वाह ! छोरा होस् त यस्तो


प्रकाशित मिति :2018-04-25 15:29:01

–प्रतिमा सिलवाल–

ललितपुर । अन्तरवार्ताको लागि समय मिलाउन फोन गर्दा प्रणय जोशीले भनेका थिए, ‘मिडियामा मेरो पहिलो अन्तरर्वाता हो । मिलाएर भन्न जान्दिन की !’

वैशाखको पहिलो साता भेट्दा थाहा भयो । एक कलाकार । जो सिसामा कला भर्छ । कलात्मक रुप दिन्छ । उ बोलेर आफ्ना बारे व्याख्या गर्न खोज्दैन । जान्दैन पनि ।

प्रणय जोशी लैंगिक विज्ञ चाँदनी जोशीका कान्छो छोरा हुन् । हरेकजसो सार्वजनिक कार्यक्रममा आमाको हात डोर्‍याउँदै पुगेका भेटिन्छन् ।
महिला अधिकारकर्मीहरूले पटक पटक भनेको सुनिन्छ, ‘चाँदनी जोशीको छोरा कस्तो केयरिङ छन् ।’

लैंगिक समानताको अभियन्ता चाँदनीका छोरा परिवारमा कस्ता सहयोगी छन् ?

जान्ने चासो पलाएपछि काठमाडौंको मालिगाउँस्थित जोशीको घरमा पुगियो ।

वैशाखको पहिलो साता ।

दिउँसो करिब ३ बजे ।

बैठक कोठामा चाँदनी, प्रणय र सृष्टि (प्रणयको दिदी) भेटिए । सामान्य परिचय पछि चाँदनीले भनिन्, ‘आज त बाबा (छोरालाई बाबा भनेर सम्बोधन गर्छिन्) को इन्टरभ्यू । हामी उता जाउँ ।’

आमा र दिदी उठ्नै लाग्दा अलि हड्बडाए प्रणय ।

मलाई परिवारका महिला सदस्यको प्रणय माथिको धारणा पनि लिनु थियो । भनें, ‘तपाईंहरू त झनै बस्नुपर्छ । अन्तरवार्ता उहाँको तर भनाइ तपाईंहरूको सुन्ने हो ।’

प्रणयलाई राहत मिल्यो सायद ।

कुरा सुरु गरें ।

तपाईंको उमेर ?

३८ वर्ष ।

के गर्नुहुन्छ ?

‘आर्टिष्ट’ प्रष्ट्याए, ‘सीसा काटेर डिजाइन दिन्छु ।’

प्रणयलाई खुल्न असहज भइरहेको थियो ।

सजिलो उपाय खोजें ‘तपाईंको दैनिकी भन्नुस् न ।’

आमा चाँदनीले यूएनमा काम गर्दा अधिकांश समय नेपाल बाहिर बिताएका प्रणयको नेपालीमा त्यति राम्रो दख्खल रहेनछ । उनको लवजमा अंग्रेजी धेरै मिसिन्थ्यो । त्यसैले पनि बोल्ने बेलामा अलि हड्बडाउँदै दैनिकी सुरु गरे – बिहान ८ बजे उठ्छु । अनि मुमासँग बसेर चिया पिउँछु । फ्रेस हुन्छु । १० बजे काममा जान्छु । १ बजे लञ्च परिवारसँगै खाने र २ बजे फेरि काममा फर्किने । बेलुका परिवारसँग डिनर खाने ।’

उनले छोटकरीमा आफ्ना कुरा सके ।

अब अलि भावनात्मक कुरातर्फ मोडिउँ । मैले थपें – तपाईंलाई सबैभन्दा धेरै माया कसको लाग्छ ?

एक सेकेण्ड पनि नरोकिई प्रणयले जवाफ फर्काए – डेफिनेट्ली मामु ।

किन ?

‘मामु मेरा बुबा पनि आमा पनि दुवै हो । आमाको भूमिका त छँदै थियो । बुबा नहुँदा बुबाको भूमिका पनि निभाउनुभयो । एक्लै हुर्काउन कति गाह्रो भयो होला ।’

प्रणयको कुरा सकिएकै थिएन चाँदनीले थपिन्, – म त एकदमै लक्की । मेरो बेष्ट फ्रेण्ड छोरा र छोरी हुन् । हामीलाई केही भन्नुपर्दा मुखले बोल्न पर्दैन । आँखाको भाका बुझ्छौं ।’

चाँदनीको ९ वटा ठूला शल्यक्रिया गरिए । दुईवटै खुट्टाको घुँडा प्रत्यारोपण गरिएको छ । त्यसैले चाँदनी विना सहारा एक्लै हिँड्न सक्दिनन् । कि त ह्वीलचियरको सहारा लिनुपर्छ ।

चाँदनीको रुपमा एउटी आमा बोलिरहेकी थिईन्, ‘जहाँ कार्यक्रम भए पनि छोरा छोरीले लिएर जान्छन् । म धेरै भाग्यमानी ।’
उनले आफ्ना छोरालाई ‘अमूल्य रत्न’ को उपमा दिईन् ।

हुन त आमाको लागि सबै सन्तान अमूल्य रत्न नै हुन्छन् । तिनै अमूल्य रत्नबाट आमाहरू कतै बृद्धाश्रममा फालिएका छन् त कति घरभित्रै तिरस्कृत छन् ।

यी सब आफूबाट हुने कल्पना पनि छैन प्रणयलाई । मलाई त निकै दुःख लाग्छ । आफ्ना आमाबुबालाई कसरी बृद्धाश्रममा छोड्न सक्छन् ? उनले यतिमात्रै भने ।

                                                         आमा चाँदनी, श्रीमती ममता र छोरा आरभका साथमा प्रणय

प्रणय १३ वर्षका थिए । जहाज दुर्घटनामा बुबा गुमाए । एक दिदी र बुबाको सन् १९९२ मा प्लेन दुर्घटनामा मृत्यु भएको थियो । त्यतिबेला आमासँगै पाकिस्तानमा थिए प्रणय । त्यसअघि आमा बाहिर हुँदा बुबाको रेखदेखमा रहन्थे । बुबाको देहान्तपछि आमासँगसँगै भएका प्रणय अहिलेसम्म करिब ३ वर्षजति मात्रै आमासँग अलग भएका छन् ।‘जति टाढा भए पनि मामुसँग कुरा नगरी दिन सुरु गर्न मनै लाग्दैन ।’

उनले आमासँगको सामिप्यता सुनाए । आमा र भाइको कुरा सुनिरहेकी दिदी सृष्टिले परिवारमा भाइले निभाउने भूमिकामा प्रवेश गरिन्, – हामी हुर्किंदा केटाकेटी बीचको फरक नै थाहा भएन । केटा भएर के गर्ने र केटी भएर के गर्नुपर्ने कहिल्यै काम तोकिएन । त्यसैले पनि होला मामुलाई भाइले जति केयर गर्छ, त्यो म सक्दिन ।’

महिलाले र पुरुषले गर्ने लैंगिक भूमिका फरक नभएको विषयमा भन्दै गर्दा बेला बेला आफूलाई परेको अप्ठ््यारोबारे पनि सृष्टिले थपिन्, ‘हामीलाई महिला र पुरुषको भूमिकामा हुने विभेद सिकाइएन । जान्दैनौं पनि । त्यसैले बेला बेला हामीलाई नेपालमा फिट हुन गाह्रो पनि हुन्छ ।

केयर भनेको कस्तो ?

मैले जिज्ञासा राख्न नभ्याउँदै चाँदनीले नै प्रष्ट्याईन् – मलाई सञ्चो भएन भने प्रणय भएपछि ढुक्क हुन्छ ।’ ढुक्क पनि अस्पताल लगिहाल्छ भनेर होइन । उ भएपछि भावनात्मक रुपमा पनि बलियो भइन्छ ।

                                                                            आमा चाँदनी र श्रीमती ममताका साथमा प्रणय

दिदी सृष्टिको स्पष्टोक्ती थियो – मैले भाइ भएर भनेको होइन । उसै त लजालु प्रणय, आफ्नाबारे दिदी र आमाले भनेको सुनेर अझ लजाए । भने, ‘टू मेनी कम्प्लिमेन्ट, मलाई लाज लाग्यो ।’

अब श्रीमतीको पनि कुरा सुनौं न ।

दिदी र आमाको भनाइ नटुंगिदै मैले ८ वर्ष अघि बिहे भएका प्रणयको श्रीमती र २ वर्षको छोरासँग भेट्न चाहें ।

त्यसैबखत आमा चाँदनीले बुबाको भूमिकामा आफ्नो छोराको व्याख्या गरिन्, – सन्तान भएपछि बाउ कस्तो हुनुपर्ने रहेछ भन्ने मोडल पनि हो उ । छोराको डाइपर फेर्ने । रातभर छातीमा टाँसेर हिँड्ने । नुहाइदिने सबै उसैले हो ।’

आमाले अझ भनिन्, ‘प्रणयले बेलाबेला सोध्छ, केटा मान्छेको ट्वाइलेटमा चाँही विन (फोहोर राख्ने भाँडो, डस्टविन) किन हुँदैन ?

घर बाहिर जाँदा ट्वाइलेट लगेर छोराको डाइपर फेरिदिँदा पुछ्ने, फाल्ने ठाउँ नभएर अप्ठ्यारोमा पर्ने गरेका रहेछन् उनी ।

भौतिक संरचना बनाउँदा पनि महिला र पुरुषको लैंगिक भूमिका निर्धारण गरिदिने रहेछन् । प्रणय नै बोले, ‘बाउले बच्चाको डाइपर फेरिदिन्छ भन्ने त कसैले सोचेकै रहेनछन् हगी !

काममा महिला र पुरुष नछु्ट्याउने एक व्यक्तिलाई नेपाली समाजमा कसरी समाजले तोकिएको मात्रै काम गर्न बाध्य बनाउँछ भन्ने एक उदाहरण हो यो ।

चाँदनी जोशी धेरै सार्वजनिक कार्यक्रमहरूमा पुगेकी हुन्छिन् । हरेक जसो ठाउँमा छोरा र छोरीको प्रसंग आउँदा भन्ने गर्छन्, ‘छोरीले जस्तो माया छोराले कहिल्यै गर्दैन ।’

‘त्यतिबेला चाहिँ मैले बोलिहाल्नुपर्छ’ चाँदनी भन्छिन्, ‘मेरै भोगाइमा छोराको माया पनि कम चाँही हुँदैन है भन्ने गर्छु ।’

छोराले आफूलाई गर्ने मायाबारे खुलिन्, ‘राती मलाई सुताएर ओढ्ने च्यापिदिएर विगँुत लगाइदिन्छ । अनि निधारमा किस गरेर आफू सुत्न जान्छ । हिजोको रातसम्म मेरो छोराले गर्नेजति कतिको छोराले गर्छन् ?’

चाँदनीले एक प्रसंग थपिन्, ‘दिल्लीमा मेरो मिनाक्षी भन्ने साथी थिईन् । सामान्यतया विवाह गर्ने उमेर ढल्केको थियो । उ विवाह नगर्ने भनेर बसेकी । एक दिन मेरो रुममा आइन् । भित्र पसेर चुकुल लगाएर भनिन्, चाँदनी तिमीसँग एउटा कुरा गर्नु छ ।

मैले भन भनें । तिम्रो छोरा देखेर मलाई विवाह गर्ने रहर भयो । म पनि प्रणय जस्तै छोरा जन्माउन सक्छु नि । त्यसैले विवाह गर्छु भनी । विवाह पनि गरि । अहिले एउटा छोरा छ ।’

                                                                                      आमा चाँदनीका साथमा प्रणय

चाँदनीको मनभरीका कुरा सुन्नु त छँदै थियो । त्यसअघि मैले प्रणयकी श्रीमती ममता र २ वर्षको छोरासँग भेट्न चाँहे । प्रणयको अन्तरजातीय प्रेम विवाह हो । २०१० मा विवाह गरेका ।

अहिले एक छोरा छन् । बुहारी बैठकमा छिर्नुअघि नै चाँदनीले भनेकी थिईन्, ‘उसले श्रीमतीलाई कहिल्यै तिमी भनेको सुनेको छैन । सँधै हजुर भन्छ र बुहारी तीजको ब्रत बस्दा उ पनि सँगै ब्रत बस्छ । ममता फेसन डिजाइनर हुन् ।

‘जेन्टल हस्वेण्ड । केयरिङ र हरेक कुरामा सपोर्ट गर्ने । आँट्न नसकेको कुरामा पनि आँट दिने । रेस्पेक्ट गर्ने ।’ बैठकमा आउने बित्तिकै ममता खुलिन् ।

श्रीमान् र आफूबीचको सम्बन्धलाई एक वाक्यमा भनिन्, – ‘हामी हस्वेण्ड वाइफ भन्दा पनि बेष्ट फ्रेण्ड हौँ । उनी गर्भवती हुँदा र प्रसूतिको समयमा श्रीमानले गरेको हेरचाहबाट अझ प्रभावित रहिछन् ।

छोराप्रति प्रणयले गर्ने रेखदेखले त झनै श्रीमानप्रतिको आदर बढेको सुनाउँदै भनिन्, ‘म सुत्दा राती छोराले डिस्टर्ब गर्छ भनेर आफूसँग लैजानुहुन्छ । सँगै सुताउने । नुहाइदिने, सफा गरिदिने सबै उहाँ नै हो ।

एउटी श्रीमती श्रीमान्को रेखदेख र सम्मान पाएर गर्व गर्न सक्छिन्, तिनै हुन् ममता । एउटी बुहारीलाई श्रीमान्सँगै परिवारको पनि साथ र सहयोग चाहिन्छ । ममता भन्छिन्, ‘मेरो त श्रीमान् मात्रै होइन मामु (सासू) पनि मेरो आमा भन्दा माया दिने हुनुहुन्छ ।’ विवाहको ८ वर्षमा उनले सासूले ‘बुहारी’ ठानेर गर्ने परम्परागत व्यवहार कहिल्यै पाएकी छैनन् ।

अनि चाँदनीले ?

‘म त ममतालाई धेरै थ्याङ्क्यु भन्छु’ चाँदनीले भनिन्, ‘मेरो छोरासँग विवाह गरेर अझ मसँग नजिक ल्याइदिईन् ।’ ‘नेपालमा छोरीलाई अंश दिने कानून नबन्दै मैले छोरीलाई वकस दिने प्रस्ताव राखें । प्रणय अझ खुसी भयो । वकसको कागजमा छोरा र बुहारी साक्षी बसे ।’ छोराको अर्को प्रसंग सुनाईन् चाँदनीले ।

                                                                      श्रीमती ममता र छोरा आरभका साथमा प्रणय

आमाको कुरा पुरा गर्दै सृष्टिले भनिन्, ‘अरुको तिर दिदीबहिनीले अंश लिन मुद्दा लडेको देख्छु । तर, मैले अंश पाएकोमा भाइ बढि खुसी थियो । वकसको काम सकिएपछि उसैले सबैलाई लड्डु बाँड्दै हिँड्यो ।’

अहिले समाजमा पुरुषले महिलामाथि गर्ने हिंसाको दर बढ्दै गएको देखिन्छ । बालिकामाथिको बलात्कार बढेको छ । घरभित्रैको हिंसाका उजुरी बढेका छन् । यस्तो हिंसा घटाउन पहिलो त छोरालाई कसरी हुर्काइन्छ महत्वपूर्ण हो ।

लैंगिक भूमिका नछुट्याई हुर्काएका बालबच्चाको सिकाई पनि त्यसरी नै विकास हुन्छ । अनि प्रणय जस्तै आमा, श्रीमती र दिदीबहिनीलाई सम्मान गर्ने पुरुष समाजमा बढ्न सक्छन् ।

अहिले प्रणयको परिवारमा ३ छोरा हुर्कदै छन् । प्रणय र ममताको एक छोरा र सृष्टिका २ छोरा ।

सृष्टि विवाहित हुन् । तर उनको र प्रणयको घर एउटै पर्खालभित्र छ । दिदी भाइको काम समेत एउटै हो– सीसामा कला भर्ने । अनि कार्यस्थल पनि एउटै ।

भाइले जानेको संस्कारमा १० प्रतिशत मात्रै आफ्ना छोराहरूले सिके पनि पुग्ने सृष्टीको अनुमान छ । उनी समाजका सबै भाइ प्रणय जस्तै हुन् भन्ने चाहन्छिन् ।

                                                                                                           दिदी सृष्टिसँग प्रणय ।

‘हामी ३ जना नयाँ जेनेरेशन हुकाईरहेका छौं ।’ सृष्टिले भनिन्, ‘यी ३ छोरालाई परिवर्तनका संवाहक बनाउन सक्यौ आफूलाई ठूलो भाग्यमानी ठान्नेछौं ।’

प्रणय आफू एउटा असल छोरा, असल भाइ, असल श्रीमान अनि एउटा असल मान्छे हुनुको श्रेय दिन्छन् – आमा चाँदनीलाई । चाँदनीकै असल संस्कारका कारण प्रणयलाई चिन्ने, देख्ने र सुन्नेले भन्छन्, ‘वाह ! छोरा होस् त यस्तो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: