छाउगोठदेखि संसद भवनसम्म


प्रकाशित मिति :2018-03-19 17:22:53

–महिला खबर संवाद–

ललितपुर । अछामकी दुर्गा विक १५ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भइन् । उनलाई असाध्यै लाज लाग्यो । घरमा कसैलाई भन्न सकिनन् । आफू छाउ भएको कुरा बहिनीलाई मात्रै भनिन् । कसैको नजरमा परिनन् । छाउ भएको दिन बिहानै जंगल गइन् । राती अबेर भएपछि घर नजिकै छाउगोठमा बसिन् । बहिनीले खाना ल्याइदिन । अर्को दिन फेरि उज्यालो नहुँदै जंगल गइन् । राती गोठ फर्किइन् । यसरी नै उनले १५ दिन कटाइन् ।

दोस्रोपटक महिनावारी भएदेखि २ वर्षसम्म उनी छाउ गोठमै बसिन् । सानैदेखि विद्रोही स्वभावकी उनी त्यसपछि भने गोठ गइनन् । भगवान र भूतमा असाध्यै विश्वास गर्ने आफ्नी आमालाई आफू महिनावारी भएको कुरा लुकाएर उनी घरमै बस्न थालिन् । त्यो सिलसिला अहिले पनि जारी छ । अछामकी स्थायी वासिन्दा उनी महिनावारीका बेला गोठ नबसेको ठ्याक्कै १३ वर्ष भयो ।

महिनावारीका बेला घरमा बस्दा, दुध दही खाँदा देउता रिसाएर अनिष्ट हुन्छ भन्ने सुनेकी उनले महिनावारी भएपछि घरमा भएको घिउ खाएर गोठमा गइन् । अब के हुन्छ भन्ने सोचेर नराम्रो परिणाम पर्खेर बसिन् । एक दिन, दुई दिन, तीन दिन, हप्ता कुरिन । महिना दिनसम्म पनि केही भएन । त्यसपछि उनीमा हिम्मत पलायो । घिउ खाएर देउता रिसाएनन् त गोठमा नजाँदा के हुन्छ ? अनि उनले गोठ नजाने निधो गरिन् । र महिनावारी हुँदा कहिल्यै गोठ गइनन् ।

दुर्गा एक त महिला, त्यसमाथि दलित । महिला अनि दलितलाई मान्छे नै नठान्ने परिवेशमा जन्मे हुर्केकी उनले महिनावारी कुप्रथा विरुद्ध गाउँ, टोल, जिल्ला हुँदै आफू आवद्ध पार्टीमा समेत आवाज उठाउन थालिन् । जातिय र लैंगिक विभेदको खुलेर विरोध गर्न थालिन् । प्रथा र परम्पराका नाममा मान्छेमाथि हुने विभेद विरुद्ध उनको अभियान जारी नै छ ।

२०७२ साल बैशाख ११ गते । मुगुको छायानाथ मन्दिर, जहाँ महिला र दलितलाई प्रवेश गर्न दिइदैनथ्यो । दुर्गा लगायतको नेतृत्वमा महिला र दलितले एकैपटक मन्दिर प्रवेश गरे । भौतिक विकासमा मात्रै होइन, सामाजिक विकासको दृष्टिकोणबाट समेत निकै दुर्गम जिल्लाको छायानाथ मन्दिरमा त्यसदिन महिला र दलितले प्रवेश पाएपछि अहिले सो मन्दिर सबैका लागि खुल्ला छ ।

५ वर्ष अघि दुर्गाकै नेतृत्वमा अछामको तुर्माखाँदस्थित तितौडा मन्दिरमा पनि दलित र महिलाले प्रवेश गरे । जहाँ त्यसपूर्व दलित र महिला दुवैका लागि निषेध थियो ।

दुई वर्ष अघि अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा रहेको कालिकादेवी मन्दिरमा पनि दुर्गाकै नेतृत्वमा दलित र महिलाको प्रवेश भयो । दलित र महिलाहरू मन्दिर प्रवेश गर्दैछन् भन्ने थाहा पाएपछि स्थानीय केही व्यक्तिहरूबाट आक्रमण हुन सक्ने संकेत देखिएपछि प्रहरीलाई खबर गरियो । प्रहरीहरू तैनाथ भए । त्यसपछि दलित र महिलाले मन्दिरमा पूजाआजा गर्दै घण्टी बजाए । यद्यपि कालिकादेवी मन्दिर प्रवेश गर्दा दुर्गा एकजना मात्रै महिला थिइन् । अरु महिला डराए । कोही पनि मन्दिर प्रवेशमा सहभागि भएनन् ।

देवीकै मन्दिरमा महिला निशेष । कसरी विश्वास गर्ने ? दुर्गा भन्छिन्, ‘देवी पनि महिला । म पनि महिला । यदी साच्चिकै देवी हुनुहुन्छ भने मन्दिरमा मेरो प्रवेश उहाँको लागि खुसी हो । यही हिम्मत बटुलेर म महिनावारी भएकै बेला मन्दिर प्रवेश गरेँ ।’

दुर्गालाई आफू महिनावारी भएको बेला अहिलेसम्म कति मन्दिर प्रवेश गरेँ भन्ने कुराको लेखाजोआ नै छैन । बाटोमा भेटिने मन्दिरमा ढोग्दा होस् या कुनै उत्सवमा पूजा गर्न मन्दिरमा जाँदा होस् आफू महिनावारी भए नभएको कुरा कहिले हेक्का राखिनन् उनले । बरु भन्छिन्, ‘महिनावारी हुनुजस्तो पवित्र कुरालाई पापको रुपमा ब्याख्या गर्ने समाजका आँखा उघारेका कारण भगवानले मलाई आर्शीवाद दिनु भो । र त म अहिले सांसद पनि भएँ ।’

नेपालमा मात्रै होइन, संसारका कुना कन्दरामा जहाँजहाँ नेपाली छन्, त्यहाँ छाउ प्रथा (महिनावारी) छ । तर छाउ प्रथाको नामले विश्वमै बदनाम जिल्ला हो– अछाम ।

देशमा हरेक जिल्लाको आ–आफ्नै पहिचान छ । तर अछाम भन्ने बित्तिकै जुनसुकै पेसा, व्यवसाय र क्षेत्रमा लागेको मान्छेले अछामीलाई सोध्ने त्यही एउटा प्रमुख प्रश्न हो, ‘अछाममा त छाउ प्रथा छ है ?’ यी र यस्ता प्रश्नले दुर्गालाई आक्रोसित बनाउँछ । भन्छिन्, ‘छाउ नबार्ने मानिस नेपालमा बिरलै छन् । कसले कसरी बार्छ भन्ने तरिका मात्रै फरक छ। छाउ बार्ने तरिका बेग्लै भए पनि छाउ नबार्ने मान्छे एकदम कम छन् । तर बद्नाम अछाम मात्रै ।’

सामाजिक र राजनीतिमा क्रियाशील छन् दुर्गा । नेकपा एमालेबाट प्रदेश सांसदमा निर्वाचित (समानुपातिक) उनी महिलालाई राजनीति गर्नु फलामको चिउरा चपाउनु सरह हो भन्छिन् । पुरुष भन्दा सामाजिक जिम्मेवारी महिलालाई धेरै भएका कारण राजनीति सहज नभएको उनको बुझाइ छ । दुर्गा अविवाहित हुन् । विवाहित भन्दा अविवाहित महिलालाई राजनीति गर्न सहज हुन्छ भन्ने कुरा उनी स्वीकार गर्दिनन् । पार्टीले विवाहित महिलालाई यो त विवाहित हो, उसको स्थायी ठेगाना छ । यही बसोबास छ भनेर जिम्मेवारी दिने । तर अविवाहितको हकमा भने यसको के भर छ र ? भोली कता जान्छे जान्छे । फेरि श्रीमानकै पार्टीमा पो लाग्छे की ! यही पार्टीमा के बस्छे र भन्दै विवाहलाई विषय बनाएको अनुभव पनि छ उनीसँग ।

उनी एउटा कार्यक्रममा जान्छिन् । उनलाई एउटा मात्र कार्यक्रम नभई दुई\तीन वटा कार्यक्रम सकेर फर्कनुपर्ने पनि हुनसक्छ । तर अरुले भने छोराछोरी छैनन्, श्रीमान छैन जे गरे पनि हुन्छ भनिदिन्छन् । कसैले यस्तो कुरा बोलिदिदा भने तनाव हुने गरेको उनी बताउँछिन् ।

महिलाले ठूलो जिम्मेवारी वहन गर्न सक्दैनन् भन्ने बुझाइ छ समाजमा । महिला हो, गाह्रो होला । ठूलो पद छ, सम्हाल्न सक्दैनन् भन्ने सोचका कारण महिलाको योग्यता, क्षमता ओझेलमा पर्ने गरेको छ भन्छिन्, उनी । महिला भित्र पनि दलित महिलाको नेतृत्व स्वीकार्न कठिन छ मान्छेलाई । उ भन्दा तल बसेर कसरी काम गर्ने भनिन्छ । पानीमा त विभेद गर्ने समाजमा दलित महिलालाई राजनीति गर्न झन् ठूलो चुनौती रहेको अनुभव छ उनको ।

दुर्गाले यस अघि सुदुरपश्चिम विकास आयोगको सदस्य भएर पनि काम गर्ने अवसर पाइन् । सो अवधिमा सुदूरपश्चिमका हरेक जिल्लामा पुगेर जिल्लागत रुपमा महिलाहरूको अवस्था बुझ्ने मौका पाइन् । जसमा दलित महिलाको अवस्था अत्यन्तै दयनीय रहेको र उनीहरूको पहुँच बढाउन धेरै समय लाग्ने देखिन् ।

नेपाल संवैधानिक रुपमै जातिय छुवाछुत मुक्त राष्ट्र भइसकेको अवस्थामा समेत एउटा दलित मान्छेले चुलो छोएको निहुँमा ज्यान गुमाउनु पर्ने अवस्था छ । जबसम्म कागजमा भएका कानुनी अधिकार व्यवहारमा लागु हुँदैनन्, तबसम्म मान्छेले मान्छेको हैसियतमा बाच्न पाउने वातावारणको सृजना हुन नसक्ने दुर्गा बताउँछिन् ।

विद्यमान जातिय छुवाछुत, लैंगिक विभेद, घरेलु हिंसा लगायत महिलाले महिला भएकै कारण भोग्नुपरेका समस्या सम्बोधन गर्न अब प्रदेश सरकारले बनाउने कानुन कडा र लैंगिक मैत्री बनाउन आफूले पहल गर्ने दुर्गाको प्रतिवद्धता छ । उनी भन्छिन्, ‘हामी पहिलो पटक प्रदेशको कानुन बनाउने महत्वपूर्ण जिम्मेवारीमा छौं । कानुनको अभावमा महिला र दलित समुदायले भोग्नुपरेका समस्या आउने पुस्ताले भोग्नु नपरोस् भन्दै प्रभावकारी कानुन बनाउन पहल गर्नेछु ।’

जनतालाई केन्द्र विन्दुमा राखेर सबैभन्दा पहिले हामी कहाँ छौं ? हामीले गर्न खोजेको परिवर्तन के हो ? रुपान्तरण के कुरामा गर्ने ? त्यसतर्फ संवेदनशील हुने हो भने प्रदेशको नमुना कानुन बनाउन सकिने दुर्गाको बुझाइ छ । त्यसका लागि सबैभन्दा पहिले योजना बनाएर कस्ता खालका कानुन बनाउँदा समस्या समाधान गर्न सकिन्छ भन्ने कुरामा विज्ञहरूको राय सुझावसहित एक अर्कासँग नबाझिने, नदोहोरिने गरेर लैंगिकमैत्री कानुन बनाउन प्रतिवद्ध छिन् उनी ।

दुर्गाको बुझाइमा महिलाहरू जबसम्म आत्मनिर्भर हुदैनन्, आफूलाई आइलाग्ने समस्या विरुद्ध खुलेर बोल्दैनन्, तबसम्म हेपिने क्रम रोकिदैन । राम्रो काम गर्न लाग्दा समेत मलाई कसले के भन्छ ? यसो गर्दा समाजले के भन्ला ? जस्ता मानसिक डर र त्रासमा महिला बाँच्नु हुँदैन । गर्न नमिल्ने काम र अपराध गर्नुहुँदैन । गर्न नहुने काम गर्दा डराउनु पर्छ । महिलालाई हेपेर बनाइएका सामाजिक संरचना तोड्न डराउनु हुँदैन । हिम्मत गर्नुहपर्छ । त्यसो भए मात्रै महिला मान्छे भएर बाँच्न सक्छन् । भन्छिन्, ‘म मान्छे भएर बाँच्न चाहान्छु । मलाई कसैको हेपाइ स्वीकार्य छैन ।’

प्रस्तुतिः सन्दिप वि.क

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारीलाई जन्मकैदको मुद्दा दायर गर्न निर्देशन

–महिला खबर– ललितपुर । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको

अस्तित्व

मलाई लाशजस्तो जिन्दगी बाँच्नु छैन म यो फूल, सागर र बतासजस्तै बाँच्न चाहन्छु ।

आर्शीवाद दिन कुरेर बसेका आमाबुवा

–सन्दिप विक– दसैँमा आशिष् लिन भन्दा दिन आतुर मनहरू यतिबेला टीका थाप्नुपर्ने निधारको पखाईमा छन् ।

पर्वले बल्झाइदिने पीडाहरू

-सुजाता ढुंगाना- ‘विवाहपछि त छोरीहरूको न घर हुँदोरहेछ, न थर । तर पनि भरै नहुने वैवाहिक

चाडपर्वमा मादक पदार्थ, त्रासमा महिला

‘अस्ति बुढोले रक्सी खाएर कुट्दा हातै भाँचिदिएछ । दसैँको मुखमा दशा लाग्योे बिचरीलाई ।’ कामको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: