चरित्रको घनचक्कर


प्रकाशित मिति :2018-04-19 14:22:48

– उमेश पोखरेल

ग्रीष्म यामको बाफिलो राप। त्यो पनि कपिलबस्तुको। कुरा गर्नु थियो – हर्नामपुरका लक्ष्मण यादवसँग। पाँच कक्षामा पढ्ने ११ बर्षीय उनकी छोरीको टुंगो लाग्नै थालेको बिहेको बिषयमा। उनीहरु हेरि – ठहराई विहेको निधो गर्ने कामलाई बिहे र बिहे गरेर छोरीलाई केटाको घर पठाउने प्रक्रियालाई चाँहि गौना भन्छन्।

हाम्रो कुराकानी सुरु भयो।

म– छोरीको बिहेको कुरा चल्दै रैछ।

यादब –  हो। अर्काको घर जाने जात। जिम्मा लगाईदियो, टन्टै साप्m।

म–  आफैले निर्णय लिने उमेर नहुदासम्म सम्म बिहेको लागि दवाव नदिएको भए हुने। पढाई पनि राम्रो छ रे उनीको।

यादब – हामी कहाँ पढाउन सक्छु र ? गरिबी छ।

म– सरकारले १० कक्षा सम्म त निशुल्क नै पढाउने व्यवस्था मिलाएको छ नि।

यादब – सरकार त भनिहाल्छ। तर हामीलाई समाजले के भन्छ ? नानाभाँती कुरा काट्छन्। बेटीको चरित्रमा दाग लागेपछि त हाम्रो ईज्जत पो के वाँकी रहन्छ र ? हामीले के भनेर समाजको अगाडी मुख देखाउनु  ? फेरि पढेपछि केटा पनि पढेको खोज्नुपर्‍यो। हाम्रोतिरका केटाहरु पनि सात आठ किलास पढेपछि ईन्डिया गैहाल्छ पैसा कमाउन।

पछि थाहा लाग्यो – हामीलाई समाजले के भन्छ भन्ने उनको अभिव्यक्ति भित्र कुराको चुरो रहेछ। बिद्यालयमा केटा र केटी दुवै भर्ना हुन्छन्। स्वभाविक ढंगले उनीहरु एक अर्कासँग बोल्छन्। कुराकानी गर्छन्। घर आँउदा पनि सगै नै हिड्छन्। बाल्यावस्था रहुन्जेल सो विषय समाजलाई  खासै वास्ताको बिषय  हुदो रहेनछ। जब बालिका पूर्व किशोरावस्था र किशोराबस्थामा प्रवेश गर्छिन, त्यही बच्चैदेखिको आनीवानी नै समाजको नजरमा कुरा काट्ने विषय बन्दो रहेछ। र पहिले झै केटाहरुसँग बोले वा संगत गरे बालिकाहरुलाई चरित्रहीनको बिल्ला भिराईने रहेछ। छोरी पढाउने ईच्छा भएका बाबुआमाले पनि सो सामाजिक लान्छनालाई बेवास्ता गर्ने वा सामाना गर्ने हिम्मत राख्दा रहेनछन्। अनि छोरीको चरित्रलाई दाग रहित बनाउन र आफ्नो ईज्जत जोगाईराख्न  उनीहरु किशोरावस्थामा प्र्रवेश गनुपुर्व नै विद्यालय छुटाउदा रहेछन्।

यो प्रतिनिधी घटना हो – नेपाली समाजले आफ्नो ईज्जत जोगाउने नाममा वा कथित चरित्रको घनचक्करमा समाजकै वर्तमान र भविष्यलाई  कसरी धुमिल्याईरहेको हुन्छ भन्ने दृष्टान्तको। समाजले जुन कुरालाई चरित्र भनि बुझेको छ ,त्यो अवास्तविक, लादिएको र आधारहीन छ। यसले महिलामाथि अनावश्यक मनोवैज्ञानिक  वोझ थोपरेको त छ नै,उनको परिवारमा समेत मनोवैज्ञानिक त्रासको सिर्जना गरेको छ।

 चरित्रको भ्रमपूर्ण बुझाई 

हर्नामपुरका लक्ष्मण यादवको गाँउमा मात्र हैन, नेपालका अन्य गाँउ र बस्तीहरुमा पनि चरित्रलाई महिला र पुरुषको सम्वन्धको आधारमा परिभाषित गरिएको पाईन्छ। यादवको समुदायमा केटा र केटी वोले वा नबोलेको, सँगै हिडे वा नहिडेको, घरका केटा मान्छेले भनेको सवै कुरा माने वा नमानेको, गौनाको लागि आफैले केटा खोजे वा नखोजेको लगायतका आधारमा चरित्रको मापन गरिन्छ भने बुझेको भनिएको शहरमा पनि केटामान्छे सँगै रेष्टुरा जाने गरेको वा नगरेको, केटा साथी वनाएको वा नवनाएको, फिल्म हेर्न केटासाथीसँग जाने गरेको वा नगरेको, छोटा र टाईट कपडा लगाउने गरेको वा नगरेको, पार्टीमा ड्रिङ्गस् गर्ने गरेको वा नगरेको, साँझमा वा बेलुकी घर ढिला आउने गरेको वा नगरेको लगायतका सूचकहरुको आधारमा चरित्रवान भए वा नभएको र्निक्यौल गरिन्छ। अचम्म लाग्ने कुरा – यी सवै सूचकहरु महिलाको हकमा पूर्णत र पुरुषको हकमा नगन्य रुपमा लागू हुन्छन् ।

नेपाली समाजले चरित्र भनेर वुझेको अवधारणासँग चरित्रको वास्तविक अर्थ मेल खादैन न त नेपाली समाजले बनाएका सूचकले चरित्रको सही मापन नै गर्न सक्छन्। सकरात्मक भाव, सकरात्मक सोच, जिम्मेवारीवोध, इमान्दारिता, तनाब तथा नकरात्मक भावलाई सहन र संवोधन गर्ने क्षमता, बौद्धिकता, रचनात्मकता, खुल्लाहृदय, बिबेक, संबेगात्मक सवलता, माँया –ममता, प्रेम र सद्भाव, निष्पक्षता, आत्मअनुशासन,नम्रता, बिनयीशीलता लगायतका मानवका असल गुणहरु नै वास्तवमा  असल चरित्रका सूचकहरु हुन्। असल चरित्रभित्र व्यक्तिका असल मानवीय, व्यक्तिगत आचरणगत,स्वभावजन्य, मनोमासामजिक, सामाजिक र साँस्कृतिक गुण वा बिशेषताहरु जोडिएका हुन्छन् न कि नेपाली समाजले सोचेजस्तो यौनिकताको मात्र कुरा।

चरित्र र लैगिकता

चरित्र न त स्त्रीलिंगी हो न त पुलिंगी वा तेस्रो लिंगी। यो त उत्कृष्ट मानवीय गुण दर्साउने सूचकहरुको एकमुष्ट अवस्था हो। तर नेपाली समाजले चरित्रको समग्र ठेक्का स्त्रीलिंगीमा  छोडेको छ। छोरीमान्छे र बिशेष गरि केटी मान्छेमा आफ्नो चरित्र चम्काउने मात्र हैन, परिवार वा आफ्नो समाजको ईज्जत जोगाईदिनुपर्ने जिम्मेवारी पनि छ। आफ्नो कुल घरानाको ख्याल राखेस् भनेर नेपाली आमाहरुले वेलावेलामा छोरीहरुलाई सम्झाएवाट पनि कुल घरानको ईज्जत र स्त्रीचरित्र जोडिएको अनुभुत गर्न सकिन्छ। अव प्रश्न उठ्छ समाजले किन चरित्रको बिषयमा अवास्तविक सूचकहरु बनायो ? अर्को प्रश्न हो –किन महिलालाई नै चरित्रको ठेकेदार ठहरायो। तेस्रो प्रश्न– पुरुषको चरित्रको बारेमा समाज किन खासै बोल्दैन ?

यी सवै प्रश्नको उत्तरहरु नेपाली समाजको बनावट, इतिहाँस, सामाजिकीकरणको क्रममा बिकास भएको मनोविज्ञान जस्ता विषयसँग जोडिएको छ। समाजको बनावट पितृसत्तात्मक छ। त्यसैले यी सूचकहरु बनाउने स्थानमा पुरुषहरु हुने नै भए। उनीहरुमा महिलाको बिशेष शक्तिलाई कसरी आफ्नो कव्जामा लिन सकिन्छ भन्ने लुप्त मनोविज्ञान हावी भयो। परिणामत चरित्रको यस्तै अवास्तविक अवधारणा र सूचक बने। चरित्रको नथ्थी लगाईदिएपछि र यौनिकता अझ भनौ यौनिक शुद्धतालाई नै चरित्रता मापनको साधन बनाईदिएपछि पितृसत्ताले रणनीतिक रुपमा महिलामाथि कव्जा जमाउन र मनोवैज्ञानिक सुप्रिमेसी कायम गर्न सक्छ भन्ने अभिप्राय पनि यो अवास्तविक परिभाषाभित्र लुकेको छ।

चरित्रको अबास्तविक व्याख्या गरिनु र असल चरित्रको ठेकेदार महिलालाई मानिनुमा ऐतिहासिक र साँस्कृतिक कारणहरु पनि छन्। यस सन्दर्भमा सीताले आफ्नो यौनिक पवित्रता प्रमाणित गर्न अग्निमा हाम फाल्नु परेको प्रसंगको चर्चा गर्नु सान्दर्भिक हुन्छ। रामायणका अनुसार अपहरणमा परेकी सीतालाई श्रीमतीको रुपमा स्वीकार्नुपुर्व रामचन्द्र र उनको समाजले सीताको पतिब्रताको परीक्षा गर्न चाहन्छ र फलस्वरुप सीता अग्निमा हाम फाल्छिन्। जवकि पतिब्रता रहने वा  नरहने कुरा अपहरणमा परेकी सीताको बसको कुरै थिएन। उनले भनेअनुसार हुन्थ्यो भने त उनी अपहरणमा नै पर्दिनथिन्।

सीताले यौनिक पवित्रताको परीक्षा दिईरहदा रामचन्द्रको पत्नीव्रताको विषयमा कुरासम्म उठेन। यसको अर्थ तीन वटा हुन सक्थ्यो। पहिलो,  चरित्रको अवधारणा र सामाजिक नियम भन्दा पुरुष जाति माथि छन्। दोस्रो, लोग्नेमान्छे चरित्रहीन हुनै सक्दैनन्। तेस्रो,लोग्नेमान्छेको सवालमा चरित्र र यौनिक पवित्रताको कुनै सम्वन्ध छैन।।

त्रेतायुगको चरित्रसम्वन्धी यो अवधारणा कलीयुगसम्म आइपुग्दा अझ बढी जव्वर बन्दै गएको छ।  चरित्रको सो अवास्तविक अवधारणा हाम्रा अगाडी वास्तविकता भन्दा पनि वलियो बनेर अवचेतन मनमै वसिसकेको छ।  त्यसैले त आजकल लोग्नेमान्छेहरुको क्लवले केटी मान्छेलाई उनको  केटा साथीहरु भएकै कारण, केटाहरुसँग संगत गरेकै कारण चरित्रहीनको बिल्ला भिराउछ र  महिलाहरुसँगका आफ्नो शारिरीक सम्वन्धहरुलाई चाँही गर्बको रुपमा व्याख्या गर्छ।

व्याप्त छ चरित्रको मनोबैज्ञानिक त्रास

मेरा शशक्त र बोल्ड महिला साथीहरु बेला बेलामा भन्ने गर्छन् – बाहिर जतिसुकै बोल्ड देखिएपनि समाजले चरित्रका अवास्तविक सूचकहरुसँग आफूलाई दाँजेर वास्तविक चरित्रमै प्रश्न उठाउला कि भन्ने भय चाँही रहिरहन्छ। काग कराउदै छ पिना सुक्दै छ भनेर वास्ता त गरिदैन कतिपय केसमा । तर निन्द्रा लाग्दैन रातभर। मनमा कुरा चाँहि खेलिरहन्छ।

कुरा नखेलोस पनि किन, जबकि नेपाली संचारमाध्यम र समग्र सामाजिक संरचना नै यही अवास्तविक सूचकको मापन वोकेर छोरीमान्छेको चरित्र नाप्दै हिडेको छ। मिडियाले व्यक्तिगत जीवनको कुरा वाहिर ल्याएर चरित्रमाथि धावा वोलेको कारण नेपाली महिला कलाकारले आत्महत्या नै गरेको  र अन्य कलाकारहरु पनि मानसिक तनावमा रहेको तथ्यले पनि चरित्रको कारण सिर्जिएको मनोवैज्ञानिक त्रासको डिग्री अनुमान गर्न मदत गर्छ।

हामीले चुकाउनुपरेको मूल्य

नेपालमा हाल ३७ प्रतिशत बालिकाको बिबाह १८ बर्ष भन्दा कम उमेरमा हुन्छ।  त्यसैले उनीहरु शारीरिक मानसिक तथा अन्य हिंसामा पर्नसक्ने सम्भावना धेरै  हुन्छ र करियर यात्रामा पनि धक्का लाग्छ। नेपालमा बालमृत्यदर करिव २८ प्रतिहजार र मातृमृत्युदर प्रति लाखमा २५८ छ।

त्यसैगरि धेरै बालिकाहरु बलात्कृत भएको रिपोर्ट आएको छ तर ती केसहरु गुपचुप रहन्छन्। करिब ३६ प्रतिशत महिलाहरु आफ्नै श्रीमानवाट हिंसामा परेको अनुसन्धान प्रतिवेदनहरुले देखाएका छन्। साथै एक चौथाई महिलाहरु श्रीमानद्धारा पिटिनु सामान्य कुरा भएको ठान्छन्।  यी  र यस्ता सबै अवस्थाको लागि  प्रत्यक्ष रुपमै जिम्मेवार छ यौनिकता र महिला – पुरुष सम्वन्धको आधारमा चरित्रको वर्गीकरण। किनकि चरित्रहीनको दर्जा पाँउनुभन्दा माथिका जोखिमलाई सहने मनोविज्ञान तयार गरेको छ समाजले। नेपाली नायिका श्रीषा कार्कीको आत्महत्या प्रकरण यसको उदाहरण हो।

अब त जाग

अवको वाटो के त ? कवि धरणीधर कोईरालाको जागजाग कविताको एक स्टान्जाले अबको बाटो निर्देश गर्छ। उनले लेखेका छन्ः

घोर नींद अब ता परित्याग।

भो भयो अती सुत्यौ अब जाग।।

जाग जाग अब जागन जाग।

लाग उन्नति विषे अब लाग।।

(लेखक विपत जोखिम व्यवस्थापन , समाजिक मामला र संचार सम्वन्धी विषयमा कलम चलाउछन्।)

-सेताेपाटीबाट साभार

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: