पहिले ज्यामी, अहिले मूल डकर्मी


प्रकाशित मिति :2018-06-01 16:45:25

–कृञ्जला पुलामी–

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर १० माझी गाउँकी प्रमिला माझीले घाम झुल्किँदै गर्दा बिहानको दैनिकी सकिसकेकी थिइन् । घामका किरण घरभित्र छिर्नै लाग्दा प्रमिला घरबाहिर निस्किन् ।

‘पल्लो गाउँमा आज घरको ढलान छ, उतै जान लागेकी’ उनले भनिन् । उनले दुई वर्षदेखि सुरु गरेको नयाँ पेशा हो, घर निर्माण गर्ने । घरधन्दा सकेर भूकम्पले भत्किएका घर निर्माण गर्ने अभियानमा छन्, उनी ।

भूकम्पपछि डकर्मी तालिम लिएर निजी आवास पुनर्निर्माणमा सक्रियताका साथ लागि परेकी छिन्, प्रमिला । उनले आफ्नै नेतृत्वमा माझी गाउँका १ दर्जन घर निर्माण गरिसकिन् ।

‘छोरी सानै छिन्, स्याहार गर्नै पर्यो । बुहारी मान्छे घरधन्दा नसकी हिँड्ने कुरा पनि भएन’ प्रमिला भन्छिन्, ‘घर बनाउनका लागि अहिले त घरमै बोलाउन आउँछन् ।’ भूकम्पछि आफूलाई काम गर्न भ्याईनभ्याई भएको उनले बताइन् ।

प्रमिला सिन्धुलीमा मात्र होइन छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोकका जिल्लामा पनि घर बनाउन पुग्छिन् । ‘पहिले गाउँघरमा महिलाहरुले डकर्मी भएर काम गरेको राम्रो मानिदैन थियो’ उनले भनिन्, ‘घर बनाउँछु भन्दा हाँस्नेहरु नै अहिले मलाई पनि काम सिकाइदेउन है भन्छन् ।

यस्तो सुन्दा मान्छेको सोच परिवर्तन भयो भन्ने लाग्छ ।’ उनले आफ्नै गाउँमा भएको ५० दिने डकर्मी तालिम सिकिन् । त्यसअघि डकर्मी उनी तालिम पछि भने दक्ष भएकी हुन् ।

प्रमिला जस्तै सिन्धुलीका ९ सयभन्दा बढी सिन्धुलीका महिला घर बनाउने काममा संलग्न छन् । कमलामाई नगरपालिका ५ चिसापानी झोराकी सुमित्रा आछामीले पनि सुरक्षित पूननिर्माणका लागि सीप सिकेकी दक्ष डकर्मी हुन् । ९ दिने डकर्मी तालिम लिएपछि ५ वर्षदेखि घर बनाउने काम गरिरहेकी सुमित्रा अहिले दक्ष डकर्मी बनेकी छन् ।

‍‍‍‍‍‍‍‍सुमित्रा पुरुष डकर्मी झैँ घर निर्माणमा खटिन्छिन् । घर निर्माणको योजना बनाउनेदेखि घरको गारो लगाउने कामसम्म अरुलाई सोध्नुपर्दैन । नेतृत्व लिन सक्ने भएकी छिन् ।

भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएपछि अहिले उनलाई फुर्सद छैन । ठेक्कापट्टाको काम समेत गर्ने सुमित्रा भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा छन् । पहिले मासिक २५ हजार आम्दानी हुन्थ्यो भने अहिले मासिकरुपमा ३५ हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् ।

कमलामाई नगरपालिका ६, रातमाटाकी तारादेवी मगर भूकम्पले भत्काएको घरको जग हालेर गारो लगाउने सुरसारमा छन् । तारादेवीले डकर्मी तालिम पछि आफ्नो घर आफै बनाउँदैछिन् । आफूले सिकेको सिपले आफ्नो घर आफै बनाउँन पाउदा असाध्यै खुसी लागेको भन्दै अब भूकम्पप्रतिरोधी घर बन्ने उत्साह थपिएको उनले बताइन । तारादेवीले भनिन्, ‘आफ्नै मेहनतले घर बनाइरहेको छु, तीन वर्षपछि बल्ल ओतमा बस्न पाइने भइयो ।’

‘सुरु सुरुमा घर बनाउने काम पुरुषहरुकै मात्र हो कि जस्तो लाग्थ्यो । आँट गरेर तालिम लिएँ । तालिम लिन जाँदा गाउँलेहरुले होच्याएर बोलेका पनि थिए । अहिले तालिम पाए पछि तिनै गाउँलेहरु मेरो घर बनाइदेउ है भन्दै बोलाउन थालेका छन्’ तारादेवीलेले सुनाइन् ।

सुनकोशी गाउँपालिकाकी कमला श्रेष्ठ र विमल श्रेष्ठले पनि घर बनाउने काम गरेको ७ वर्ष हुनै लाग्यो । दुबै जना पहिले ज्यामी काम गर्ने र पुरुष डकर्मीलाई सघाउने गर्थे भने अहिले महिला पुरुष गरि झण्डै १७ जनाको नेतृत्व गर्दै मूल डकर्मी भएर काम गरिरहेका छन् । ४ महिना अघि डकर्मी तालिममा सहभागी भएपछि उनीलाई घरधनीहरुले मुख्य डकर्मीको रुपमा विश्वास गर्न थालेका हुन् ।

कमला भन्छिन्, ‘तालिम अघि घरधनीहरु हामीलाई डकर्मीको रुपमा जिम्मेवारी दिन हिच्किचाउँथे । घर बनाउने तरिका पनि धेरै थाहा थिएन । तर अहिले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सक्ने भएका छौँ । हाम्लाई विश्वास गर्न थालिएको छ ।’

भूकम्पका कारण ढलेका घरलाई फेरि उठाउन र सुरक्षित पुनर्निर्माणको अभियानमा सिन्धुलीका महिला डकर्मीहरु क्रियाशील हुन थालेका छन् । सामाजिक रुपमा महिलाले गर्न हुँदैन भनिएको डकर्मी पेशाबाटै सरकारको सुरक्षित पुनर्निर्माणको महाअभियानमा सघाइरहेका छन् । त्यतिमात्रै होइन महिलाहरुले पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाउदै मनग्य आम्दानी समेत गरिरहेका छन् ।

पहिले ज्यामीका रुपमा काम गर्दा ईंट्टा, सिमेन्ट, वालुवा, ढुंगा बोक्ने, मसला बनाउने जस्ता काम गरिरहेका महिलाहरु तालिम प्राप्त डकर्मी भएपछि गारो लगाउने, ज्यामीहरुलाई काम लगाउने, प्लस्टर गर्ने, नापजाँप गर्ने जस्ता नेतृत्वदायी भुमिकामा देखिन थालेका छन् । साथै अरु महिला तथा पुरुषलाई सिप सिकाउदै रोजगारी पनि दिइरहेका छन् ।

गोलञ्जोर गाँउपालिका ४ तिनकन्याकी रममाया राना तालिम प्राप्त महिला डकर्मी हुन् । उनले अहिले बालुवा, इट्टा बोक्ने काम गर्नुपर्दैन । भन्छिन्, ‘दुःख त कत्ति गरियो गरियो, ज्यामी हुँदा टन्टलापुर घाममा छालै जाने गरि ढोको बोक्नुपथ्र्यो ।’ साधारण ज्यामीका रुपमा काम गरेकी रममाया अहिले भने मुल डकर्मीका रुपमा काम गर्दा त्यति दुःख नहुने बताउछिन् ।

‘महिलाको नेतृत्वमा काम गर्दा सजिलो’

कमलामाई नगरपालिका ७ गडौँलीका राजु घिसिङ्ग पनि विगत ४ वर्षदेखि घर बनाउने काम गर्छन् । महिनै विच्छे भिन्ना भिन्नै पुरुष ठेकेदारसँग काम गरेका राजु भूकम्पपछि तारादेवि मगरको नेतृत्वमा काम गरिरहेका छन् ।

ठेकेदारहरुसँग कहिले काँही कुरा नमिल्ने, गाली गर्ने, जस कहिलै नपाउने, अहिले त दिदिसँग काम गर्दा राम्रो लागिरहेको छ । उनले भने, ‘पहिलेका ठेकेदारले पैसा नै दिएनन्, सीप भएपछि जता पनि काम पाईहाल्छु ।’ नाइकेको बोलीचाली राम्रो भएपछि काम गर्न पनि जोस जाँगर बढेकाे उनले बताए ।

एक हजार महिला डकर्मी

सिन्धुलीमा भूकम्प पछि झण्डै एक हजार नयाँ महिला डकर्मी उत्पादन भएका छन् । जिल्लामा भूकम्प पछि विभिन्न संघ संस्थाले सञ्चालन गरेको ९ दिने र ५० दिने डकर्मी तालिमबाट जिल्लामा ९ सय ५० महिला डकर्मी उत्पादन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीले जनाएको छ ।

प्राधिकरणका अनुसार भूकम्प पछि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले दिएको ९ र ५० दिने डकर्मी तालिम झण्डै ४ हजार जनाले लिएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा भूकम्प प्रभावितलाई पुनर्निर्माणमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले उनीहरुलाई तालिम प्रदान गरिएको थियो ।

तालिम पछि ती महिला डकर्मीहरु पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाउँदै आत्मनिर्भर भएका छन् । आर्थिक रुपले विपन्न तथा सामाजिक रुपमा विभेदमा परेका भूकम्प प्रभावितलाई डकर्मी बनाइएको छ । डकर्मी तालिमकै कारण महिलाहरु सिप सिकेर गाउँमै स्वरोजगार बनिरहेका छन् ।

साथै आफ्नो घर निर्माण गर्न सहयोग पुगेको कमलामाई नगरपालिका ६ की लिला हायू बताउँछिन् । निजी आवास पुर्ननिर्माणबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

समान काम, ज्याला फरक

सिन्धुलीमा महिलाहरु नाइके डकर्मी बनिरहेका छन् । डकर्मी पुरुषहरुलाई पनि नेतृत्व गरिरहेका छन् । यद्यपि, पुनर्निर्माणमा खटिएका मजदुर महिलाहरुले पुरुषले भन्दा कम ज्याला पाउने गर्छन् ।

कमलामाई नगरपालिका ४ देउरालीकी सुनिता खड्का बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म घर बनाउने काम गर्छिन् । सुनितासँग काम गर्ने पुरुष पनि छन्, दुबै दिनभरी काम गर्छन् । तर एउटै काम गरेर पुरुषले ७ सय रुपैयाँ पाउँदा उनले जम्मा ६ सय रुपैयाँ पाउँछिन् ।

त्यही कमाईबाट परिवार धानिएको सुनिता बताउँछिन् । बराबरी काम गरे पनि पैसा कम पाउँदा भने काम गर्नै मन नलाग्ने बताउँदै उनले भनिन्, ‘के गर्नु काम नगरे छाक टार्न सकिँदैन, जति दिन्छ त्यती चुपचाप लिनै पर्यो ।’

कमलामाई नगरपालिका ४, साङ्गबालेकी बिजुला विश्वकर्मा र रञ्जना अधिकारीको पनि उस्तै गूनासो छ । दुबै जना पुरुष सरह काम गर्छन् । तर ज्याला भने पुरुषको भन्दा कम ।

गत मंसिर महिनाबाट डकर्मी काम सुरु गरेका उनीहरु पैसा कमाउने बलियो आधार भएपनि पाउने ज्यालामा भने असन्तुष्ट रहेको बताउँछन् । दुबैको चाहाना छ समान ज्याला पाइयोस् । बिजुला भन्छिन्, ‘नयाँ पुराना जो भएपनि महिलालाई ज्याला त कमी नै छ ।’

जिल्लामा दैनिक ज्यालादारीमा काम गर्नेहरुको संख्या थुप्रै छन् । ज्यामी काम गर्ने महिला, पुरुषको संख्या उत्ति नै भएपनि ज्याला दिने बेलामा भने विभेद हुने गरेको स्वयं उनीहरु नै बताउँछन् ।

उही काम, उति नै खटाई । ज्यामी काम गर्दै आएकी जुरेली दमाईसँगै काम गर्ने पुरुषले भने ८ सय रुपैयाँ पाउदा उनले जम्मा ६ सय रुपैयाँ पाउने गरेको दुखेसो गरिन् । ‘पुरुष सरह खटेपछि हामीले पनि उति नै ज्याला पाउनुपर्ने हो, तर के गर्नु हामीलाई दिँदैनन्’ उनले भनिन्, ‘बराबरी मागौं भने कामै नदेलान् भन्ने डर ।’

नेपालको संविधानले समान कामको समान ज्यालाको परिकल्पना गरेको छ । काममा पनि महिला र पुरुषबीचमा कुनै भिन्नता छैन । एउटै कामको फरक, फरक ज्याला लिनुपर्दा महिला कामदारलाई चित्त बुझ्दैन । तर समान कामको समान ज्यालाको वकालत गर्न पनि महिला कामदारहरु सक्दैनन् । न त उनीहरुको लागि अरु कसैले नै वकालत गरिदिएका छन् ।

९७ प्रतिशत घर निर्माणको चरणमा

सिन्धुलीमा भूकम्पले भत्किएका घर धमाधम बन्दै छन् । हालसम्म जिल्लाका ३५ सय भूकम्प प्रभावितहरु सुरक्षित घरमा बस्न थालिसकेका छन् । भने १८ हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान समेत लिइसकेका छन् ।

जिल्लाबाट लाभग्राही सुचिमा परेका मध्ये ९७ प्रतिशत घर निर्माणको चरणमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण सिन्धुलीले जनाएको छ ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका ३४ हजार ९ सय ८८ घर पुर्ननिर्माण गर्नुपर्ने भन्दै आवास अनुदान लाभग्राही सूचीमा सूचिकृत गरेको थियो ।

जसमा ३२ हजार ९ सयले पहिलो किस्ता वापतको अनुदान लिएका छन् । भूकम्पका कारण क्षति भएका १८ हजारभन्दा बढी घर निर्माणको चरणमा रहेका छन् । जिल्ला समन्वय समिति पुर्ननिर्माण प्राधिकरणको सचिवालय सिन्धुलीका अनुसार हालसम्म १८ हजार भूकम्प प्रभावितले दोस्रो किस्ता बापतको रकम बुझिसकेका छन् ।

(कृञ्जला पुलामी सिन्धुलीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: