छोरीको सपनामा पखेटा देउ


प्रकाशित मिति :2018-04-01 14:21:43

‘तँ जन्मिँदा घरमा कसैको खुसीको सीमा नै थिएन । परिवारको पहिलो सन्तान ड्याडी, अंकल हजुरबा, हजुरआमा सबैको आँखाकी नानी थिइस् ।’ आमाले यसरी मेरो बाल्यकालको बारेमा भन्दै गर्दा म भने आफ्नै कल्पनाको संसारमा नाचिरहेकी हुन्थेँ । अनि एक्कासि सम्झिँन्थे ती छोरीहरूलाई, जसको छोरी भएकै कारण यो दुनियाँमा आउनु भन्दा अगाडि नै हत्या हुन्छ । त्यो पनि आफ्नै परिवारबाट ।

‘खाना खुवाउने बेला ड्याडी र अंकलले पालैपालो काखमा लिँदै खुवाउनु हुन्थ्यो तँलाइ । अझै अंकलले त कत्ति पनि घिन नमानी एउटा हातले तेरो सिँगान फालिदिँदै अर्को हातले खाना खुवाई दिनुहुन्थ्यो । हजुरबुबाले सँधै बोकेरै स्कुल पु¥याउनु हुन्थ्यो । र लिन पनि आफै जानुहुन्थ्यो । मेरी नातिनी ठूली भएर राम्रो मान्छे बन्छे है भन्दै मख्ख पर्नुहुन्थ्यो ।’ आमाले यति भन्दै गर्दा म सम्झिन्थेँ ती छोरीहरूलाई जो छोरी भएकै कारण आफ्नै परिवारको मायाबाट बञ्चित छन् । अनि छोरी भएकै कारण आजसम्म पनि बिद्यालयको मुख देख्न पाएका छैनन् । ती छोरीहरू जो आफ्नै बा, काका अनि आफ्नै परिवारका सदस्यबाट बलात्कृत भैरहेका छन् ।

मोनिका रानाभाट

मलाई याद छ, मामाघरमा हजुरबुवासँग चर्को चर्को स्वरमा बहस गर्दा उहाँले कहिल्यै छोरी मान्छे भएर बिस्तारै बोल्नुपर्छ भनेर सिकाउनु भएन । बरु मेरी नातिनी नेता बन्ने भै भनेर मख्ख पर्नुभयो । हजुरआमाले पनि छोटो कपडा लगाउन बन्देज गर्नुभएन । र कहिल्यै लुगाको लम्बाईले मेरो चरित्र निर्धारण गर्छ भनेर सिकाउनुभयो नै भयो । न त उहाँले कहिल्यै अर्काको घर जाने जात घरको सबै काम जान्नुपर्छ भनेर मलाई कहिल्यै काम गरिन भनेर गनगन नै गर्नुुभयो ।

आफ्नो अगाडि चर्को स्वरमा बोलेको निहुँमा मेरै साथीलाई उनका बुबाले दुई थप्पड लगाएको र घुँडासम्म आउने स्कर्ट लगाउँदा ‘अब बिग्रन थालिस् हैन’ भन्दै उनकै आमाले लौरी भाँचिने गरी हानेको मलाई अहिले झैँ लाग्छ ।

दशैंमा टीका लगाउँदै गर्दा पोहोर अंकलले ‘छोरी राम्ररी पढ्नु, आफ्नो खुट्टामा उभिनु अनि मात्रै बिहेको बारेमा सोच्नु’ भनेको सुन्दा एकदिन कलेजबाट फर्किंदै गर्दा भेटिएकी एउटी साथीले भनेको कुरालाई सम्झिएर मेरो मन अमिलो भयो । त्यो साथी जो मसँगै स्कुल पढेकी थिईन् । कक्षा ९ पढ्दै गर्दा उनको विवाह भएको थियो । उनलाई देख्ने बित्तिकै मैले चिनीहाँले । तर उनी बोल्न खोजिनन् । मैले चिन्यौ ? भनेर मात्र के सोधेकी थिएँ, उनी रुन त थालिन् । कुरा गर्दै जाँदा थाहा पाएँ उनका श्रीमानले धेरै पहिले नै उनलाई छाडेर अर्कैसँग विवाह गरेछन् ।

उनले माइतीबाट पनि साथ नपाएपछि एक्लै जसोतसो बच्चा हुर्काएकी रहिछन् । उनले धेरै पल्ट आत्महत्या गर्ने प्रयास पनि गरिन रे । तर बच्चाको कारणले आजसम्म जिउँदै छु भन्दै थिइन् । मसँगै पढेका यस्तै धेरै साथीहरूका परिवारले पनि मेरो परिवारले जस्तै सोचिदिएको भए सायद आज उनीहरू पनि काखमा बच्चा र काँधमा परिवारको जिम्मेवारी नबोकी ढुक्कसँग पढिरहेका हुन्थे होलान् । मैले जस्तै अनि स्वतन्त्र भएर आफ्नो जिन्दगीको बारेमा सोचिरहेका हुन्थे होलान् ।

अलि दिन अगाडि एउटा सानो कुरामा मम्मीसँग रिसाएर खाना नखाई कलेज हिँडे । मम्मी त कलेजमै पुगेर केही खानु भन्दै मेरो हातमा पैसा थमाएर जानुभयो । त्यही दिन बाटोमै पर्ने एउटा घरकी भाउजु जो उमेरमा म भन्दा सानी छन् । उनलाई उनका श्रीमानले भन्दै थिए ‘बिहे गर्दा तेरो बाउको के लिएर आएकी थिईस् र तलाईं मैले सित्तैमा खान दिनु ।’

साथीको घरमा खाना खान जाँदा खाना खाइसकेपछि भाईले थाल खाएकै ठाउँमा छोडेर हतार–हतार टिभीको रिमोट समात्नपुग्यो । साथी भने सबै भाँडा निकालेर एक्लै माझ्दै थिई । त्यही बेला सम्झिएँ मेरो सानो १० वर्षको भाई जसले घरमा खाना खाइसकेपछि सँधै आन्टीलाई भाँडा माझ्न सहयोग गर्छ । अनि उसलाई घरमा कहिल्यै हामीले छोरा मान्छे भएर घरको काम गर्नु हुँदैन भनेर सिकाएका छैनौं ।

एउटी छोरीको जीवनमा उसको परिवारको विश्वास, साथ र समर्थन कति महत्वपूर्ण हुन्छ भन्ने कुराका केही उदाहरण मात्रै हुन यी । हेर्दा अनि सुन्दा निकै साना–साना लाग्ने यस्ता धेरै उदाहरण छन्, जसले म अनि म जस्तै छोरीहरूको जीवनमा निकै महत्व राख्छन् ।

घर नजिकै की एउटी जागीरे दिदी कहिलेकाहीँ अफिसबाट ढिलो आउनुहुन्थ्यो । एक दिन अफिसकै पुरुष सहकर्मीले घरसम्म ल्याईदिदा उहाँका आमाबुबा चर्को–चर्को स्वरमा कराउँदै हुनुहुन्थ्यो ‘बिहे गर्ने बेलाकी भैसकिस् जो । पायो त्यही छोरा मान्छेसँग यति राती कहाँ गएर आइस् । अब अरु कसैले देखे हाम्लाई के भन्लान् ? कमसेकम हाम्रो इज्जतको त ख्याल राख ।’ त्यसपछि मैले दिदी अफिस गएको कहिल्यै देखिनँ । मलाई पनि कलेज ढिलो छुिट्ट भएर केटा साथीहरूले घरसम्म पु¥याइ दिँदा मेरो परिवारले ‘छोरी हामीलाई तिमीमाथि पुरा विश्वास छ । अरुले तिम्रो बारेमा जे सुकै भनुन्, त्यसले हामीलाई केहि फरक पर्दैन’ भनेर नभनिदिएको भए सायद म पनि तिनै दिदी जसरी नै हार खान्थे होला ।

एउटी छोरीको जीवनमा उसको परिवारको विश्वास, साथ र समर्थन कति महत्वपूर्ण हुन्छ भन्ने कुराका केही उदाहरण मात्रै हुन यी । हेर्दा अनि सुन्दा निकै साना–साना लाग्ने यस्ता धेरै उदाहरण छन्, जसले म अनि म जस्तै छोरीहरूको जीवनमा निकै महत्व राख्छन् ।

मेरो परिवारकै कारण आज म स्वतन्त्र भएर सपनाको आकाशमा उडिरहेकी छु । आफै जिम्मेवार भएर आफ्नो जीवनलाई कतातिर लैजाने भन्ने योजना आफैँ बनाईरहेकी छु । मेरो अनुरोध उड्न लागेकी तपाईंकी छोरीको सपनाको पखेटा नकाट्नुस । बरु उनका हरेक सपनामाथि बिश्वास गर्नुस् । किनकी तपाईंको विश्वासले तपाईकी छोरीको जीवनमा उनलाई जिम्मेवार र आत्मनिर्भर बन्न एकदमै ठूलो भूमिका खेल्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: