सार्वजनिक यातायातः अथाह हिंसा, थोरै उजुरी, फितलो कानून


प्रकाशित मिति :2018-05-15 15:39:04

–सन्दिप वि.क–

लतिलपुर । भक्तपुरकी २४ वर्षीया मोहना रजक सार्वजनिक सवारी साधन चढ्न थालेको धेरै भयो । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने क्रममा उनले पटकपटक यौन दुर्व्यवहार खेपेकी छन् ।

घरबाट किनमेल गर्न जाँदा होस् वा कलेज जाँदा । हरेक समय उनी यौन दुर्व्यवहारको महसुस गर्छिन् । १६-१७ वर्षको उमेरदेखि नै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यौन दुर्व्यवहारमा पर्ने गरेको उनको भोगाइ छ ।

‘९ कक्षा पढ्दै थिए । सानो ठिमी भक्तपुरबाट बानेश्वर जाने काम पर्‍यो । बसमा चढेँ । म नजिकै उभिएका अन्दाजी २४-२५ वर्षको जस्तो देखिने युवाले मेरो हातमा समाते । म झसँग भए । मैले हात सारे । फेरि मेरो हातमाथि उसले हात राख्यो । बानेश्वर पुग्दासम्म त मेरो शरीरमै टाँस्सिन आयो । म बानेश्वरमा झरे । कसलाई के भन्ने । त्यतिबेला मलाई कहाँ उजुरी गर्ने भन्ने थाहा थिएन’ उनले अनुभव सुनाइन् ।

सानै उमेरमा सार्वजनिक सवारी साधनमा यौन दुर्व्यवहारमा परेकी मोहना अहिले पनि दुर्व्यवहारमा पर्ने क्रम भने नरोकिएको बताउँछिन् ।

‘केहि दिनअघि घरबाट कलेज जाँदा त्यस्तै दुर्व्यवहार सहे । सानोठिमीबाट माइक्रो चढ्दा यात्रु खचाखच थिए । एउटा मान्छेले मलाई पछाडिबाट ठेल्यो । सहेर बसे । पछि त्यो मान्छेले झन् बढि ठेल्न थाल्यो । अंकल अलि सिधा उभिदिनुस् न भने । तर त्यो व्यक्तिले अलिअलि त ठेलिहाल्छ नी भिडभाडमा भन्दै उल्टो मसँग पो झगडा गर्न खोज्यो’ मोहनाले अर्को अनुभव सुनाइन् ।

ललितपुर खरिबोट बस्दै आएकी सुगम पुडासैनी सार्वजनिक सवारी साधनमा यात्रा गर्दा थुप्रै पटक आफू र आफ्ना साथीहरू समेत दुर्व्यवहारमा पर्ने गरेको बताउँछिन् ।

उनले भनिन्, ‘एकपटक खरिबोटबाट कलेज जाने क्रममा माइक्रोमा चढे । महिला सिट थियो । त्यहाँ अर्की ९-१० कक्षामा पढ्ने बहिनी थिइन् । ४०-४५ वर्षका जस्तो देखिने व्यक्ति मेरो आड नजिकै आएर बसे । ती पुरुषलाई अप्ठ्यारो भयो होला जस्तो लाग्यो । त्यो बहिनीलाई मेरो काखमा राख्न खोजे । उनले हैन्, हैन नानीलाई म नै राख्छु भनेर ताने । त्यो मान्छेको काखमा भन्दा त मेरो काखमा त्यो बहिनीलाई सजिलो हुन्छ जस्तो लाग्यो । मेरो काखमा राखे । तर त्यो व्यक्तिले बालिकाको संवेदनशिल अंगमा हात लैजान खोजे । मैले त्यो बहिनीलाई अर्को सिटमा राख्ने सोच बनाए । बहिनीलाई अगाडि अर्को महिला भएको सिटमा राखिदिए । तर त्यतिबेला त्यो व्यक्तिलाई केहि भन्न सकिन ।’

मोहना र सुगम मात्रै होइन् काठमाडौं उपत्यका लगायत देशभर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिलाहरूले कुनै न कुनै दुर्व्यवहार भोग्न बाध्य छन् । तर यात्राका क्रममा अपरिचित व्यक्तिबाट सार्वजनिक यातायात भित्रै हुने यौन दुर्व्यवहार विरुद्ध एकदम कमैले मात्रै मुख खोलछन् । यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई ठाउँका ठाउँ कार्वाही गर्ने कानुनी व्यवस्थाको अभावले गर्दा यौन दुव्र्यवहार विरुद्ध कमैले आवाज उठाउने गरेको पाइएको छ ।

एक्सन एड र नेपाल इभ्यालुसन एण्ड एसेसमेन्ट टिम ‘नीट’ ले सन् २०१६ मा गरेको एक सर्वेक्षणका क्रममा ९० प्रतिशत महिला यात्री हिंसामा परेको पाईएको थियो । सर्वेक्षणका क्रममा काठमाडौं लगायत ६ जिल्लाका एक हजार चार सय महिलाहरूलाई लिइएको थियो ।

यस्तै अस्तित्व फाउण्डेसनले सन् २०१५ मा गरेको एक अध्ययनका क्रममा सडकमा हिँड्ने २९ प्रतिशत युवतीलाई सडकमा हिँड्दा सिट्ठी मारेर जिस्क्याउने गरेको पाईएको थियो ।

हिँडीरहेका बेला कस्ती राम्री देखिएकी, वा लुगा कस्तो राम्रो जस्ता प्रतिक्रिया २५ दशमलब ३ प्रतिशतलाई गर्ने गरेको पाइएको थियो । १५ प्रतिशत महिलालाई पिछा गरेर दुर्व्यवहार गर्ने गरेको, ५ दशमलब ५ प्रतिशत महिलालाई टाढैबाट चुम्बन गरेर जिस्क्याउने गरेको पाइएको थियो ।

यस्तै ६ दशमलब ४ प्रतिशत महिलाको संवेदनशिल अंगमा छोएर दुर्व्यवहार गर्ने गरेको, अश्लिल शब्द प्रयोग गरेर ३ दशमलब ५ प्रतिशत महिला दुर्व्यवहारको शिकार बनेको अध्ययनका क्रममा भेटिएको थियो ।

यसैबीच विश्वका विभिन्न देशहरूमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने क्रममा महिलाहरू दुर्व्यवहारमा पर्ने गरेको पाइएको छ ।

थम्सन फाउण्डेसनले गरेको रिसर्चमा बेलायतको लण्डनमा यात्रा गर्ने ३२ प्रतिशत महिलाले मौखिक हिंसा भोग्ने गरेको र १९ प्रतिशतले शारीरिक हिंसा भोग्नु परेको पाइएको थियो ।

सन् २००९ मा भारतको दिल्लीमा गरिएका अनुसन्धानका क्रममा ९५ प्रतिशत महिलाले हिंसाको त्रासका बीच यात्रा गरिरहनु परेको बताएका थिए ।

सन् २००९ मा केन्यामा ३ सय ८१ महिलालाई प्रश्न सोध्दा ५० प्रतिशतले यातायातमा लिङ्गका आधारमा हुने हिंसा भोग्नुपरेको बताएका थिए ।

फ्रान्सको पेरिसमा सत प्रतिशत महिलाले सार्वजनिक यातायातका क्रममा कुनै न कुनै किसिमको यौनजन्य हिंसा भोग्नुपरेको बताएका थिए ।

थम्सन रोयटर्सले सन् २०१३ मा बंगलादेशमा गरेको अनुसन्धानका क्रममा सार्वजनिक यातायातमा यात्रा गर्दा ९४ प्रतिशत महिलाले हिंसा भोग्ने गरेको पाइएको थियो । लण्डनमा यात्रा गर्ने ३२ प्रतिशत महिलाले मौखिक हिंसा भोग्ने गरेको र १९ प्रतिशतले शारीरिक हिंसा भोग्नु परेको बताएका थिए ।

चालक नै यौन दुर्व्यवहारमा

काठमाडौंमा लामो सयदेखि ट्याम्पु चलाउँदै आएकी सिता थापा आफू हरेक दिन यौन दुर्व्यवहारमा पर्ने गरेको बताउँछिन् ।

‘पुरुष साथीहरू अगाडि आएर टाँसिएरै बस्न खोज्छन्, अलि पर सर्नुस् भन्दा उल्टै अपशव्द बोल्छन्’ उनी भन्छिन्, ‘एक पल्ट काठमाडौं गल्फुटारबाट यात्रुसहित आए । नारायण गोपाल चोकबाट ५० कटेको जस्तो देखिने व्यक्ति चढे । उनी मेरो आडमै आएर बसे उनी । अलि उता सर्नुस् न भने । एक पल्ट भने सुनेको जस्तो गरेनन् । म नै अलि यता सरे । म जति सरे, उनी पनि मेरैतर्फ सरिरहे । ड्राइभरको स्टेरिङबाटै सर्ने अवस्था आइसकेको थियो । यात्रुहरू भरिए । अलि साहस आयो ।’

इसाराले हिंसा गर्न खोजे : प्रसनि गिरी

महानगरीय प्रहरी परिसर, रानीपाखरीले सञ्चालन गरेको ‘सेफ्टी पिन’ अभियानमा आफू दुर्व्यवहारमा परेको प्रहरी सहायक निरीक्षक प्रविना गिरी बताउँछिन् ।

उनी भन्छिन्, ‘अप्रेसनमा खटिदा म माथि नै २५/३० वर्षका जस्ता देखिने युवाले इसारा गरेर हिंसा गरे । म सादा पोसाकमा थिए । उनलाई हामीले पक्राउ गरेर कारबाही गर्‍याै ।’

अभियानका क्रममा सार्वजनिक सवारी साधनमा साना बालिकाहरूको संवेदनशिल अंगमा छुन खोज्ने, धकेल्ने, चिमोट्ने जस्ता दुर्व्यवहार गर्ने गरेको पाइएको छ । गिरी भन्छिन्, ‘महिलाहरू आफू दुर्व्यवहारमा पर्दा आवाज उठाउन सक्दैनन् । अनि हिंसामा पर्छन् ।’

हरेक दिन हिंसा भोग्छु : राधा पौडेल, अधिकारकर्मी

अधिकारकर्मी राधा पौडेल सार्वजनिक सवारी साधनमा यात्रा गर्दा गरेक दिन हिंसा भोग्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘एसएलसी दिएपछि मैले लामो दुरीको यात्रा गरे । त्यतिबेलाबाटै हिंसा भोगेकी छु । यातायातमा चढ्दा हरेक दिन हिंसा भोगिरहेको हुन्छु । एक पल्ट एक महिना लगाएर उजुरी दिए ।’

सार्वजनिक सवारी साधनमा चढ्दा महिलाहरू बढी असुरक्षित हुने गरेको पौडेल बताउँछिन् । ‘नगई पनि हुँदैन । तर जाने सक्ने वातावरण पनि हुँदैन ।

दुर्व्यवहारमा परे कसलाई गएर भन्ने, भन्ने ठाउँ पनि छैन्,’ उनी भन्छिन्, ‘बलात्कार भयो भने पनि एउटी महिलाले सयौं पटक सोच्नुपर्ने अवस्था छ ।

हाम्रा कानूनी संयन्त्रहरू मौन छन् । सार्वजनिक यातायातमा भएको हिंसा जसको प्रमाण हुँदैन, प्रमाण जुटाउन सकिदैन । उजुरी गर्न जान सानो साहसले हुँदैन । तर आफूमाथि हुने यस्ता हिंसा सहेर बस्दा अरु थुप्रै महिलाहरूले पनि हिंसा भोग्नु पर्छ ।’

यथेष्ट प्रमाण हुँदैनः अधिवक्ता विष्णु बस्याल

अभिवक्ता विष्णु बस्याल सार्वजनिक सवारी साधनमा महिलाहरू यौन दुर्व्यवहारमा परेमा सार्वजनिक अपराध (कसुर र सजाय) ऐन २०२७ बमोजिम कारवाही गर्न सकिने बताउँछिन् ।

उनका अनुसार सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई आसय करणीमा मुद्धा दर्ता गर्न सकिन्छ । पीडकलाई कस्तो सजाय दिने भन्ने सन्दर्भमा यदि ऐन अनुसार मुद्धा चलाएको छ भने एक वर्षसम्मको कैद हुन्छ । यो मुद्दा तीन महिनाभित्र फैसला गरिसक्नुपर्ने प्रावधान छ । यसमा पीडकलाई मनासिव माफिको क्षतिपूर्ति दिने व्यवस्था समेत छ ।

उजुरी गर्न प्रमाण नै यथेष्ट पाउन समस्या हुने उनी बताउँछिन् । कानुनमा के कुरा स्पष्ट गरेको छ भने कति यात्रु चढ्छन्, त्यसको हुलिया, ठेगाना के हो भनेर खुलाउनु पर्छ भनेको छ ।

तर सार्वजनिक सवारी साधनमा को व्यक्ति कहाँबाट चढेको भन्ने थाहा नै हुँदैन । उनी भन्छिन्, ‘म काठमाडौंबाट चढेको बसमा नारायणघाट पुगेर म माथि हिंसा हुन्छ भने मैले त्यहाँ मुद्दा गर्नुपर्ने हुन्छ । जबकी त्यो ठाउँ मेरो लागि अन्जान हुन्छ । काम नै छोडेर जानुपर्छ । त्यो ठाउँमा मैले को साक्षी पाउनु ?’

हिंसा, दुर्व्यवहार भएको हो । कसैले छोएको हो भने प्रमाण गर भनेर कानुनले नै भने पनि व्यक्तिले साक्षी प्रमाण जुटाउन नसक्दा उजुरी कम पर्ने गरेको अधिवक्ता बस्याल बताउँछिन् । उनी भन्छिन्, ‘सार्वजनिक सवारी साधनमा हुने दुर्व्यवहारका घटनामा प्रमाण जुटाउन र बलियो कानून नहुँदा समस्या हुने गरेको छ ।’

एउटा पीडकले गरेका गल्तिलाई हामीले हेर्न सकेका छैनौ । उनी भन्छिन्, ‘यसलाई अपराध हो । गैर कानूनी काम हो भनेर राज्यले पनि भन्न सकेको छैन । त्यसैले यसमा उजुरी नै कम आउँछ ।’

कानुन परिवर्तन गछौं : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले देशको परिस्थिति अनुसार संविधान र कानुन नै परिवर्तन गर्न सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘अहिले भएको कानुनले सार्वजनिक सवारी साधनमा हुने दुर्व्यवहारलाई समेट्न सकेको छैन । यसलाई संशोधन गरेर हुन्छ वा यस सम्बन्धी कानुन ल्याउनुपर्छ । त्यसमा हाम्राे मन्त्रालयले पहल गर्छ ।’

मन्त्रालयले सवारी साधनको व्यवस्थापन गर्ने भन्दै मन्त्री महासेठ सिट क्षमता भन्दा बढी चढ्ने यात्रुलाई पनि कानूनी दायरामा ल्याउने बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: