महिला उद्यमशीलताः कहिलेसम्म साना उद्योगमै सीमित ?


प्रकाशित मिति :2018-06-07 13:21:21

–सरस्वती ढकाल–

कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाको भए पनि पेशा र व्यवसायमा भने उपस्थिति न्यून छ । महिलाको अत्यधिक सहभागिता रहेको भनिएको क्षेत्र साना, मझौला तथा घरेलु उद्योग नै हो । तर, यस क्षेत्रमा पनि महिला उद्यमीको संख्या एक तिहाइ नाघ्न सकेको छैन ।

घरलु तथा साथा उद्योग विकास समितिको तथ्यांक हेर्ने हो भने साना तथा घरेलु उद्यमीहरूमध्ये महिलाको हिस्सा ०६५ मा करिब १८ प्रतिशत थियो भने २०७१ सम्म आइपुग्दा ३० प्रतिशत पुग्यो र २०७४ सम्ममा यो संख्या ३३ प्रतिशत पुगेको अनुमान गरिएको छ ।

ठूला उद्योगमा त महिलाको उपस्थिति शून्यप्रायः नै छ । साना उद्योगमा भने महिलाको संख्या निरन्तर बृद्धि भइरहेको छ । यसमा सरकारी नीतिको पनि ठूलो हात छ ।

मूलतः सरकारी सेवा सुविधा तथा छुट, चेतनामा परिवर्तन, महिला उद्यमशीलताका लागि अभिमुखीकरण तथा सशक्तिकरणका कार्यक्रम र स्वावलम्बी बन्ने आत्मबलले हरेक वर्ष महिला उद्यमीको संख्या बढेको बताउँछिन्, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

उनका अनुसार अझै पनि महिलाका नाउँमा कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरु हिचकिचाउछन् । बैंकले खोज्ने धितोका लागि महिलाको नाउँमा अचल सम्पत्तिसमेत नहुने भएकाले यस्तो समस्या छ ।

महिला उद्यमी महासंघ नेपालकी अध्यक्षसमेत भइसकेककी राणा भन्छिन्, ‘नीतिगत परिवर्तनले साना तथा मझौला उद्योगमा महिला सहभागिता बढेको छ, अब हामीले ठूला उद्योगमा पनि उनीहरुको परिवर्तन गर्न केही संरचनागत परिवर्तन गर्नु जरुरी भइसकेको छ ।’

मुलुकको राजनीतिक प्रणालीमा महिलाको सहभागिता बढेको र संविधानमा एक तिहाइ सांसद लगायतको सुनिश्चितता भएसँगै त्यसको प्रभाव आर्थिक क्षेत्रमा पनि परेको राणा बताउँछिन् ।

निजी क्षेत्रको छाता संगठन मानिएको नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमै अध्यक्षका रुपमा निर्वाचित हुने भवानी पहिलो महिला हुन् ।

सरकारले महिलालाई दिने सुविधाका सम्बन्धमा अझै पनि उद्यमशील महिलासम्म सूचना पुग्न नसक्दा अपेक्षित रुपमा संख्यात्मक वृद्धि हुन नसकेको उनको अनुभव छ ।

त्यसो त ठूला उद्योगमा पनि सफल महिला नभएका होइनन् । होटल व्यवसायी अम्बिका श्रेष्ठ, सृजना राणा, पर्यटन व्यवसायी याङकिला शेर्पादेखि हस्तकला उत्पादन संघकी पूर्वअध्यक्ष मीरा भट्टराई, आमा इन्पेक्सकी रीता सिंह, लुमना निड क्राफ्टकी अरुणा शाक्यजस्ता महिला सरकारको प्रवद्र्धनात्मक नीति आउनुअघि नै स्थापित भइसकेका व्यवसायी हुन् ।

ब्युटिसियन कमला श्रेष्ठ, नेपाल गृहिणी उद्योगकी इन्दिरा सापकोटा, ट्रेडिङ फर डेभेलपमेन्टकी सुलोचना शाह, नेपाल पेपर क्राफ्टकी रीता भण्डारी, मानुसी आर्ट एन्ड क्राफ्टकी पद्मसना शाक्य, न्यू हिमालयन आकाश एक्सपोर्टकी मीना कार्की, लक्ष्मी उड क्राफ्टकी लक्ष्मी शर्माजस्ता महिलाहरूले व्यवसायमा जति संघर्ष गर्नुपर्‍यो, अबको पुस्ताले सायदै त्यति नगर्नुपर्ला ।

सुविधा पनि छन्

महिला उद्यमशीलता विकासका लागि राज्यले सुविधा पनि तोकिदिएको छ । मूलतः औद्योगिक नीति ०६७ मा महिला उद्यमीहरूका लागि छुट्टै व्यवस्था गरेको छ । यस्तै, सरकारले महिलाको नाममा घरजग्गा, उद्योग दर्ता गर्दा सरकारी दस्तुरमा छुटको व्यवस्था गरेको छ ।
महिलाले दर्ता गरे २० प्रतिशत छुट दिने व्यवस्था छ । औद्योगिक नीतिले महिलाका नाममा दर्ता हुने उद्योगलाई ३५ प्रतिशतसम्म दर्ता छुट गर्नुपर्ने व्यवस्था गरेको छ । तर यससम्बन्धी कानून कार्यान्वयनमा आइसकेको भने छैन ।

महिला उद्यमी महासंघकी पूर्वअध्यक्ष रीता भण्डारीका अनुसार कतिपय अवस्थामा महिलाका नाउँमा यस्तो छुटको दुरुपयोग भएको पनि पाइएको छ । ‘महिलालाई सही अभिमुखीकरणको अभावमै छुटको दुरुपयोग पनि भइरहेको छ । कतिपय उद्योग महिलाको नाममा दर्ता छ । तर, पुरुषले चलाउँछन्’ भण्डारी भन्छिन् ।

यस्तै, सरकारले महिला उद्यमशीलताको थप विकासका लागि एकपछि अर्को नीतिगत व्यवस्था पनि गरिरहेको छ । औद्योगिक व्यवसाय ऐन २०७४ मा महिला उद्यमीहरूका लागि आकर्षक धेरै नीति अघि सारेको छ ।

उद्योग मन्त्रालयका अनुसार उक्त नीतिमा उल्लेख भएअनुसार प्रतिस्थापनको तयारी भइरहेका औद्योगिक व्यवसाय ऐनमा समेत व्यवस्था गरिएको छ ।

‘महिलाहरू अझ बढी उद्योग व्यवसायमा संलग्न रोजगारीको अवसर प्रदान गर्न उद्योग व्यवसायको क्षेत्रमा अगाडि बढून् भन्ने उद्देश्यले महिलाको आर्थिक सशक्तीकरणका लागि समावेशी अवधारणाअनुरूप विशेष व्यवस्था गरिनेछ’ नीतिमा भनिएको छ, – कुनै पनि उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्ने तहमा सम्बन्धित औद्योगिक व्यवसायमा संलग्न आदिवासी, जनजाति, दलित, मधेसी, सीमान्तकृत वर्गका महिलाहरूको प्रतिनिधित्व अनिवार्य गरिनेछ ।’

यस्तै, घरेलु तथा सानास्तरका महिला उद्यमीहरूलाई सुलभ तरिकाबाट ऋण प्रवाह गर्न बैंकिङ तथा सहकारी संस्थाहरूमा समूह ऋणको व्यवस्था नीतिले गरेको छ ।

समस्या कहाँ छ ?

नेपालमा उद्यमी बन्नु सजिलो छैन । उद्योग व्यवसायलाई हेर्ने समाजको दृष्टिकोण पूर्ण सकारात्मक नभइसकेकाले यस क्षेत्रमा प्रवेश गर्नुअघि अनेकौं कठिनाइबारे विवेचना गर्नुपर्छ ।

त्यसैले पनि नेपालमा उद्योग व्यवसाय परम्परागत वा पुस्तौनी व्यवसाय गर्नेहरुले नै धानिरहेका छन् भने कतिपय जाति विशेषका कारणले पनि यो पेशामा लागिरहेका छन् । आम मानिसमा अझै पनि जागिर खानुपर्छ र त्यसमा पनि सेना, प्रहरी र निजामति सेवामै जानुपर्छ भन्ने भावना छ ।

अभिभावकहरुले पनि त्यसैका लागि उत्प्रेरित गरिरहेको पाइन्छ । त्यसैले नेपालको सामाजिक परिवेशअनुसार उद्यमशीलता आफैमा चुनौतीपूर्ण कार्य हो । समग्र नेपाली समाज नै उद्यमशीलताप्रति त्यति सकारात्मक नभइसकेका बेला महिला उद्यमशीलता अझ पछि देखिनु स्वभाविक हो भन्न सकिन्छ ।

महिलाले चुलोचौकोबाट बाहिर निस्किएर पेशा व्यवसाय गर्न सुरु भएको धेरै भएको छैन । अझै पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा तात्विक अन्तर आएको छैन । महिलाका सन्दर्भमा धेरै नीतिगत र कानुनी परिवर्तन भए पनि सामाजिक संरचना र संस्कृतिको निरन्तरताकै कारणले पनि परिवारभित्र महिलाको भूमिकामा उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।

यसैका कारण विभिन्न पेशा तथा व्यवसायमा महिलाको ‘परफरमेन्स’मा त्यति निखार आउन सकेको छैन । यद्यपि, यो अवस्थामा सुधार भने नभएको होइन । माथिको पृष्ठभूमि केलाउने हो भने महिला उद्यमशीलता किन अपेक्षित रुपमा विकास हुन सकिरहेको छैन भन्ने धेरै प्रश्नहरुको उत्तर खोज्न सकिन्छ ।

एउटी महिलाले जतिसुकै स्वतन्त्र र पारिवारिक बन्धनबाट मुक्त भए पनि कम्तिमा सन्तान जन्माउने, उसको स्याहारसुसार र रेखदेखका कारणले नै आफ्नो पेशा व्यवसायमा पुरुषसरह समय दिन सकिरहेकी हुँदैनन ।

यसकारण उनीहरु अन्य क्षेत्रमा जस्तै उद्यमशीलतामा पछि परिरहेको अवस्थालाई महिला कमजोर भएर वा उनीहरुसँग क्षमता कम भएर भन्न सकिँदैन ।

अर्काेतर्फ नेपालमा सबैभन्दा ठूलो समस्या लगानीको छ । लगानीका लागि प्रक्रिया पुर्याएर बैंकमा जाने हो भने एक त महिलामाथि विश्वास गरिँदैन भने अर्कोतर्फ महिलाले गर्ने साना र मझौला व्यवसायमा चर्को ब्याजदर छ ।

नेपालमा परियोजना धितोमा कर्जा दिने कुनै कानुन छैन । ऋणका लागि अचल सम्पत्ति नै धितोमा राख्नुपर्ने तर त्यसका लागि परिवारमा महिलाको नाममा सम्पत्ति नहुनेजस्ता समस्या पहिलेदेखिकै हुन् ।

अर्कोतर्फ जहाँ लगानी हुन्छ, त्यहाँ जोखिम अवश्य पनि हुन्छ । किनकी संसारका सबै व्यवसाय सफल कहिले पनि हुँदैनन् । त्यसैले जुनसुकै महिलाले उद्यमी बन्न सुरुदेखि नै असामान्य अवरोध झेल्नुपर्ने अवस्था छ ।

महिलालाई सहुलियतपूर्ण कर्जाका लागि सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम ल्याइए पनि त्यसमा आम महिलाको पहुँच छैन भने यस्ता कार्यक्रहरुको प्रचारप्रसार पनि छैन ।

महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरुलाई उद्यमी बन्न प्रेरित गर्न सकिन्छ । यसका लागि क्षेत्रगत दायरा पनि खुला हुनु उत्तिकै जरुरी छ ।

अहिलेसम्म महिलाले गर्ने पेशा भनेको ब्युटि पार्लर, सिलाई बुनाईजस्ता काममा सीमित छन् । तर, यसको दायरा फराकिलो बनाउन सकिने क्षेत्रतर्फ पनि उनीहरुलाई आकर्षित गर्नु जरुरी छ ।

व्यवसाय विविधीकरण

नेपालमा महिला उद्यमशीलता विकासका लागि काम गर्ने संस्थाहरुको समस्या के हो भने उनीहरुले परम्परागत व्यवसायभन्दा फराकिलो दायरा बनाउन सकेका छैनन् । देशमा हाल सञ्चालनमा रहेका व्यवसायमध्ये अधिकांशमा पुरुषले मात्र गर्न सक्छन् भन्ने ‘ट्रेडमार्क’ लागेको जस्तै अवस्था छ । उदाहरणको लागि निर्माण व्यवसायलाई लिन सकिन्छ ।

एकातिर व्यवसाय हात पार्न शक्ति, पुँजी र पहुँचको दुरुपयोग गर्नुपर्ने र अर्कोतर्फ ठेक्का हात परिहाले पनि फिल्डमा गएर काम गर्न ‘टोले गुण्डा’ सम्मलाई साथ लिनुपर्ने अवस्थाकै कारण यो व्यवसायमा महिलाको सहभागिता निरासाजनक छ ।

तर, यही व्यवसायमा रहेकी महिला उद्यमी प्रमिला आचार्य रिजाल भने व्यवसायलाई नवीन ढंगले सञ्चालन गर्ने हो भने यस्ता समस्या पन्छाउँदै अघि बढ्न सक्ने बताउँछिन् । आफूले यस व्यवसाय अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय र सम्बन्ध विस्तार गरिसकेकाले अप्ठेरो नभएको र स्थानीय काम भने श्रीमानले हेर्ने उनको अनुभव छ ।

यसरी महिला उद्यमशीलता विकासका लागि अब घरेलु र कृषिजन्य उत्पादनमा मात्र महिलालाई सीमित राखिनु हुँदैन । व्यवसायका हरेक क्षेत्रमा महिला सक्षम छन् र अवसर पाए सफल हुन सक्छन् भन्ने कुरामा विश्वास गरिनुपर्छ ।

पुरुषको तुलनामा बढी समय व्यवसायलाई दिन सक्ने, कार्यालयका कर्मचारी तथा सहयोगीसँग बढी घुलमिल हुनसक्नेजस्ता मानवीय स्वभावका कारणले पनि महिलाबाट सञ्चालित उद्यम व्यवसायले सफलता पाउन सक्छन् । यसकारण यो व्यवसायमा महिला प्रवेश गर्नै हुन्न भनेर पहिल्यै पन्छाउने प्रवृत्ति निरुत्साहित गर्नु जरुरी छ ।

(पत्रकार सरस्वती ढकाल कारोबार दैनिकमा आवद्ध हुनुहुन्छ । )
[email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: