महिला जल्ने प्रमुख कारण– पहिरन


आगोबाट प्रत्यक्ष जल्नेमा धेरैजसो भान्सामा काम गर्ने गृहणी नै हुन्छन्

प्रकाशित मिति :2018-06-26 15:03:41

काठमाडौं । दाउराको चुलोमा खाना पकाउँदै गर्दा चितवनकी एक ५२ वर्षीया महिलाको शरीरमा आगो लाग्यो । उनले पोलिष्टरको साडी लगाएकी थिईन् । कपडामा आगो सल्किएको थाहा पाए लगत्तै पोलिष्टरको सारी फुकालेर फालिन् । तै पनि उनी घाइते भइन् ।

‘हेर्दाहेर्दै आमाको शरीरमा आगो सल्कियो । म बाहिर गएर गुहार लगाउन थालेँ,’ किर्तिपुर अस्पतालमा कुरुवा बसेकी उनकी छोरीले भनिन्, ‘त्यसपछि भरतपुर अस्पताल पुर्यायौं । भरतपुर अस्पतालले रिफर गरेपछि आमालाई यहाँ ल्याएका हौँ ।’

शिल्पा कर्ण

गएको माघ महिनामा महिलाको शरीरमा आगो लागेको हो । कपडा हुँदै शरीरसम्म आगो आइपुग्दा उनको कम्मरमुनिको अधिकांश भाग जलेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार शरीरको ४० प्रतिशत भाग जलेको छ । परिवारले कीर्तिपुर अस्पताल बर्न सेन्टरमा ल्याएपछि दुई हप्ताअघि उनको शल्यक्रिया गरिएको छ ।

फागुन महिनामा रोटि पकाउँदा सुनसरीकी ३५ वर्षीया महिला घाइते भइन् । चुला पछाडिको सामान लिन निहुरिँदा उनको साडीले आगो समात्यो । जाडोको मौसम भएकाले सारी, ट्राउजर र पटुकी खोलेर फालुञ्जेल उनको १८ प्रतिशत शरीर आगोले खायो ।

त्यसको दुई दिनपछि मात्र अस्पताल आइपुगिन् । आफै निको हुन्छ भनेर पर्खेकी उनी शल्यक्रिया नगराउने पक्षमा थिइन् । उपचार निकै खर्चिलो हुने भएकाले पनि शल्यक्रिया गराउन मानेकी थिइनन् ।

जलनको पीडा कम नभएपछि १६ दिनपछि मात्र छाला प्रत्यारोपण गर्ने शल्यक्रिया गराउन सहमत भइन् उनी । आफ्नै शरीरको पछाडिको भागबाट आवश्यक छाला लिई तीन पटक घाउमाथि छाला प्रत्यारोपण गरिएको छ ।

घरमा खाना पकाउने, घरायसी कामकाज गर्नेमा धेरैजसो महिला भएकाले आगोको चपेटामा आउनेमा पनि महिला र बालबालिका नै बढी छन् ।

अग्नीजन्य हिंसाका क्षेत्रमा कार्यरत संस्था अग्नी हिंसा पीडित समाज नेपालका अनुसार आर्थिक वर्ष २०७३\७४ मा संस्थाको सम्पर्कमा आएका अग्नीजन्य घटनाका पीडितमा ६१.०३ प्रतिशत महिला थिए । अधिकांश घाइते सिधै आगोबाट जलेर र तातो पदार्थ पोखिन पुग्दा भएका थिए ।

घरायसी कामकाजका क्रममा आगो नजिक बस्ने हुँदा महिलाहरू नै आगलागीका घटनामा पर्ने गर्छन् । लामो कपडाले आगोको जोखिम झनै बढाउ“छ ।

पहिरन कारक

नेपाल सरकारको तर्फबाट आगोजन्य पदार्थबाट भएका घटनाबारे अध्ययन हुन सकेको छैन । त्यसैले पनि यसको आधिकारिक तथ्यांक छैन । तर चिकित्सकहरूका अनुसार आगोजन्य दुर्घटनाको शिकार बढिजसो महिला नै हुने गरेका छन् ।

महिलाले प्रायः खुकुलो र बेर्ने किसिमका कपडा लगाउने भएकोले आगो सल्किनेबित्तिकै फुकालेर फाल्न नसकिने हुनाले जल्ने जोखिम बढी हुने चिकित्सकको अनुभव छ ।

‘धेरैजसो महिला आगोको कारण जलेर आउने गर्छन्’ किर्तिपुर अस्पताल बर्न डिपार्टमेन्टका डाक्टर शंकरमान राईले भने, ‘कपडामा सल्किएर ज्यानसम्म आइपुगेपछि मात्रै थाहा पाउँदा शरीरको धेरै भाग जलिसकेको हुन्छ ।’

कसेर बाँधेको पेटिकोट, त्यसमाथिको साडी फालुन्जेल सल्केको आगो शरीरसम्म फैलिसक्छ । विशेष गरी जाडो मौसममा अझ धेरै महिला जल्ने जोखिम हुने उनले बताए ।

किर्तिपुर अस्पतालको तथ्यांक विभागकी पद्मा महर्जनले भनिन्, ‘महिलाहरू आगो लागेको खण्डमा लुगा फाल्न पनि लाज मान्छन् । जसले डिप बर्न हुन्छ । घाउ गहिरो भएपछि छाला उसकै शरीरबाट निकाल्न सकिन्न, डोनर आवश्यक पर्छ ।’

पछाडि फर्केर ढाड सेक्न लाग्दा, चुलो पछाडिको सामान लिन निहुँरिदा धेरैजसो महिलाहरू आगलागीमा परेको चिकित्सक बताउँछन् । महिलाहरूको पहिरनले आगलागीको जोखिम झनै बढी हुने गरेको महर्जन बताउ“छिन् ।

ठूला रेष्टुरेन्ट, होटेल आदिमा आगोस“ग नजिक हुने वा भान्सामा काम गर्ने महिला र पुरूष ‘सेफ’ दुवैका लागि एप्रोन र ड्रेस अनिवार्य हुन्छ ।

तर घरको भान्सामा काम गर्नेका लागि त्यस्ता सुरक्षा मापदण्ड हुँदैनन् । आगोको काम गर्दा कुन वा कस्तो लुगा लगाउने भन्नेबारे महिलाहरूले सोच्नु जरुरी रहेको अग्नि हिंसा पीडित नेपालकी अध्यक्ष सुलक्षणा राणाको भनाइ छ ।

हिंसा पनि महिला जल्ने कारण

अहिलेसम्म पनि आगोजन्य हिंसाका घटनामा कमी नआएको अनुभव छ अग्नीहिंसा पीडितकी अध्यक्ष सुलक्षणा राणाको । स्टोभ र चुलोमा खाना पकाउनेको संख्या घटे पनि आगोजन्य हिंसा कम नभएको राणाको भनाइ छ ।

‘सुरुमा दुर्घटना भने पनि लामो अस्पताल बसाईंको क्रममा नर्सस“ग बिरामी बिस्तारै खुल्दै जाँदा उनीहरू कुनै न कुनै किसिमले हिंसाको शिकार भएको बताउ“छन्,’ राणाले भनिन् ।

राणा बढीजसो दुर्घटनामा गरीबी र सतर्कता नअपनाउनु कारण रहेको बताउँछिन् । उनको भनाइमा पहिरनका साथै आगोको अगाडि जाने र त्यसको काम गर्ने जो कोहीले पनि पर्याप्त सतर्कता अपनाउनैपर्ने हुन्छ ।

सुतीको एप्रोन वा सारी किन्ने क्षमता नभएर नाइलन जस्ता कपडा प्रयोग गर्दा आगाले छिट्टै समात्छ । उनले भनिन्, ‘आगोबाट प्रत्यक्ष जल्नेमा धेरैजसो भान्सामा काम गर्ने गृहणी नै हुन्छन् । अझ धेरै त गरिब परिवारका हुन्छन्, जहा“ न्युनतम सतर्कता अपनाउने वातावरण र आर्थिक अवस्था नै हुन्न ।’

घरमा काम गर्नेले भान्सामा प्रयोग हुने सुतीको एप्रोन लगाउने, बढी बेरिने खालको र नाइलन आदिको लुगा लगाउन नहुने, चुलोबाट सुरक्षीत दुरीमा रहेर काम गर्ने आदि उपाय प्रभावकारी हुन्छ ।

उनको भनाइमा साना नानीहरूलाई खुला खाना पकाउने स्थान नजिकै राख्दा तातो पदार्थ पोखिएर बच्चा घाइते भएका घटना थुप्रै छन् ।

बढीजसो घरमा नानीहरू आमासँगै भान्सामा खेल्ने वा आगोको काम गरिरहँदा पनि आमाले नै राख्ने गरेकाले दुर्घटनामा पर्छन् ।

छाला भेट्न मुस्किल

बर्दियाकी २४ वर्षीया एक महिला फागुन मध्यतिर ट्रमा सेन्टरको बर्न विभागमा भेटिइन् । उनी डेढ महिनादेखि त्यहीँ भर्ना थिइन् ।

‘१६ दिनकी सुत्केरी थिएँ’ उनले घटनाबारे भनिन्, ‘पछाडि ढाड सेक्दै गर्दा लुगामा आगोले समात्यो । म्याक्सी सुतीको थियो । ट्राउजर जलेर छालामा टाँसियो ।’

घटना हुँदा नजिकै दिदी थिइन् । उनले निभाउन खोज्दा खोज्दै पनि तल खुट्टादेखि माथि कम्मरसम्म जल्यो ।

दुई महिने नानीसहित उनको बास अस्पतालमा छ । पटक पटक गरि उनकै शरीरको विभिन्न भागबाट छाला निकालेर घाउमाथि प्रत्यारोपण गरिँदै आएको चिकित्सकले बताए । तर अब छाला पाउन कठिनाइ भइरहेको छ ।

आगोबाट घाइते भइ उपचारका लागि आउने महिलाको प्रायः कम्मरमुनिको भाग जलेको हुन्छ भने बालबालिकाको हातखुट्टा पोल्ने गरेको किर्तिपुर अस्पताल बर्न डिपार्टमेन्टका डाक्टर शंकरमान राईले बताए ।

छाला प्रत्यारोपणका लागि मृत व्यक्तिको ढाड, छाती, पेट र तिघ्राबाट छाला निकालिन्छ । जीवित व्यक्तिको हकमा प्रत्यारोपणका लागि आवश्यक छाला उहि व्यक्तिको शरीरबाट निकाल्दा प्रायः तिघ्रा, कम्मर वा टाउकोको पछाडिको छालाको प्रयोग गरिन्छ ।

महिलाको हकमा बढी घाउ कम्मरमुनि नै हुन्छ । जसले प्रत्यारोपण गर्न आवश्यक आकारको छाला भेट्नै कठिनाइ हुन्छ । यस्ता व्यक्तिलाई अरुले छालादान गर्नुपर्ने हुन्छ ।

किर्तिपुर अस्पताल बर्न सेन्टरको तथ्यांक अनुसार सन् २०१७ मा मात्र ५ सय जना विभिन्न घटनामा पोलिएको भन्दै उपचारका लागि आएका छन् । जसमा २ सय ९० जना ‘प्रत्यक्ष आगो’ अर्थात् फ्लेमबाट जलेको अस्पतालले जनाएको छ । यसरी घाइते हुनेमा महिला बढी छन् ।

४० प्रतिशत भन्दा बढि जलेमा मृत्यु हुने सम्भावना प्रबल हुने चिकित्सक बताउ“छन् । ‘जहाँबाट छाला निकाल्नुपर्ने हो अधिकांश महिलाको त्यहि ठाउ“मा पोलेको हुन्छ, छाला निकाल्नै नमिल्ने हुन्छ,’ डाक्टर शंकरमान राईले भने ।

ट्रमा सेन्टरका चिकित्सक पियुष दाहालको भनाइमा कतिपय अवस्थामा महिला दुर्घटनाको शिकार हुन्छन् भने केही अवस्थामा आगलागी हिंसाको स्वरुप हुने गरेको छ ।

अधिकांश गरिबहरू नै आगोबाट घाइते हुने चिकित्सकको अनुभव छ । तराईका फुसका घरमा आगलागी हुने, सुतीको कपडा नलगाएर पोलिस्टर र नाइलन जस्ता कपडा लगाउने, शितलहरबाट बच्न आगो ताप्ने भएकाले उनीहरू नै आगोजन्य दुर्घटनामा बढी पर्छन् ।

किर्तिपुर अस्पताल बर्न सेन्टरको तथ्यांक अनुसार सन् २०१७ मा मात्र ५ सय जना विभिन्न घटनामा पोलिएको भन्दै उपचारका लागि आएका छन् । जसमा २ सय ९० जना ‘प्रत्यक्ष आगो’ अर्थात् फ्लेमबाट जलेको अस्पतालले जनाएको छ । यसरी घाइते हुनेमा महिला बढी छन् ।

ट्रमा सेन्टरका चिकित्सक दाहालले ६० प्रतिशत महिला आगोबाट प्रभावित भइ उपचारार्थ आउने गरेको बताए । उनका अनुसार ट्रमा सेन्टरमा गएको आर्थिक वर्षमा १ सय ५० जना आगलागीपछि उपचारका लागि भर्ना भए । महिला ६० प्रतिशत थिए, पुरूष ४० को हाराहारिमा थिए ।

महिलाहरू सबैजसो खाना पकाउने क्रममा ‘फ्लेम’ (प्रत्यक्ष आगो) बाट जलेका हुन्छन् । पुरूषको हकमा भने काम गर्ने क्रममा करेन्ट लागेको, पेट्रोल जस्ता प्रज्वलनशील पदार्थमा आगलागी भएर जल्ने डा. दाहालले बताए ।

आगो लाग्दा के गर्ने ?

शरीरमा आगो लाग्दा कहिल्यै घिउकुमारी वा आइस दल्ने जस्ता कार्य गर्न नहुने चिकित्सकको सुझाव छ । आगो लागेमा सबैभन्दा पहिला शरीरमा जलेको कपडा छ भने तुरून्तै त्यसलाई हटाउन आनाकानी गर्नु हुन्न ।

त्यसपछि जलेको ठाउँमा लगातार पानी पारिरहनुपर्छ । पानी हालेको हाल्यै गरे केही आराम भएपछि तत्कालै अस्पताल पु¥याउनुपर्ने चिकित्सक बताउँछन् । यस्तै जलेको मान्छेलाई जति सकिन्छ धेरै पानी पिउन दिनुपर्दछ ।

(पत्रकार शिल्पा कर्ण कान्तिपुरका समाचारदाता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: