राय बाझिने ‘श्रीमान्’


प्रकाशित मिति :2018-06-28 15:33:21

–प्रतिमा सिलवाल–

न्याय छिनोफानो गर्ने तहमा आजसम्म पुरुषको बोलवाला छ । आजभन्दा ४५ वर्ष पहिले, जतिबेला महिलालाई सामान्य नागरिकको हक उपभोग गर्ने अधिकार समेत सहज थिएन । अनुमान गरौं त्यो बेलाको न्यायालय कस्तो थियो होला ?

गाउँ समाजमा हुने हिंसा र अपराधको टुंगो पञ्च भलाद्मी नामका पुरुष समूह बसेर गाउँमै गरिन्थ्यो । हो त्यहि समयमा गौरी ढकालको न्यायिक सेवामा प्रवेश हुँदै थियो ।

विद्यमान कानून, नियम, नजिरको अध्ययन गरेर घटनाको पक्ष विपक्षको जित वा हार टुंगो लगाउने काम गर्न हौसिएकी थिईन्, –गौरी ।
गौरीले लोकसेवा उत्तीर्ण गरी १२ वर्षसम्म कानून मन्त्रालयमा उप–सचिव पदमा रहेर नीति निर्माणको काम गरेपछि न्यायाधीशको रुपमा काठमाडौं जिल्ला अदालतमा प्रवेश गरेकी थिईन् ।

२०३६ सालमा विद्यार्थी आन्दोलन चर्किएको थियो । विद्यार्थी आन्दोलन सामु घुँडा टेकेर राजाले बहुदल र पञ्चायतको विषयमा जनतमत संग्रह गरे । ‘त्यतिबेला न्यायाधीशहरू जिल्ला जिल्लामा निर्वाचन गराउन गएका थिए’ ढकाल सम्झिइन्, ‘आन्दोलनमा जगमेर श्रेष्ठको भतिजो मारेको घटनामा थुनछेक आदेश गराउनुपर्ने भयो । त्यो नै मैले न्यायाधीश भएर गरेको पहिलो मुद्दा थियो ।’

पढाइमा बुबाको प्रेरणा

राजधानी काठमाडौंको सिफलमा रहेको सामान्य परिवारकी जेठी छोरी गौरी । सुब्बा बुबाको प्रेरणाले विद्यालय शिक्षा पाईन् । देशमा नारी शिक्षाको अभियान जाग्दो थियो । त्यहीबेला गौरीले पद्मकन्या क्याम्पसबाट अनिवार्य नेपालीमा स्नातक गरिन् ।

स्नातक पढेर सिध्याउँदासम्म बुबा कृष्णमणी उपाध्यायले सुब्बा पदबाट अवकाश पाइसकेका थिए । बाँकी ५ जना बहिनी र भाइको शिक्षा बाँकी नै थियो । ‘बुबाले त युनिभर्सिटी पढाउँछु भन्दै हुनुहुन्थ्यो’ गौरीले भनिन्, ‘भाइबहिनीलाई पनि पढाउनुपर्ने भएकोले मैले जागिर खान्छु भनेँ ।’

जागिर त खाने, तर के मा ? नजिकका एक काकासँगको भेटमा उनले भनिन् ‘बुबा रिटायर्ड हुनुभयो । अब मैले भाइबहिनी पढाउनुपर्छ । मलाई जागिर खोजिदिनुस् ।’

काकाले नेशनल ट्रेडिङमा जागिर खुलेको भनी बाटो देखाइदिए । जसरी पनि जागिर खान हौसिएकी गौरी सिफलबाट हिँडेर टेकु पुगिन् । लिखित, मौखिक परीक्षा दिईन् । तर एक महिना हुँदासम्म पनि नतिजा आएन ।

एक दिन झोक चलेर टेकु पुगिन् । त्यतिबेला महाकवी लक्ष्मीप्रसाद देवकोटाका कान्छो भाइ गौरीमाधव देवकोटा नेशनल ट्रेडिङका महाप्रबन्धक थिए । सिधै उनीसँग भेटेर ‘मलाई जागिर खान ढिला भइसक्यो । तपाईंहरूले किन रिजल्ट ननिकालेको ?’ भनिन् ।
‘जागिरै खाने हो ?’ देवकोटाले प्रतिप्रश्न गरे । उनले हो भनेपछि ‘नियुक्तिपत्र लिएर जानु’ भने ।

२०२१ साल असार मसान्तको समय थियो त्यो दिन । नेशनल ट्रेडिङमा सुपरभाइजरको पदमा २ सय २५ रुपैयाँ मासिक तलबमा नियुक्ति लिईन् । उनको पहिलो जागिर थियो त्यो । भनिन्, ‘नियुक्तिपत्र लिएर घर गएको त बुबा जिल्ल पर्नुभयो ।’

कानूनको पढाई

गौरी बिए सकेर जागिरमा लागेकोले उनीसँग स्नातकोत्तर पढ्नको लागि कलेज जाने समय थिएन । बिहान ट्यूसन पढाउँथिन् । दिउँसो जागिर गर्थिन् । पढ्ने इच्छा त थियो तर, के कहाँ पढ्ने मेसो मिलिरहेको थिएन ।

त्यस्तैमा एक दिन दाइ नाता पर्ने एकजनाले गौरीलाई सोधे, ‘गौरी तिमी एमए कहिले गर्छौ ?’  गौरीले व्याङ्ग्यात्मक जवाफ दिईन्, ‘छोरी मान्छे । डाडू पन्यू चलाउने जात । बिए पढिहालेँ । अब के पढ्नु !’

हुन त उनले ठट्टामा भनेकी थिईन् । तर, ती दाजुबाट नराम्रोसँग गाली खाइन् । अनि सुझाव पनि पाईन्, ‘ल मा भर्ना खुलेको छ । रातीमा पढ्न पाइन्छ पढ ।’  पढ्ने कुराले फेरि हौसिइन् उनी । तर छोरी मान्छे, त्यो पनि रातमा पढ्ने ! उनले निर्णय गर्नै सकिनन् । अनि बुबासँग सोधिन्, ‘बुबा रातीमा ल पढौं ।’

छोरीको पढ्ने उत्साहमा बुबाले साथ दिए । त्यतिबेला काठमाडौंमा भर्खरै साझा बस चल्न सुरु गरेको थियो । तर गौशालाबाट अगाडि जाँदैन थियो । बुबाले सल्लाह दिए, ‘तिमी पढेर गौशालासम्म साझा बसमा आउ । त्यहाँसम्म लिन म आउँछु ।’

बुबाले आड दिएको भोलिपल्टै गौरी दरबार स्कूलमा रहेको ल क्याम्पसमा गएर भर्ना भईन् । २ वर्षसम्मको उनको पढाइमा सँधै बुबा लिन आए ।

जागिरको यू टर्न

बिहान, दिउँसो जागिर गरेर पढ्ने भए पनि नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थीमा अब्बलमै नाम आउँथ्यो गौरीको । उनले नेशनल ट्रेडिङको जागिर पनि छोडेकी थिईनन् ।

त्यतिबेला नेपाल सरकारको न्याय सेवामा जनशक्तिको अभाव भएको रहेछ । नेशनल ट्रेडिङका कानूनी सल्लाहकार कृष्णप्रसाद भण्डारी थिए । उनलाई तत्कालिन कानून सचिव विश्वनाथ उपाध्यायले ल पढ्ने राम्रा विद्यार्थीको नाम देउ भनेका रहेछन् ।

भण्डारीले गौरीको पनि नाम दिएछन् । अफिसमा भेट भएको बेला भण्डारीले एकपटक सिंहदरबार गएर कानून सचिवलाई भेट्नु भने । गौरीले अफिसको गाडीमा सिंहदरबार लगिदिन अनुरोध गरिन् । अनि विश्वनाथ उपाध्यायसँग भेटिन् ।

उपाध्यायले एउटा आवेदन पत्र लेख भने । उनले लेखिन् । अन्तवार्ताको लागि यो दिन आउनु भनेर पठाए । घर गएर गौरीले बुबासँग करारमा कानून मन्त्रालयमा जागिरको अफर आएको सुनाईन् । तर बुबा कृृृष्णमणीले लोकसेवा उत्तीर्ण गरेर जानु, करारमा होइन भने ।

त्यसको भोलिपल्टै बुबासँग भएको कुरा सचिवलाई सुनाएर ‘म जागिर नखाने’ भनिन् । ३ पटकसम्म उपाध्यायले सोधे । उनले जागिर नखाने नै तेहर्याईन् । त्यसपछि हुन्छ भन्दै छाडिदिए ।

लोकसेवा उत्तीर्ण

गौरीले जसरी पनि लोकसेवा पास गरेर न्याय सेवामा प्रवेश गर्ने निर्णय गरिन् । लोकसेवाको परीक्षा दिईन् । उत्तीर्ण पनि भईन् । लोकसेवामा परीक्षा दिएको बेला महिला उनी मात्रै थिईन् ।

‘२ नम्बरमा नाम निस्कियो’ ढकालले भनिन् । त्यसपछि २०२५ सालमा उनी कानून अधिकृतको रुपमा कानून मन्त्रालयमा प्रवेश गरिन् ।
कानून मन्त्रालयमा प्रवेशपछि ५ वर्षमा नै उनी उप–सचिवमा बढुवा भईन् ।

त्यसपछि प्रथम श्रेणीमा भने १२ वर्षपछि मात्रै पदोन्नती भयो । ‘मेरो पालामा बढुवा गर्दा नेपाली पढेको भनेर नम्बर जोडेनन् । जबकी मभन्दा अघिको पालामा बढुवा हुने केही पुरुषहरू सोही आधारमा नम्बर पाउने पनि थिए ।’ गौरीलाई आफ्नो बढुवा ढिलो हुनुमा महिला भएकै कारण हो भन्ने लाग्छ ।

विवाह

गौरी करिअर निर्माणको संघर्ष मै थिईन् । यसैबीच उनको परिवारमा विवाहको प्रस्ताव गयो । परिवारको प्रस्तावमा नाइनास्ती गरिनन् ।
२०२३ साल फागुन २३ गते जावलाखेल घर भएका मदनप्रसाद ढकालसँग उनको विवाह भयो ।

विवाहपछिका दैनिकी झनै कष्टपूर्ण थियो । महिला पनि जागिरे हुनुपर्छ भन्ने मान्यता भएका श्रीमानका कारण उनलाई जागिरमा रोकावट त थिएन ।

तर, ३०-३५ जनाको संयुक्त परिवार । एउटी बुहारीले गर्नुपर्ने जिम्मेवारी पूरा गरेर जागिर खानु सजिलो त कहाँ हुन्थ्यो र ?

‘सबै स्वास्नी मानिसले गर्नुपर्ने कामलाई मैले पनि निरन्तरता दिइरहे’ उनले थपिन्, ‘जागिर खाने थप जिम्मेवारी थियो । यद्यपि, म आफ्नो भूमिकाबाट कहिल्यै विचलित भइन ।’

महिला भएकोले विभेद

१२ वर्ष कानून मन्त्रालयको जिम्मेवारी । त्यसपछि २६ महिना जिल्ला अदालत काठमाडौंमा न्यायाधीशका रुपमा जिम्मेवारीपछि उनलाई गृह मन्त्रालय पठाइयो ।

गृह मन्त्रालय गइसकेपछि भने उनले पटक पटक महिला भएपछिको विभेद महशुस गरिन् । बढुवादेखि जिम्मेवारी दिनेसम्ममा पुरुषवादी सोच हावी भएको उनको अनुभव छ । जागिर प्रवेश गरेको ५ वर्षमा उपसचिव भएकी उनी २०४२ सालमा मात्रै पहिलो श्रेणीमा बढुवा भईन् ।

‘महिला भएकै कारण काम गरेर मात्रै नहुने आचरण, व्यवहारबाट समेत आफूलाई पुष्टि गर्नुपर्ने अवस्था थियो त्यो’ गौरीले सम्झिईन्, ‘अलिकति बोल्ड भएर कुरा गर्यो भने महिला संगठन चर्किएको छ भन्थे ।’

कामबाटै आफूलाई पुष्टि गर्न दत्तचित्त हुँदाहुँदै कहिल्यै सिनेमा, चाडपर्व, भोजभतेरमा सहभागी हुने मौका नै जुरेन उनलाई । कामको कडा अनुशासनमा आफैले आफैलाई राख्दा राख्दै जीवनको रंगीन पक्ष अनुभव नै गर्न पाइनन् उनले ।

न्यायाधीश हुँदाको २५ वर्ष

पहिलो श्रेणीमा बढुवा भएपछि न्यायाधीशका रुपमा अञ्चल अदालत गण्डकीमा पोष्टिङ भयो । त्यसपछिका करिब २० वर्ष उनले राजधानीबाहिर बिताईन् । कहिले हेटौंडा, कहिले राजविराज, कहिले महेन्द्रनगर, विराटनगर त कहिले जनकपुर गरेर आफ्नो सेवा अवधीमा सक्रिय नै रहिन् ।

गण्डकीमा त उनलाई महिला भएकैले नपत्याउने घटना भएन । जब विराटनगर गईन्, त्यहाँ चाहिँ उनी आफैलाई कहिलेकाहीँ प्रश्न गर्थिन्, ‘साँच्चै महिलालाई सबै तहमा सर्वस्वीकार्य कहिले हुन्छ ?’

गौरीले विराटनगरको अनौठो अनुभव सुनाईन् । २०५४ सालमा बिराटनगर गएकी थिइन् । एउटा मानिस स्वास्नीमान्छे पनि न्यायाधीश हुन्छन् रे भनेर हेर्न आए । गौरीले ल हेर्नुस् भनिन् । एकछिन गौरीलाई हेरे । अनि जिल्ल परेर गए ।

त्यतिमात्रै कहाँ ! ‘कर्मचारीले श्रीमानकहाँ मुद्दा छ भन्दा दंग पर्थे’ उनले भनिन्, ‘मुद्दाका पक्षहरू आफ्ना कुरा राख्ने भन्दा पनि मलाई जिल्ल परेर हेर्थे ।’

गौरी आफूलाई हार्डलाइनरका रुपमा लिन्छिन् । किनकी उनी मुद्दाको मिसिल अध्ययन गरेर प्राप्त प्रमाण र कानूनलाई हेरेर मात्रै मुद्दाको फैसला गर्थिन् । गौरीकै भनाइमा उनलाई व्यक्तिगत सम्बन्ध वा सोर्स फोर्सको भरमा मुद्दा हेर्ने इच्छा चाहिँ कहिल्यै जागेन ।

बिराटनगरमा पनि त्यस्तै भयो । उनले कहानी सुनाईन् । ‘विराटनगरका एक व्यक्तिले दोस्रो विवाह गरेपछि पहिलो श्रीमतीबाटका छोराछोरीलाई वास्ता नगरेको रहेछ । जेठी श्रीमतीको छोरा ठूलो भएर अंश माग्दा खाल्डो खनेर गाड्न लागेको रहेछ । मुद्दा मेरै बेन्चमा आयो ।

मैले त्यो मिसिल अध्ययन गरेर छोराले अंश पाउने फैसला गरिदिएँ । त्यसपछि त विपक्षीतर्फको चुडामणी भन्ने वकिलले मलाई गाली यति त गरेन । त्यो फैसला गलत थियो भने त मुद्दा उल्टनुपर्ने । तर आजसम्म पनि उल्टेन ।’

२०४२ साल चैतमा अञ्चल अदालत गण्डकीबाट सुरुभएको गौरीको मोफसलको जागिर २०६२ साल भदौमा गण्डकी मै आएर टुंगियो ।

सर्वोच्च अदालतको न्यायाधीश

विभिन्न अञ्चल अदालतमा रहँदा गौरीले आफ्नो क्षमताको आधारमा मुख्य न्यायाधीश बढुवामा माग गरिन् । उनको दाबी पुग्ने पनि थियो । तर, महिला भएको र बढुवा गर्ने तहमा ‘आफ्ना’ नभएका कारण गौरीले न्यायाधीशमा मात्रै सीमित रहनुपर्यो ।

उनले दरबारमा सिधै उजुरी पनि गरिन् । दरबारले उनलाई विभेद गरेको महशुस पनि गर्यो । ‘मलाई बढुवामा गरेको विभेदका कारण एक वर्षसम्म डिप्रेसनमा गएँ’ गौरीले भनिन् ।

त्यसपछि भने उनी क्षमताकै आधारमा २०६२ असोजमा सर्वोच्च अदालत काठमाडौंमा न्यायाधीशका रुपमा प्रवेश भइन् । सर्वोच्च अदालतको इतिहासमा महिला भएर न्यायाधीशमा आउने उनी तेस्रो महिला थिईन् ।

हालसम्म एक प्रधानन्यायाधीशसहित ६ जना महिला सर्वोच्चको न्यायाधीश भइसकेका छन् । ४ जना सेवा निवृत्त भइसके भने २ जना बहालवाला न्यायाधीश छन् । सर्वोच्चमा ५ वर्ष पुग्न १ महिना बाँकी रहँदा उमेर हदका कारण गौरीले अवकाश पाएकी हुन् ।

राय बाझिने न्यायाधीश

न्यायाधीश हुँदाको अधिकांश संयुक्त बेन्चमा राय बाझिने न्यायाधीशमा गौरी पर्थिन् । एउटै बेन्चका र उही मिसिल अध्ययन गरेका न्यायाधीशबीच राय किन बाझिन्छ ?

जवाफमा गौरीले भनिन्, ‘म मिसिल र घटनासँग सम्बन्धित कानून अध्ययन गरेर मात्रै राय लेख्छु । तर कतिपय न्यायाधीशको घटना र मिसिल भन्दा पनि अन्य कारणले राय आउँथ्यो । म त्यो बुझ्नेबित्तिकै तपाईंसँग मेरो राय बाझिने भयो है भन्थें ।’

गौरी दाबीका साथ भन्छिन्, ‘मैले कसरी राय लेख्थें भन्ने जाँच गर्न मैले गरेका फैसला उल्टिएको संख्या जाँच गर्दा पनि हुन्छ ।’ उनका अनुसार अहिलेसम्म उनको फैसलामा एक प्रतिशत पनि फैसला उल्टिएका छैनन् ।

‘श्रीमानकाे श्रीमान्’

गौरीको विवाह २०२३ साल फागुनमा मदनप्रसाद ढकालसँग भयोे । तर विवाहको २ महिनापछि उनीहरू टाढा बस्नुपर्यो । नेपाल सरकारको प्रशासन सेवाका कर्मचारी ढकाल विवाहको २ महिनामा नै महाकाली अञ्चल अस्पतालको अञ्चल हुलाक अधिकृत भएर बैतडी गए ।

गौरीको बानी व्यहोराको प्रसंगमा मदनप्रसाद भन्छन्, ‘हाम्रो त इयरली लाइफ । डे टु डे त लाइफ हुनै पाएन । उनको व्यवहारबारे खासै थाहा छैन ।’

मदनप्रसाद र गौरी

यद्यपि, गौरीले बुबाबाट पाएको निष्टाको जीवन चाहिँ आफ्नो न्यायाधीश हुँदाको जीवन र आज पनि उस्तै अपनाएको उनको अनुभव छ ।
‘लोभ भएन भने मान्छे खुसी हुन्छ’ मदनप्रसादले भने, ‘उहाँमा पनि लोभ भन्ने कुरा कहिल्यै पाइन ।’

मदनप्रसादको उमेर अहिले ८२ वर्ष पुग्यो । उनी वन मन्त्रालयबाट उप–सचिवबाट सेवा निवृत्त भए । त्यसअघि उनी कहिले दोलखा, कहिले कता । अधिकांश समय जिल्लामै खटिए ।

त्यतिबेला १२ वर्षका छोरा घरमा एक्लै छोडेर ढकाल दम्पती जागिरे सिलसिलामा बाहिर थिए । ‘हामी तीन जना त एक्लै एक्लै हुर्किएको’ गौरीले भागदौडको जागिरे जीवनबारे थपिन् ।

अहिले त कतिपय श्रीमान्ले श्रीमतीलाई जागिर छुटाएर आफूसँगै राख्छन् । मदनप्रसादले जिल्ला जिल्लामा गौरीलाई सजिलै कसरी पठाए त ? के उनलाई श्रीमतीप्रति अविश्वास भएन ?

श्रीमतीमाथिको विश्वासको बलियो आधार यसरी सुनाए मदनले, ‘गौरी कहिल्यै टप लगाउँथिनन् । आजसम्म पनि लगाउँदिनन् । मेरो आशय एउटा भए पनि टप लगाइदिए हुने भन्ने थियो । उनलाई टप लगाउन भनें पनि ।

मैले टप लगाउ भन्दा उनले पुरुष न्यायाधीशसँग बसेर मैले मुद्दाको छिनोफानो गर्नुपर्छ । म सिंगार पटार गरेर गएँ भने त मान्छेले मलाई पो हेर्छ । मेरो काम हेर्दै हेर्दैन भनिन् । त्यो दिनदेखि मलाई उनीप्रति अटुट भरोसा आयो ।’

अवकाश जीवन

गौरी अहिले ७३ वर्षकी भईन् । उनी अहिले भागदौडको जीवनबाट मुक्त छिन् । समसामयिक कानूनी विषयहरूमा अध्ययन गर्छिन् । सवाल जवाफ गर्छिन् ।

पछिल्लो समय उनले समाज परिवर्तनको लागि बलात्कार विरुद्धको अभियान पनि चलाएकी छिन् । अन्तर्राष्ट्रिय महिला न्यायाधीशहरूको एशोसिएसनको सदस्य पनि हुन् । सोही संस्थामार्फत कानूनी सचेतना तथा बलात्कार विरुद्ध काम गरिरहेकी छन् ।

अनि, अर्को महत्वपूर्ण दैनिकी हो ८२ वर्षका श्रीमानको रेखदेख । ‘युवावस्थामा एक अर्कालाई रेखदेख गर्ने कहिल्यै फूर्सद भएन’ गौरी भन्छिन्, ‘अहिले श्रीमान श्रीमतीको रेखदेख एक अर्काले गर्न पाएका छौं । २०६७ सालयता हाम्रो दिन एक अर्काको केयरिङमा बितेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: