बलात्कारीसँगै किशोरीको विहे गर्ने पञ्चायतको निर्णय


वडा अध्यक्ष भन्छन्, ‘बलात्कारको घटना मिलाउनु हुन्न भन्ने थाहा थिएन’

प्रकाशित मिति :2018-05-20 18:08:07

–लोग्शरी कुँवर–

ललितपुर । बलात्कारीसँग तय गरिएको विवाह रोकिएपछि सुनसरीकी एक किशोरी गाउँबाट विस्थापित भएकी छन् । विवाहको तीन दिन अघि नै केटा (बलात्कार आरोपित) र केटाका बुबा गाउँबाटै फरार भएपछि विवाह हुन नसक्दा किशोरी गाउँबाट विस्थापित भएकी हुन् ।

आइतबार राजधानीको एउटा पुनस्र्थापना गृहमा आश्रयका लागि ल्याइएकी १५ वर्षीया किशोरीले महिला खबरसँग भनिन्, ‘मेरो इज्जत पनि लुट्यो । मसँग बिहे पनि गरेन । अब म कहाँ जाने ?’ कुराकानीका क्रममा उनले आफू बलात्कृत हुनु भाग्यको दोष भएको बताइरहिन् । र बलात्कृत हुनुमा हिनताबोध गरिरहिन् ।

यस्तो थियो घटना

२०७५ साल बैशाख १३ गते । गाउँमा भएको विहेमा सहभागी भई किशोरी घर फर्किदै थिइन् । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुरका २२ वर्षीय जितेन्द्र यादवले किशोरी आफ्नो घरको गेटभित्रै प्रवेश गर्न लाग्दा पछाडिबाट ताने ।

उनले ओढेको सल मुखमा कोचिदिए । अनि घरभन्दा अलि परको बारीमा पुर्याए । हात खुट्टा च्यापेर बलात्कार गरे ।

किशोरी रोइन् । कराइन् । चिच्याइन् । गाउँका सबैजसो मानिस विवाह भोजमा रमाउँदै थिए । विहेको बाजागाजाले उनको चिच्याहट कसैको कानमा परेन । बलात्कारीले तीनपटक बलात्कार गरिसके पछि उनी कराएको आवाज घरमा आएका ११ वर्षका उनका भाइले सुने । उनी दिदी खोज्न थाले । भाइले दिदी खोजेको थाहा पाउने बित्तिकै जितेन्द्र भागे । किशोरी घर फर्किइन् ।

किशोरीका बुबाआमा घरमा थिएनन् । विराटनगर अस्पतालमा उनकी आमाको पाठेघरको अपरेशन गर्न गएको पाँच दिन भइसकेको थियो । घरमा उनी र उनका भाइमात्रै थिए ।

आफू बलात्कृत भएको कुरा उनले कसैलाई भन्ने आँट गरिनन् । धेरै नै उकुसमुकस भए पछि तीन दिन पछि आफ्नै काकीलाई घटनाबारे जानकारी गराइन् । काकीले म के गर्न सक्छु र ? तिम्रा बुबाआमा आए पछि सल्लाह गरौंला भनिन् । किशोरी चुप लागिन् । पाँच दिन पछि बुबाआमा घर आए । उनले बुबाआमालाई घटनाको बेलिविस्तार सुनाइन् ।

पञ्चायतको विवाह गरिदिने निर्णय

घटना बारे किशोरीका बुबाले गाउँका भद्र भलाद्मी भनिएका व्यक्तिलाई जानकारी गराए । न्यायका लागि पहल गरिदिन आग्रह गरे । गाउँमा आज–आज भोली भोली भन्दै तीन दिन पछि पञ्चायत बस्यो ।

कोशी गाउँपालिका ६, का अध्यक्ष इन्द्रदेव यादव, स्थानीय राजकुमार कुसियट, बन्द्री नारायण कुसियट लगायतले निर्णय गरे–बलात्कारी जितेन्द्रसँग किशोरीको बिहे गरिदिने ।

बलात्कारीसँग बलात्कृतको विवाह गर्ने कुरा अवैधानिक हो भन्ने कुरै उठेन, पञ्चायतमा । यो विषयमा वडा अध्यक्ष, भद्र भलादमी लगायत कसैले बोलेनन् । पञ्चायतको ठहर थियो –अरु नै पुरुषले इज्जत लुटेकी केटीसँग कसैले विहे गदैन । केटा पनि अविवाहित छ । त्यसैले केटीको विवाह त्यही केटासँग गरिदिनु पर्छ । गाउँको मुद्दा गाउँमै मिलाउनु पर्छ । बाहिर लानु हुँदैन ।

ठेला चलाएर बिहान बेलुकीको गुजारा चलाउने किशोरीका बुबाको एक्लो आवाज पञ्चायमा अल्पमतमा पर्यो । उनी निरीह जस्तै भए । चुपचाप बसे । पञ्चायत विरुद्ध बोले गाउँ छोड्नु पर्ने डरले आँखा बन्द गरेर बलात्करीसँगै छोरीको विवाह गरिदिने निर्णय स्वीकार गरे ।

तीन लाख दाइजो

यति मात्रै होइन । पञ्चायले केटी पक्षले केटालाई पाँच लाख दाइजो दिनुपर्ने शर्त सुनायो । विपन्न आर्थिक अवस्थाका किशोरीका परिवारलाई त्यत्रो रकम जुटाउन सम्भव थिएन । किशोरीका बुबा तीन लाख दाइजो दिन राजी भए । घर फर्के । ऋण खोजे । तीन लाख ऋण नपाए पछि आफूसँग भएको पाँच कठ्ठा पनि बेचे । तीन लाख रुपैयाँ जम्मा गरे ।

विवाह बैशाख २८ गते तय गरिएको थियो । बैशाख २५ गते केटी पक्षले केटा पक्षलाई तीन लाख नगद बुझाउने सहमति थियो । रकम बुझ्ने दिन न त केटा नै छ, न त केटाका बुबा घुटरुम भनिने सुकदेव अरघरिया यादव नै । उनीहरू दुवैले गाउँ छोडेको थाहा पाएसँगै केटी पक्ष कानुनी रुपमा अघि बढ्ने निर्णयमा पुग्यो ।

प्रहरीमा उजुरी

केटी पक्षले बैशाख २५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरेको सई उपेन्द्र पराजुलीले बताए ।
‘प्रहरीले बलात्कार आरेपीको खोजी गरिरहेको छ । उनी कहाँ छन् भन्ने पत्ता लाग्न सकेको छैन’ पराजुलीले भने ।

किशोरीका बुबाले महिला खबरसँग भने, ‘मलाई गरिव भनेर सबैले हेपे । आफूले चाहेको निर्णय गरे । उनीहरूले जे भने मैले त्यही मान्नुपर्यो । अब म सहन्न । मेरो छोरीको न्यायका लागि लड्छु । हाम्लाई सहयोग गरिदिनुस् ।’

अधिकारकर्मी सावित्री सुवेदीले किशोरीका बुबाले छोरीलाई गाउँमा राख्न नसकेको भन्दै सहयोगका लागि आग्रह गरे पछि आफूले पुनस्र्थापना गृहमा राखिदिएको बताइन् ।

यसपाली एसइइ दिएर बसेकी बलात्कृत किशोरीेले आफूलाई पढ्ने इच्छा रहेको बताइन् ।

अहिले गाउँमा जान इच्छा नभएको भन्दै उनले आफ्नो न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छन् ।

वडा अध्यक्ष भन्छन्, ‘बलात्कारको घटना मिलाउनु हुन्न भन्ने थाहा थिएन’

घटनाका बारेमा श्रीपुर वडा अध्यक्ष इन्द्रदेव यादवले भने, ‘घटना भएको सही हो । पञ्चायत पनि बसेकै हो । तर केटा र केटाको बुबा फरार छन् । उनीहरुले सहमति अनुसार काम गरेनन् । अब कानुनी रुपमा अगाडि बढ्नुपर्छ ।’

वडा अध्यक्ष यादवले बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गर्नु हुन्न भन्ने कुरा आफूलाई थाहा नभएको बताए । अब बलात्कार आरोपितलाई पक्राउ गर्न आफूले जस्तोजुकै सहयोग गर्न तयार रहेको पनि उनले प्रतिवद्धता गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: