसय मिटरजति अघि उसले परैबाट देख्यो मान्छेहरूको माहोल । किन झुम्मिएका होलान मान्छेहरू यसरी ? सायद आज होलीमा रातो रङ खेल्न जम्मा भएका होलान् सबै । त्यहि माहोलमा मिसिएर हेर्छु दिलौरीलाई पहिले, अनि मात्र फोन गर्छु । ऊ पसल नजिक गयो । भिडलाई छिचोलेर भिड लाग्नुको रहस्य बुझ्न भित्रीयो भिडभित्रै ऊ ।

चारजना सैनिक छेउमा आधा उभिएकी दिलौरीको खुट्टाबाट रगत बगिरहेको थियो । लुगा च्यात्तिएको थियो । ठाउँठाउँमा निला डामहरू प्रशस्तै थिए । दिलौरीका बाआमा छेउमा रोइरहेका थिए । आमा छोरीलाई पुरापुर उभ्याउन खोज्दै थिइन् । दुईदिन अघिदेखि हराएकी दिलौरीलाई अघि मात्र झोडीमा भेटेर ल्याईदिएका थिए सैनिकहरूले । होस् भर्खर आएपछि बयान लिन खोज्दै थिए उनीहरू । दिलौरी बोल्नु भन्दाअघि तर्सिन्थी । उसको बोली उसको जस्तो थिएन, पुरै भासिएको थियो ।

हिजोसम्म जुन जस्ती दिलौरी आज कुरुपता भरिएकी देख्यो दिपकले । उसको चोटमा मलम लगाउने हिम्मतसम्म गरेन । म यहाँ छु भन्दै भनेन । चुपचाप उभियो केहिबेर र फटाफट भिडबाट बाहिरियो ऊ । तर दिलौरीको कानमा भने उही सपना गुन्जिदै थियो ‘मलाई ठूलो माछाले खायो भने ?

– कस्ले तिमीलाई यस्तो गर्यो, चिन्छौ तिमी त्यो मान्छेहरूलाई ? ऊ थर्थराउदै बोली (एक्कासि फोन आयो मेरो मोबाइलमा । पसल बन्द गर्ने बेलामा । म दिपकको साथी बोलेको हुँ भन्यो उसले । मलाई दिपकले सरप्राइज उपहार पठाएको छ लिन आउ भन्यो । उसले बोलाएको ठाउँमा म गएँ । त्यहाँ पुग्दा झमक्क साँझ परेको थियो । म जाँ पुगेर उभिएकी थिएँ, त्यहाँ कोही थिएन । एक्कासि चारैतिरबाट चारजना केटाहरू निस्किए । अध्यारोमा मैले उनीहरूको अनुहार राम्रोसँग देखिन । ऊ बोल्दाबोल्दै बोल्न सकिन ।

– यो दिपक भनेको को हो ?

– मलाई मन पराउँछ ऊ । हामी प्रेम गर्छौ एकअर्कालाई । अहिले ऊ सदरमुकाममा जागिर खान्छ ।
कोल्टेपट्टीको छेउमा उभिएर दिपक सबै बयान सुनिरहेको थियो ।

– अनि कतिबेलासम्म तिमीलाई होस् थियो ?

– मेरो मुखमा रुमाल कोचे । मेरो हात पछाडी लगेर बाँधे । मलाई पालैपालो उनीहरूले …म कत्ती रोएँ …..भन्दाभन्दै फेरि रोई ऊ ।

वरिपरी हेर्यो दिपकले गाउँका मान्छेहरूको अनुहार । त्यहाँ दिलौरीप्रति सहानुभूति त थियो । तर ऊ विवाह गर्ने योग्य पात्र रहिन अब । ऊ अरुबाटै बिटुलो भई, जुठो भई । कस्को हिम्मत अब कि उस्लाई बाजा बजाएरै बेहुली बनाएरै आफ्नो जीवन संगिनी बनाउने ? के मान्छे समाजसँग यति धेरै डराउँछ ?

हिजोसम्म जुन जस्ती दिलौरी आज कुरुपता भरिएकी देख्यो दिपकले । उसको चोटमा मलम लगाउने हिम्मतसम्म गरेन । म यहाँ छु भन्दै भनेन । चुपचाप उभियो केहिबेर र फटाफट भिडबाट बाहिरियो ऊ । तर दिलौरीको कानमा भने उही सपना गुन्जिदै थियो ‘मलाई ठूलो माछाले खायो भने ? दिपकले जवाफ फर्काएको थियो (म लुक्दिन ढुंगाको चेपमा, अनि मलाई पनि खान्छ ठुला माछाले ।) तर दिपक त लुक्यो समाजको ढुंगे चेपमा दिलौरीले फेरि चाहेर पनि भेट्न नसक्ने गरी । मान्छेहरू कानेखुशी गर्दै भन्दैथिए ‘हिजोसम्म नम्बरी सुन थिई । फलामको भाउमा पनि बिक्री हुन्न अब ।

दिलौरी दिपक सम्झिदै आँखा चिम्लिदै थिई ए….ए…..ए फेरि बेहोस् भई दिलौरी । फेरि पानी खन्याउँदै थिए उसका बाआमा । दिपक भने फटाफट नफर्की हिँड्दै थियो । अलि पर रातो रंग पानीमा घोलेर होली खेलिरहेका यौवनाहरूलाई देखेर एकछिन उभिएर हेर्यो ।

यता रातो रगतमा होली खेलेकाहरूले दिलौरीको जीवनलाई समाजमा घृणाको पात्र बनाइरहेका थिए भने उता दिपक नयाँ प्रेमको सुरुआती खाका मस्तिष्कमा कोर्दै हिँडिरहेको थियो । दिलौरीलाई दिन साथमा ल्याएको उपहार दिपक आफैसँग थियो । तर थिएन दिलौरीलाई बोकी आएको मन ।

साभारः हरिमाया भेटवालको ब्लगबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: