‘बलात्कृतलाई न्याय दिलाउन प्रहरीको भूमिका महत्वपूर्ण’


प्रकाशित मिति :2018-02-18 12:56:52

-महिला खबर संवाद-

पछिल्लो समय बलात्कारका घटना बढ्दो छ । नेपाल प्रहरीको तथ्यांकले समेत तीन वर्षयता देशभर तीन हजार सात सय ५० महिला तथा बालिका बलात्कृत भएको देखाउँछ । जसमा २ हजार ३ सय पचास जना बालिका मात्रै छन् ।

महिला तथा बालिकामाथि हुने यौनजन्य घटना सामाजिक इज्जत र प्रतिष्ठासँग जोडिदा परिवार भित्रै लुकाइने गरिन्छ भने कतिपय घटनामा पीडित बोल्न डराउने, पीडकको प्रलोभनमा परि गुपचुप राखिने गरेका छन् । जसले पीडितलाई न्याय दिलाउन कठिन भएको पाइन्छ । कतिपय अवस्थामा भने प्रहरीले नै घटनाको अनुसन्धान फितलो गर्दा समेत मुद्दा कमजोर बन्छ । यसै विषयमा अधिवक्ता पुण्यशिला दवाडी घिमिरेसँग महिला खबर संवाददाता कल्पना भट्टराइले गरेको कुराकानीः

बलात्कारको घटना बढ्नुको कारण के होला ?

पछिल्लो समय पोर्नोग्राफी (यौन सम्बन्धी) पढ्ने, हेर्ने व्यक्तिको संख्या बढेको कारणले पनि बलात्कारका घटना बढेको हो । पोर्नोग्राफी हेर्ने त्यस्ता व्यक्ति छिट्टै यौन उत्तेजनामा आउँछन् । उत्तेजना मेट्ने सहज माध्यम नपाउँदा बलात्कार गर्न अग्रसर हुन्छन् ।

लागूऔषध र मदिरा सेवन पनि बलात्कार बढ्नुको अर्को कारण हो । यौन शिक्षाको पनि कमि छ । यस्ता घटनालाई लुकाउने प्रवृत्तिले पनि बलात्कारीको मनोबल बढ्ने हुँदा बलात्कारका घटना बढ्ने गरेको छ ।

बलात्कार भएको कति समयपछि पीडितले प्रहरीमा जाहेरी दिन सक्छन् ?

घटना घट्ने बित्तिकै पीडितले जाहेरी दिनुपर्छ । १० प्रतिशतले मात्रै घटना भएको दिन प्रहरीमा जाहेरी(निवेदन) दिने गरेका छन् । बाँकी ९० प्रतिशत समाजमा इज्जत जान्छ भन्ने डरले घटना भएको दिन उजुरी दिन जाँदैनन् । ९० प्रतिशत मध्ये पनि २५ प्रतिशतले घटना दर्ता गर्ने की, नगर्ने भनि पारिवारिक छलफलपछि मात्रै जाहेरी दिन्छन् । ६५ प्रतिशत मध्ये १५ प्रतिशले हद म्यादको समय कट्न लागेपछि मात्र जाहेरी दिन आउँछन् । ५० प्रतिशतले जाहेरी नै दिँदैनन् । पीडितले समयमै जाहेरी नदिँदा घटना स्थलमा भएका प्रमाणहरू नष्ट हुने भएकाले घटनालाई प्रमाणित गर्न अफ्ठ्यारो हुन्छ । कानून अनुसार घटना भएको ६ महिना भित्र उजुरी दिन सकिन्छ ।

बलात्कारको घटनालाई प्रहरीले कसरी अनुसन्धान गर्छ ?

बलात्कारको मुद्दा सरकारवादी फौजदारी मुद्दा भएकाले घटना भएपछि जाहेरी प्रहरीमा दिने गरिन्छ । जाहेरीको आधारमा प्रहरीले अभियुक्त पक्राउ गरेको २४ घण्टाभित्र म्याद थपका लागि अदालतमा लैजान्छ । त्यसपछि पीडित, पीडक, घटनाका प्रत्यक्षदर्शी, पीडितका आफन्त लगायतसँग सोधपुछ गरि बयान लिने गर्छ ।

जाहेरी पर्ने बित्तिकै पीडितको शरीरको अवस्था जचाउनका लागि अस्पताल लैजान्छ । अन्य प्रमाण पीडितको कपडा जाँच्नका लागि पठाइन्छ । पीडकको पनि शरीर र भित्री कपडा चेकजाँच गर्न पठाउँछ । ती सबै प्रक्रियाबाट प्रमाण संकलन गरेपछि प्रतिवेदन तयार पार्छ । सो रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाउँछ । सरकारी वकिलले अभियोग पत्र तयार गरि अदालतमा मुद्दा गर्छ ।
यसमा प्रहरीको भूमिका कस्तो हुन्छ ?

घटनाको अनुसन्धान जिम्मा प्रहरीकै हुन्छ । यसले पनि प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । प्रहरीको अनुसन्धान कमजोर भयो भने मुद्दा पनि कमजोर हुने गर्छ ।

अनुसन्धानमा प्रहरी कसरी चुक्छ ?

पीडितले किटानी जाहेरी नदिएको तर हुलिया मात्र दिएको अवस्थामा अभियुक्त फरार भैसकेको हुन्छ । कतिपय घटनामा प्रहरीले जाहेरी लेख्दा घटनाको विस्तृत विवरण नराख्ने गरेको  पनि एक-दुइ घटनामा भेटिएको छ । घटनाको अनुसन्धानका क्रममा भेटिएका प्रमाणलाई मिसिलका साथ पेश नगर्ने, घटना स्थलमा भेटिएका लुगालाई मेडिकल परीक्षणका लागि नपठाउने र कतिपय घटनामा अभियुक्त चिनेजानेको भएमा प्रहरीले पहिल्यै पक्राउ गर्न आउने सूचना दिएर भगाउने गर्छन् । प्रमाण भेटिएको अवस्थामा अभियुक्तसँग पैसाको बार्गेनिङ गरि मुद्दालाई कमजोर बनाउने गरेका पनि थुप्रै उदाहरण छन् ।

प्रहरीले भेटिएको प्रमाण समेत पेश नगर्ने र पीडितलाई मिलापत्रका लागि दबाब दिने गरेको भेटिएको छ । गएको माघ ११ गते दरवारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटनामा पनि प्रहरीले मिलापत्र गरेको देखिएको छ । सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्न नपाइने नियम छ । तर प्रहरीले मिलापत्र गरेको छ ।

कतिपय सामाजिक र सार्वजनिक पद धारण गरेका व्यक्ति वा आफन्त पीडक भएको अवस्थामा प्रहरीले दबाब र प्रभावमा पारी जाहेरी समेत दर्ता गर्न नमानेको अवस्था छ । जाहेरी दर्ता गरे पनि घटनाको अनुसन्धानमा भेटिएका प्रमाणहरू समेत पेश नगरी मुद्दा कमजोर बनाएको अवस्था छ । मुद्दा कमजोर हुँदा पीडितलाई न्याय दिलाउन गाह्रो पर्छ ।

मुद्दा कमजोर हुने आधारहरू के–के हुन् ?

प्रहरीले घटनाको अनुसन्धान र घटना स्थलको राम्रोसँग अध्ययन नगर्दा मुद्दा कमजोर हुन्छ । भेटिएका प्रमाणलाई नपठाउँदा र घटनाका सम्बन्धित व्यक्तिसँग बयान नलिइ अरुसँग बयान लिएर पनि मुद्दालाई कमजोर बनाइन्छ । जाहेरीमा घटनाको पूरा विवरण नलेख्दा पनि घटना कमजोर हुने गर्छ । १६ वर्ष भन्दा मुनिका बालिका बलात्कारका घटनामा प्रहरी संवेदनशिल बने पनि १६ वर्ष भन्दा माथिका युवती बलात्कृत हुँदा सो घटनालाई प्रहरीले कम प्रथामिकतामा राखेको देखिएको छ । घटना दर्ता गर्न जाँदा सहमतीमा भएको घटनालाई पनि बलात्कार भनि मुद्दा गर्न आउने भनि युवतीलाई मानसिक तनाव पनि दिने गरेका छन् । त्यसै अनुसारको जाहेरी लेखिदा र अनुसन्धान गरिदा मुद्दा कमजोर हुन पुग्छ । बलात्कारको घटनामा पीडितको बयानलाई महत्वपूर्ण मानिए पनि त्यस भनाइलाई पुष्टि गर्ने प्रमाण भेटिनुपर्छ । अन्यथा मुद्दा कमजोर हुन्छ ।

कतिपय सामाजिक र सार्वजनिक पद धारण गरेका व्यक्ति वा आफन्त पीडक भएको अवस्थामा प्रहरीले दबाब र प्रभावमा पारी जाहेरी समेत दर्ता गर्न नमानेको अवस्था छ । जाहेरी दर्ता गरे पनि घटनाको अनुसन्धानमा भेटिएका प्रमाणहरू समेत पेश नगरी मुद्दा कमजोर बनाएको अवस्था छ । मुद्दा कमजोर हँुदा पीडितलाई न्याय दिलाउन गाह्रो पर्छ ।

कतिपय अवस्थामा घटना भएको लामो समयपछि मेडिकल चेकजाँच गर्दा रिपोर्टमा नदेखिदा, पीडितको बयान फितलो हुने र प्रतिवादीले स्वीकार नगर्दा मुद्दा कमजोर भइ अदालतबाट सफाइ पाएका धेरै उदाहरण छन् ।

बलात्कार पीडितलाई न्याय दिलाउन किन गाह्रो भएको हो ?

सामाजिक प्रतिष्ठा र मनोवैज्ञानिक त्रासका कारण घटना हुने बित्तिकै ५० प्रतिशत पीडितहरु प्रहरीमा जाहेरी दिँदैनन् । २० प्रतिशतले जाहेरी दिने हद म्याद सकिन लाग्दा मुद्दा दर्ता गर्न आउँछन् । १० प्रतिशतले जाहेरी परेको मुद्दा पनि प्रतिवादीको दबावमा बयान दिन आउँदैनन् वा बीचैमा छाडिदिन्छ । प्रतिवादीको डर धम्की र आर्थिक लेनदेनका कारण २० प्रतिशतले अदालतमा बयान फेर्छन् । जसले गर्दा मुद्दा कमजोर हुन्छ । आर्थिक प्रलोभनका कारण प्रहरीले अभियुक्तको पहिचान खुल्दा समेत पक्राउ गर्दैन । पक्राउ गरे पनि घटनाको अनुसन्धान राम्रोसँग नगर्दा र भेटिएको प्रमाण अदालतमा पेश नगर्दा मुद्दा कमजोर हुन्छ । मुद्दा कमजोर हुँदा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गर्छ ।

(दवाडी कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की परियोजना संयोजक हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: