फेसनदेखि फेमिनिजमसम्म


प्रकाशित मिति :2018-06-03 17:44:58

म सृजना सिंह योञ्जन । मेरो जन्म वि.स. २०२७ सालमा ललितपुरको शान्ता भवनमा भयो । ललितपुरमै पढें । ललितपुरमै हुर्किएँ । बाल्यकाल निकै राम्रोसँग बित्यो । बुबा गोपाल योञ्जन संगीतकार । आमा रिञ्छेन योञ्जन । म घरकी ठूली छोरी ।

म भन्दा पछि दुई भाइहरू । त्यो बेला अहिलेको जस्तो टिभी, भिडियो गेम खेल्ने थिएन । अलि फुर्सद भए बाहिरै खेल्थ्याै‌ । साइकल चलाउँने मेरो ठूलो सोख । प्राय: गुच्चा खेलिन्थ्यो । भाइ र मैले खेल्ने खेलहरूमा कुनै भिन्नता थिएन ।

छोरी भएकै कारण मैले बाल्यकालमा कुनै खालको भेदभाव सहनु परेन । म छोरी हुँ, त्यसकारकाण मैले यो गर्नु हुँदैन भन्ने कुराको अनुभवै गर्नुपरेन । मलाई छोरीले यस्तो बोल्नुपर्छ, यस्तो व्यवहार गर्नुपर्छ भन्ने सिकाइएन पनि । ठूलो हुँदै जाँदा छोरा र छोरीमा विभेद हुन्छ भन्ने थाहा त पाए तर मैले त्यस्तो भोग्नु परेन ।

टिनएजमा किताब खुब पढ्थे । उपन्यासहरू पढेर दिन बित्थ्यो । म शान्त स्वभावको । त्यसैले क्याम्पसमा पनि म राम्रो विद्यार्थी गनिन्थें । मलाई मन पर्ने विषय अंग्रेजी ।

म्याथ भनेपछि साह्रै दिक्क लाग्थ्यो । मैले पद्मकन्या क्याम्पसबाट अर्थशास्त्र र डान्समा स्नातक तह सकें । त्यसैले स्नाकोत्तरमा पनि सोही विषय छाने ।

पहिलो पटक फेमिनिष्टको अर्थ खोज्दा

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा स्नाकोत्तर भर्ना भएँ । त्यहाँ भर्ना हुँदा मुलुक राजतन्त्रबाट प्रजातान्त्रिक मोडमा पुगेको थियो । नेविसंघ, अखिलले माग पूरा गर्ने नाममा क्याम्पस बन्द गर्ने, हड्ताल गर्ने गरिरहेका थिए ।

अहिले जस्तो त्यो बेला माइक्रो बस थिएन । क्याम्पस जाँदा बसमा भिड हुन्थ्यो । क्याम्पस पुग्न १/२ घन्टा लाग्ने । क्याम्पसको क्यान्टिनमा खानाको पैसा बढ्यो भनेर सँधै बन्द, हड्ताल हुने ।

क्याम्पस गयो, क्यान्टिनको विषयमै पढाइ बन्द हुने । जहिले पनि क्याम्पस जाने, क्लास नहुने, फर्किनुपर्ने । बन्दले गर्दा दिक्क लाग्न थाल्यो । एक पल्ट कक्षामा पढाइ भइराखेको बेला एक हुल केटाहरू आए । अब घर जानुस्, पढाई हुँदैन भनेर निर्देशन दिएजस्तो गरे ।

मलाई रिस उठ्यो । उठेरै भने तपाईंहरू को हो ? बारम्बार आएर हामीलाई डिस्टर्ब गर्ने । तपाईंहरू यसरी राजनीति, गुन्डागर्दी गर्ने भए बाहिर गएर गर्नुस् ।

यो क्याम्पस हो । हामी पढ्न आएका हाै‌ । पढ्न मन हुनेलाई पढ्न दिनुस् भने । अनि सरलाई पनि तपाईं पढाउन आउनुभएको हो बस्नुस् भने । तपाईंहरू कोको बस्नुहुन्छ बस्नुस् भने ।

ठूलो क्लास रुम थियो । झन्डै एक सय जना विद्यार्थी । त्यसमा पढ्न बस्ने हामी ६ जना मात्र भयौं । सबै लुरुलुरु जान थाले । एक हुल केटाहरू आएका थिए । उनीहरू स्तब्ध भए । त्यो दिन हाम्ले पुरै क्लास लिएका थियौं ।

घर जान लाग्दा बसपार्कमा करिब ४० जना केटाहरूले मलाई घेरे । सँगैकी मेरो साथी डराइन् । योङ भएकाले आँट पनि हुँदोरहेछ । म राइट थिएँ किन डराउने भन्ने लाग्यो । उनीहरूको विचार मैले गल्ती गरे माफी माग्नुपर्छ भन्ने थियो ।

मैले जब गल्ती गरेको छैन भने किन माफी माग्ने लाग्यो । मैले उनीहरूलाई कुनै माग पुरा गर्नु छ भने सभ्य भएर गर्नुस् भनें । कुनै पनि हालतमा माफी नमाग्ने अड्डी कसेँ ।

हामी विद्यार्थी हो । विद्यार्थी जस्तो व्यवहार गर्नुपर्छ । पढ्न आएको ठाउँमा अरुलाई पढ्न दिनुपर्छ भने ।

त्यतिबेला नै फ्याट्ट एक जना केटाले ‘तपाईं त कस्तो फेमनिष्ट हुनुहुँदो रहेछ’ भन्यो । फेमिनिष्ट भनेको के रहेछ , राम्रो हो कि नराम्रो । के भनेको होला भन्ने लाग्यो । त्यो बेलासम्म मलाई फेमनिष्टको अर्थ थाहा थिएन । मनमा निकै कुतूहलता जाग्यो । के रहेछ फेमनिष्टको अर्थ, घर पुगेर डिस्नेरी पल्टाएँ । अनि थाहा पाए फेमनिष्टको अर्थ ।

उदण्ड फेमिनिष्ट

सन् १९९३ तिरको कुरा हो । क्याम्पसको क्यान्टिनमा थियौं हामी । एक जना केटाले म चिया खाँदै गर्दा मेरो शरीरमा छोएर गयो । सायद उसले मलाई डराउँछ, लाज मान्छ, झुक्छ भन्ने सोचेको थियो । तर त्यहि चिया उसको घाँटिबाट खन्याइदिएँ । त्यसपछि म झन् चर्चामा आउन थालें ।

ती केटाहरू फेमनिष्ट मात्रै भनेको त झन् ‘उदण्ड फेमनिष्ट’ रहिछ भन्न थाले । त्यो बेला नेविसंघ लगायतले राजनीतिमा आउनुस् भन्दै पदको लोभ पनि देखाएका थिए । तर म राजनीतिमा लागिन ।

केही वर्ष ग्ल्यामरतिर

म आफूलाई नाइन टु फाईभ जागिर खान बनेको मान्छे होइन् भन्ने ठान्थें । केही वर्ष ग्ल्यामर पेसासँग पनि सम्बन्धित भएँ । सन् १९९० तिरको कुरा हो । मिस वल्र्ड युनिभर्सिटी कोरियामा हुँदैरहेछ । त्यतिखेर म पद्मकन्या कलेजमै पढ्थें ।

सहभागी पठाउनु भनेर कलेजमा चिट्ठी आएको रहेछ । त्यो बेला पद्मकन्यामा नेविसंघको अध्यक्ष कमला पन्त हुनुहुन्थ्यो । उहाँले तिमी जानुपर्छ भन्नुभयो ।

त्यो बेला म खुब नृत्य गर्थे । कोरियाको सोलमा सहभागी भएँ । मिस ट्यालेन्टको उपाधि पनि पाएँ । ब्याचलर लेभलसम्मका करिब ८२ देशहरूका विद्यार्थीको सहभागिता थियो । नेपाल फर्किएँ । पत्रपत्रिका अहिले भन्दा कम थिए । पत्रकारहरूले अन्र्तवार्ता लिन खोज्थें ।

नेपालमा सन् १९९१ मा मात्रै पहिलो पटक फेसन सो भएको थियो । मिस नेपाल १९९४ मा मात्रै भएको थियो । फिल्ममा प्रवेश गर्न धेरै सुझाव आए । १२/१५ वटा सिनेमाको प्रस्ताव पनि आयो ।

तर मलाई थाहा थियो कि म सिनेमाको लागि बनेको होइन । मैले नृत्य सिकेको हुँदा, प्रोग्राम, डाइरेक्सन गर्ने रुचि थियो । त्यतै पट्टि लाग्दै गएँ । कल्चर प्रोग्रामदेखि फेसन शोहरू गरें ।

धराधरा फेसन शो

काठमाडौं सोल्टी होटलमा सन् १९९५ मा धागोबाट बनेका कपडालाई प्रमोशन गर्ने उद्देश्यले धराधरा फेसन शो पर्‍यो । म कोरियोग्राफर भएकोले त्यसमा म नै डाइरेक्टर थिएँ ।

मेरो साथीको बुटिक थियो । हामी दुई जनाले त्यो कार्यक्रम ग¥यौं । कार्यक्रम एकदम हिट भयो । प्रकृति एवम् वातावरणको सन्देश दिन कार्यक्रम गरेका थियाै‌ ।

यो भन्दा अघि पनि मैले पद्मकन्याबाट पास आउट भएपछि चेलीको आवाज भनेर महिला, बालबालिका बेचबिखन सम्बन्धी म्युजिक ड्रामा गरेको थिए । यसमा म्युजिक मेरो बुबाले गर्नुभएको थियो ।

पद्मकन्या कलेजका विद्यार्थीलाई आर्टिष्ट बनाएर नाटक मञ्चन गरेका थियौं । यो तीन/चार दिनसम्म चलिरह्यो । सायद यो पनि त्यो बेलाको नौलो प्रयोग थियो । चेलिबेटी बेचबिखनको प्रचारप्रसार नभइराखेको अवस्थामा यो मञ्चनले राम्रो प्रतिक्रिया पाएका पायो ।

प्रेम विवाह
२४ वर्षको उमेरमा प्रेम विवाह गरे । त्यो बेला पनि लभ म्यारिज भयो । त्यहि पनि अन्तरजातीय । उहाँ क्षेत्री हुनुुहुन्छ । हामी धार्मिक, पारिवारिक हिसाबले फरक थियौं । मलाई नचाहिँदो कन्ट्रोल मन पर्दैन भन्ने हाम्रो शुरुकै सम्झौता हो ।

मलाई मान्छेको सबैभन्दा ठूलो धन आत्मनिर्भरता हो भन्ने लाग्छ । अहिलेसम्म श्रीमानको सहयोग छ । जापानमा एउटा कार्यक्रमका क्रममा हाम्रो भेट भएको थियो । म विश्वविद्यालको तर्फबाट पुगेको थिए भने उहाँ एनजीओबाट त्यहाँ पुग्नुभएको थियो । भेट भएको ६ महिनाभित्रै हाम्रो विवाह भयो ।

नवदेवी सम्मानको कन्सेप्ट

विवाहपछि सन् १९९६ मा मैले कान्तिपुर एफएममा रेडियो प्रस्तोताको रुपमा काम गरेँ । त्यो बेला रेडियोको क्रेज थियो । सन् २००० मा च्यानल नेपालमा काम गर्न थालें ।

त्यहिँ काम गर्दागर्दै वि.स २०५८ चैत्रमा ‘सेलिब्रेटीङ वुमनहुड नवदेवी सम्मान ’को आइडिया आयो । एक गु्रप साथीहरू थियौं । मिलेर कार्यक्रम गरौं भन्ने प्रस्ताव आयो । तपाईंसँग अनुभव छ ।

स्टेजमा प्रोग्राम गर्ने, नयाँ बुटिकको लन्चिङ गर्नुप¥यो भन्ने भयो । साथीहरू तपार्इंको साथ चाहियो भन्न थाले । त्यो बेलासम्म मलाई फेसनको दुनियाँ देखेर वाक्क लागेको थियो । मैले कार्यक्रम अलि फरक हुन्छ भने साथ दिन्छु, नत्र गर्दिन भने । साथीहरूले पनि हुन्छ भने । मैले कन्सेप्ट बनाउन थाले ।

तीन महिना भन्दा बढी छलफलमै गयो । हामी मार्चमा कार्यक्रम गर्ने भयौं । मलाई हाम्रो समाजमा योगदान पु¥याइरहेका महिलाहरूलाई किन सम्मान नगर्ने भन्ने लाग्यो । त्यसमा साथीहरूको पनि साथ मिल्यो ।

सम्मान त गर्ने तर सम्मानको नाम के राख्ने भन्ने छलफल भो । सम्मानलाई पृथक बनाउन सामाजिक र सांस्कृतिक रुपमा अर्थपूर्ण होस् भन्नेतिर सोच्न थाल्यौं ।

पूजा गर्दा मान्छेले महिलाका स्वरुप दुर्गा, लक्ष्मी, सरस्वतीको पूजा गर्ने । तर वास्तविकतामा भने महिलालाई किन कमजोरको रुपमा हेरिन्छ र उनीहरूको अस्तित्व स्वीकार गरिँदैन भन्ने कुरा पहिलेदेखि लागिरहन्थ्यो ।

अनि हामीले यही सोचलाई व्यंग्यको रुपमा तर सकारात्मक व्यंग्यको रुपमा ‘सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान’ नाम दिने निधो गर्यौं ।

नारीका शत्रु नै हुन् भनेर नारीलाई होच्याउने समाजमा नारीको उन्नति, प्रगति एवं विकासमा नारीको सहयोग तथा सहकार्य मूल मन्त्रका साथ यो सम्मान दिन हामी आतुर भयौं ।

नवदेवीका रूपमा पूजा गरिने लक्ष्मी, सरस्वती, भवानी, भगवती, दुर्गा, अन्नपूर्ण, महामाया, करुणा आदि शक्तिस्वरूपा देवीका नाममा क्षेत्रगत सुहाउँदो सम्मानद्वारा नौ जना महिलालाई सम्मान गर्यौं ।

पहिलो पटक नै प्रभावशाली महिलाहरूलाई सम्मान गरियो । किनकी त्यो हाम्रो पहिलो प्रयास थियो । त्यो बेला अंगुरबाबा जोशीलाई सरस्वती, अनुराधा कोइरालालाई करुणा र भुवन चन्दलाई महामाया मानेर सम्मान गरिएको थियो ।

कार्यक्रम गर्न हामीले ठूलो मेहनत गर्यौं । डान्स र मनोरञ्जनात्मक प्रस्तुति राख्यौं । हाम्रो उद्देश्य एक पटक मात्र कार्यक्रम गर्ने थियो । तरपछि यो नौलो र युनिक बन्न गयो । हामीले यसैलाई निरन्तरता दिने भयौं ।

त्यसैलाई दोस्रो पटक पनि निरन्तरता दियौं । दोस्रो पटकबाट हामीले नचिनिएका तर काम गरिरहेका, सम्मान नपाइसकेका महिलाहरूलाई सम्मान ग¥यौं ।

अहिले यो १५ औँ संस्करणमा पुगेको छ । हाम्रो काम निजी क्षेत्रमा काम गरेका महिलाहरूलाई खोजेर सम्मान गर्ने र उनीहरूको योगदानलाई देखाइदिने हो ।

सम्मान कार्यक्रममा हामी हरेक क्षेत्रका मान्छेलाई बोलाउछौं र भन्छौं – हामीले खोजेर ल्यायौं, अब अगाडि लैजाने जिम्मा तपाईंहरूको । यो सम्मानलाई युगौं युगसम्म पुर्याउने योजना छ । हेरौं कति संभव हुन्छ ।

बेलायतको विश्वविद्यालयमा नेपाली महिलाको जीवनी

मेरो लक्ष्य समाजमा योगदान दिएका महिलाहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समावेश गराउने हो । यसै सिलसिलामा पद्मकन्या क्याम्पसको जेन्डर स्टडिज र वुमन स्टडिजको डिपार्टमेन्ट सेटल गर्न बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले सहयोग गरेको रहेछ । यहाँ के पढाइदै‌छ भनेर सोही विश्वविद्यालयका प्राध्यापकहरू भिजिटमा आएका थिए ।

उनीहरूले पद्मकन्या क्याम्पसमा पनि पाश्चात्य फेमिनिजमका कुराहरू र पाश्चात्य फेमिनिष्ट महिलाहरूका जीवनी मात्रै पढाइएको पाए । र नेपाली महिलालाई सशक्त गर्न कसरी पहल भइरहेको छ भन्ने केही भेटेनन् ।

बेलायतबाट आएका प्राध्यापकहरूलाई नेपाली महिलाको बारेमा पनि पाठ्यक्रममा पढाईनुपर्छ भन्ने लाग्यो । नेपालको महिला आन्दोलन कसरी अगाडि बढेको छ भनेर सजिलो उपाय उदाहरणबाट पढाउनु राम्रो हो भन्ने सोचेर उनीहरूले पद्मकन्या क्याम्पसमा एउटा अनुसन्धान गरे – उदाहरणीय महिला भनेर ।

फस्ट फेजको अनुसन्धानबाट ३० देखि ३६ जनाले गरेका कामको लिष्ट उनीहरूलाई प्राप्त भयो । डा.सारा पार्कर जसले त्यो अनुसन्धानको नेतृत्व गरेका थिए ।

अनुसन्धानबाट आएको लिष्टमा कस्तो लाग्यो भन्ने विषयमा दुई/तीन जना व्यक्तिबाट नवदेवी सम्मानले यस्तो यस्तो गरेर गाउँगाउँबाट महिलाहरू ल्याउने काम भइरहेको छ भन्ने डा. सारा पार्करलाई जानकारी गराइएछ ।

डा. पार्करले मलाई भेट्नका लागि इमेल पठाए । त्यो बेला उनी नेपालमै थिए । एक घन्टाको मिटिङमा उनले महिलाको लिष्ट देखाए । लिष्टमा प्रभावशाली, प्रभुत्व जमाईसकेका र एनजीओ आइएनजीओको नेतृत्व गरेर बसेका महिलाको मात्रै नाम थियो ।

एक जना बाहेक सबै काठमाडौं केन्द्रित । उनले नाम लिष्ट कस्तो छ भने । मैले डा. पार्करलाई तपाईंले कस्तो महिला खोज्नु भएको हो । कस्तो रिसर्च गर्न लाग्नुभएको हो भने ।

तपाईंले प्रेरणादायी, कि प्रभुत्व जमाउन खोज्ने महिलाहरू खोज्नुभएको ? यदि तपाईंको अनुसन्धान प्रभुत्वशाली, प्रभाव जमाउन सक्ने, एनजीओको नेतृत्वहरूका बारेमा हो भने यो ठिक छ । तर तपाईंले प्रेरणादायी खोज्नुभएको हो भने यसमा धेरै ठूलो ग्याप छ ।

किनकी प्रेरणादायीको परिभाषा के हो ? प्रेरणादायी भनेको हरेक क्षेत्रबाट प्रेरणा दिन सक्ने हुनुपर्‍यो । त्यहाँ त एउटै मात्र सेक्टरको देखियो । अर्को काठमाडौं बाहिरका खै त ? भनेर मैले प्रश्न गरे ।

उनी बेलायत फर्किए । केही दिनपछि उनले मलाई इमेल पठाए । हो रहेछ, यो लिमिटेड लिस्ट रहेछ भने । प्रेरणादायी महिला खोज्ने हो भने अझैं फराकिलो हुनुपर्दो रहेछ भने ।

नवदेवी सम्मानको सानो लिष्ट पठाउन आग्रह गरे । मैले त्यो लिष्ट पठाए । उनी त्यो लिष्ट पढिसकेपछि एकदम खुसी भएको अभिव्यक्ति दिए । ‘मैले खोजेको यस्तै हो ।

हामीले खोजेका यस्ता महिला हुन् । यी महिलाका कथा समावेश गर्न के गर्नुपर्छ । हामीसँग यति ठूलो बजेट छैन । बजेट पहिलाको अनुसन्धानमा गयो’ भनेर सारा पार्करले इमेल गरे ।

पहिलो पटक ५० जना महिलाको कथा समावेश गरियो । छनोट गर्दा पूर्वदेखि पश्चिम, हिमालदेखि तराईका महिलाहरूलाई समावेश गर्ने र विभिन्न पेशामा काम गरिरहेका महिला जुन समुदायमा परिचित छन्, तर बाहिर त्यति परिचित छैनन् ।

केही महिला परिचित छन्, नाम कमाईरहेका छन् । जति चर्चा गरिनुपर्ने हो, त्यति चर्चा भएको छैन । त्यस्ता महिलाको क्राइट एरिया बनाएर गाउँदेखि शहरका महिलालाई समावेश गरेका थियौं ।

शुरुमा २५ जनाको जीवनी अंग्रेजीमा लेखियो । योअनलाइन भर्सनमा लन्डनमा लन्च भइसक्यो ।  अनलाईन किताब अर्को हप्ता मात्र तयार हुनेछ । । यो महिला सशक्तिकरणको परिणामलाई खोज्ने एउटा नयाँ सुरुआत हो । अनुसन्धान स्नातक र स्नाकोत्तर तहमा समाजशास्त्र पढिरहेका विद्यार्थीले गर्ने हुन् ।

यसले महिला कसरी सशक्तिकरण भए, कुन कुराले गर्दा सशक्त बनाउन सकियो, पारिवारीक, सामाजिक परिवेश कस्तो थियो, महिला सशक्तिकरण हुन कसको सहयोग आवश्यक पर्छ भनेर अध्ययन हुन्छ ।

‘टुलबक्स जस्तो महिला सशक्तिकरण’

नेपालमा महिला सशक्तिकरणको परिभाषा नै ‘टुल बक्स’ जस्तो भएको छ । जसलाई हामी राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा लैजान्छाै‌ । त्यो बक्सलाई खोल्छौ । यन्त्र देखाउँछौ । यस्तो हुनुपर्छ, यसले यस्तो काम गर्छ भनेर । तर फेरि त्यो बक्सलाई प्याक गर्छौ । अर्को कहाँ बोल्नुपर्ने हो, त्यहाँ लैजान्छौ ।

त्यसैले त्यस्तो होइन । महिला सशक्तिरण भनेको सबै पेसा, क्षेत्र र वर्गका महिला सशक्त हुनु हो । कुनै महिला महिला भएकै कारण दोस्रो व्यक्तिबाट अन्यायमा पर्छ भने महिला अधिकार सम्पन्न भएको मानिदैन ।

गृहिणी, शिक्षक, मजदुर, समाजसेवी, पुलिस, पत्रकार सबै महिला । जबसम्म यी सबै महिला सशक्त हुँदैनन्, तबसम्म देश समृद्ध हुँदैन, महिला सशक्तिकरण भएको मान्नै सकिदैन ।

प्रस्तुति : सन्दिप वि.क

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: