सम्मेलन गराउनु छ–आमा,छोरी र देवताहरुको


सन्दर्भः अन्तर्राष्ट्रिय महिनावारी दिवस

प्रकाशित मिति :2018-06-01 14:13:02

–रावल कृष्ण–

मेरी आमाले भन्नु भएको
विहे गरेको केहि महिनापछि
लेकमा दाउरा लिन जाँदा
लगाएको गुन्युमा रातो दाग देखिएपछि
संगीहरुले भने तिमी छाउ भयौ

दाउराको भारी आँगनमा फुत्त फालेर
त्यो साँझको बेला
आमा निस्कुन भो घरको आँगनबाटै
बस्नु भो जीवनका पहिलो वास
घरभन्दा पर एउटा झुप्रोमा
नाम थियो छाउपडी गोठ

रावल कृष्ण

आमा घर देखाउँदै भन्नुहुन्छ
यो घर बनाउँदा म सुत्केरी थिएँ
जेठो छोरा र यो घरको उमेर बराबर छ
घरका ढुङ्गा बोक्दा मेरी आमाले लगाएको गुन्युमा रातो दाग देखियो
र आमाले सम्झनु भो फेरी छाउ भइयो

घरदेखि पर जानु नपरोस् भनेर होला
मेरी आमाले घर बनाउँदा
घरको भुइतलामा एउटा सानो कोठा बनाउनु भो
र नाम राखियो छाउपडी गोठ
हो त्यहि गोठमा आमाले जन्माइन आफ्ना छ सन्तान

म त्यहि गोठमा जन्मेको मान्छे
र तीन वर्षसम्म हरेक महिना चार रात त्यहि गोठमा सुतेको छु
गोठबाट घर लैजादा हरेक विहान नाङ्गै पारेर नुहाइएको छु म
अलि ठूलो भएपछि
हरेक महिना घरको ओटालोबाट
आमालाई नछोइकन खाना र पानी दिएको छु

आमा सुनाउनु हुन्थ्यो
महिलाले कति भोग्नु पीडा
प्रत्येक महिना
एउटा सन्तान जन्माउन सक्ने डिम्ब खेर जाँदा पनि
भन्न मिल्दैन ऐया
हुने भए कुनै औषधि
खुवाइदिन्थे मेरा छोरीहरुलाई
र जोगाउँथे हरेक महिनाको मृत्युबाट
बनाइदिन्थे कहिल्यै छाउ नहुने चलन
र मनको आदेशमा अण्ड निस्कासन गर्नसक्ने क्षमता

आमा भन्नु हुन्छ
कुन देवताको श्राप कटाउन महिलाले छाउ हुनु परेको रे
अहिले आमा छाउ हुनुहुन्न
मैले मेरा दिदीहरु र भाउजूहरुलाई सोधेको छु
मैले मेरा वैनीहरु र छोरीहरुलाई सोधेको छु
के हुन्छ छाउ भएको बेला सधै सुत्ने कोठामा सुत्दा
मैले केहि धामीहरु र पुजारीहरुलाई सोधेको छु
के हुन्छ छाउ भएको बेला सधै खाने भान्छामा खादा
उनीहरु सबैको उत्तर छ
छाउ भएको बेला घरमा बस्दा देवता रिसाउँछन्
भन्छन् छाउ भएको बेला
छुनु हुदैन फल्ने डाली
छुनु हुदैन गाइ र भैसी
खानु हुदैन गोरस

प्रश्नहरुहरुको प्रशोधन गृहबाटै
मलाई फेरी एउटा प्रश्नले सधै विथोलिरहेछ
मेरी बैनीहरु र मेरी छोरीहरुले
अमुक देवताको श्राप कटाउन
हरेक महिना हामी छाउ हुदैनौ भनेको दिन
के हालत होला ती देवताको अवस्था ?

छाउ भएका आमाहरु र छोरीहरुसंग
देवता रिसाउने भए
मलाई आमाहरु, छोरीहरु र देवताहरुको
एउटा सम्मेलन गराउन मन छ
र छिनोफानो गर्नु छ
देवता र मान्छेहरुको वासस्थानको

मान्छेलाई देवता र देवतालाई मान्छे
आवश्यक हो भने
अब एउटा फैसला नगरी भएको छैन
देवताले मान्छेको वासस्थानमा गरेका अतिक्रमण नरोकी भएको छैन
घर मान्छेको हो
मान्छेको मनमा बसुन देवता
मान्छेको घरमा नवसुन देवता
देवता वस्ने ठाउँ त मन्दिर हो
मन्दिरबाट उठाएर देवतालाई बाहरुले ल्याएका हुन घरमा
र राखेका हुन माथिल्लो तलामा
अब देवताहरुलाई फर्काइनु पर्छ
आफ्नै वासस्थानमा
हाम्री आमा र छोरीहरुलाई
छाउपडी गोठबाट
फर्काइनु पर्छ घरमा
र खुवाउनु पर्छ विगौती दुध

रमारोशन, २, चाफामाण्डौ अछाम

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: