कति सहने घरेलु हिंसा ?


प्रकाशित मिति :2018-04-16 12:19:26

-लिलाराज भट्टराई –

सुनसरी । इनरुवाकी रञ्जुदेवीको विवाह गरेको २० औं वर्ष हुँदा पनि कुनै जायजन्म भएन । परिवारजनवाट सन्तान नजन्माएको भन्दै श्रीमानले कुटपिट गर्न थाले । परिवारबाटै सन्तान नभएको महिलाको मुख हेर्न हुँदैन भन्न थाले । परिवारका सदस्यले उनलाई शारीरिक मात्र होइन मानसिक यातना समेत दिन थाले ।

विवाह भएकै वर्षदेखि सन्तान नजन्माएको भन्दै दिन थालेको यातना उनले बीस वर्षसम्म सहिन् । सहनै नसक्ने भएपछि उनी महिला बालबालिका कार्यालय सुनसरी पुगिन् । आफ्ना समस्या त्यहि कहिन् ।

                                     -लिलाराज भट्टराई –

महिला तथा बालबालिका कार्यालय सुनसरीले जुरी नेपालले सञ्चालन गरेको क्लिनिकमा पठायो । कार्यालयले उनलाई शारीरिक उपचारको लागि क्लिनिकमा    पठाएको भने होइन कानूनी उपचारको लागि ‘लिगल क्लिनिक’मा पठएको हो ।

जुरी नेपालले हिंसा प्रभावित महिलाका लागि न्यायमा पहुँच बढाउन सुनसरीमा लिगल क्लिनिक सञ्चालनमा ल्याएको छ । न्यायमा पहुँच परियोजना अन्र्तगत सञ्चारिका समूहको नेतृत्वमा जुरी नेपाल र मानवअधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) ले ‘लिगल क्लिनिक’ सञ्चालनमा ल्याएको हो ।

लिगल क्लिनिकबाट मञ्जुदेवीलाई कानूनी परामर्श प्राप्त भयो । लिगल क्लिनिकबाटै घरेलु हिंसा तथा कसुर सजाय ऐन अन्तर्गत जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरियो । मुद्दा अघि बढाउन आवश्यक पर्ने सबै कानुनी प्रक्रिया ‘लिगल क्लिनिक’का अधिवक्ता श्यामिका महतोले सहयोग गरिन् ।

रञ्जुदेवीले भनिन्, ‘आफू एक्लै अदालत जानुपर्दा के गर्ने कसो गर्ने थाहा थिएन । मुद्दा मामिला गर्ने पैसा पनि थिएन । लिगल क्लिनिकले सबै काम गरिदिएपछि ठूलो राहत मिल्यो । लिगल क्लिनिकले मुद्दा लड्न चाहिने खर्च पनि बेहोरिदियो ।’

सुनसरी जिल्ला अदालतमा उनकै इच्छाबमोजिम मिलापत्र भयो । जीविकोपार्जनका लागि रञ्जुदेवीलाई सात लाख रुपैयाँ दिने सहमति भयो । अधिवक्ता श्यामिकाले भनिन्, ‘मेलमिलाप पक्रियामा दुबै पक्षले जीतको महशुस गरे । श्रीमानले अर्की श्रीमती ल्याएकाले अहिले रञ्जुदेवी अलग्गै बसेर जीविकोपार्जन गरिरहेकी छिन् ।

लिगल क्लिनिकमा गएपछि रञ्जुदेवीको स वर्षौदेखिको तनाव साम्य भएको छ । अहिले उनले शारीरिक र मानसिक रुपले नै शान्ति महसुस गरेको बताईन् ।

महिलालाई न्यायको पहुँचमा पुग्न सजिलो बनाउन सञ्चालित लिगल क्लिनिकबाट मञ्जुदेवी जस्तै धेरै हिंसा प्रभावित महिलाले निःशुल्क कानूनी परामर्शका साथै मुद्दा दर्ता, बहस लगायतका कानुनी प्रक्रियामा सहयोग प्राप्त गरेका छन । लिगल क्लिनिकबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सबै सेवा निःशुल्क दिने गरेको जुरी नेपालकी सविता राईले बताईन् ।

सप्तरी माइती भएकी मायादेवीको घर सुनसरी वाहक्षेत्र नगरपालिकामा पर्छ । उहाँमाथि पनि दिनदिनै श्रीमान लगायत परिवारको सदस्यले कुटपिट गर्थे । चरम घरेलु हिंसा गरेर खान लाउन समेत दिन छाडे । त्यतिमात्रै होइन घरमै बस्न नदिएपछि काखे छोरालाई लिएर उनी माइतीको शरणमा पुगिन् ।

मायादेवीको आमा एकल हुन् । उनको बुबाको सानैमा मृत्यु भयो । विवाह गरेर पठाएपछि उनले सुख पाइनन् । विवाह दर्ता, नागरिकता श्रीमानले बनाइदिएनन् । न त छोराको जन्मदर्ता नै ।
मायादेवी भन्छिन्, ‘यस्तो अवस्थामा न्याय पाउन के गर्ने कसो गर्ने थाहा थिएन । आफन्तलाई ‘लिगल क्लिनिक’बारे थाहा रहेछ । अनि सहयोग लिन म पनि पुगें ।’

लिगल क्लिनिक मार्फत छोराजन्मदा अस्पतालले दिएको जन्मप्रमाणपत्र लगायतका प्रमाण जुटाएर जिल्ला अदालत सुनसरीमा अंशचलन, मानो चामल र घरेलु हिंसा विरुद्धको मुद्दा दर्ता भएको छ । अहिले अदालतमा उनको मुद्दा चलिरहेको छ ।
मायादेवीलाई मुद्दा प्रकृया अगाडि बढाउँदा लिगल क्लिनिकले निःशुल्क सेवा दिइरहेको छ । ‘खान लाउनकै समस्या छ मुद्दामामिलामा खर्च गर्न सक्ने त अवस्था नै थिएन ।’ उनी भन्छिन्, ‘लिगल क्लिनिकबाट निःशुल्क सेवा नपाएको भए त न्यायको लागि अदालत आउने आँट समेत थिएन ।’

माइती आमा बाहेक अरु कोही नभएकी उनलाई न्यायको लागि लडिदिने क्लिनिक दह्रो आधार भएको छ । लिगल क्लिनिकबाट कानूनी सरसल्लाहका साथै अदालतमा मुद्धा दर्ता, बहस गरिदिएपछि धेरै सहयोग पुगेको उनले बताईन् ।

इटहरीकी हरीप्रिया पौडेलले श्रीमानसँगको अंशचलन सम्बन्धि मुद्धामा लिगल क्लिनिकबाट निःशुल्क कानुनी सेवा पाईन् । उनले आफ्नो भागको अंश पाईन् । इटहरी १२ की पुनम देवी पोदार र उनको श्रीमानबीचको मानाचामल विवादमा पनि लिगल क्लिनिककै सहयोगमा सुनसरी जिल्ला अदालतमा मिलापत्र भएको छ ।

अधिवक्ता सविता राईले लिगल क्लिनिकमा आएका हिंसा प्रभावित महिलालाई परामर्शका साथै कानुनी सहायता समेत गर्दै आएकी छिन् । उनका अनुसार सुनसरीमा डेढ वर्षअघि स्थापना भएको लिगल क्लिनिकमा अहिलेसम्ममा ४५ जना महिलालाई हिंसा विरुद्दको उजुरीका लागि कानूनी सेवा दिइएको छ ।

‘घरेलु हिंसा मानाचामल, कर्तव्य ज्यान, बहुविवाह, यौन दुव्र्यवहार लगायतका घटनाका उजुरीको लागि सेवा माग्न पुगे’ राईले भनिन्, ‘ती मध्ये २२ वटा हिंसा विरुद्द मिलापत्र गराइसकिएको छ । केहि विवादमा परामर्श दिने काम भएको छ । पाँच वटा फौजदारी र पाँचवटा देवानी मुद्धा अदालतमा विचाराधिन छन् ।’

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी हिंसा पीडितहरुलाई न्यायमा पहुँच पुर्याउन कानुनी परामर्श, परामर्श, मुद्दा दर्ता, निःशुल्क कानुनी सहयोग र पैरवीका लागि लिगल क्लिनिकको अवधारणा प्रभावकारी रहेको बताउँछिन् ।
सर्वसाधारण जनताले न्यायको सहज पहुँचमा अझै छैनन् । महिलालाई निःशुल्क कानुनी सेवाले सर्वसाधारण जनतालाई न्यायको ढोका ढोका ढक्ढक्याउन मद्दत पुगेको भण्डारीले बताईन् ।

सुनसरीमा लिगल क्लिनिक जस्तै विभिन्न संस्थाले सञ्चालन गरेको न्यायमा पहुँच सम्बन्धि सचेतना कार्यक्रमका कारण हिंसापीडित महिला न्यायको पहुँचमा पुग्ने क्रम बढेको मानवअधिकार सञ्चाल सुनसरीका संयोजक रमेश भट्टराई बताउँछन् । गाँउ गाँउका महिलामा हिंसा सहेर बस्न हुँदैन भन्ने भावना बढ्दै गएको उनको अनुभव छ ।

जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नवराज आचार्य पनि गाँउ गाँउका न्यायको लागि कानूनी बाटो रोज्न महिला सचेत बन्दै गएको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सुनसरी जिल्ला अदालतमा ७७ वटा घरेलु हिंसा विरुद्ध मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा ८१ वटा मुद्धा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख बिनु बस्नेत पनि विभिन्न संघ संस्था र संचारमाध्यमहरुले चेतना प्रवाहमा भूमिका निर्वाह गरेपछि जिल्ला प्रहरी कार्यालयमा पनि घरेलु हिंसा पीडित महिलाहरु आउने क्रम बढेको बताउँछिन् ।

उनका अनुसार आर्थिक वर्ष २०७२/२०७३ मा सुनसरी प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा १ सय ३७ वटा उजुरी आएकोमा आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ६३ वटा उजुरी आए । यसबाट पनि महिला हिंसा सहेर बस्ने क्रम घटेको उनको विश्लेषण छ ।

(पत्रकार भट्टराई सुनसरीबाट पत्रकारिता गर्छन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: